close

यात्रा प्रवेशका ३१ वर्ष

— नवराज रिजाल

श्रद्धेय पाठक वृन्द, नवप्रज्ञापन शतक अङ्कका साथ यहाँहरू सामु उपस्थित भएको छ । सर्वप्रथम यसलाई यहाँसम्म आइपुग्न प्रेरणा, उत्साह, सद्भाव र सहयोग प्रदान गर्नुृहुने सबैप्रति नवप्रज्ञापन आभार व्यक्त गर्नु आफ्नो पहिलो कर्तव्य सम्झन्छ । पक्कै हो, यहाँहरूको साथ सहयोग नभएको भए यसले आजको दिन देख्न पाउने थिएन । निर्धक्कका साथ भन्न सकिन्छ यसमा कुनै दुविधा छैन । भविश्यमा पनि यहाँहरूबाट आवश्यकताअनुसार ती कुराहरू पाइरहने आशा एवम् विश्वास नवप्रज्ञापनले बोकिरहेको छ ।

यो नवप्रज्ञापनको निम्ति अत्यन्तै खुसीको समय पनि हो । अस्ति र हिजो सम्झँदा मनमा काउकुति लाग्न खोज्छ । के के भन्नु पर्ने हो सोच्नै सकिरहेको छैन । परिभाषामा समेट्न पनि सकिरहेको छैन । आफैँ अलमल्ल अनि असरल्ल अवस्थामा छु । विगत कोट्याउँ कि नकोट्याउँ मन दोधार दोधारमा छ । के गरौँ अनिर्णित नै छु । तथापि यहाँहरूलाई नवप्रज्ञापन प्रकाशनको प्रारम्भ बिन्दु तथा अझ अगाडि लैजाउँ लैजाउँ लागिरहेको छ । पृष्ठभूमिसम्म पु¥याउँ पु¥याउँ लागि रहेको छ । अन्यथा नठानिदिन हुन विनम्र अनुरोध गर्दछु ।

काम शुभारम्भ हुनुअघि त्यो विषयमा छलफल, विचार–विमर्श, चिन्तन–मनन र सोच छताछुल्ल पोखिन्छन् नै । हुन्छ हुँदैन, सकिन्छ सकिन्न र होला न होलाले विचारमा प्रशस्त काम गर्छ । अरूले खनिदिएको बाटोमा हिँड्दा खासै चिन्ता नहुन पनि सक्छ तर आफैँले बाटो खन्ने र हिँड्ने प्रयत्न गर्नेहरूको चाहिँ मथिङ्गल पक्कै छड्किन्छ । विचार यताउति लाग्न खोज्छ । विश्वास उड्रछ वा गुड्छ पनि । विचारधारा चलमलाउँछ । आस्था–विश्वास आफ्नै तालसुरमा आपसमा लाप्पा खेल्न तम्तयार बन्छन् । जित–हार उनीहरूसँगै हुन्छ तथापि ती खोजीमा भौंतारिन्छन् । अवस्था कस्तुरी मृगकै हुन्छ । ती समयको लपेटमा लपेटिन्छन् । तर बाटो पाटो समाएर अगाडि बढिरहन्छ, बढिरहन्छ ।

आज २०८० सालको वैशाख १ गते । आजैदेखि नवप्रज्ञापन ३१औँ वर्षमा प्रवेश गरेको छ । शताङ्कको काम पनि करिब करिब सकिएको छ । छिट्टै प्रेस जाने तरखरमा छ । शताङ्कका रुपमा आउने यस अङ्कमा धेरै स्रष्टा तथा द्रष्टाहरूका रचना समावेश छन् । मुख्य मुख्य अङ्कका रूपमा आएका २१ विशेष अङ्कहरूको परिचयलाई पनि यहाँ समेटिएको छ । यस अङ्कमात्र प्राप्त गर्नुहुने पाठकहरूका लागि यसको यात्रा र उपलब्धि बुझ्न केही न केही भए पनि सहयोग पुग्ने मेरो मनमौजी ठहर छ ।

वि.सं २०५० सालबाट प्रकाशन थालिएको पत्रिका ३१औँ वर्षमा प्रवेश गरेको छ । रहर रहरमै प्रकाशन आरम्भ गरिएको पत्रिका ३१औँ वर्षमा प्रवेश गरेको सन्दर्भ सम्झँदा आपूm निक्कै बूढो भएको महसुस गरिरहेको छु । सोचीरहेको छु, उपयुक्त बेलामा काम थालिएछ । बिस्तारै बिस्तारै हिँड्न सिकिएछ । सानो नै सही तर पाटो पहिल्याइएछ । मनभित्र आस्था र विश्वासको विरूवा सारिएछ । कमसेकम भाषा साहित्यको विकासमा दुई चार खुड्किला भए पनि गाह्रो लगाउने बनाईएछ । जसरी पनि बित्ने समयको अलिकति भए पनि उपयोग भएछ ।

यो त सकारात्मक सोचको पाटो हो । नकारात्मकताको पाटो फेरि अर्कै छ । व्याख्या विश्लेषण गरिरहनु आवश्यक छैन । बूढो हुनुलाई म नराम्रो ठान्दै ठान्दिनँ । धेरै कुराको अनुभवी र जीवनका पाटाहरू देखिसकेको सम्झन्छु । मैले चाहे पनि नचाहे पनि समयले मलाई पर्खदैन । समाजलाई दिनसक्ने वस्तु दिने र काम गर्ने बेला भइसकेको छ । जतिखेर सकिन्छ त्यतिखेरै दिनुपर्छ किनकि यो बेला दिने भन्ने नै हुँदैन । त्यसैले सकेको र जानेको कुरा गर्ने समय आजै र अहिल्यै हो भन्ने मेरो भनाई छ । तथापि समयसँग न मेरो गुनासो न त कुण्ठाभाव नै छ । उसलाई पछ्याउन नसक्नु मेरै मात्र हैन हामी सबैको कमजोरी हो ।

त्यतिबेला नवप्रज्ञापनको आरम्भ नगरेको भए पनि समय आफ्नै गतिमै हिँड्थ्यो । मेरो उमेर आज जत्तिकै हुन्थ्यो । न कम हुन्थ्यो न त बेसी नै । यसर्थ समयले कसैलाई पर्खदैँन र छाडेर पनि हिँड्दैन । कोही कसैप्रति आग्रहपूर्वाग्रह केही पनि राख्दैन । उसलाई न मेरो कामले छेकेको छ न त बेगवान बन्नै सहयोग गरेको छ । कुनै लेनदेन पनि छैन । यसैले भन्न सकिन्छ न समय कसैको शत्रु न त मित्र नै हो । उसले न कसैलाई माया न त हेलाँ नै गर्छ । कसैलाई आफ्नो र पराय पनि ठान्दैन । ऊसँग सिक्नुपर्ने कुरा यत्ति हो । हिजोका असभ्य, गँवार, अशिक्षित र अशिष्ट मानिसलाई आजको अवस्थामा ल्याउने उही हो । यति मात्र कहाँ हो र ? मानिसलाई निरन्तर हिँडिरहन र अगाडि बढेर गन्तव्य खोज्न पनि अभिप्रेरित गर्ने उही नै हो । त्यही भएर मानिस हिँडिरहेछ र मृत्युपर्यन्त गति खोजिरहेछ ।

वि.सं २०३५ देखि २०४० सम्म म बारा जिल्लाको कलैयास्थित सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको विद्यार्थी थिएँ । कतिपय विद्यालयले विद्यार्थीहरूलाई बस्नका निम्ति छात्रावास उपलब्ध गराउँथे । अचेल गाउँगाउँमा विद्यालय छन् यसर्थ यो कुरा विद्यार्थीका निमित्त अलि अपत्यारिलो हुनसक्छ । वि.सं. १९९६ मा स्थापना भएको र सुरुका वर्षहरूमा शास्त्री तहसम्म पढाई हुने त्यो विद्यालयमा पनि छात्रावासको सुविधा उपलब्ध थियो । २२ जना ब्राम्हण बटुकहरूलाई त खानाको प्रबन्धै थियो । देशका विभिन्न भागबाट आएका ब्राम्हण बटुक त्यस्तो सुविधा ग्रहण गर्थे । त्यो विद्यालयमा सो प्रचलन आज पनि कायम छ ।

