close

ऊ मेरी स्वास्नी होइन

खेमराज पोखरेल

म ती सबै कुरा सुनिरहेको थिएँ । मुन्टो उठाउन भएको थिएन । चेतनभित्र अचेतन थिएँ । मलाई भने साथीहरू उठाइउठाइ पियाइरहेका थिए । मेरा साथीहरूको संवाद यस्तो थियो ः
– आज, यस्तरी खुवाउनुपर्छ कि, सालेलाई बक्न लगाउनुपर्छ । जहिले पनि साले चोखो बन्छ ।
– हो हो, आज त ऊ बक्छ बक्छ ।
– ए रामे, भन् त, तेरी स्वास्नीले तँलाई जाड खाएर गएका दिन कुट्छे कि कुट्दिन ? हाम्राले त कुट्छन् बाइ ।
– यसलाई यसरी धतुरो मिसेर नख्वाउन भनेको थिएँ, मानेनौ । अब हेर त यो रामे त इन्तु न चिन्तु भयो ।
– छोड्न यार यो जोईटिङ्ग्रे बाहुनलाई । यो राम शरणेलाई त स्वास्नीशरणे भन्नुपर्ने । तब त जागिर पनि हुलाकमा भेटेको छ । यसो हाकिम रिझाउन, तलमाथि गर्न जान्दैन गधा, अनि त्यस्तालाई के बकाउँछौ तिमीहरू ?
म सुनिरहेको थिएँ । तर बोल्न सक्ने अवस्थामा थिइनँ । तर ती मेरा साथीहरूलाई बोल्ने मात लागेको थियो । ती अझै बोल्दै थिए ः
–आज हामी यहाँ छौँ । हाम्रा स्वास्नीले पो कतै नाठो खेलाइरहेका छन् कि ? कसको के जिम्मा लिने यार यो कलियुगमा ।
–आ होस्, हामी पनि त खप्पिस छौँ नि त, एकबारको जुनी हो के को चियोचर्चो गर्नु त ? तैँ चुप, मै चुप फर्मुला जीवन बाँच्ने सबभन्दा गतिलो हो ।
–तर यो रामे पो त, जहिले पनि श्रीमतीको केही राम्रा नराम्रा गुण नै भन्दैन । जोईटिङ्ग्रे मोरो ।
–रामे कि त स्वास्नी पनि कस्ती काँठे छ हगि । मातेर घर पुगेको लोग्नेसँग पनि रिसाउँदिन भन्या । हाम्रा त कालीदेवी पल्टिन्छन् । पैसाको पोको नदेखाई त देवी शान्त नै हुँदैनन् ।
–यो रामेकी स्वास्नीलाई एक दिन मैले भनेको थिएँ – ए भाउजू, त्यो रामशरणको जागिर हुलाकमा छ । के कमाउँछ र त्यो ? त्यसलाई तपाईँले अलि गाली गर्नुप¥यो । त्यो रक्सी खाने बानीमा पनि अलि कन्ट्रोल गर्नुप¥यो ।
यसो भनेको त भाउजूले मलाई त उल्टै थर्काएर ‘उहाँ मेरो श्रीमान्, मलाई कुनै गुनासो छैन भने तपाईँहरूलाई किन टेन्सन’ पो अरे ।
मलाई त्यही तन्द्रामै पनि लागेको थियो – यी सालेहरू आफ्नी स्वास्नीसँगका ओछ्यानदेखि रछ्यानसम्मका सबै कुरा नाङ्गो पार्दै छन् बेवकुफहरू ।
यसपछि मैले उनीहरूका कुरा सुन्न छोडेको थिएँ । म एक प्रकारले बेहोसीको तन्द्रामा पुगेँछु । सिनेमाको रिलजस्तै सम्झन थालेको रहेँछु –
