— राजु झल्लु प्रसाद
कुनै समय
हामी दुवै भ्यागुता थियौँ
ट्वार–ट्वार गरिरहन्थ्यौँ
भोक लाग्थ्यो– अन्न थिएन
निन्द्रा लाग्थ्यो– ओछ्यान थिएन
सपनाहरू थिए– असरल्ल!
हामी दुई
आ–आफ्नै जिन्दगीको कुवामा बसेर
सँग–सँगै गरिरहन्थ्यौं– ट्वार–ट्वार ! ट्वार–ट्वार !
अघाएकाहरू विरुद्ध
निदाएकाहरू विरुद्ध
हाम्रा सपनाहरू लुट्ने विरुद्ध
एकदिन
निस्कियो ऊ
खुसीले उफ्रँदै पुग्यो पर–पर
र जाँदा
ऊजस्तै, मजस्तै धेरैलाई साथ लिई गएछ!
सुनेको थिएँ
आफूसँगै गएकाहरूलाई खाँदै, कोपर्दै
ऊ विषालु सर्प बनेको छ
आज देखेँ पनि
जब ऊ आफ्नो विष बोकेर कुवा छेउ आयो‘
मलाई थाहा छ
उसको दुई जिब्रोमध्ये
एउटाले आहरा खोज्दै छ
र, अर्कोले साहरा!
मलाई यो पनि थाहा छ
चीलले आफ्नो पन्जा कुवा छेउमा गाडिसकेको छ
अबको केहीबेरमै
उसको घाँटी चीलको चुच्चोबीच हुनेछ ।
उसको उड्ने रहर पूरा भएकोमा
निकै बेरसम्म मुन्टो उठाएर हेरिरहेँ– आकाश
अलि बेरपछि चाल पाएँ–
चीलको पन्जाको छापमाथि पो उभिएको रहेछु म
र, मेरा पैतालाहरूले मेटाइसकेछन्– त्यो छाप।
इतिहास साक्षी छ
शासकहरूले खसालेका बम÷बारुदको डोबहरू
जनताका पैतालाले मेटाइरहेछन्– सदियौंदेखि।
(धादिङ, मैधी, ज्वालामुखी गा.पा.– ०३)