छात्राबासमा बस्ने विद्यार्थी पढाई, खेलकुद, साहित्य र अतिरिक्त क्रियाकलाप सबैतिर अब्बल मानिन्थे । जिल्लामा हुने विविध कार्यक्रममा विद्यालय बारम्बार पुरस्कृत भइरहन्थ्यो । यसको अलावा विद्यालयमा पढाई पनि सन्तोषजनक थियो । गोपाल ब्रम्हचारीको सदासयतामा स्थापित सो विद्यालयलाई विभिन्न दानी मनले सहयोग गरेका थिए । विद्यालयसँग प्रशस्त सम्पत्ति थियो । छन त आज पनि छ तर प्रजातन्त्र पछिका विभिन्न राजनैतिक हस्तक्षेप, छाडा र मनपरीतन्त्रको बोलवाला, मानिसमा विकसित हुँदै गएको बेथिति, अमर्यादित व्यवहार र व्यवस्थापनका कमी कमजोरीका कारण विद्यालय अचेल त्यो बाटोबाट अलि पछि हिंडिरहेको हो कि भन्ने आभाष धेरैलाई हुने गरेको छ ।

कहिलेकाहिँ लाग्छ पुर्खाले छाडेको नासोको राम्रो व्यवस्थापन गर्न नसक्ने आजका हामीहरूको गन्तव्य कता होला ? हिजोका अशिक्षित तर चेतनशील पुर्खाहरूले जिम्मा लगाएका कुरा सही व्यवस्थापन गर्न नसक्ने तथाकथित शिक्षित, सुसंस्कृत, बुद्धिजीवी, जान्नेसुन्ने र भद्रभलाद्मी भै खाएका हामीहरूबाट नयाँ कुराको थालनी होला भन्नेमा म आपूm नै विश्वस्त हुन सकिरहेको छैन । हिजो भन्दा आज उज्यालो छ र आजभन्दा भोलि अझ राम्रो हुनेछ भनेर विश्वास गर्नुपर्ने हुन्छ र हुने पनि त्यस्तै हो । तर वर्तमानको बेथितिले त्यतातिर जान मन डराइरहेको छ । आँखा विश्वास गर्न हिचकिचाइरहेछन् । हामीभित्र झाङ्गिदै गएको छाडापन, स्वार्थीभाव, विगतप्रति वितृष्णा, वर्तमानप्रतिको अहंवाद अनि आपूm र आफ्नोलाई भन्दा अरू कसैलाई नदेख्ने प्रवृत्ति मौलाउँदै गएका कारण त्यसो भन्न वाध्य हुनु परेको हो । यो राम्रो हैन तर पनि गाडी त्यही बाटोबाट हिँडिरहेका छ ।

आज तदर्थवादमा देश चलिरहेको छ । रुनेहरू रोइरहेछन् । हाँस्नेहरू हाँसिरहेछन् । अघाएकाहरू उघ्राइरहेछन् । भोकाहरू भोकभोकै भौँतारिइरहेछन् । जीवनयात्रा गन्तव्यहीन हुँदै गएको छ । हिँड्न त हिंडिरहेका छौँ, तर कहाँ पुग्छौं आफैंलाई थाहा छैन । सायद कसैको निर्देशमा हिंडिरहेछौं र पालना गरिरहेछौं आदेश । आपूmले आपूmलाई चिनेका छैनौँ । तथापि दुनियाँ चिनेको, जानेको, बुझेको र पढेको डिङ हाँकिरहेछौं । गज्जव छ आपूmलाई नचिने पनि सारा संसार मज्जाले चिनिरहेछौँ, जानीरहेछौँ, बुझिरहेछौँ र भोगिरहेछौँ । तर कहिलेसम्म ? थाहा छैन । न बाटो बनाउनेलाई ज्ञान छ न त भत्काउनेहरूलाई नै । तै पनि हामी हिंडिरहेछौँ अस्ति, हिजो र आजसम्म पनि ।

मभित्र विद्यालयमा हुने साहित्यिक गतिविधिले अलिकति प्रभाव पारेको थियो । त्योभन्दा बढी प्रभाव त्यस विद्यालयका तत्कालीन शिक्षक तथा वरिष्ठ नियात्राकार प्रा.डा. निर्मोही व्यास (बेदव्यास उपाध्याय न्यौपाने) लाई भेट्न आउने स्रष्टाहरूको सम्पर्क र कुराकानीले तुल्याएको थियो । छात्रावासका साथीहरू बीचमा पढाई लेखाई, खेलकुद र अतिरिक्त क्रियाकलापमा स्वस्थ प्रतिस्पर्धा पहिल्यै देखिरहेछ । मैले पनि त्यो स्थितिलाई आत्मसात गरें । कक्षा आठमा भर्ना भई एसएलसी परीक्षा दिएर घर नफर्कदासम्म जिल्लास्तरका विद्यालयले भाग लिने हाजिरीजवाफ, वादविवाद र निबन्ध लेखन जस्ता कार्यक्रमहरूमा मेरो सहभागिता अनिवार्य बन्यो ।

२०४० तिर हुनुपर्छ ‘युवा तिमी देशका अखण्डशक्ति हौ’ भन्ने शीर्षकको कविता प्रतियोगितामा म जिल्ला प्रथम भएँ । यसले पनि भाषा साहित्यतिर अझै आकर्षित बनायो । पाल्पा साना हुँगीका नरदेव पाण्डे नामक भाइ पनि छात्रावासमा बस्थे । उनी कविता कथा लेख्थे । म भन्दा तल्लो कक्षामा पढ्थे । त्यतिखेरै काठमाडौंबाट प्रकाशित हुने ‘मातृभूमि’ साप्ताहिकमा उनको रचना छापियो । लगत्तै मेरो ‘पागलको चाहना’ शीर्षकको कथा सोही पत्रिककाले प्रकाशित भयो । त्यो पत्रिका मेरो प्रेरणाको अर्को विम्ब हो ।

एएसएलसीको नतिजा पछि काठमाडौं आउजाउको क्रम बाक्लियो । काठमाडौँ जाँदा कता खाने बस्ने समस्या थियो । नेरानिमावि डुमरवाना (हालको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय डुमरवाना) का कक्षा ५/६ का सहपाठी मित्र भाइराजा पाण्डे (हाल दिवंगत) को घर कलङ्कीमा कैयौँ पटक बास बस्ने अवसर जुयो । उहाँका दाजु सुदर्शनराज पाण्डे वरिष्ठ पत्रकार हुनुहुन्थ्यो । कलियुग त्रैमासिक र दिनारम्भ साप्ताहिक पत्रिका उहाँका थिए । भाइराजा पाण्डे भेटिएका बेलामा मात्र होइन केही समयको आउजाउ पछि घर नै मेरो मित्र बन्यो । उहाँका मातापिता पुख्र्यौली घर कानाकोट नौबिसे धादिङमा बस्नु हुन्थ्यो । पत्रकारिता गर्ने दाजु, मेरो सहपाठी भाइराजा पाण्डे, भाइहरू राम, श्याम, हरि, बहिनी सरला र भाउजु बिन्दुको व्यवहार सरल थियो । म अलिकति चिनारु प्नि थिएँ । मसँग दाजुको कार्यक्षेत्रमा भेटिएका र सामान्य चिनजान भएकाहरूले पनि त्यो घरमा आश्रय लिएको ताजा सम्झना छ । वरिष्ठ पत्रकार सुदर्शन पाण्डेको व्यवहार त्यतिखेरदेखि आजसम्म उस्तै छ । उहाँले नै एकदिन भन्नुभयो, ‘भाइको साहित्यमा अभिरुची रहेछ कलियुग त्रैमासिक तपाईंले प्रकाशित गर्नुहोस् ।’

दाइको विचार राम्रो थियो र राम्रै नियतले यो कुरा भन्नु भएको थियो । भर्खरै एसएलसी सकिएको थियो । कता पढ्ने, के पढ्ने कसरी पढ्ने कुनै टुङ्गो लागिसकेको थिएन । बारा जिल्लाबाट ऋषिराम न्यौपाने र निर्मोही व्यासको पहलमा प्रकाशित प्रतिनिधि नामक पत्रिका चार अङ्कमै थल्लिएको प्रसङ्ग गुरु निर्मोही व्यासको मुखारविन्दबाट धेरैपटक सुनेको थिएँ । सदरमुकामका बासी र लेखक व्यक्तित्व निर्मोही व्यासको पत्रिका त पाँचौँ अङ्क प्रकाशित हुन सकेन भने साहित्यमा अभिरुची त राख्ने तर कुनै पहुँच नभएको मैले निकाल्ने पत्रिकालाई कसले सहयोग गर्ला ? यो कुरा मनमा निकै दिनसम्म खेलेपछि दाजु सुदर्शन पाण्डेलाई भनेको थिएँ अहिले सक्दिनँ, पछि साथी सहयोगी पाए विचार गरौँला । अहिले पनि बारा जिल्लाबाट प्रकाशित साहित्यिक पत्रिकाको सूचीमा प्रतिनिधि दोस्रोमा छ । मैले साथ पाउने कुरै थिएन । त्यतिखेर नयाँ पत्रिका दर्ता गर्न कि काम गरेको दस वर्षको अनुभव चाहिन्थ्यो कि त बीए बास गर्नुपथ्र्यो । दाजु सुदर्शन पाण्डेको वाणी मनमा गडिइरह्यो सियोजस्तै ।