म बाह्र पुगेर भर्खर तेह्र लागेको थिएँ । घरैमा चण्डी, रुद्री, कौमुदी, कर्मकाण्ड पढेको थिएँ । बाबा जजमानी गर्ने भएकाले म सानैदेखि बाबालाई सघाउँथेँ । बाबाले मलाई गुरुकुल विद्यालयमा पठाएर संस्कृत पढाउने र जजमानीमा लगाउने योजना गर्नुभयो । त्यो बेलासम्म मैले बाबाले सिकाएर लेख्न, पढ्न र अलिअलि कर्मकाण्ड पनि खुट्याउन थालेको थिएँ । गुरुकुल विद्यालयमा घरबाट आउन जान सकिने थिएन । त्यसैले म छात्राबासमा बस्न थालेको थिएँ । अब म गुरुकुलमा गएपछि बाबालाई घरमा काम गर्ने मान्छेको आवश्यकता परेको थियो । त्यसकारण बाबाले मेरो बिहे गरिदिने र बुहारीलाई घरव्यवहारको काममा लगाउने सोच बनाउनुभयो ।
मङ्सिरको महिना थियो । म दौरासुरुवाल लगाएर बेहुला बनेको थिएँ । डोलीमा चढेको थिएँ । अर्को डोली रित्तो थियो । त्यो बेहुली ल्याउनका लागि थियो । गाउँकै पञ्चेबाजा बजाएर अघि लागेका थिए । मैले बेहुली देखेको थिइन । त्यो बेला बेहुलाले बेहुली हेर्नु सम्भव थिएन । बाबाले भन्नुभयो, मैले बिहे गर्नु नै पथ्र्यो । गरेँ । बिहेमा घुम्टो ओढेको हुनाले मैले बेहुलीको अनुहार हेर्न पाइनँ । बेहुली लिएर आउँदा ठुलो साँझ परेको थियो । बेहुलीसँग दुई जना लोकन्ती आएका थिए । बिहेको काम सकिएको थियो । म दुरान फर्काउन ससुराली पुगेँ । मैतालुलाई ससुरालीमै छोडेर घर आएँ । र पर्सिपल्ट गुरुकुलतिर लागेको थिएँ ।
गुरुकुलमा पढ्दा मैले घरव्यवहार केही सम्झिनँ । श्रीमतीलाई पनि सम्झिनँ । उत्तरमध्यमाको परीक्षा दिएर म घर गएको थिएँ । यसअघि म आक्कल झुक्कल घर जान्थेँ । तर संयुक्त परिवार भएकोले श्रीमतीसँग केही कुरा गर्ने सम्भावना हुन्थेन । बिहे भएको चार÷पाँच वर्ष बितिसकेको थियो । म अलि लामो समय घर बस्न पाएको थिएँ यो बेला । मैले मेरी श्रीमतीलाई परबाटै हेरेको थिएँ । बाह्रहाते फरियामा लतारिएर काम गर्नुपथ्र्यो । गाई, भैँसी, बाख्रा, मेलापात, घरवनका साथै जजमानीबाट आएका सामान पनि स्याहार्नुपथ्र्यो । बैँसमै अनुहारमा कालो पोतो थियो । खुट्टा पटपटी फुटेका थिए । जुत्ताचप्पल लगाउने चलन थिएन । उसले घाँसको ठुलो भारी आँगनमा बिसाई । उसको निधारमा नाम्लोको बिटको डाम परैबाट देखिन्थ्यो ।
एकरात ऊ घरधन्दाको काम सकेर ताप्केमा तेल लिएर मसमक्ष आएकी थिई । म त लगभग निदाइसकेको थिएँ । ऊ मेरो खुट्टामा तेल लगाउन खोज्दै थिई । उसका खस्रा हातले मेरो गोडा स्पर्श गरेपछि म बिउँझिएँ । निकै रात बितिसकेको थियो । उसको अवस्था देखेर मलाई किन हो किन माया लागेर आयो । दया पलाएर आयो । मेरो ज्ञानले उसलाई अर्धाङ्गिनी ठान्न थालेको थियो । उफ, मेरी अर्धाङ्गिनीको यो हालत ? यद्दपि बिहे गर्ने बेलामा मेरा बाबाले भन्नुभएको थियो – अहिले यही केटी बिहे गरी राख । पछि आफू सुहाउँदी गर्लास् । आखिर खुट्टा भए जुत्ता कतिकति ।
