– प्रमोद पाण्डे
म २०५२ सालमा गाउँकै विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौँ खाल्डोमा छिरेको हुँ । त्यतिबेलाको परिवेश अहिलेभन्दा निकै फरक थियो । अर्थात् व्यवस्था फरक थियो । शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक अवस्था फरक थियो । गाउँ घरको परिवेश आज जस्तो थिएन । उच्च शिक्षाका लागि काठमाडौँ नै धाउनु पर्ने परिस्थिति थियो । गाउँबाट खर्च ल्याउँदै काठमाडौँ बसेर अध्ययन गर्न सक्ने अवस्था प्रायः कमैको हुन्थ्यो । त्यतिबेला अहिलेजस्तो प्लस टुको कुनै व्यापार थिएन । सरकारी क्याम्पसमै भर्ना भएर अधिकांश विद्यार्थीहरू प्रवीणता प्रमाणपत्र तह हुँदै उच्च शिक्षासम्म पुग्थे ।
गाउँबाटै प्रथम श्रेणीमा एलएलसी पास गरेर उच्च जोस र जाँगरका साथ काठमाडौँ छिरेको मसँग जोस, जाँगर र उमङ्ग त कति थियो कति । आर.आर. क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा भर्ना भएसँगै ममाथि पढाइका साथै आफूलाई काठमाडौँमा टिक्न सक्ने वातावरण बनाउनुपर्ने चुनौती थियो । घरबाट खर्च ल्याएर पढ्न सक्ने अवस्था फिटिक्कै्र थिएन । प्रवीणता प्रमाणपत्र तहमा भर्ना भएपछि कामका लागि अनेक ठाउँहरू पुगेँ । अनुनय विनय गरेँ । भौँतारिएँ । अहँ, कतै कामको अवसर मिल्दै मिलेन । मसँग त्यस्तो कुनै सिप पनि थिएन । सिप भएकाहरू पनि काम पाउन सकिएन भनिरहेका थिए । म पनि के के गरौँ भएर छटपटिई रहेको थिएँ ।
कम्प्युटर सिके सहजै जागिर पाइने सोच धेरैमा थियो । अर्ती, उपदेश, सल्लाह र सुझाव दिनेहरू त्यसै भनिरहेका थिए । धेरैका मुखमा कम्प्युटर र जागिर जोडिएको थियो । मैले पनि जसोतसो खर्चको जोहो गरेर काठमाडौँको पुतलीसडकमा ६ महिने कम्प्युटर कोर्स गरेँ । त्यही इन्स्टिच्युटमा काम पनि गर्न थालेँ । १७–१८ वर्षको जोसिलो उमेरमा मेरो ध्यान कम्प्युटरतिर केन्द्रित भयो । त्यतिबेला कम्प्युटर विलासिताकै वस्तु मानिन्थ्यो । कम्प्युटरमा नेपाली, अङ्ग्रेजी राम्रो टाइप गर्न सक्ने र माइक्रोसफ्ट, वर्ड, एक्सल, पेजमेकर, फोटोसप आदिजस्ता प्रोग्राम चलाउन सक्नेलाई कामको खाँचो थिएन ।
म पनि कामका लागि दक्ष भएँ । ठाउँ ठाउँबाट कामको अफर आउन पनि थाल्यो । सोही सिलसिलामा भानिज दाइ गोविन्द त्रिपाठी (जो हाल इन्सेकमा कार्यरत हुनुहुन्छ) बाट साहित्यकार नरनाथ लुइँटेलसँग भेट भयो । उहाँहरूले काठमाडौँको बागबजारमा ‘हाम्रो कम्प्युटर सेवा’ खोल्नुभएको थियो । म त्यहीँ काम गर्न थालेँ । कामकै सिलसिलामा २०५५ सालमा नवराज रिजाल र नवप्रज्ञापनसँग पहिलो भेट त्यहीँ भएको थियो । त्यो सानो भेटपछि नवप्रज्ञापनसँग मेरो सम्बन्ध गाँसिएको थियो । त्यतिबेला गाँसिएको सम्बन्ध अहिले पनि यथावत् छ । हामी जोडिएका छौँ । जोडिएका मात्र पनि छैनौ एकसाथ हिँडिरहेका पनि छौँ । यो हिँडाइ गतिशील साँच्चै बनिरहेको छ ।