स्नातक तहको पढाइ सकियो । विभिन्न विद्यालय हुँदै २०५०मा धादिङ जिल्लाको खाल्टे गाविस–६ स्थित श्री पञ्चकन्या निमावि (हालको मावि) मा शिक्षक हुन पुगेँ । सहिदहरू, लेखकहरू, कलाकारहरू र अन्य विशिष्ट व्यक्तिहरूको जीवनी पढ्ने क्रममा उहाँहरूले आफ्नो देश र जातिको लागि गरेको कामबाट अत्यन्तै प्रभावित थिएँ । चार सहिद दशरथ चन्द, गंगालाल, शुक्रराज र धर्मभक्तको जीवनी पढेँ पछि मेरा बेस्सरी आँखा रसाए । अझै गंगालाल र उनको सुत्केरी श्रीमतीको अवस्थाले त झनै द्रवित बनायो । देशको लागि त्यति काम गर्न नसके पनि केही न केही त गरौँ भन्ने सोच अझै दर्बिलो बन्यो । के गर्ने, कसो गर्ने र कसरी गर्ने प्रश्नले छातीमा लामो समय डेरा जमायो ।

सामाजिक सुधारपट्टि रूची रहेकाले कक्षा दशमा पढ्दै गर्दा मेरै अध्यक्षतामा गाउँमा नवयुवा पुस्तकालय खुलेको थियो । त्यस पुस्तकालयकै पहलमा झण्डै एकदशकसम्म चेतनामूलक नाटक दशैंतिहारमा देखाउने प्रचलन चलन चलाएका थियौँ । नाटक म र सहयात्री डिलबहादुर भट्टराई मिलेर लेख्थ्यौँ । कहिलेकाहिँ एक्ला एक्लै पनि लेख्थ्यौँ । सम्भवतः त्यसैको तुष, झण्डै दशक अघिको सुदर्शन दाइको प्रस्ताव र साहित्यिक अभिरुचीले होला साहित्य क्षेत्रमा हैसियतले भ्याएसम्म केही गरौँ भन्ने उद्देश्यले पत्रिका प्रकाशन योजना बनाएँ । योजना त बन्यो तर कसरी अगाडि बढ्ने मन द्वुविधामा थियो । जिल्लाबाट ४ अङ्कभन्दा बढी पत्रिका ननिस्कएको इतिहास छ । इतिहास मेटिन सक्छ कि सक्दैन ? मन अन्यौलग्रस्त बन्यो । रचना सङ्कल, पत्रिका वितरण, छपाईं आँखामा नाचिरहे । काठमाडौंको पढाई, धादिङको जागिर र बाराको घर आँखामा आइरहे । मनले गम खायो, लामो समय सोच्यो, सोच्दै गयो र अन्त्यमा एउटा अठोट ग¥यो ।

प्रस्ताव दुई जना साथीहरूको माझमा पुग्यो । पहिले त हौसिनु भयो दुवै । एकजनाले त खर्चक ५० प्रतिशत आफैँ व्यहोर्ने घोषणा पनि गर्नुभयो । अलिकति वादविवाद पनि चल्यो । मेरो प्रस्ताव ५० प्रतिशत म र उहाँहरू २५–२५ प्रतिशत थियो । तर एकजनाले जिद्दी नै गर्नुभयो । उहाँको विचारमा सहमत भएँ तर पछि सहकार्य चलेन । प्रयास निक्कै गरेँ । अनुरोध र आग्रह गरिरहेँ तर त्यसले काम गरेन । पछि मन फर्कला कि भन्ने थियो । धेरै जसो मेरो सोचले काम गरेको छ तर त्यतिखेर गरेन । हामीकहाँ साझेदारी कामको विकास भएको छैन । यो लिने हैन दिने मात्र हो । साथीहरूसँगको सहयात्रा साह्रै लामो समयसम्म टिक्दैन भन्नेमा म जानकार थिएँ । सोचेजस्तै भयो । आफैँले गर्नुपर्छ भनेर पूर्व तयारी अवस्थामै पनि थिएँ ।

सुरुको अवस्थामा तत्कालीन नारायणी मसलन्द उद्योगका प्रवन्धक तथा लेखक दाजु ईश्वरराज ढुङ्गेलको सहयोग प्रभावकारी रह्यो । उहाँका उत्साहप्रद सुझाउ, सल्लाह र सहयोगले पहिलो अङ्क निकाल्न निकै सहज भयो । उहाँप्रति आभारी छु । कतिपय साथीहरूलाई निःशुल्क पत्रिका बाँड्दै र हाम्रो क्षेत्रबाट निस्किएको पत्रिकामा सहभागी भएर काम गरौं भन्ने प्रस्ताव पनि राख्दै गएँ । कतिपयका गर्दै जानोस् र कतिपयका कति नाफा हुन्छ भन्ने जिज्ञासा हुन्थे । मैले नाफा हुँदैन भनेर कहिल्यै भनिनँ र भन्नु आवश्यक पनि ठानिनँ । कतिपयलाई नाफा नै हुने देखेर चलाएको हुँ तपाईं पनि चलाउनोस् र पैसा कमाउनोस् भनेँ । साहित्यिक पत्रिका प्रकाशन गर्छु भन्नेहरूले व्यवसाय जस्तै घाटा नाफाको आँखाले हेर्ने भए यो काम अगाडि नबढाए हुन्छ । बारा जिल्लाबाट २०३५÷०३६ तिरै प्रकाशित ४ अङ्कको इतिहास बनाएको प्रतिनिधिलाई नवप्रज्ञापनबाहेक आजका मितिसम्म अन्य साहित्यिक पत्रिकाले उछिन्ने धृष्ठता गरेका छैनन् । सम्भवतः प्रतिनिधि प्रतिकै सदासयता हो कि ? यदाकता मेरो मनमा प्रश्न उब्जन्छ ।

प्रकाशन आरम्भ गर्दा नवप्रज्ञापनले नारायणी अञ्चललाई आफ्नो घेरो ठानेको थियो । यात्राकै क्रममा २९ औँ अङ्कसम्म आईपुग्दा गजलअङ्क, माधव घिमिरे लघुशव्दचित्र, गीतगंगा, ईश्वर ढुङ्गेलका कविताहरू, सरुभक्त लघुशव्दचित्र, नारायणीका स्रष्टाहरू पहिलो भाग, श्यमप्रसादका रचना र नारायणीका स्रष्टाहरू दोस्रो भाग जस्ता विशेष अङ्कहरू पनि प्रकाशित भए । विविधकारणले त्यसपछि केही समय सुस्तायो तर स्थगन भएन । नवप्रज्ञापनलाई सुरु देखि नै रचनाको अनुपलब्धता थिएन । छेलोखेलो नै थियो । लेखकहरूबाट माया पाएका कारण त्यसो भएको होला भन्ने मेरो बुझाई छ । रह्यो अर्थको कुरा, जागिरे र पत्रिकालाई आफ्नै पर्याय ठानेकाले त्यो समस्या पनि रहेन । धिमा गतिमै पत्रिका प्रकाशित र वितरित भैरह्यो । केही ढिला हुने वित्तिकै अग्रजहरू जिज्ञासु बन्नु हुन्थ्यो । म कर्तव्यबोधले खुम्चन्थेँ । सन्दर्भ मिलाउन अलि अप्ठेरो पथ्र्यो । तथापि मिलेर छाड्थ्यो । म मनमा इच्छा रहे काम गर्न सकिने मतको अनुयायी हुँ । इच्छा शक्ति जागृत रहे सक्रियता आफसेआफ बढ्दै जान्छ । सक्रियताले सन्तुष्टि प्राप्त हुन्छ र कामलाई निरन्तरता दिन सकिन्छ । मनले अहाएको काम गर्न मानिस रमाउँछ र मरिमेट्छ । त्यसको सफलता/असफलता पनि उसैसँग गाँसिने भएकाले त्यो सम्भव भएको हो । नवप्रज्ञापन मनकै इच्छामा थालिएको काम भएकाले जसरी पनि अगाडि बढाउने अठोटले काम गरेको हो ।