म फेरि शास्त्री पढ्न सहरको विद्यापीठ पुगेँ । किनकि बाबा मलाई पण्डित बनाउन चाहनुहुन्थ्यो । म बिदाका बेला घर जाँदा श्रीमतीलाई जुत्ता तथा केही खानेकुरा लगिदिन थालेको थिएँ । तर उसले त्यो बेला भनेकी थिई – भो यो जुत्ता, यो टीको, यो नयाँ पोते मैले लाउनुहुन्न । बज्यैले नदिई मैले लगाएँ भने बाजेबज्यैले निको मान्नुहुन्न । यो जुत्ताले मलाई समस्या पार्छ । बरु बज्यैलाई दिनुहोस् । उहाँले दिनुभयो भने लाउँछु ।
अनि मैले आमालाई भनेँथेँ – आमा, यो जुत्ता शान्तेलाई ल्याइदिएको ऊ त लाउँदिन अरे । यो पोते र टीका पनि लाउँदिन अरे । तपाईँले दिए मात्रै लाउँछे अरे ।
आमाले भन्नुभएथ्यो – के गर्छे त्यो ? यो जुत्ता लाएर ? भकारो नसोहोरी हुन्न । अनि कहाँ जानु छ र यो टीको पोते पनि । खोइ ले त्यो, म छोरीलाई दिन्छु । अहिलेदेखि नै स्वास्नीलाई माथामा चढाइस् भने डुब्लास् । स्वास्नीका मुतमा बग्लास् । होस् गर् है ।
यसरी मैले लगिदिएका सारी, जुत्ता उसले लाउन हुन्थेन । आमाले खटाएर दिएको खानुपथ्र्यो । लगाएको अह्रनी गर्नुपथ्र्यो । नन्द आमाजू थिए । देवरहरू थिए । उसले ती सबैको चित्त बुझाउनुपथ्र्यो । नत्र घर खाने सम्भावना नै हुँदैनथ्यो ।
यसै बिच भाइको बिहे भएको थियो । देउरानी आएपछि घरमा ऊमाथि सबै खनिन थालेका थिए । माइतीमा भएकी एउटी बृद्ध आमा पनि उसलाई भन्नुहुन्थ्यो रे – छोरी, मन नमिलेर, झगडा गरेर र भागेर माइत नआएस् । जसरी भए पनि घर खानुपर्छ । पण्डित खलकमा पारेकी छु । होसियार हुनू । छोरीका लागि घर भएन भने माइती पनि हुँदैन भन्ने कुरा बुझिराख् तैँले ।
म यो दृश्य टुलुटुलु हेरिरहेको हुन्थेँ । उसले कहिल्यै केही गुनासो गरिन । जिन्दगीसँग उसको कुनै गुनासो थिएन । म बुझ्दै थिएँ, बिस्तारैबिस्तारै घरबाट ऊ अपहेलित हुन थालेकी थिई । तर बिलकुल मुख फर्काउँदिनथी । मसँग भेट हुँदा पनि ऊ कहिल्यै परिवेश बताउँदिन थिई ।
एक दिन आमाले मलाई भन्नुभएको थियो – जेठा, तेरी स्वास्नी अचेल अटेरी भएकी छे । काम पनि राम्रोसँग गर्दिनँ । त्यो हल्लनटाटकी छोरीले दाइजो पनि ल्याएकी होइन । अब पण्डित हुन आँटिहालिस्, सालबोटे अधिकारीकी छोरी दिँदै छन् । एक्ली छोरी रे । बिहे गर्नुपर्छ । राम्री पनि छे । अलिअलि पढेकी पनि छे रे । दाइजो सम्पत्ति पनि आउँछ ।