वि.सं. २०५० मा बारा जिल्लाबाट प्रकाशन आरम्भ भएको नवप्रज्ञापनमा म २०५५ तिर जोडिएको थिएँ । र आज पनि जोडिएकै छु । त्यसपछिका सबै अङ्कहरूका काम म आफैँले गरेको हुँ । त्यसो त त्यो काम अहिले पनि गरिरहेको छु । मलाई पूरा यकिन त छैन तर मैले ३० अङ्कबाट यसको काम थालेको हुनुपर्छ । नवप्रज्ञापन मात्र हैन नवराज रिजालका सबै कृतिहरूका काम पनि मैले नै गरेको हुँ । अब नवप्रज्ञापनको सय अङ्कको काम पनि सकियो । अहिले सम्पादकज्यू अलिकति हतारिरहनु पनि भएको छ । म अन्य ठाउँमा पनि जोडिएको छु । बाँच्नका लागि धेरैतिर भौँतारिनु पर्ने अवस्था रहेको छ । अर्थात् त्यही आवश्यकताले फनफनी घुमाइ रहेको छ ।
नवराज रिजाल अर्थात् नवप्रज्ञापनका सम्पादक–प्रकाशकसँगको सम्बन्ध बर्षेनी फस्टाइरहेको छ । मैले भेट्दा उहाँ एकदमै जोसिलो युवा हुनुहुन्थ्यो । ढाका टोपी र कालो ब्याग बोकी नेपालीपनमा ठाँटिएर हिँड्नुहुन्थ्यो । आज मात्र कहाँ हो र ? २५ वर्षअघि पनि परिपक्व साहित्यकार जस्तै देखिनुहुन्थ्यो । उहाँसँगका कुराकानीमा देशका लागि केही गरौँ भन्ने हुटहुटी सधैँ जागिरहेको देख्थेँ । त्यतिबेला पत्रपत्रिका निकाल्नु चानचुने विषय थिएन । अहिलेजस्तो इमेल, इन्टरनेट, मोबाइल, कम्प्युटरको सहज पहुँच थिएन । कम्प्युटर, ल्यापटप जोड्नु निकै ठुलो कुरा थियो । जो कोहीले सक्ने अवस्था थिएन ।
त्यति अप्ठेरो समयमा पनि यसका सम्पादकले हार मान्नुभएन । पछाडि फर्कने सोच कहिल्यै पनि राख्नुभएन । उहाँको बसाई काठमाडौँ खाल्डोभित्र पनि थिएन । उपत्यकाबाहिरको एउटा ग्रामीण इलाकामा शिक्षक हुनुहुन्थ्यो । स्नातकोत्तर तहको विद्यार्थी पनि हुनुहुन्थ्यो । विद्यार्थी, शिक्षक र सम्पादक–प्रकाशकको काम समय मिलाएर जोस र जाँगरका साथ गरिरहनुभएको थियो । यो काम सजिलै जो–कोहीले गर्न सक्ने कुरै थिएन । प्रायः कम्प्युटरमै काम गरिरहने म उहाँको सक्रियता देखेर अचम्म मान्थेँ । समय कसरी मिलाउनुभएको होला मनमनै सोच्थेँ । उपत्यकाबाहिर ग्रामीण इलाकाको मानिस समयको व्यवस्थापन गर्दै सहजताका साथ सहरमा उपस्थित भएर विभिन्न काम एकसाथ गरिरहेको छ ।
उठबस बाक्लो हुँदै गएपछि आत्मीयता बढ्दै जानु स्वाभाविक नै हो । सम्पादकज्यूको सहज समय बिदाको दिन र साँझ बिहान भएकाले त्यही समय मिलाउँथेँ । उहाँ टाइप गर्नुपर्ने लेख रचना मलाई छाडेर जानुहुन्थ्यो । यसले भेटघाट अझ बाक्लो गराएको थियो । २०५५ देखि २०५७ सम्मको दुई वर्षभित्रै अत्यन्तै निकट भइसकेको थिएँ । मैले काम त धेरै पत्रिकाको गरिरहेको थिएँ तर नवप्रज्ञापन मेरो आफ्नै पत्रिका जस्तो लाग्न थालिसकेको थियो । यसैले त म जहाँ जहाँ गएँ नवप्रज्ञापनको कामलाई सँगसँगै लिएर गएँ । अर्थात् मेरो बसाई सराई सँगै नवप्रज्ञापनको कामको बसाई सराई पनि बारम्बार भइरह्यो ।