२९औँ अङ्क पछि पत्रिका स्थगन गर्ने सोच मनमा नपलाएको हैन तर भेटिएका अग्रज र आदरणीयहरूको जिज्ञासा, सल्लाह र सुझावका अगाडि मसँग पानी पानी बन्नुको अर्को विकल्प छँदै थिएन । उहाँहरू पत्रिकाको भविष्यको यात्राबारे सोधखोज गर्नुहुन्थ्यो । प्रकाशन बन्द नगर्नुहोला है, सहयोग गर्न तयार छौं, उहाँहरूका प्रस्ताव हुन्थे । मेरो मन अझ अन्योलमा पथ्र्यो । हात हालेको काम नराम्रो रहेनछ मनमा लाग्थ्यो । अगाडि बढाउने कि नबढाउने ? कहिले बढाउनेले जित्थ्यो त कहिले स्थगन गर्नेको पल्ला भारी हुन्थ्यो । वर्षमा १/२ अङ्क भए पनि निकाल्नोस्, छोड्नु हुन्न, तपाईंको प्रयास स्तुत्य छ, एकाथरी तर्कहरू हुन्थे । अर्काथरी नाफामा गरिएको काम, नाफा नभए किन गर्ने, आजको आर्थिक युगमा विना पैसाको काम कहीँ गरिन्छ ? त्यसो गर्ने त आफैलाई नजान्ने/नचिन्ने मुर्खहरू हुन् निर्धक्क भएर यसो भन्थे । म चुपचाप बस्दा पनि ती तर्क एकआपसमा मुक्कामुक्की गरिरहन्थे । दुवैका विचार आ–आफ्ना स्थानमा उचित छन् मनले भन्न त भन्थ्यो तर यसै हो भनेर निक्र्योल गरिहाल्ने स्थितिमा हुँदैनथेँ । मौनता साँद्धै र उनीहरूका विचार विमर्श श्रवण गरिरहन्थेँ ।

कसैले आवश्यक सहयोग गर्ला वा विज्ञापन पाइएला र पत्रिका प्रकाशित गरौँला भनेर प्रकाशन थालिएको थिएन । जे जति सकिन्छ आफैँबाट सुरु गरौँ, आफैँले थालौँ प्रारम्भिक अभिप्राय यही थियो । अहिले पनि त्यो यर्थाथबाट विचलित बनेको छैन । त्यही कारण आर्थिक अभावका कारण पत्रिका रोकिएन । समय व्यवस्थापनमा केही अप्ठेरो भएका बेला केही ढिला भने अवश्य भए । यसले पाएको पहिलो व्यवसायिक विज्ञापन साझा प्रकाशनको थियो । डा. तुलसीप्रसाद भट्टराईले बोलाएरै त्यो उपलब्ध गराउनु भएको थियो । ‘मैले पनि केही अङ्क निकालेर छोडेको हुँ । पत्रिका प्रकाशन गर्न गाह्रो हुन्छ, काठमाडौं आउँदा साझा प्रकाशनमा आएर मलाई भेट्नु होला’ स्नेहील सल्लाह थियो । उहाँले उपलब्ध गराउनु भएको रु.पाँच सयको साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरू पढौं भन्ने विज्ञापन र अर्डर स्लिपले निक्कै हौसिएको थिएँ । त्यतिखेरसम्म पत्रिका केही अङ्क प्रकाशित भइसकेको थियो । अलि पछि कवि विनय रावल र कथाकार ओममणि शर्माले पनि माया गर्ने वाचासहित हिँडेको बाटो उपयुक्त र सही भन्दै यै बाटोमा सधैँ हिँडिरहन र पत्रिका स्थगन नगर्न सल्लाह दिनु भएको थियो ।

२९औँ अङ्क पछि केही समय स्थगन भएको नवप्रज्ञापनको ३० औँ अङ्क प्रकाशित भयो । यसपछि म स्वयंले पाठ्यपुस्तकमा पढाएको र भाषासाहित्यमा अभिरुचीका कारण धेरै कथाहरू पढेको कथाकार माया ठकुरी भेटिनु भयो । उहाँले आफ्नो काममा निरन्तर लागिरहन प्रेरित गरिरहनु भयो । त्यो सिलसिला अहिले पनि रोकिएको छैन । भाषा साहित्य देशको चिनारी हो भन्ने उहाँको निचोड थियो । बारम्बर मलाई त्यो कुरा स्मरण गराइरहनु हुन्थ्यो । एकपटक घरमा बोलाएर केही पुस्तकहरू पढ्न दिंदै पत्रिकाको निरन्तरताको निम्ति सदस्य बनाउन र आफैँलाई पहिलो नम्बरमा राख्न आग्रह गर्नु भएको थियो । उहाँको आग्रहसुन्दा म छाँगोबाट खसे जस्तै भएको थिएँ । त्यो कल्पना भन्दा बाहिरको कुरा थियो । ३२ अङ्कसम्म पुग्दा कसैले नभनेको कुरा उहाँबाट सुन्दा म आश्चर्यमा पर्नु अनौठो थिएन । उहाँसँग विदा भएर हिंडेपछिल मनमा निक्कै कुराहरू खेले । कसैलाई पनि सदस्य नबनाउने सोच लिएर हिँडिरहेको मानिस सामु त्यति वरिष्ठ स्रष्टाको प्रस्ताव कम आश्चर्य थिएन । उहाँहरूलाई सम्मान गर्नुपर्छ, आदर गर्नुपर्छ, उहाँहरू साहित्यका मनिषि हुनुहुन्छ र नेपाल र नेपालीका ढुकढुकी हुनुहुन्छ भन्ने मान्यता बोक्ने मेरो सामु त्यस्तो प्रस्ताव आउनुलाई स्वभाविक ठान्नै सकिनँ ।

३३ अङ्कतिर भेटेर फर्केपछि ३÷४ अङ्कसम्म बिच भेटघाट भएन । अर्को अङ्क पछि भेटौँला र प्रस्तावबारे सोचौँला भनेको थिएँ । किन हो किन उहाँकोमा जान मन लागेन । एउटा कार्यक्रममा भेटिएपछि फेरि पनि बोलाउनु भयो । आउँछु भनेंँ तर गइनँ । मभित्र उहाँजस्ता स्रष्टाहरूबाट आर्थिक सहयोग लिन हुन्न भन्ने सोच थियो । अभियान थाल्ने पक्षमा म छँदै थिइनँ । ३७÷३८ अङ्कतिर होला उहाँले अभियानबारे बुझाउनु मात्र भएन केही साथीहरू पनि खोजेर सदस्यता बनाउनु भयो । छक्क अनि अचम्म मानेर प्रस्ताव झण्डै दुई वर्षपछि मानेँ । अग्रज र आदरणीय स्रष्टाहरूको माया पाउनुलाई नवप्रज्ञापनले अहोभाग्य पनि ठानेको छ ।

मरिमेटेर खोज्नेहरू सफल हुन नसकिरहेको बेलामा खोज्दै नखोज्नेले पाउनुलाई मैले तिमी काममा निरन्तर लाग, यसैगरी सहयोग र सद्भाव दिनेहरू बाटामा भेटिईरहने छन् भन्ने आर्शीवाद सम्झेको छु ।

इतिहासबाट सिकौंँ, जानौँ, बुझौँ र अगाडि बढौँ भन्ने नवप्रज्ञापनले सबैलाई यही अनुरोध गरिरहेको छ । इतिहास नबुझी अगाडि बढ्न सकिँदैन । इतिहास बुझ्नु आपूmलाई जान्नु र पहिचान गर्नु हो । जसले आफूलाई जानेको, चिनेको र बुझेको छैन उसले कसैलाई पनि जान्दैन र बुझ्दैन । यदि कसैले जानेको छु भनेर आआफूलाई बुज्रुगका रुपमा प्रस्तुत गरे बुझ्दा हुन्छ संसारमा त्यो सबैभन्दा पछाडि छ । अनि पछाडि हुनेले अगाडिका कुरा गर्नु डाडुमा पानी तताएर मर्नु सरह हो । अग्रजबाट शिक्षा ग्रहण गरी अनुजसम्म पुयाउनु पर्छ भन्ने सोचले जीवनको उकालीतिर पुग्न लनग्नुभएका ५६ स्रष्टाहरूका १२/१५ वर्ष उमेरका संस्मरण ४०औँ अङ्कमा प्रकाशित भएको थियो । भविष्यका कर्णाधार तर आजका बालिकाका निम्ति तयार पारिएको सो अङ्क रुचाउनेहरूको सङ्ख्या अत्यधिक रह्यो । पत्रिकालाई अगाडि बढ्न यसले अझ हौस्यायो । यति मात्र हैन, वीरपुर्खाहरूको आर्जन पवित्र भूमिमा जन्मिएको साटो औकातले भ्याएसम्म सकारात्मक काममा लागिरहन अझ प्रेरित गर्यो ।

