close

टोपीमा लुकेको भाग्य

डा. कुसुमाकार शर्मा गौतम

‘विवाहको कुरो छिन्न दुलाहा हुने केटा पनि आउने रे !’ भन्ने कुराले मेरो मन ढक्क फुलेको थियो । एक हिसाबले त केटा कस्ता रहेछन् भन्ने थाहा हुने । कालो ? गोरो ? बोली कस्तो होला ? सोचेको भन्दा फरक भयो भने ? म के कम छु र ? स्नातक गरेकी छु । म हर्ष र बेचैनीको दोसाँधमा थिएँ । लाजले मेरो भाव भङ्गीमा फेरिएको थियो । मेरो दशा देखेर बाले मलाई हाँसी हाँसी सोध्नुभएको थियो– ‘छोरी ज्ञानु, तिमीलाई केटामा के खोट नभइदिए हुन्थ्यो भन्ने लागेको छ ?’

‘के कुरा सोधेको त्यस्तो ? केटो वकिल, त्यसमा पनि सरकारी जागिरे । सबै राम्रो भएको सिनेमाको हिरो खोजेर कहाँ पाइन्छ ?’ आमा कड्किनुभयो ।

‘तैपनि छोरीको मनमा केही छ कि भनेर सोध्नु त पर्यो नि !’

बाले आमालाई शान्त गराउँदै हुनुहुन्थ्यो । लाजले गर्दा मेरो मुटुको धड्कन कान र तालुमा बजिरहेको थियो । केही नबोली भुइँमा आँखा गाडेर खुट्टाको बुढी औँलाले भुइँ कोट्याइरहेँ । भाइले जिस्क्यायो– ‘दिदीलाई त चुच्चे नाक भएको र तालुखुइले केटो मन पर्दैन रे !’ मैले भाइलाई चिमोटेँ ।

‘बाहुनको नाक चुच्चे भइहाल्छ नि ! अनि के कपालले खान दिन्छ र ?’ आमाले आँखा तर्दै मलाई हेर्नुभयो ।
‘त्यसो भने त्यस्तो खास केही छैन हो ?’

बाले मलाई खार्नु भो । म चुपचाप बसिरहेँ । मौन सहमति लक्षणम्, सोधाइको क्रम अगाडि बढेन । ठुलो बोझ हल्का भएको महसुस भयो ।
एक दिन अपराह्न घरको छेवैमा रहेको पँधेरामा नुहाई धुवाई गर्न र पानी भर्न गएकी थिएँ । नुहाई सिध्याएर पानी भर्दै गरेको बेलामा तीन जना सुकिला–मुकिला मान्छेहरू मूलबाटो समातेर पँधेरोतिरै आउँदै गरेको देखेँ । गाउँको मूलबाटो त्यही पँधेरो हुँदै हाम्रो घरतिर जान्छ । दुई जना इस्टकोट लगाएका र पछाडिपट्टि ढाडमा छाता झुन्ड्याएका अधबैंसे मान्छे पण्डितजस्ता देखिन्थे । तेस्रो व्यक्तिचाहिँ सर्ट, प्यान्ट, आँखामा चस्मा र ढाका टोपी लगाएका जवान नै देखिन्थे । मलाई शङ्का लाग्यो कहीँ यिनीहरू मलाई नै हेर्न आएका त हैनन् ?
त्यो सोच्ने बित्तिकै मेरो तालु सुक्यो । झटपट गाग्रीलाई डोकोमा राखेर कुद्नै आँटेकी थिएँ । पछाडिबाट आवाज आयो– ‘ए नानी ! मणिराम अर्जेलको घर कता प¥यो ?’ अब भने मलाई पक्कै भयो । बाको नाम सोध्ने यिनीहरू पक्का मैलाई हेर्न आएका हुन् । फर्केर हेरेको त ती जवान केटाले मलाई नै क्वारक्वारती घुर्दै रहेछन् । केही न केही जवाफ त दिनै प¥यो । भनेँ– ‘यो मूलबाटो नछोडी जानुस् । बाँसको झाङ काट्ने बित्तिकै बाटोमुनि ढुङ्गाले छाएको रातो रङ्गको घर देखिन्छ, त्यही हो ।’ कसरी एक सासमै भन्न सकेँ आफैलाई अचम्म लाग्यो । उनीहरू गएपछि म पनि घरतिर लागेँ ।

म घरमा पुग्दा पाहुनालाई बा, आमा अनि सानोबा र सानीमा मिलेर स्वागत सत्कार गर्दै हुनुहुन्थ्यो । पाहुनाहरूलाई आँगनको डिलमा कम्बल बिछ्याएर बसाइएको थियो । हजुरआमाले ‘को हौ ? के हौ ?’ भनेर पाहुनालाई खगी–खगाउ पार्दै हुनुहुन्थ्यो । हजुरआमा बुढेसकाल लागेर आँखा कम देख्नुहुन्छ । त्यही भएर मुन्टो अगाडि तानेर एक एक जनालाई गहिरिएर हेर्दै हुनुहुन्थ्यो ।