छेउमा बसेर बाबा मुसुमुसु हाँस्तै हुनुहुन्थ्यो । म केही बोलिनँ । किनकि मैले बाबाआमालाई मुख फर्काएको थिएन । म नबोलेको देखेर बाबाले भन्नुभएथ्यो– के सोचिरहन्छस् जेठा, कि धन ससुराली, कि अपुताली भन्छन् । सालबोटेको अपुताली खर्लप्पै आउने भएपछि नाइनास्ती किन, खुरुक्क बिहे गर्छु भने भइहाल्यो नि ।
म के भनूँभनूँ भएको थिएँ । तर तत्काल भनेको थिएँ – अरू कुरा जे भन्नुस् मान्छु, तर अर्को बिहे चाहिँ गर्दिनँ ।
मैले यसो भन्नुको कारण मेरो शास्त्रीको पढाइ थियो । पूर्वीय सभ्यतामा बिहेलाई प्रणय भनिएको थियो ।
प्रणयको अर्थ रतिराग मात्र थिएन, एकअर्कामा समर्पण भाव थियो । प्रणयको समर्पण भावमा प्राप्ति वा अप्राप्ति, राम्री वा नराम्री, पढेकी वा नपढेकी, धनी वा गरिब केहीले अर्थ राख्दैनथ्यो । एकअर्कामा गरिने समर्पण भाव जत्तिको मिठो परिवेश अन्यत्र पाइने सम्भावना थिएन । यो समर्पण भाव नै प्रणयको मूल मन्त्र थियो ।
तर मैले अर्को बिहे नगर्ने भनेपछि बाबा र आमा मिलेर मेरो सातो टकटक्याउनुभयो । मेरी श्रीमतीलाई पनि गाली गर्नुभयो र भन्नुभयो – यो काल्जिब्रेले मेरो छोरालाई के टुना लगाइ कुन्नि ? मेरो छोराको खुट्टामा पनि नसुहाउने छे, टुनामुना त जानेकी रहिछे । हुन त त्यस्का आमालाई पनि बोक्सी नै भन्छन्, त्यो गाउँमा । आफ्नो घरमा भुटेर खाने भट्मास छैन, हाम्रो घरको सम्पत्ति खान आएकी । थारै बस्ने भइस् । भन्, तेरो पोइलाई अर्को बिहे गर्न भनेर, नत्र तेरो उठिबास हुन्छ ।
यसपछि मेरो पनि बाबाआमासँग केही ठाकठुक भयो । तर ऊ भने चुपचाप सुनेर बसी । सहेर बसी । बरु उनै पो मलाई सम्झाउन थाली – भैगो न सानो मन नगर्नू । आमाबाबा हुनुहुन्छ उहाँहरू । उहाँहरूले भनेको हामीले सहनुपर्छ । दैव छन् भने एक दिन सबै राम्रो हुन्छ ।
म रिसले त्यत्तिकै घर छोडेर निस्केँ र विद्यापीठतिर लागेँ । उता बाबाआमाले मलाई याने कि उसलाई छुट्याइ दिनुभएछ । मानो चामल अलग गरिदिनुभएछ । प्याङ्खर बारी मेरा फाँटमा राखेर अरू सबै आफूलाई र भाइलाई भागबन्डा गर्नुभएछ ।
यो कुरा थाहा पाएर म घर पुगेको थिएँ । म बाबुआमासँग वार कि पारको झगडा गर्ने मुडमा थिएँ । तर उसैले भनी – जे परे पनि सहनुपर्छ । बाबुआमासँग झगडा गरेर वरत्र मात्र होइन, परत्र पनि बिग्रन्छ । बाबुआमासँग झगडा गर्ने मान्छे सोझै नर्कमा पुग्छन् ।