४१६+४ पृष्ठको स्वर्ण अङ्क र ४६४+४ पृष्ठको बालसाहित्य विशेषाङ्क नवप्रज्ञापनका क्रमशः ५० औं र ६० औँ अङ्क हुन् । ५० औँ खुड्किला उक्लेपछि अब चाहिँ विश्राम गरौँ कि भन्ने सोच मनमा नपलाएको हैन तिर त्यसो पनि हुन सकेन । ठिकै छ नरोकियौँ यही मान्यताले प्रेरित ग¥यो । अहँ, पाइला अडिएनन् । सुस्तरी नै भए पनि हिँडिरहे । नेपाली बालसाहित्यको अवस्था कस्तो छ त ? भन्ने सोचले बालसाहित्य विशेषाङ्क जन्म गरायो । आज सबैभन्दा बढी काम गर्नु पर्ने क्षेत्र नै बालबालिकाको क्षेत्र हो । हिजो पठनसंस्कृति बढाउन नसकिएकाले आज साहित्यिक पाठकहरूको सङ्ख्या कम भएको हो । अञ्चलगत रूपमा बालसाहित्यको इतिहास, विधागत रुपमा बालसाहित्यको स्थिति, बालसाहित्यका क्षेत्रमा कलम चलाइरहनु भएका स्रष्टाहरूको जानकारी र विगतदेखि वर्तमानसम्मका बालसाहित्यका प्रतिनिधि स्रष्टाहरूका रचनाहरू समेटेर तयार पारिएको सो अङ्कलाई धेरैले राम्रो उपलब्धि र कोशेढुङ्गाको रुपमा मान्यता दिनुभयो । नवप्रज्ञापन दङ्ग पर्यो र आफ्नो सोच सही भएको महसुस गर्यो । यतिमात्र हैन अझ धेरै सकेसम्म गर्नुपर्छ भन्ने अठोट पनि बटुल्यो ।

साहित्यिक पत्रकारिता नेपालको सन्दर्भमा जेठो पत्रकारिता हो तर राज्यले यसलाई बेवास्ता गरिरहेको छ । कुनै पनि सुविधा दिएको छैन । यही परिप्रेक्षमा त्यसको हकहितका निम्ति २०६३ सालमा गठित नेपाल साहित्यिक पत्रकार सङ्घको गठनमा मेरो पनि महत्वपूर्ण योगदान रह्यो । अनि सोही संस्थाको पहलमा साहित्यिक पत्रपत्रिकाले पनि वर्गीकृत भएर राज्यबाट कल्याणकारी विज्ञापन पाउन थाले । मासिक बाहेक साहित्यिक पत्रिकाहरूले अझै हुलाक दर्ता सुविधा पाएका छैनन् । नेपाल साहित्यिक पत्रकार सङ्घले सरकारसँग पहल गरिरहेको छ । २०६३ पछिका सबै सरकारका तालुकवाला मन्त्री र विभागीय प्रमुखहरू सम्वादमा साहित्यिक पत्रपत्रिकालाई हुलाक सहितका सुविधा दिन मञ्जुर गर्छन् तर त्यो कुरा व्यवहारमा लागू भइरहेको छैन । भाषा, साहित्यप्रति सम्बन्धित निकायको असंवेदनशीलताको यो ज्वलन्त प्रमाण हो ।

विदेशी भूमिबाट प्रकाशित अश्लील तथा हाम्रा मूल्य मान्यता बाहिरका पत्रपत्रिका हामीकहाँ निर्वाध रुपमा आउँछन् तर नेपालीभाषी बहुल छिमेकी मुलुकका विभिन्न ठाउँमासमेत हाम्रा पत्रपत्रिका सहज रूपमा जान सक्दैनन् । नेपाल साहित्यिक पत्रकार सङ्घले स्थापना कालदेखि नै समस्या समाधानका निम्ति सरकारसँग अनुरोध र आग्रह गरिरहेको छ । तर सरकार र सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन् । सरकार किन गर्दैन त पहल ? साहित्यिक पत्रकारहरू प्रश्न गरिरहेका छन् । सम्बन्धित निकाय कानमा तेल हालेर सुनेको नसुन्यै गरिरहेछ । सम्पूर्ण साहित्यिक पत्रकारहरू एकजुट भएर उठे समस्याको समाधान टाढा छैन यो निष्कर्षमा नवप्रज्ञापन पुगेको छ । विस्तारै बोलेर कसैले पनि नसुन्ने हुनाले ठूलो आवाजका साथ साहित्यिक पत्रकाहरू उठ्नु आवश्यक छ । त्यसका निम्ति तयार बन्न नवप्रज्ञापन सबैमा आग्रह पनि गर्न चाहन्छ ।

२०७१ वैशाखमा भानु द्विशतवार्षिकीको अवसर पारेर संस्कृति मन्त्रालयले केही पत्रपत्रिकाहरूलाई रकम प्रदान गरी विशेषाङ्क निकाल्न लगायो । नवप्रज्ञापनले आशीर्वाद पाउने पत्रिकाको नाम पढ्यो र आफूलाई पनि जोड्यो । आधार खोज्यो । कमजोरी खोज्यो । सबल र दुर्बल पक्ष खोज्यो । तर अहँ, भेट्टाउन सकेन । क्षेत्रीय आधारमा तराईको जिल्ला बाराबाट प्रकाशित हुने नवप्रज्ञापन राष्ट्रिय ‘क’ वर्गमा वर्गीकृत छ । तर सुविधा पाउने बेलामा कसैले यसलाई सम्झेन । यो हकदार थियो । तराईबाट निस्कन्छ । सुविधासम्पन्न ठाउँबाट टाढा छ । अन्यत्रको जस्तो तराईमा नेपाली पत्रपत्रिकाका पाठक पनि छैनन् । सम्बन्धित निकाय पनि साहित्यिक पत्रपत्रिकालाई सहयोग गर्न चाहँदैनन् मात्र हैन दायित्व नै सम्झँदैनन् । सुरुदेखि आफ्नै बाहुबलमा प्रकाशित भइरहेको यसले कसैसँग पनि कुनै गुनासो त गरेन तर त्यस कार्यका लागि आफूलाई पनि कम आँकेन ।

भानुभक्त सबैका साझा ठानेर भानुभक्त विशेषाङ्क प्रकाशित गर्यो । सरकारी सहयोग र सुविधाले मात्र निस्कन्छ कि आफ्नै प्रयासमा पनि विशेषाङ्क निकाल्न सकिन्छ भन्ने आफैंले लिएको नवप्रज्ञापनको त्यो परीक्षा थियो । सुरुदेखि नै अवसरबाट वञ्चितहरूलाई मौका दिने उद्देश्य राखेको पत्रिका अहिले पनि त्यही उद्देश्यमा अडिग छ । राजधानी केन्द्रित वा पहुँचवालाको मात्र रचना छाप्ने र चार भन्ज्याङ बाहिर नजाने प्रवृत्तिको यो घोर विरोध गर्दछ । र हिजोदेखि आजसम्मै अवसरबाट वञ्चितहरूलाई मौका दिनुपर्छ भन्ने यसको सोच छ ।

