- ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’
नारायणगढ बजारलाई बायाँ पार्दै पश्चिमतिर सलल्ल बगेकी नारायणी नदीको किनारमा वसन्त पञ्चमी (श्रीपञ्चमी) को दिनदेखि सञ्चालन हुने विश्व कल्याण कोटिहोम महायज्ञमा भक्तजनको रूपमा सहभागी हुने र सन्त महन्तहरूको दर्शन गर्ने उद्देश्यसहित घरबाट प्रस्थान गर्ने विचार थियो मेरो । भेट गर्नुपर्ने ठाउँमा ढिलाइ गर्नुहुन्न भन्ने सोचेर आन्तरिक तयारीमा जुटेँ म । सबेरैको खानालाई आज ब्रतको रूपमा लिएको हुनाले पक्की भोजन होइन, दुध र सुख्खा रोटीमात्र ग्रहण गरेर फटाफट निस्किएँ हाइ–वे (सडक) मा । साइत नपरेको कसरी भन्ने ? घरबाट निस्कँना साथ चढेर जाने बस पाएकै हो । मैले अलिक राम्रो कपडा लगाएको देखेर बसवालाले टाढैबाट सोध्दै बस रोकेर बसमा चढाएकै हो । यात्रुहरूले खचाखच भरिएको बसको सिटमा बस्ने ठाउँ नभएर खडाराम हुनुपरेको विषयलाई आधार नबनाउने हो भने साइत नपरेको पनि भन्न सकिँदैन । लगभग छत्तीस सिट क्षमता भएको बसमा पचास जना जति कोचाकोच हँुदै खडाराम भएर यात्रा गरिरहेको थियौँ हामी । मान्छेको मन हो कि जात ? स्वभाव हो कि लालच ? कहिल्यै पनि भयो पुग्यो भन्न सितिमिति नआउँदो रहेछ । गाडी आफ्नो गतिमा गुडिरहेको बेला बसभित्र चालक हौसिँदै थिए । दुईतीन जना कतै यात्रु देखे कि रोकिहाल्ने चढाइहाल्ने गर्नमा बसको चालक र सह–चालकको एकमतो नहुने कुरै भएन ।
ए गुरुजी ! अब बसमा टेक्नेसम्मको ठाउँ छैन, नरोक्नु के ? भन्ने आवाज बसभित्र गुन्जिरहेको थियो । यात्रुका भनाइले चालकको मनलाई अलिकति पनि प्रभाव पार्ने सम्भावना थिएन । काठमाडौँका लागि मः मः बनाउन लगिएका राँगा पाडाहरू ट्रकमा कोचाएजस्तै कोचिएका थियौँ यात्रुहरू । बसैलाई हतारो जान र चढ्न । बसमा सिट खाली छैन भन्दै गर्दा पनि उभिएरै भए पनि जान्छु भन्नेका लागि चढ्न रोकोस् कसले ? यात्रुका धेरैजसोको हातले यात्रुमाथि रहेको छतको डन्डीमा समात्न खोजे पनि भिडभाड र कोचाकोचले गर्दा कसैको हात माथि र कसैको हात कुनाकाप्चा, अनकन्टार र संवेदनशील ठाउँतिर सल्बलाइरहेका थिए । मानौँ यो हात सल्बलाउन चाहनेहरूका लागि कुम्भमेला नै हो अनि तिनै हातका कुइनाहरू कसैको लागि वरदान साबित भए होलान् भने कसैको लागि बाख्राका थुतुनो मुन्तिरको दुई लुर्कुनोजस्तो अनावश्यक तर पनि बसमा यात्रु खचाखच भरिएको र टेक्नसमेत मुस्किल भइरहे पनि बस आफ्नै गतिमा गुडिरहेको थियो । कतै स–साना खाल्डाखुल्डीमा चालकले हल्का बे्रक लगाउँदा पनि यात्रुका शरीर घरिघरि दण्डवत् प्रमाण गरेसरह चालकप्रति शिर झुकाउन पुगेजस्ता हुन्थ्यौँ हामी ।
करिब बीस बाइस कि.मि.को यात्रा पार गर्दैगर्दा मलाई बेसरी पिसाब लाग्यो । कन्डक्टरलाई अलिक टाढाबाट कुरा राख्दै थोरै ‘मिलेको ठाउँमा बस रोक्नु है ! मैले धेरै समय लगाउँदिन, मलाई अलिक असहज अवस्था भइरहेको छ’ भनेर पटक पटक कुरा राखेँ ।’ अब त लास्टै अवस्था भइसकेको छ । तलतिर झर्दै गरेको पिसाब टाउकोतिर पुग्लाजस्तो भइरहेको छ । रोक्न खप्न सक्ने अवस्था छैन’ भनेँ मैले ।
‘हुन्न ! हुन्न ! कहाँ हुनु ? हाम्रो टाइम लस हुन्छ, अब जसोतसो आधी घन्टामा पुगिहालिन्छ । त्यसपछि जता गए पनि जे गरे पनि गर्नुहोला’ भने । मलाई आधा सेकेन्ड पनि खप्न सहन गाह्रो हुन गइरहेको थियो । यात्रु चढाउने र उतार्नेबाहेक गाडी नरोक्ने बताएपछि मलाई सह्य भएन । मैले मनमनै भगवान्सँग कामना गरेँ— हे भगवान् ! गाडी बिग्रिदिए पनि त हुन्थ्यो नि !