त्यसैले उसको कारणले गर्दा म बाबुआमासँग धेरै झगडा नगरी विद्यापीठतिर फिरेँ । तर म अब श्रीमती लिएर घरगाउँ छोड्नुपर्छ भन्ने विचारमा लागेँ ।
एउटा साथीले सुनायो – चितवनमा राप्ती खोलाको किनारको फाँटमा सुकुम्वासी बस्ती छ । म त्यहीँ बस्छु । अलिकति जग्गा चर्चेको छु । सरकारले त्यो जग्गा नापी गरिदिने भन्ने सुनेको छु । नापी गरिदियो भने त, मधेसमा जग्गा पो पाइन्छ त । अहिले झुप्रो हालेर बस्न भइहाल्यो । पछि नापी भएपछि बेचेर सहर पसे पनि भयो ।
मलाई साथीका कुरा चित्त बुझ्यो । अनि म पहाड गएर श्रीमतीलाई लिएर आउने विचार गरेँ । उसले भनी – कहाँ जानु परदेशको ठाउँमा ? न घर छ, न जग्गा जमिन छ, न आफन्त छन् । कम्तीमा यहाँ बस्ने थातथलो त छ । झुप्रो भए पनि घर छ । प्याङ्खर भए पनि जग्गा छ । गाउँमा इज्जत छ । फेरि बाबुआमा बुढो हुँदै हुनुहुन्छ । हाम्रो सेवा चाहिन्छ ।
अनि मैले उसलाई धेरै आकाशपाताल देखाएर राजी बनाएँ । कुम्लोकुटुरो बोकेर चितवनको राप्ती खोलाको किनारमा उही साथीकोमा पुग्यौँ । एक हप्ता साथीकै झुप्रोमा बसेपछि साथीसहित लागेर हाम्रो पनि झुप्रो बन्यो । झुप्रो राम्रो बनाउनु हुन्नथ्यो । आफूलाई सुकुम्बासी देखाउनुपथ्र्यो ।
सुकुम्बासी बस्तीमा सरेपछि ऊ आफ्नो घरको खास मालिक्नी भएकी थिई । उसले त्यो झुप्रोलाई भित्रबाहिर लिपनपोतन गरेर चिटिक्क पारेकी थिई ।
एक महिना बितेको थियो । एक रात सुकुम्बासी टोलका कुकुरहरू धेरै भुकिरहेका थिए । सिमसिम पानी परिरहेको थियो । पुलिसले सुकुम्बासी बस्ती घेरेको थियो । पुलिसका हात्तीहरू दनादन ती झुप्रा घरहरू भत्काइरहेका थिए । पुलिसले आगो लगाइरहेका थिए । पेट्रोल छर्केर आगो लाएपछि त सिमसिम पानीमा पनि बल्दो रहेछ । हेर्दा हेर्दै हाम्रा घरहरू खरानी भएका थिए । एउटा धोक्रोमा हतारहतार केही लुगा, भाँडाकुँडा निकाल्न पाएका थियौँ । मान्छेको चिहिलबिहिल भएको थियो । पुलिस तथा सरकारलाई सरापिरहेका थिए । भगवान् भाकिरहेका थिए । हाम्रा गुहार गुहारहरू कसैले सुनेका थिएनन् । सुनेर मौन बसेको थियो भगवान् । डढाएर फर्केको थियो सरकार । हामी त्यही रात एउटा सालको फेदमा बसेका थियौँ । पानी अझै बिदो भइसकेको थिएन । पानीका थोपा तपतप गर्दै थिए । रूखको फेदमा ऊ मेरो काखमा सुतेकी थिई । म उसलाई पानीले नभिजाओस् भनेर छाता ओढाइरहेको थिएँ । करिब एक घण्टा सुतेपछि ऊ उठी र मलाई भनेकी थिई – आउनुस्, अब सुत्ने तपाईँको पालो । म छाता ओढाउँछु, तपाईँ मेरो काखमा सुत्नुहोस् ।