छन्दकविताको स्थिति, ऐतिहासिक विकासक्रम, नेपालमा त्यसको अवस्था र नेपालका प्रतिनिधि छन्द कवि खोजौँ भन्ने सोचले घर गरेपछि २०७२ वैशाखमा ६८औँ अङ्क छन्द कविता विशेषाङ्कका रुपमा प्रकाशित भयो । त्यसले पनि धेरैतिरबाट समर्थन पायो । आफूले गरेको कामको सकारात्मक प्रतिक्रिया आएपछि मानिस उत्साहित बन्दो रहेछ । छन्द कविताको महत्व नबुझी त्यसको नाम आउनासाथ ओठ लेब्राउनेहरूलाई प्रत्युत्तर दिन त्यो अङ्क निकालिएको थियो । वर्तमानले मात्र विगतको पूर्ण चिनारी दिंदैन त्यसका निम्ति ठण्डा दिमागले इतिहास पढेर सोचमग्न पनि हुनुपर्छ । यो कुरा मेरो मनमा वर्षौ वर्षदेखि खेलिरहेको छ । वर्तमानको आडमा इतिहासको मूल्याङ्कन गर्ने धृष्टता गर्ने हो भने त्यो मूर्खताभन्दा अलिकति पनि केही हुँदैन ।

कामले काम सिकाउँदो रहेछ अर्थात् गतिले गति देखाउँदो रहेछ । खोलो बग्छ तर पोखरी जम्छ । बगेको कारण खोलाले गतिको महत्व बुझ्छ । जम्ने हुनाले पोखरीको भेउ जो कोहीलाई ज्ञात हुँदैन । यसको खोजीमेली गर्ने काम पनि त्यति सजिलो हुन सक्दैन । नवप्रज्ञापनको समय व्यवस्थापन गर्न सकिए हरेक वर्ष कुनै न कुनै एउटा विषयको विशेषाङ्क प्रकाशित गर्ने सोचलाई मूर्त रूप दिँदै २०७३ सालमा पूर्णाङ्क ७२ लघुकथा विशेषाङ्कका रूपमा प्रकाशित भयो । २०७४ मा पूर्णाङ्क ७५ सम्मका लेखकहरूको नामावली र सम्पादकीय समावेश गरेर ७६ पूर्णाङ्क स्वअभिलेख विशेषाङ्क आयो । इतिहास कहिल्यै भुल्न हुँदैन भन्ने सत्यलाई आत्मसातगरे गाडि बढ्न सकिने अभिप्रायका साथ नवप्रज्ञापनको स्वअभिलेख विशेषाङ्क प्रकाशनमा ल्याइएको हो ।

२०७५ सालमा पूर्णाङ्क ८० मुक्तक विशेषाङ्कका रूपमा प्रकाशित भयो । यस अङ्कले देशभरका नेपाली मुक्तककार समेट्नुका साथै नेपाली साहित्यको पहिलो मुक्तककारको खोजी पनि गर्यो। अनि मुक्तक के हो र कस्तो हुनुपर्छ ? समसामयिक नेपाली मुक्तकार को को हुन् खोजतलास गर्यो । छानविन सकियो अहँ, म भन्दिनँ तर प्रयास चाहिँ भयो यो यथार्थ वा सत्य दुवै हो यसमा कुनै शङ्का छैन । सकेको गर्ने हो, नसक्ने कसैले गर्दैन यसर्थ जे सकियो त्यो गरियो । अर्थात् नवप्रज्ञापनले आफूले सकेको गर्यो । नसकेको अरूको नाममा छाड्यो । जसरी सकिन्छ त्यसैगरी गर्यो । सत्य के भने सबैले सबै गर्न सक्दैनन् । एउटाले गरेर पुरा हुन पनि सक्दैन । संसारमा त्यस्तो कहीँ भएको पनि छैन । यसर्थ नवप्रज्ञापन सकेको गरौँ र गर्दै गर्दै जाउँ भन्ने पक्षमा छ ।

२०७६ सालमा पूर्णाङ्क ८४, बहुभाषाकथा विशेषाङ्कका रूपमा आयो । १२३ भन्दा बढी भाषा बोलिने नेपालका सबै भाषा समद्ध छैनन् । यसर्थ सबैभन्दा धेरै मातृभाषाका वक्ताहरू रहेका विभिन्न दश प्रमुख भाषाहरूका कथा आआफ्नै मातृभाषामा समावेश गरि प्रकामशित गरिएका छन् । यहाँ केवल कथाहरू मात्र समावेश छैनन् ती भाषाहरूको लेखन अवस्था र कथाका सारसंक्षेप पनि छ । यी सामग्री सम्बन्धित् भाषाहरूका लागि त उपयोगी छन् नै, नेपालीमा सारांस दिईएकाले ती भाषा नबुझ्नेका लागि पनि अत्यन्तै उपलब्धि मूलक छन् ।

नवप्रज्ञापन साहित्यमा एउटा विशुद्धि खोजी हो । यसले गाउँ खोज्छ । गाउँको आवाज खोज्छ । कोही पुग्न नसकीरहेको ठाउँ खोज्छ । छापिन नसकेका प्रतिभाहरू खोज्छ । तिनीहरूलाई लेख्न उत्प्रेरित छ । कुनै पनि अवसर नजुरेकाहरूका लागि मौका दिन्छ । हिँड्न र हिँडिरहनका लागि अभिप्रेरित गर्छ । हो, नवप्रज्ञापन यही र यस्तै कुराहरूमा धेरैभन्दा धेरै विश्वास गर्छ । प्रकाशन कालदेखि यही उदेश्य र लक्ष्यका साथ हिँडिरहेको नवप्रज्ञापन हिँड्न आरम्भ गरेको बाटोबाट कहिल्यै विचलित छैन ।

२०७७ सालमा पूर्णाङ्क ८८ गीत विशेषाङ्कका रूपमा प्रकाशित भयो । नेपाललगायत् विश्वका विभिन्न स्थानहरूमा बसोबास गरिरहनु भएका लेखकहरूका नेपाली भाषामा लेखिएका ३२० गीतहरूसहित् अन्य स्रष्टाहरूका गीतहरू बारे लेखिएका रचनाहरू यस अङ्कमा समावेश छन् । हामी गीतलाई एउटा आँखाले हेर्छौँ । त्यसो भए विश्वले कसरी हेर्छ त ? त्यसको खोजी यहाँ गरिएको छ । पूर्व र पश्चिम दुवैतिर गीतको प्रार्दुभाव कसरी भयो त ? ती के भाव बोक्छन्, मनोदशा कस्तो छ यी कुराहरूलाई पनि यहाँका सामग्रीहरूले समेटेका छन् ।

२०७८ सालमा प्रदेशका २ का गजलहरू समावेश गरेर पूर्णाङ्क ९२ प्रदेश २ गजल विशेषाङ्कका रूपमा प्रकाशित भयो । यस अङ्कमा मधेस प्रदेशका ८ जिल्लाभित्रका गजलकारहरूलाई समेटिएको छ । प्रतिभा गाउँ गाउँमा छन्, बस्ती बस्तीमा छन् । यत्रतत्र छरिएर रहेका ती प्रतिभाहरू लेखिरहेका छन् । तिनीहरूलाई समेट्नुपर्छ, उचित स्थान दिएर हुर्कने र बढ्ने अवसर प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले यस्तो अङ्क परिकल्पना गरेको हो । नवप्रज्ञापनले आफ्नो परिकल्पनामा आफू सफल भएको निष्कर्ष निकालेको छ ।

२०७९ सालमा पूर्णाङ्क ९६ नेपालीय भोजपुरी साहित्य विशेषमाङ्कका रूपमा प्रकाशित भयो । भोजपुरी नेपालमा बोलिने तेस्रो ठुलो भाषा हो र नवप्रज्ञापन यही क्षेत्रबाट विगत ३१ वर्षदेखि यसै क्षेत्रबाट निरन्तर प्रकाशित भइरहेको छ । भोजपुरीको आफ्नो छुट्टै पहिचान र अस्तित्व छ । यो भाषाको लोक साहित्यिक परम्परा पनि अत्यन्तै दर्विलो छ । यस अङ्कमा भोजपुरी भाषामा लेखिएका तथा अनुवाद गरिएका ६५ रचनाहरू समावेश छन् । यी सामग्रीहरूले भोजपुरी नेपालमा बोलिने समृद्ध भाषा हो भन्ने कुरा पुष्टि हुन्छ । २०७९साल माघसम्म आईपुग्दा यसका ९९ अङ्क प्रकाशित भए भने २०८० वैशाखमा १००औँ अङ्कका रूपमा तयार भएको छ ।

