– डा. अमर कार्की
अब उसको लोग्ने छिटै यो संसार छोडेर जाँदै थियो तर रमालाई लोग्नेसित मायाभन्दा घृणा लागेर आयो । रिस पनि उठेर आयो । आफैले घाटी थिचेर मारी दिऊँ जस्तो पनि लाग्यो । फरक्क अर्कोतिर फर्केर भित्तामा टाङ्गिएको भित्तेपात्रोलाई हेरेर टोलाइरही । सात महिना अघिको त्यो दृश्य सिनेमाको रिलजस्तै घुम्न थाल्यो उसको दिमागमा ।’ ए रमा, बाबुले यो आइतबार आइपुग्छु भनेको हैन ?’ पिढीँमा थचक्क बसेर नाङ्लामा चामल केलाइरहेकी रमालाई सासूले सोधिन् ।
‘हो आमा तर एक दिन मात्र बस्न मिल्ने रे हेर्नु न कस्तो भन्या !’
हातमा दुधको बाल्टी बोकेर घरभित्र छिर्नै लागेकी सासू रमाको जबाफ सुनेर टक्कै अडिइन् । र उनले रमातिर मुन्टो फर्काएर भनिन्, ‘खै के के तिमीहरूको म त कुरै बुझ्दिन ! बिहे गरेको तीन वर्ष पूरा भएर चार लागि सक्यो । दुई पुस्तालाई पुग्ने सम्पत्ति जोडिसक्यौ । अब केलाई पर्खिरहेको हो ? एउटै लगनमा भित्र्याएको सुन्तलीको छोरो हजुर बाउको औँलो समाएर टुकुटुकु हिँड्ने भइसक्यो । के मचाहिँ नाति नातिनाको मुखै नहेरी मरौँ ?’ सासूको कुरा सुनेर रमाको मन बेचैन भो । केही नबोली उठेर करेसातिर लागी ।
निलो र सफा आकास । डुब्नै लागेको घाम । क्षितिजमा रङ्गीन घेरो अनि मन्द मन्द पवनको मुलायम स्पर्श । के यति पर्याप्त थिएन र फूलको लागि भमरालाई मोहनी लगाउन तैपनि मन स्थिर थिएन आज । एक वर्षपछि आज श्रीमान् घर आउँदै छ । त्यो पनि एक दिनको लागि ।
बिहे भएको महिना दिनमै श्रीमान् विदेश गएकाले ऊ एक्ली सासूको साथ घर सम्हालेर बसेकी थिई । श्रीमान्ले विदेशबाट कमाएर ल्याएको पैसाले घर, जग्गा र गहना जोडेर केही रकम जगेर्नासमेत गरिसकेका थिए तर सासूको नाति हेर्ने इच्छा पूरा हुन सकेको थिएन । अब त बिस्तारै सासूले बुहारीको कोखतिर शङ्का गर्न थालेकी थिइन् ।
त्यसैले आज ऊ अठोट गरेर बसेकी थिई । श्रीमान्लाई मन पर्ने चम्सुरको साग र काउलीको तरकारी, धनियाँ र पुदिना हालेर पिँधेको गोलभेडाको अचार, खसीको खुट्टाको झोल र यही दिनलाई भनेर जोगाएर राखेको एक मानो जति मसिनो वासमतीको चामलको भात पाकिसकेको थियो । लक्ष्मी दिदीले बताए बमोजिमको तागतिलो खानेकुरोको जोरजाम गरिसकेकी थिई । आफू पनि नुवाइधुवाइ गरेर पोहर साल बुढाले उतैबाट ल्याइदिएको नाइटी तयार पारेर राखेकी थिई ।
बेलुकी ७ बजे श्रीमान् घर आइपुग्यो । खाना खाने बेलामा सासूले फेरि सुनाइन्– ‘हे बाबु बुहारीलाई एकपटक डाक्टरकोमा देखाउन लैजा ।’ सासूको कुराले रमाको मन दुख्यो । उसले लोग्नेको मुखतिर पुलुक्क हेरी । लोग्नेले के हो भनेर आँखैको इशाराले सोध्यो । ऊ भरे भनौँला भन्दै चुलो लिप्न थाली । त्यो रात उसले चाहेबमोजिम नै बित्यो ।
छिट्टै फर्कन्छु भनेर मदन उतै फर्कियो । रमा फुरुङ्ग थिई । महिनावारी रोकियो । सासूको भुइँमा खुट्टा थिएन । धारो, पँधेरो, चौतारो भेटेका जति सबैसँग खुसी बाँड्दै हिँड्थिन् । सासूबुहारी घन्टौँसम्म थाङ्नादेखि कोक्रोसम्मको कुरा गरेर दिन बिताउँथे । आजकाल बुहारी पिँढीमा र सासू बारीमा हुन्थे । लाग्थ्यो घरमा खुसीको वर्षा हुँदै छ । यसरी दिन महिना बित्दै गयो । पेटमा हुर्कंदै गएको खुसीलाई बेलाबेलामा मुसारेर सुनौला दिनको कल्पनामा डुबिरहन्थी ।
मदन सात महिनापछि नै घर आयो । श्रीमान्को काखमा पल्टिएर नयाँ पाहुनाबारे कुरा गर्न आतुर थिई ऊ तर श्रीमान्को आलिङ्गन चिसो थियो । सुकेको थियो । उसले बुझ्न सकेकी थिइन, किनकि यसपटक ऊ एक्लै आएको थिएन साथमा एउटा आँधी बोकेर फर्केको थियो ।
डाक्टरले त्यो भुमरीको पोको खोलेपछि रमाको मस्तिष्कमा गएको एक वर्षदेखि श्रीमान्ले सधै केही बाहना बनाउँदै उसको कुरा टार्दै आएको तर सात महिना अघिको त्यो रात कसरी आफ्नो बर्बादीको ढोका खोल्न प्रेरित गरेकी थिई सम्झी । त्यो रात लोग्नेले लगाउन खोज्दा उसले नै ‘भो लगाउन पर्दैन आज । आमाको कुरा सुनेनौ । अब हाम्रो बच्चालाई खेलाइ खेलाइ पाल्ने सम्पत्ति पनि जोडिसकियो नरोकौँ आउन देऊ । पु¥याइदिऊँ आमाको नाति नातिना हेर्ने इच्छा’ भनेर उसको हातबाट खोसेर फालिदिएकी थिई ।
‘मुख थिएन र पापीको आफूलाई एड्स लागेको छ भन्न । आफूले गरेको अपराधको भागी हामीलाई समेत बनायो अपराधीले’ आफ्नो पेट सुमसुम्याउदै बलिन्द्र धारा आँसु खसाल्दै एकपटक घृणा र क्षोभले भरिएको आँखाले लोग्नेतिर हेरी । त्यसपछि बाढीमा बगिरहेको मान्छेले पहिरोबाट खसी रहेको रुखको हाँगातिर हेरे झैँ निरीह भएर सासूको मुखमा हेरी तर त्यहाँ कुनै साहारा थिएन । थियो त केवल निरासा र लाचारी अनि अन्धकार ।
धापाखेल, ललितपुर, हाल : फ्लोरिडा, अमेरिका ।