म आँगनमा पुग्ने बित्तिकै बाले मलाई देखाउँदै भन्नुभयो ‘यिनी मेरी छोरी ज्ञानु हुन् ।’ गाग्री बोकिराखेकी म कस्तो अप्ठेरोमा परेँ भन्नै सक्तिनँ । लाजले निहुरिएकै अवस्थामा नमस्ते गरेर घरभित्र पसेँ । गाग्री राख्दै गरेको बेलामा भाइ आयो र ‘दिदी ! दिदी ! यी मान्छेहरू तिमीलाई हेर्न आएका हुन् रे ! बाले भनेको । कस्तो गज्जब भयो नि ! त्यो मान्छेको नाक चुच्चे छैन ।’ भनी कानेखुसी गर्दै आँखा सन्कायो । भाइलाई रिसाएको आँखा देखाएँ तर मनमनै खुसी भएकी थिएँ नाक चुच्चे नभएकोमा । फेरि मेरो सोचाइ तालुमा गयो ।’ टोपी लगाएको छ, तालु ?’ मेरो कौतुहलताले सीमा नाघ्दै गयो ।

एकछिन पछि आमा भित्र आउनुभयो । आमालाई म कपडा लगाउन जान्छु भनेर भ¥याङ चढेर माथि आफ्नो कोठामा गएँ । मेरो कोठाबाट पुरै आँगन देखिन्थे । झ्याल खुलै भएकोले मैले पाहुनाहरूलाई पुरै देख्न सक्थेँ । कोठाको एक कुनामा बसेर केटालाई हेरेँ । मनमा कता कता काउकुती लाग्यो । केटा गोरा, राम्रा रहेछन् । टोपी पनि कस्तो सुहाएको । चस्मा लगाउने भए पनि टोपी र चस्माले मुहार झन् खुलेको थियो । म पुलकित भएँ । टोपी झिक्यो भने के होला ? तालु खुइले त नहोस् ।

तालु सम्झने बित्तिकै पूर्व स्मृतिले डो¥यायो । म एसएलसीपछि आई.ए. पढ्न सहर गएँ । त्यही समयमा मैले पढेको विद्यालयले एक जना शिक्षक भर्ना गरेको रहेछ । मेरा बा विद्यालय व्यवस्थापन समितिको सदस्य भएकाले ती शिक्षक मेरो घरमा आऊ जाऊ गर्दा रहेछन् । त्यही मौकामा मेरो बारेमा ती शिक्षकले सबै जानकारी लिएका रहेछन् ।

पहिलो वर्षको जाँच सिध्याएर म घर गएको बेला एक दिन साँझपख मैले नचिनेका एक जना मानिस हाम्रो घरमा आए । त्यतिखेर बा घरमा हुनुहुन्थेन । आमा पनि हजुर आमालाई लिएर स्यानाबाको घरमा जानुभएको थियो । भाइ विद्यालयबाट आइपुगेको थिएन । नचिनेको मान्छे घरमा आउँदा मैले ‘कसलाई भेट्न आउनुभयो ? भनेर सोधेँ ।’

‘तिमीलाई’ भन्ने जवाफले म खुर्मुरिएँ, हतप्रभ भएँ ।

मैले कहिल्यै पनि नदेखेको र नचिनेको मान्छेको जवाफ सुनेर रिस उठेर आयो । तिनको नियत राम्रो नभएको जस्तो लाग्यो । यसका साथै मलाई डर लाग्न थाल्यो– ‘मैले त तपाईंलाई आजभन्दा पहिले कहिल्यै पनि देखेकी छैन । नचिनेको मान्छेलाई किन भेट्नुप¥यो ?’ मेरो आवाजमा उत्तेजना र डर मिसिएको थियो ।

‘मैले त ठट्टा गरेको । म यहीँको विद्यालयमा शिक्षक छु । बुवासँग गफ गर्न मन लागेर आएको । सधैँ बुवाले तिम्रो बारेमा कुरा गर्नुहुन्थ्यो । आज भेट भयो ।’ बोल्दा पनि उछिट्टिएका दाँत, चुच्चे नाक र खुइलिएर चिल्लो भएको टाउको देख्दा कति कुरूप मान्छे रहेछन् भन्ने लाग्यो । रूपको साथसाथै बेहोरा पनि गएगुज्रेको लाग्यो ।

‘म आएको थिएँ भनेर बुवालाई भनिदिनू ।’ भनेर ती शिक्षक हिँडे । त्यो दिनको घटनाले एउटा कुराको शङ्काले घर ग¥यो मेरो मनमा । ती शिक्षकको नियत मसँग विवाह गर्ने त होइन ? त्यो सोचाइले मेरो मन अत्तालियो । चुच्चे नाक र तालु खुइलेप्रति घृणा जाग्यो । बा आएपछि ती शिक्षकको नियत र बेहोरा राम्रो नभएको भनेर गुनासो गरेँ । बाले त्यस्ता केटासँग विवाह नगरिदिऊन् भनेर भाइलाई ‘मलाई त चुच्चे नाक र तालु खुइले मन पर्दैन भन्दिनु बालाई’ भनेर सम्झाई रहेँ ।

म स्मृतिमा डुबिरहेको बेला आमाले कोठामा आएर ‘ज्ञानु !’ भनेर बोलाउँदा झसङ्ग भएँ । आमा खुसी देखिनुहुन्थ्यो ।’ज्ञानु ! केटाले तँलाई मन पराए रे ! हामीलाई पनि केटा राम्रै लागे । तँलाईं कस्तो लाग्यो ?’