नवप्रज्ञापनको १००औँ अङ्क प्रकाशनका निम्ति मुद्रणालय जाने तरखरमा छ । २०५० सालमा प्रकाशन थालिएको यो पत्रिका हिजोदेखि सुरु गरे जस्तो लाग्छ तर ३१ औँ वर्षमा प्रवेश गरिसकेछ । त्यतिखेर सुरु नगरेको भए आज १००औँ अङ्कमा पुग्दैनथ्यो । ठीक समयमा ठीक काम थालिएछ । काममा हात हालिएछ । हिँड्नु पर्ने बाटो हिँडिएछ । त्यसैले त यहाँ आइपुगियो नि । एउटा कुरा पक्का हो– हिँड्नु पर्ने जति हिँड्न सकिएन । गर्नुपर्ने जति गर्न सकिएन । देख्नु पर्ने जति देख्न सकिएन । सुन्नु पर्ने जति सुन्न सकिएन । काम ढिला सुरु गरेकाले पो त्यस्तो भएको हो कि मनमा प्रश्न उब्जन्छन् र आफैंतिर तेर्सिन्छन् । किन यति थोरै ? किन ढिलो ? अर्को मन भन्छ प्रश्न ठीकै हो ‘नहुनु मामा भन्दा कानो मामा जाति’ । हिँड्दै नहिँड्नु भन्दा अलिकति भए पनि हिँडेको जाति । बोल्दै नबोल्नु भन्दा दुई चार शब्द नै सही तर बोलेको जाति । नगर्नेहरूको अगाडि थोरै भए पनि गरेको जाति÷ हिँडेको जाति र अगाडि पाइला चलाएको जाति ।

पत्रिका प्रकाशन आरम्भ गर्नुभन्दा अगाडि देखि नै हिँड्ने बाटो अलि फरक हो भन्ने मलाई थाहा थियो । किनकि हरेक काम कुरो मिलेर गर्ने, सँगै जाने, हात समातेर हिँड्ने, साझेदारीमा अगाडि बढ्ने संस्कृति हामीकहाँ विकास भइसकेको छैन । मलाई मात्र हैन साझेदारीमा त्यस्तो काम राम्ररी अगाडि बढेको अनुभूति कसैले पनि गरेको छैन । वर्तमानमा हामी र हाम्रो भन्दा म र मेरो भन्ने सोच बोलवाला छ । साहित्यिक पत्रिकारिता लिनु हैन, दिनु मात्र हो, यसमा साझेदारी नचल्नुलाई पनि म असान्दर्भिक भन्दिनँ । जीवनयापनका निम्ति भौंतारिइरहनु पर्ने र आर्थिक क्रियाकलापमा संलग्न हुनुपर्ने अवस्थाका बिच यतातिर लाग्ने फुर्सद कसैलाई हुँदैन । सक्ने, बुझ्ने र हैसियत भएका कतिपयहरू समेत यस्तो कार्यलाई उपयुक्त मान्दैनन् । यस्तो विषम परिस्थितिमा मैले चाहेको साथ नपाउनुलाई अस्वभाविक मान्दिनँ । गरौँ–गरौँ लाग्यो सुरु गरेँ, अनि मलाई लागेको कुरा अरुलाई लाग्नु पर्छ भन्ने पनि छैन ।

आरम्भका दिनहरूमा नै म एक्लै हुन्छु भन्ने पक्का थियो । तथापि दुई जना नजिकका मित्रहरूलाई प्रस्ताव राखेँ । पास भयो तर हिँडाई सँगै भएन । कुनै गुनासो राखिनँ । भाषा साहित्यको सेवा बाहेक मेरो अर्को स्वार्थ पनि छैन । आफ्नो काममा निर्धक्क र निश्चिन्त थिएँ । विश्वस्त र आश्वस्त भएकै कारण लगातार हिँंडिरहेँ । नवप्रज्ञापनलाई स्वविम्ब सम्झेँ । प्रतिबिम्ब सम्झेँ । आकारप्रकार सम्झेँ । जो सुकैले जे भने पनि पाइला अगाडि बढिरहे । बीचबीचमा अन्य साथीहरू चौतारामा भेटिए र चामैतारामै छुटे । भेट हुनु छुटिनु प्रकृतिको नियम हो । मैले त्यही रूपमा लिएँ । त्यही रूपमा लिएर अगाडिको बाटो लाग्ने पनि छु ।

त्यसो त बाटा र चौतारामा भेटिएकाहरू केही समय सँगसँगै हिँडे पनि छुटेका छन् । अर्को बाटो बनाएका छन् र नसके पनि हिँड्ने प्रयास गरिरहेका छन् । सुरुसुरुका अवस्थामा खहरे वा छहरो भएका साथीहरू कुनै सिन्को नभाँचे पनि दुई चार अङ्कपछि महासागर, सगरमाथा, विश्व राजमार्ग बन्ने खोज्ने अवस्था आएका छन् । हेरेको मात्र हैन देखेको र भोगेको पनि छु । मनमा कतै पढेको हिन्दी कहावत आइरहन्छ – ‘जो गरजता है वो वरसता नही और वरसता है वो गरजता नही ।’ यो यथार्थ खुबै बुझेको छु । किनकि नबुझी धरै छैन । यही कुरालाई मनन गरेको छु । यसो गर्नु आवश्यक पनि भएको छ ।

कोही कसैको पनि प्रतिस्पर्धी हुँदैन । भए पनि कम से कम नवप्रज्ञापन को भने छैन । भए आफ्नो प्रतिस्पर्धी आफैँ छ । नवप्रज्ञापनको प्रतिस्पर्धी अन्य कोही नभएर ऊ आफैँ हो । सबैले गर्ने काम उस्तै हुन्छन् । हिँड्ने बाटो उस्तै हुन्छ । पुग्ने ठाउँ पनि उस्तै हुन्छ । तथापि यात्रा फरक हुन्छन् । हातका पाँच औँला पनि लामाछोटा हुन्छन् । एकै बाबु आमाका सन्तान पनि फरक प्रकृति, स्वभाव र रुपरङ्गका हुन्छन् । गर्ने काम र उपलब्धि पनि भिन्नभिन्न हुन्छन् । यसैले भन्न सकिन्छ कोही कसैको प्रतिस्पर्धी होइन सबै आआफ्ना प्रतिस्पर्धी हुन् । गुल्मीको कुरा एउटा होला । स्याङ्जाको कुरा अझ अर्को होला । रुपन्देही र मकवानपुर अर्कै प्रकृतिका होलान् । काठमाडौं र झापाको सन्दर्भ पृथक नहोला कसरी भन्नु । बाराको प्रसङ्ग अर्को हुनु पर्छ ।

भाषा साहित्यलाई हेर्ने, बुझ्ने, सुन्ने, अनुभूति गर्ने र त्यसको उत्थानका निम्ति सोच्ने प्रवृत्ति नेपालका अन्य भागको भन्दा मेरो क्षेत्रको प्रवृीत्र बिलकुल भिन्न छ । भाषा साहित्यमा यो भेगले मनग्गे काम गर्न सकेको छैन । त्यसैमा जोडिन्छ यसको नाम । नवप्रज्ञापनको क्षेत्रबाट नियमित प्रकाशित हुने साहित्यिक पत्रिकाहरू केवल तीनवटा मात्र छन् । यसले पनि हाम्रो अवस्थाकान बारेमा जानकारी गराउँछ । किन ? यो प्रश्नको उत्तर खोज्न गहिरिनै पर्छ । त्यसैले त भनियो नि हुने खाने र गरिबको तुलना एक ठाउँमा बसेर एकै मेसोमा गर्न सकिन्न ।

भन्न के सकिन्छ भने इच्छाशक्ति भए केही न केही गर्न सकिन्छ । हिंड्ने प्रयास, बोल्ने प्रयास, अगाडि पाइला चाल्ने प्रयास, आपूmलाई चिन्ने प्रयास, आफ्नोपन चिनाउने प्रयास, जीवनको सार्थकता खोज्ने प्रयास र सारमा आपूmलाई सन्तुष्ट राख्ने प्रयास । विभिन्न तिरबाट भएका सनासाना प्रयासलाई जोड्ने हो भने त्यो ठूलो प्रयास नभए पनि त्यतातिरको यात्रा अवश्यै हुनेछ । यस्तै सोचले आफ्नो औकातले भ्याएजति गरौँ भनेर सुरु गरिएको नवप्रज्ञापनले सानै र मसिनै काम गरेर भए पनि ३१ वर्ष विताएछ । तथापि आफ्नो कामबाट सन्तुष्ट छैन । आँखा अगाडि थुप्रै काम छन् । गर्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ तर के गर्नु, लागेर मात्र नहुँदो रहेछ । लाग्नु र गर्नुमा फरक छ । त्यसलाई मिलाउन कठिन छ । अप्ठेरो र असजिलो छ । यी सबै हेर्दा कहिले काहीँ त लाग्छ चाहेको काम गर्न नसक्ने भएपछि के काम गरिरहनु । झिनामसिना भन्दा ठूलो कामले पो सेवा हुन्छ त भाषा साहित्यको । तर फेरि मनको अर्को पाटो भन्छ सके ठूलो गर्ने नसके सानै भए पनि गरिरहने अर्थात् हिँडिरहने तर काम गर्न नछाड्ने । हो, आजसम्म नवप्रज्ञापन यही कुरालाई आत्मसात गरिरहेको छ ।