केही वर्ष म बस्ने कोठा चावहिल र मैतीदेवीबाट पनि नवप्रज्ञापनको काम भयो । २०५७ मा काठमाडौँको बागबजारमा ‘डीएन्डडी कम्प्युटर’ खोलेंँ । त्यसपछि पत्रिकाको काम त्यहीँबाट हुन थाल्यो । उहाँलाई समयको पाबन्दी थियो । आइरहन पाउनु हुन्नथ्यो । यो कुरा म राम्ररी बुझ्थेँ । यसैले नवप्रज्ञापनको काम जहिले पनि मेरो शिरमा हुन्थ्यो । सम्पादकसँगको आत्मीयताले पत्रिका मेरै हो भन्ने ठानेको म आज पनि त्यही अवस्था छु । अलिकति पनि पर ठानेको छैन । बागबजार सरेपछि नवप्रज्ञापनको कार्यालय पनि यही जस्तो भयो । सम्पादकज्यू बिदाका दिन हुने साहित्यिक कार्यक्रमहरू प्रायः छुटाउनु हुन्नथ्यो । कार्यक्रममा आउँदा बागबजारमा हामीबिच भेट भइहाल्थ्यो ।
ती दिन सम्झँदा अहिले पनि आङ्जिरिङ हुन्छ । पत्रिका निकाल्ने क्रममा निकै कष्ट र दुःख ब्यहोर्यौं । १८ घण्टाको लोडसेडिङसँग जुध्दै पत्रिका निकाल्नु चानचुने विषय थिएन । सम्पादकज्यूकै जोसका कारण मैले चार–पाँच घण्टासम्म थेग्ने इन्भटर जोडेको थिएँ । त्यसपछि काम केही सहज भए पनि लोडसेडिङको मारले प्रताडित तुल्याएको थियो । परिवेश हेर्दा लाग्थ्यो यो मुलुक अन्धकारबाट कहिले पनि मुक्त हुन सक्दैन । जेनेरेटरका आवाजहरू जताततै सुनिन्थे । मैनबत्तीको व्यापार राम्रेसँग मौलाएको थियो ।
बत्तीको तालिकाअनुसार बागबजार कार्यालयमा उपस्थित हुनुपथ्र्यो । कहिले बिहानैदेखि त कहिले बेलुकादेखि खट्नुपथ्र्यो । लोडसेडिङले हरेक मानिसको दैनिकी अस्तव्यस्त बनाएको थियो । नवप्रज्ञापनका सामान्य अङ्क निकाल्न त्यति कठिनाइ नभए पनि विशेषाङ्क निकाल्न निकै मुस्किल हुन्थ्यो । विशेषाङ्क निकाल्नका लागि हप्तौं दिन खट्नुपथ्र्यो । भात भान्सा बागबजारमै हुन्थ्यो । बाध्यता थियो त्यसैले समय जसरी पनि निकाली छाड्थ्यौँ । पत्रिका प्रेसबाट निस्किएपछि प्राप्त हुने सुखानुभूतिको सीमा नै हुने थिएन । हामी दुबै आफूलाई के के न ग¥यौँ भन्ने ठानेर आफूले आफैलाई बहादुरको कोटीमा दर्ज गथ्र्यौ ।
सम्पादकज्यूको काम र बसोबास दुबै उपत्यकाबाहिर भएकाले आउजाउ सहज थिएन । अत्यन्तै अप्ठेरो थियो । एउटा जागिरेका लागि मन लागेको समय कहाँ उपलब्ध हुन सक्छ र ? अहँ हुँदैन । उपलब्ध समयको व्यवस्थापन गर्ने हो । तर गर्दागर्दै पनि त मिल्दैन । यता मिलायो उता मिल्दैन । अनि उता मिलायो यता मिल्दैन । उहाँ कतिपल्ट त उपत्यका बाहिरबाट सिधै हान्निएर बागबजार आइपुग्नुहुन्थ्यो । उहाँको अनुहार र अवस्था देखेपछि मलाई त्यतिबेला लाग्थ्यो साहित्य त एउटा नशा रहेछ । त्यसले छोएपछि छाड्न सकिँदो रहेनछ ।