‘मैले के भन्नु ? हजुरहरूले राम्रै देख्नुभएको रहेछ । ठिकैजस्ता छन् ।’ मेरो बोली फुट्यो ।

‘कुरो मिलेपछि भोलि नै टीकाटालो गर्ने भन्नुहुन्छ उहाँहरूले । आज यहीँ बस्ने रे !’ यति भनी आमा बाहिर जानुभयो ।

‘यहीँ बस्ने रे ?’ मनमनै दोहोर्याएँ । यहीँ हाम्रो घरमा ? मलाई किन हो किन राम्रो लागेन । कता कता डर पनि लाग्यो । त्यहीबेला सानीमा म भएको कोठामा आउनुभयो र भन्नुभयो ‘केटा सोमतिला र खुला दिलका रहेछन् । तलाईं राम्रोसँग पाल्ने छन् । भाग्यमानी रहिछेस् ज्ञानु । खानेपिउने र सुत्ने व्यवस्था हामी कहाँ गर्ने हो । सहयोग गर्न तँ पनि आइज तल ।’ पाहुना सानिमाको घरमा बस्ने भन्ने भनाइले मलाई चरम खुसी दियो । ‘हस्’ को भावमा मैले टाउको हल्लाएँ ।

कपडा लगाएर म पनि सानिमालाई सहयोग गर्न आमासँगै कान्लामुनि सानाबाको घरमा गएँ । खाना खानु अगाडि सानिमाले मलाई र केटालाई कुरा गर्न आफ्नो कोठामा एक्लै पारिदिनुभयो । म त लाज र डरले भुतुक्कै भएँ । मेरो सास माथिको माथि, तलको तल अड्कियो । मैले केटालाई हेर्न त कता हो कता केटाको खुट्टा मात्रै हेर्न सकेकी थिएँ । निलो रङको मोजा र निलै रङको पाइन्टको मोता मात्रै देखेकी थिएँ । केटालाई पनि के भन्ने ? के सोध्ने ? भनेर बचैनी बढेको अडकल गरेँ । आफूले लगाएको हातेघडीको चेन खोल्दै लगाउँदै गरे धेरै बेर ।
‘मलाई ईश्वर भन्छन् अनि तिमी ?’

म झसङ्ग भएँ– ‘मलाई ज्ञानु ।’

‘म वकिल हुँ । छिमेकी जिल्लामा काम गर्छु । मलाई त तिमी राम्री लाग्यौ । म कस्तो छु ?’

मलाई झन् सरम लाग्यो । मुठ्ठी कसेँ । भुइँ कोट्याउँदा कोट्याउँदा अब त नङ नै खिइसक्यो तैपनि केही त भन्नै प¥यो अनुहार रातो पार्दै भनेँ– ‘राम्रो’ । धन्न त्यही बेला आमाले बोलाउनुभयो भान्सामा ।’ म भान्सामा जान्छु है ?’ भनेर दौडिएँ । भान्सामा दौडेर पुग्दा स्याँ स्याँ भएकी थिएँ । मेरो हालत देखेर आमा र सानिमा मरीमरी हाँस्नुभयो । मलाई भने केटाप्रति माया जागेर आयो । पहिलो नजरमा पिरती बस्यो भनेको यही हो कि ? मैले आफैलाई भाग्यमानी ठानेँ ।

भोलिपल्ट बिहानै टीकाटालोको कार्य सुरु भयो । बाआमाले हामी दुईलाई टीका लगाइ दिइसकेपछि बाले हजुरआमालाई– ‘केटाकेटीलाई तपाईंले पनि टीका लगाइदिनुस् आमा’ भन्नुभयो । हजुरआमाले टीका दाहिने हातमा लिएर केटातिर बढाउनुभयो । आँखाले निधार ठम्याउन नसक्दा देब्रे हात अगाडि बढाउनुभयो । देब्रे हातको औँलाले केटाले लगाएको ढाकाटोपी खसाइदियो ।

त्यो दृश्य देखेर सबै हतप्रभ र निःशब्द भए । सबै छक्क परे । केटाको अगाडिको तालु त पुरै खुइलेको रहेछ, एउटा पनि रौँ रहेनछ । हजुरआमाले निधार छाम्दै भन्नुभयो– ‘बाबुको निधार कति ठुलो रैछ ? धेरै भाग्यमानी रहिछे ज्ञानु ।’ भाइले देब्रेतिरबाट आँखा सन्काउँदै मुख कच्याक–कुचुक पार्यो । मनमनै आफैलाई धिक्कारेँ ‘तालु खुइले दुलाहा मैलाई पर्नुपर्ने ?’

Leave a Response