आपूmलाई आफैँले ऐनामा हेर्दा नवप्रज्ञापन सन्तुष्ट नै छ । आशावादी पनि छ । भर्खर हिँड्न सुरु गरेकोले अझै हिँड्नु छ यही मान्यता राख्छ । गरिरहेको काममा परिमार्जन गर्नुपर्छ । नभएका काम खोज्नुपर्छ । विश्व साहित्यमा नेपाली साहित्यलाई जोड्न प्रयास गर्नुपर्छ । अरुको मुख ताकेर हैन, पहल आफैले गर्नुपर्छ । अर्काले हिँडेर हुँदैन, आफैँले हिंड्नुपर्छ, गन्तव्यको आँकलन आफैले गर्नुपर्छ । आफू भित्रको शक्ति पहिल्याउनु पर्छ । परायका भरमा पुग्न सकिँदैन । आप्नो कम्मर आफैले कस्नुपर्छ भन्ने सोचमा नवप्रज्ञापन हिजोदेखि आजसम्मै रहिरहेको छ । अग्रजहरूको, आदरणीयहरूको, अनुभवीहरूको, कार्यक्षेत्रमा लागिरहनु भएकाहरूको र यसको उत्थानका निम्ति सकारात्मक सोच बोक्नु भएकाहरूको सल्लाह–सुझाउलाई सदैव कदर। सम्मान र मार्गदर्शक सिद्धान्तका रूपमा पूजा गर्नेछ ।

३१औँ अङ्कको सम्पादकीय लेखिरहँदा मेरा नजरमा हजारौँ अनुहारहरू उपस्थित हुनु भएको छ । म उहाँहरूसँग आँखा जुधाउन सकिरहेको छैन । बोल्न पनि सकिरहेको छैन । उहाँहरूका आँट र साथ नपाएको भए नवप्रज्ञापन कसरी १००औँ अङ्कमा पुग्न सक्थ्यो होला र ? पक्कै सक्ने सक्ने थिएन । सर्वप्रथम लेखकहरूले आआफ्ना लेखरचना दिएर मलाई सघाउनु भयो त्यसकारण मलाई लेख रचनाको अभाव कहिल्यै भएन । पत्रपत्रिकाको पहिलो कुरा लेखरचना हो त्यो प्राप्त भए पत्रिका निस्कने एउटा आधार बन्छ । त्यो आधारको अभाव यसले १००सम्म कहिल्यै गर्नु परेन । यसर्थ नवप्रज्ञापन आदरणीय लेखकहरू सदा आभारी छ ।

साहित्यिक पत्रपत्रिका पनि विज्ञापनका हकाधिकारी त हुन्छन् तर हकाधिकारी नै भए पनि त्यस्तो अवसरबाट अपवाद बाहेक सधैँ बञ्चित छन् । ज–जसले जे–जे कुरा गरे पनि संसार बलियोको हो, कमजोरको हैन । भन्न त कमजोरकै लागि काम गरिरहेका छौँ भन्नेहरू पनि हाम्रा आँखा अगाडि धेरै छन् । त्यसो भन्नेहरूले पनि शक्ति आर्जन गरेर बलियो भए पछि पहिलेका सबै कुरा बिर्सेका उदाहरण धेरै छन् । भोलिको कुरा नगरौँ तर हिजो थिए र आज पनि पनि छन् । यो इतिहासले देखाएको देखाएको सत्य हामी नेपालीहरूले भोगेको नियति हो । यो नियतिको बार न हामीले न त नेपालीले साहित्यिक पत्रकारिताले नै भत्काउन सकिरहेको छ ।
अनगिन्ती वाध्यता हाम्रा अगाडि ठिङ्ग उभिई रहेछन् । तिनीहरूबाट बच्न सक्ने कुनै उपाय छैन । यसैले महत्त्वहीन स्वरहरू पनि कान थुनेर सुन्नु परिरहेको छ । ती सुनाउन उद्यत छन् अर्थात् मरिमेटेर लागि रहेछन् । नाइँ र हुँदैन परिस्थिति नै छैन । रमाइलो कुरा छ कि समयअनुसार तरिका फेरिन्छन् । शैली बदलिन्छन् । आरोह अवरोह पृथक बन्छन् । सन्दर्भ अलग बनाएर भाष्य तयार गरिन्छ । ती परिवेश र परिस्थिति अनुसार बेग्लाबेग्लै स्वरूपमा उभिन्छन् । उनीहरूका भनाई द्वन्दात्मक कहिल्यै हुँदैनन् । म नै अन्तिम सत्य हो भन्ने आधारमा ती अभिव्यक्त हुन्छन् । नपत्याई धरै छैन । पत्याउनु पर्छ । र आजसम्म पत्याई रहेका पनि छौँ ।

हजुर, हिजो र आजको अवस्था जे जस्तो भए पनि नवप्रज्ञापनले धेरैको साथ सहयोग पाएको छ । माया, ममता र स्नेह बटुलेको छ । त्यही कारण त नवप्रज्ञापन हिँडिरहन सकेको हो नि ।

शतक अङ्कको तयारीमा सम्पादक मण्डलका सदस्यहरू सहित् धेरैले सघाउनु भएको छ । पत्रिकामा नाम नराखिएका साथीहरूको सद्भाव अझ धेरै छ । उहाँहरूको साथ र सहयोगले मलाई अत्यन्तै प्रभावित बनाएको छ । पहिलो अङ्क प्रकाशित गर्दा मनमा जति खुसी थियो आज त्यो भन्दा पनि बढि खुसी छु । किनकि मैले गरेको काम सकारात्मक रहेछ । सकारात्मक भएकै कारण अग्रजदेखि अनुजसम्म धेरैको सद्भाव पाएको हुँ भन्ने मेरो बुझाई छ ।

तराईको जिल्ला बाराबाट प्रकाशन आरम्भ गरेको नवप्रज्ञापनले त्यति बेलैदेखि नेपाली बाहेक नेपालका अन्य मातृ भाषाका रचनाहरूलाई पनि उपलब्धताका आधारमा स्थान दिने गरेको थियो । त्यो परम्परा अहिले पनि छ । यो काम कसैले भनेर वा लगाएर गरिएको थिएन । वस्तुस्थिति बुझेर स्व विवेकले गरिएको थियो । हामी एक भएर हिँडे मात्र हामीहरू सबैको विकास सम्भव हुन्छ भनेर गरिएको थियो । भौगोलिक यथार्थ बुझेर थालिएको त्यो काम सही रहेछ भन्ने कुरा आज पुष्टि भएको छ । यही नीति भविष्यमा पनि राखि राख्ने यसको सोच छ । यो अवधिमा नवप्रज्ञापनमा दर्जनभन्दा बढी भाषाका रचनाहरू प्रकाशित भएका छन् ।
अन्त्यमा आइपुग्दा बारा जिल्लाको माटोबाट ३१ वर्षअघि हिँडन सुरु गरेर शतक अङ्कमा आईपुगेको नवप्रज्ञापनले भाषा साहित्यको उत्थानका निम्ति हिँड्नु पर्ने जति हिँड्न नसकेको र गर्नुपर्ने जति गर्न नसकेको स्वीकार गर्दै आदरणीय स्रष्टाहरुमा यसले गरेका सकारात्मक काम स्वीकारी नकारात्मक काम यसैलाई फिर्ता गरिदिन अनुरोध छ । यस क्षेत्रमा लामो देखि सक्रिय रहनु भएका आदरणीय अग्रजहरूको साथ सहयोग र मप्रतिको माया ममतालाई पनि कहिल्यै भुल्न सक्दिनँ । यसैगरी यात्राका विविध खण्डमा साथ दिने र दिइरहेका अनगिन्ती साथीहरू र सहयोगी मित्रहरूलाई सम्झँदै यस अङ्कको सम्पादकीयबाट विदा हुन चाहन्छु ।

 

Leave a Response