मेरा आँखाबाट अनायास आँशु आएछन् । मैले त्यही ओसिलो रातमा उसलाई अँगालो हालेर रोएको थिएँ र भनेको थिएँ – शान्ते, मलाई माफ गरी दे । मैले तँलाई निचुलोसँग एक धरो लाउन र एक गाँस खान दिन पनि सकिनँ । मलाई मेरो भाग्यले यस्तै बनायो । मेरो भाग्यका दशामा तँ पनि मुछिइस् । घर छैन, बारी छैन, जागिर छैन, इलम छैन । यही मेरो विपर्यास जिन्दगीसँग तैँले दुःख भोग्नुप¥यो । मलाई माफ गरिदे ।
उसले मलाई त्यही अँगालाका बिचमा भनेकी थिई – कस्तो कुरा गर्नुहुन्छ तपाईँ ? म निरक्षर र गरिब टुहुरी केटीलाई बिहे गर्नुभयो । आश्रय दिनुभयो । बिहे हुनेबित्तिकै म हुनेखाने पण्डित परिवारमा पुगेँ । म त समाजको नजरमा एकाएक धनी भएँ । एकधरो लाउन नपाएको र एक गाँस खान नपाएको कुनै दिन छैन । बाँकी रहेको यो सुखदुःख भन्नु पनि सोचाइ मात्र हो । मेरा लागि तपाईँ हुनुहुन्छ । तपाईँको काख छ । तपाईँको माया छ । तपाईँको काखमा सुतेको यो क्षण मेरो जीवनको ज्यादै सुन्दर क्षण हो । यसरी विपतका रातमा पनि आफ्नो श्रीमान्को काखमा निदाउन पाउनु भनेको संसारको सबैभन्दा ठुलो खुसी हो मेरा लागि ।
मैले भनेको थिएँ – होइन शान्ते, तँलाई काम खान बिहे गरिएको थियो । मैले यतिका धेरै वर्ष पढाइका लागि तँलाई त्यत्रो बुहार्तनमा हालिदिएँ । व्यवहार चलनका अग्गेठमा जाकि दिएँ । तर तैँले केही गुनासो गरिनस् । अँध्यारो अनुहार पनि लाइनस् । तँ महान् होस् । अहिलेको यो घडीमा तँ मात्र नभएको भए म आत्महत्या गर्ने थिएँ । आत्महत्या नगरे पनि पक्का जोगी हुने थिएँ । तँ छेस्, तेरो सहनशीलता र आदर्श छ र मात्र म बाँचेको छु । तँ मेरो लागि धन्य छेस् । तँ मेरो लागि विधाता होस् ।
उसले भनेकी थिई – त्यस्तो होइन, म निरक्षर छु, तर तपाईँसँग बिहे भएकै कारणले म पण्डितनी भएकी छु । मान्छेले सम्मान गरेका छन् । नत्र त मेरो के थियो र ? न समाउने ठाउँ, न टेक्ने ठाउँ । गाउँमा श्रीमती छाडेर सहर पढ्न गएका प्रायः सबैले अर्को आफू अनुकूलका बिहे गरेका छन् । तपाईँले अर्को बिहे गरेको भए पनि मैले सहनुपथ्र्यो । सहेकै छन् । तर तपाईँले मलाई जिन्दगीको पाटोमा डो¥याउनुभयो । नत्र त एक्लै पनि त बाँच्नु पथ्र्यो । त्यसैले म त जता तपाईँ जानुहुन्छ, त्यतै जान्छु । तपाईँको स्नेहपूर्ण काख नै मेरो सर्वस्व हो । ढुङ्गा, माटोले बनाएको घर पनि कतै घर हुँदो हो ?