आफ्ना बालबच्चा र परिवारलाई दिने समयसमेत कुनै परवाह नगरी पत्रिका र साहित्यप्रतिको उहाँको लगाव र खटाइ देख्दा मलाई लाग्थ्यो– एउटा अठोट लिएर लक्ष्य प्राप्ति गर्न हिँड्नेहरूका लागि सानातिना बाधा अड्चनले रोक्न सक्दैन । यो कुरा म यसका सम्पादकमा देख्थेँ । म उहाँको खटाइ र दौडधुप नजिकबाट नियालिरहेको हुन्थेँ । कहिलेकाहीँ थकित मुद्रामा अफिसको कुर्सीमै निदाउनुहुन्थ्यो । तर उहाँको शरीर थाके पनि मन थाकेको हुँदैनथ्यो । जुरुक्कै उठेर कतै जानु छ भनेर हिँडिहाल्नुहुन्थ्यो । पत्रिकाको काममा बढीभन्दा बढी शनिबार खट्नुहुन्थ्यो । म पनि सकेसम्म शनिबार उहाँकै लागि छुट्याउँथेँ । मलाई लाग्छ आराम र घर परिवारका लागि दिने अधिकभन्दा अधिक समय पत्रपत्रिकालाई दिनुहुन्थ्यो । यसैको प्रतिफल नवप्रज्ञापन १००औँ अङ्कमा आइपुगेको हो ।
आज नवप्रज्ञापन एउटा युग बनेको छ । २०५५ सालदेखि निरन्तर यसको संरचनासँग अन्तरघुलित छु । टाइप गर्ने क्रममा, शुद्धाशुद्धी हेर्ने क्रममा यसका प्रायः सबै सामग्रीहरू बुझ्ने अवसर पाइरहेको छु । यसका लेख रचनाले विभिन्न कालखण्डको प्रतिनिधित्व राम्रैसँग गरेका छन् । साहित्यमा नयाँ प्रतिभा जन्माउन र श्रीवृद्धिका लागि नवप्रज्ञापनले महत्त्वपूर्ण भूमिका खेलेको छ । यसमा प्रकाशित हुने कथा, कविता, लेख, समीक्षा, समालोचना, नियात्रा, निबन्ध आदिले समयानुसारका परिवेशलाई खुलस्त पारेका छन् । माओवादी द्वन्द्व, विभिन्न खालखण्डका राजनीतिक परिघटना, सांस्कृतिक सामाजिक विकृतिसम्बन्धी विविध लेखरचना र यसमा प्रकाशित सम्पादकीयले समयक्रमको परिवेशलाई राम्रैसँग उजागर गरेको छ ।
मलाई सम्झना छ पत्रिका प्रकाशनका क्रममा सामग्री तयार गर्दा चियाको चुस्की लिँदै त्यतिबेलाका राजनीतिक परिवेश र विभिन्न घटनाक्रमसँग जोडिन्थ्यौँ । देशमा भएका विविध काण्ड र राजनीतिक घटनाक्रम बारे पनि राम्र्रै बहस हुन्थ्यो । विचार विमर्श चल्थ्यो । माओवादी द्वन्द्वकाल, राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको कु, २०६२÷६३ को जनआन्दोलन सबैलाई हामीले बागबजारका अँध्यारा कोठाबाट राम्रैसँग नियाल्यौँ । जनआन्दोलनका बेला बागबजार क्षेत्रमा दिनहुँ हुने झडपमा मुस्किलले जोगिन्थ्यौँ । संविधानसभाको निर्वाचन, नयाँ संविधान जारी, २०७२ सालको भूकम्पजस्ता घटनाक्रम पनि काम गर्ने क्रममै बागबजारबाटै नियाल्यौँ । भूकम्प जाँदाका बखत बागबजारका मच्छीगल्लीमा बिताएका क्षणहरू निकै अविस्मरणीय रहेका छन् ।