साँच्चै नै नभन्दै एकाध कि.मि. अगाडि गुडेको बसको पट्टा अकस्मात् भाँच्चियो । पट्टाको एउटा टुक्रा किनारातिर उछिट्टियो भने घ्यार्रर गर्दै चार पाँच हात पल्तिर बस घिस्रियो । धेरै यात्रुहरू अत्तालिए अनि खडा भएका, मुढामा ठ्यास्स शरीर बिसाएका र सिटमा बसेकाहरू ओर्लन थाले । कसैले–धन्य बाँचियो भने । धेरैले ओरालोमा परेको भए, छेउतिर उछिट्टिएको भए, अर्को गाडी पनि आएको बेला परेको भए हाम्रो हालत के हुन्थ्यो होला ? भनेर काला निला पहेँला र राता भएका यात्रुहरूले आ–आफ्नो विचारहरू पोख्दै गए । सबैले आ–आफ्नोतर्फबाट भगवान्लाई धन्यवाद टक्रयाउँदै गए । मलाई भने एउटा स्यालको कहानी झैं हाइ–मज्जा भयो । मैले जे चाहेको थिएँ त्यही भयो ।
प्रसवको बेलामा बच्चा च्याहाँ–च्याहाँ गरेर रोइरहँदा आफ्नो आमाबुवा र आफन्तहरू खुसी भएझै अरू धेरै दुःखी थिए, म ज्यादै खुसी थिएँ । कुनै बेला कसैको घर–आँगनमा धार्मिक कृत्य समापन हुने दिन गाउने गरिएको एउटा भजन पिसाब त्याग गरिसकेपछि सम्झना आयो ।
नसम्झेर पो, नसम्झेर पो सम्झे हरि मनैमा नसम्झेर पो ।
भगवान्को कृपा नै मान्नुपर्दछ– हामी कसैलाई पनि कुनै किसिमको चोटपटक लाग्न पाएन, सबै सही सलामतै थियौँ । कुनै चिज कसैलाई दिँदा वा कसैबाट पाउँदा जति आनन्द प्राप्त हुन्छ त्योभन्दा बढी आनन्द आत्तिएको बेलामा दिसापिसाब गर्दा हुन्छ भन्ने मैले अनुभव नगरेको होइन । हो मलाई त्यही आनन्द प्राप्त भएको थियो जुन अत्यन्त क्षणिक र क्षणभङ्गुर थियो ।
त्यसपछि पनि हाम्रो उद्देश्य त गन्तव्यमै पुग्नु थियो । बिग्रिएको गाडी तत्काल बन्न सक्ने अवस्था नभएकोले हामी सबै अर्को बसको प्रतीक्षामा रह्यौँ । करिब आधा घन्टापछि ढुनमुनिँदै एउटा बस आयो र रोकियो हाम्रो अगाडि । हतार र तँछाडमँछाड गर्दै बसमा चढे धेरै यात्रुहरू तर सबै अट्ने सम्भावना थिएन । अट्ने पनि कसरी ? दुईओटा बस ठेलमठेल हुँदै आएका यात्रुहरू । मैले तत्काल यो बसमा नगई फेरि अर्को आउने बसमा चढ्ने मनसायमा रहेँ । म जस्तै अरू आठनौ जना पनि पछिल्लो बसकै प्रतीक्षामा बस्यौँ । करिब एक घण्टाको समय अरूको लागि के भयो ? कस्तो भयो ? थाहा भएन तर मेरो लागि भने रोचक, ज्ञानबद्र्धक र नयाँ अनुभूतिको भयो । साथमा साहित्यिक पत्रिका वा पुस्तकहरू मैले साथै लिएर हिँड्ने हुनाले समयको कार्यतालिका फेरबदल हुनेबित्तिकै मेरो आफ्नो चाहनानुसारको व्यवस्थापन जुटिहाल्ने बानीले मलाई यात्रामा कहिल्यै असहज वा असुविधा हुँदैन र हुन पाएन ।