यसपछि हामी कुम्लो कुटुरो बोकेर काठमाडौँको यात्रा गरेका थियौँ । असनको एउटा गल्लीमा डेरा लिएका थियौँ । त्यो डेरामा घामको मुख हेर्न पाइन्न थियो । धाराबाट पानी कहिलेकाहीँ मात्र आउँथ्यो । त्यो ओसमा हामीले जिन्दगी बिताएका थियौँ । स्थायी रोजगारी केही थिएन । म कर्मकाण्ड गर्न पशुपतिमा धोती र कमेज लगाएर जान्थेँ । कहिलेकाहीँ जजमान भेटिन्थे । केही पैसा र चामल प्राप्त हुन्थ्यो । यसले जिन्दगी बाँच्न धेरै मद्दत गरेको थियो ।
तर किन हो कुन्नि, हाम्रा सन्तान भएका थिएनन् । यो बुँदामा आएपछि ऊ उदास देखिन्थी । काठमाडौँ पुगेपछि हामीले डाक्टर देखायौँ । संयोग डाक्टरले दिएको औषधी सेवनले ऊ फेरिएकी थिई । र गर्भवती भएकी थिई । म सोचिरहेको थिएँ कि यो काठमाडौँको टिपौवा जजमाने इलमले के होला र ? अनि म लोकसेवा तयारी गर्न थालेको थिएँ । भाग्य थियो मेरो । मैले नासुमा लोकसेवा पास गरेको थिएँ । यसपछि म हुलाकमा पोस्टिङ भएको थिएँ । त्यहाँ काम कम, समय ज्यादा हुँदा शाखा अधिकृत पास गर्न पनि सजिलो भएको थियो । त्यही लोकसेवा पास नै मेरो जीवनको उकालो थियो । तर ऊ भन्थी – सरकारी कर्मचारीले घुस खाएर दुःख दिन्छन् भनेको सुनेकी छु । हरामको खाना खान हुँदैन । जति खान पुग्छ, बरु त्यति मात्र खाने, तर हराम नगर्ने ।
जागिरको नियुक्ति लिनु र उसले छोरा पाउनु एकै दिन परेको थियो संयोग । उसले फेरि छोरी पाई । हामी दुवै आरामले बसेका छौँ । एउटा सानो घर छ । छोराछोरी छन् । समय धेरै बितेको छ । छोराछोरी अहिले त दशदिशा लागिसकेका छन् । ऊ छे । म छु । सानो घर छ । उसले बनाएको एउटा संसार छ । हामी यसैमा रमाएका छौँ । म उसले बेरेको झ्याङमा अमरलत्ती भएको छु ।
जागिर खाने क्रममा म पार्टीहरूमा अलिअलि रक्सी खान थालेको थिएँ । पण्डितले रक्सी खाने भनेको कुरा समाजले अपहेलना गर्न थालेको थियो । तर उसलाई केही फरक परेको थिएन । एकदिन उसलाई छिमेकी दिदीले भनेकी थिइन् – हेर है शान्ता बहिनी, तिम्रा बुढा अचेल रक्सी खान थालेका छन् । अलि नियन्त्रण गर्नुपर्छ । दशा घडी पला हेरेर आउँदैन ।
उसले छिमेकी दिदीलाई जवाफ फर्काएकी थिई – उहाँ कमाउनु हुन्छ । यो सारा परिवारको बोझ उहाँले एक्लै थाम्नु भएको छ । कहिलेकाहीँ पिउनु हुन्छ त के फरक पर्छ ? मान्छेको जीवनमा राम र उसको पनि त केही अर्थ हुन्छ । साथीसँगी हुन्छन् । आफ्नो जिन्दगी त बाँच्नु प¥यो नि । उहाँ त मेरो देवता हो । देवतालाई केको नियन्त्रण, केको अनुशासन ? केको चियोचर्चो ? केको दण्ड ?
मलाई झाँगलझुँगल पारेर ट्याक्सीमा हालेर मेरो घर पु¥याइ दिएका रहेछन् टोलीले । म घरमा सोफामा सुताइएको रहेछु । ती साथीहरू मातेका भए पनि मेरो वरिपरि निन्याउरो मुख लगाएर उभिइरहेका रहेछन् । शान्ते मेरो टाउकोमा भिक्स लाइदिँदै रहिछे । शान्तेको औँला मेरो निधारमा पर्ने बित्तिकै मेरो बेहोसी तन्द्रा एकाएक हराएछ । टाउको टनटनी दुखिरहेको रहेछ । म भने अचम्मसँग कराइरहेको रहेछु – भो साले हो, धेरै कुरा नगर, ऊ मेरी स्वास्नी होइन, विधाता हो ।
सान मार्कोस, अमेरिका

Leave a Response