अफिसमा बसेर काम गर्दागर्दै भूकम्पले कम्प्युटर हल्लाएपछि भागाभाग चल्थ्यो । २०७२ साल बैशाख–असारको पूर्णाङ्क ६८ (छन्द कविता विशेषाङ्क) निकै मुस्किलले निकाल्यौँ । भूकम्पपछि गइरहने पराकम्पको त्रास र काठमाडौँको अत्यन्तै बाक्लो बस्ती भएको बागबजारको चर्केको घर त्यतिबेला हाम्रो लागि निकै जोखिमपूर्ण थियो । तैपनि हामी ज्यानकै बाजी लगाएर पनि कामका लागि खटिरह्यौँ । यो बाध्यता थियो । समयमै पत्रिका निकाल्नुपर्छ भन्ने सम्पादकज्यूको विचारलाई म टार्न सक्दिनथेँ । तीे विगत, ती दिनहरू, उसका पञ्जा र इतिहासका कुरा अहिले पनि सम्झदा आङ सिरिङ्ग हुन्छ ।
माओवादी युद्धकालमा निकै अप्ठ्यारा र असहज स्थिति सिर्जना भए । माओवादी युद्धलाई बागबजारबाटै नियाल्यौँ । द्वन्द्वको चरम उत्कर्षको बेला त्रासदीले आम मानिसलाई आतङ्कित तुल्याएको थियो । सेना र माओवादी लडाकुबाट को कति बेला मारिने हुन् कुनै टुङ्गो थिएन । आम नागरिक त्रसित त्रसित थिए । नागरिकहरूमा एक किसिमको सन्नाटा थियो । दिनहुँ जसो सुरक्षाकर्मी र माओवादी लडाकुबिच भिडन्त भइरहन्थे । प्रहरी प्रशासनले निगरानी बढाएको थियो । अफिसमा काम गरिरहँदा पनि असुरक्षित महसुस गथ्र्यौँ । बागबजारका घर र कोठाहरूमा सुरक्षाकर्मीले कुन बेला छापा मार्ने हुन् टुङ्गो थिएन । प्रगतिशील लेखरचना भेट्टाए झनै पक्राउ गरेर लाने गथ्र्यो ।
मेरो कार्यालयमा प्रगतिशील लेखकहरूको काम अलि बढी हुने भएकाले पनि निकै डर थियो । प्रहरी प्रशासनले छापा मारेर दुःख दिने हो कि भन्ने त्रास मनमा हरदम रहिरहन्थ्यो । तथापि द्वन्द्व कालभर मैले कुनै अप्ठेरो र असजिलो महसुस गर्नुपरेन । निर्वाध रूपमा काम अगाडि बढिरह्यो । जस्तै सङ्कटमा पनि नवप्रज्ञापनको कामले निरन्तरता पाइरह्यो । यतिसम्म कि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर चौतर्फी घेराबन्दी र दमन गरिरहँदा नवप्रज्ञापनले कुनै पनि काम रोकेन । लुकेर आएर पनि यसको काम गरिरहेँ ।
देशमा भइरहेका अनेक घटनाक्रमका विषयमा बागबजारका चिया पसलहरूमा अनेकौँ विचार विमर्श हुन्थे । विशेषगरी पत्रकारिता, राजनीति र साहित्य क्षेत्रका मानिसहरूको अहिले पनि त्यहाँ बाक्लै उपस्थिति हुने गर्छ । यहाँ साहित्य र पत्रिका प्रकाशनमा लाग्नेहरूको भेटघाट हुने थलो भएकाले पनि यस्तो बहस हुनु स्वाभाविक हो । पत्रिका र पुस्तक निकाल्ने क्रममा अनेक विचार धाराका मानिस जमघट हुने भएकाले हाम्रै कार्यालयमा पनि कहिलेकाहीँ निकै ठुलै बहस र विवाद पनि चल्थ्यो । यस्ता वादविवाद र बहसप्रति मेरो चासो रहन्थ्यो र काममा झन् स्फुर्ति प्रदान गथ्र्यो ।