केही समयपछि एक यात्रुबाहक बस आइपुग्यो । अरूले जस्तै हड्बढाउँदै उक्लेँ र एउटा सिटमा आफूलाई बसाइहालेँ । धेरै समयदेखि खडाराम भएको यो मान्छेलाई सिटाराम (सिटमा आराम) हुन पाउँदा खुसी नहुने कुरै भएन । अरू पनि कोही बस्दै र कोही उभिँदै यात्रारत हुन पुग्यौँ । बसले अगाडिको अर्को स्टेसनबाट तीनचार वर्षको बच्चासहित एउटी महिलालाई चढायो । सिट छैन भन्ने थाहा पाउँदापाउँदै पनि चढेको हुनाले कन्डक्टरले पनि सिटमा बसाल्न अनिवार्य ठानेन । म उठेर उनलाई बसालौँ कि ? भन्ने नलागेको पनि होइन तर यसपटक कन्डक्टरले मसँगबाट रु २०।– बढी असुलेकोले न दगलफसल गर्नु, न झगडा गर्नु, न कराउनु, न बढी विरोध गर्नुभयो । प्रतिष्ठाको विषय पनि हुनाले मनमा रिस उठेरै पनि चुपचाप बसिरहेँ मसँगबाट उपयुक्त भाडा लिएको भए म सम्भवतः, उठेर उनलाई सिट छोडिदिन्थेँ । न चिनेजानेको, न नाता, न अनुरोध, न मैले चढाएको, न मैलै बसाल्ने जिम्मा लिएको, न त बसवालासँग सदाशयता, जब नहुने बेलामा कुनै कतैबाट पनि साथ र सहयोग दिन सक्दो रहेछ भन्ने कुरा पनि मनमनै अनुभूत हुन गयो ।
अघिजस्तै यो बसले पनि करिब पचास पचपन्न जना जति यात्रुहरूलाई बोकेर हिँड्यो आफ्नै द्रुतगतिमा । मैले माथि नै भनेजस्तो खोइ केको फलले हो ? चारपाँच किमी मात्र के गुडेको थियो, एक्कासि यसको पनि पट्टा भाँचिएर नजिकै रहेको कल्भर्टसँग साइनो गाँस्न पुग्यो । धेरैको मुखबाट ए श्रीमती ! हे दाइ ! ओ भाइ ! होइन कि हे आमा ! ए बाबा ! मात्रले नपुगेर शिव शिव र राम रामको नामले गुञ्जायमान भयो वातावरण र धेरै बेरसम्म कोलाहल पनि मिसिँदै र थपिँदै गयो त्यहाँ । समय निकै छटपटाइरहेको थियो यात्रुहरूलाई गन्तव्यमा पु¥याइदिन र उनीहरूले लिएर आएको उद्देश्यलाई पूरा गरिदिनको लागि । त्रासदीपूर्ण यो घटनापछि मानिसहरू तितरबितर हुन थाले । कोही आफन्तलाई फोन गरेर जानकारी दिन, कोही अलिक नजिक भएका आफन्तलाई साधन लिएर आउन र कोही फेरि पछाडिबाट आएका साधनहरूमा चढेर जाने गर्न थाले । म भने नजिकैबाट पेसेन्जर लिएर आइरहेको अटोमा चढेर गन्तव्यस्थलतिर लागेँ तर करिब एक किमी जति बाँकी रहँदै अटोको पछिल्तिरको चक्का अचानक पङ्चर भइदियो अनि नजाने मनमा अनेकौँँ तर्कवितर्कहरू एकाकार भएर अगाडि खडा भए र सोच्न थालेँ–आजको दिन भयो कस्तो, हो यो फल केको ? संयोग हो कि वियोग हो ? अनि म हे¥याहे¥यै मात्र भइनँ कि घरबाट हिँड्दादेखिका त्रासदीपूर्ण घटना र दृश्यहरू सम्झिरहेँ सम्झिरहेँ ।
— डन्डा, नवलपरासी