प्रेसबाट मुद्रण भएर आएपछि पत्रिका राख्ने ठाउँ पनि मेरै कार्यालय नै थियो । म त्यहीँ नियमित काममा व्यस्त हुन्थेँ । सम्पादज्यू ‘यसपटक त पत्रिका यस्तो निस्कियो नि !’ भन्दै उत्साहका साथ मुस्कुराउँदै देखा पर्नुहुन्थ्यो । पत्रिका हेरेर कमीकमजोरी सुधार्ने पक्षका बारे समीक्षा हुन्थ्यो । पत्रिका आकर्षक बनाउन के के गर्न सकिन्छ हरदम सरसल्लाह भइरहन्थ्यो । नवप्रज्ञापनले कहिल्यै राम्रो विज्ञापन सङ्कलन गर्न सकेन । विज्ञापन सङ्कलन गर्न नसके पनि प्रकाशनबाट बिमुख हुने सोच पनि बनेन ।
सम्पादकज्यू पत्रिकाको स्तरोन्नति गर्ने कुरामा निकै हौसिनु हुन्थ्यो । कहिल्यै पत्रिका निकाल्दा दुःख पाएको कुरा गर्नु भएन । आफ्नो गाँस काटेर भए पनि पत्रिका राम्रो बनाउनुपर्छ भन्ने उहाँको मान्यता र सोच देखेर म छक्क पर्थेँ । छपाइका लागि नयाँ प्रविधि सीटीपी प्लेटबाट अफसेट प्रेसमा छाप्दा पत्रिका निकै राम्रो र आकर्षक निस्कन्छ तर खर्च दोब्बरभन्दा बढी लाग्छ के गर्ने होला मैले एकपटक के भनेको थिएँ, उहाँले त्यही प्रविधिबाट पत्रिका छाप्न हिम्मत गरिहाल्नुभयो । अनि पत्रिकाले आफ्नो मुहार फे¥यो । यतिखेर देश विदेशका सम्पूर्ण पाठकहरूलाई सहज र सर्वसुलभ हुने गरी नवप्रज्ञापनका सबै अङ्कहरूका सम्पूर्ण सामग्री इन्टरनेटमा पढ्न सकिन्छ ।
कोरोना महामारी पछि मेरो बागबजारसँगको सम्बन्ध अलि पातलो भएको छ । अत्यन्तै कम मात्रामा बागबजार आउने जाने गर्छु । कोरोना महामारी पछि काम गर्न नसक्ने अवस्था आएर बागबजारको कार्यालय बन्द गरेँ । तर, नवप्रज्ञापनसँगको सम्बन्ध टुटाएको छैन । जस्ताको तस्तै छ, अझ भनौँ झन् प्रगाढ बनेको छ । कोरोना महामारीका बिचमा पनि मैले आफू बस्ने कोठाबाट नवप्रज्ञापनको काम गरेँ । अहँ कहिल्यै रोकिनँ । सामान्य अङ्क मात्र हैन विशेषाङ्ककै काम पनि भए । गरौँ र गर्न सकिन्छ भन्ने भाव भए कठिन काम पनि गर्न सकिँदो रहेछ भन्ने प्रमाण कोरोना कालमा पनि कोठाबाट विशेषाङ्क निकाल्न गरेको कामले पुष्टि गर्छ ।
त्यसपछि सम्पादकसँगको भेटघाट केही पातलिएको छ । तर पनि प्रविधिमार्फत जोडिएर सहयात्रा जारी रहेको छ । १००औँ अङ्कको कामसम्म जोडिँदा हाम्रो सम्बन्धले पनि एउटा इतिहास बनाएको छ । भाइ, दाइ हुँदै अङ्कलको परिचय बन्दासम्म योसँग जोडिन पाउनु मलाई निकै गर्वको विषय लागेको छ । देशकै प्रतिष्ठित र प्रेस काउन्सिलको मूल्याङ्कनमा समेत क वर्गमा परेको लाखौं साहित्यिक पाठकहरूको ढुकढुकी नवप्रज्ञापनले आफ्नो पाइला ३१ वर्षमा प्रवेश गराई शतक अङ्कका रूपमा पस्किनु गौरवको विषय हो । यो नवप्रज्ञापन टिमको मात्र नभई नेपाली साहित्य क्षेत्रकै अभूतपूर्व सफलता हो । साहित्यिक क्षेत्रमा नवप्रज्ञापनका विशेषाङ्कहरू सधैँ चम्किरहने छन् । पत्रिकामा यति लामो समय आबद्ध हुन पाउँदा म आपूmले आफैलाई पनि निकै गौरवान्वित ठानेको छु ।
(ठूलो पर्सेल, काभ्रे )