कोराक पुर्वी चितवनको उत्तर पुर्वमा रहेको पहाडी क्षेत्रमा पर्ने सुन्दर र रमणीय गाऊँ । उक्त गाउँमा पुग्न भण्डारा बजारबाट ७ घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्छ । साविक कोराक गाविस अहिले राप्ती नगरपालिका भित्र रहेको छ । लोथर खोलाको निकट रहेको कोराक गाउँमा चेपाङ समुदायको बाहुल्यता छ । अन्य समुदाय विशेषतः तामाङहरूको पनि बाक्लै बसोबास रहेको देख्न सकिन्छ । त्यस ठाउँमा मल्ल, ठकुरी र दलितहरूको पनि बसोबास छ । कतिपय मल्ल–ठकुरीहरू बसाई सरेर भरतपुर, भण्डारा, पिप्ले र हेटौडा पनि गएका छन् । छाडेर जाने कतिपयका जग्गा जमिन र घर अझै पनि त्यहाँ छन् । कोराक निक्कै पुरानो मानवबस्ती भएको त्यहाँका मानिसहरू विश्वास राख्छन् ।
कोराकसँग सीमा जोडिएका पश्चिम मकवानपुरको खैराङ र राक्सीराङमा पनि चेपाङ समुदायकै बाहुल्यता छ । राजनीतिक मिसनमा गएको थिएँ कोराक । घुमघामको क्रममा जहिले जहाँ पुग्छु त्यहाँको जनजीवन, रहनसहन, सांस्कृतिक चलन र चाँजोपाँजो बारे जान्ने प्रवल इच्छा रहने गर्छ । चाहेर पनि फुत्कन सक्दिन किनकि यसो गर्न मन मान्दैमान्दैन । बुझ्ने इच्छा छातीमा जन्मेपछि झाङ्गीएरै छाड्छ । अग्लिएरै छाड्छ । अर्थात् म हार्छु त्यो जित्छ । त्यसपछि ऊ अघिअघि हिँड्छ र म पछिपछि लाग्छु ।
हजुर ! कोराकमा मसँग चितवन भरतपुरका विष्णुहरि तिमल्सेना, गोपीलाल देवकोटा र छवि अधिकारी हुनुहुन्छ । म सहित उहाँहरू तिनैजना राजनैतिक मिसनका सामाजिक अभियन्ता । एउटै कार्यक्रमका लागि सँगै गएका हौँ । भण्डाराबाट बिहानको ११.३५मा गन्तव्यका लागि पाईला अगाडि बढाएका थियौँ । जङ्गलको बाटो उकाली ओह्राली एकनास हिँड्रयौँ र हिँडिरह्यौँ । बाटोमा जाने मुकाम र त्यहाँका समूदायवारे खुबै गफियौँ । छलफल ग¥यौँ । विचार विमर्शमा हरायौँ । मनमा सपना सजायौँ । आँखामा वश्वास रोप्यौ । मनको लड्डु मजाले घिउसँग खायौँ । साह्रै मिठो लाग्यो । हो, यसैले हिँडिरहन र सपनाको आकाशमा कावा खान प्रेरित गरिरह्यो ।
जङ्गलको बाटो हुँदै करिब ३ घण्टाको दुरी छिचोलेपछि केही समय ठूलो रुखको छहारीमा थकाई मार्न बस्यौँ । बजारदेखि बोकेर ल्याएको पानी पिउँदै गाउँको राजनीति र अन्य गैह्रसरकारी तथा सहकारी संघ, संस्थाहरूको कार्यक्रमले गाउँधरमा के कस्तो प्रभाव पा¥यो, छलफल ग¥यौँ बहस ग¥यौँ । तर्कबितर्क ग¥यौ । मनमनै आआफ्ना तर्क सबैभन्दा अब्बल रहेको ठान्न बिर्सेनौँ । करिब २० मिनेट बसाई पछि पुनःअगाडि बढ्ने सिलसिला चल्यो । आठ घण्टाको हिँडाईपछि टुपलुक्क आइपुग्यो कोराक गाउँ । लाज नमानीकन घडी सात बजाउने सुरसार गरिरहेको थियो । ऊसँग मेरा आँखा पनि जुधे । तर मैले केही भन्नु आवश्यक ठानिनँ ।
कल्पना मोक्तान स्वागतका लागि बसेकी थिईन् । एकआपसमा नमस्कार र अभिवादन साटासाट गरेपछि बास बस्ने घरतर्फ लाग्यौँ । बास उनको घरमै मिलाइएको रहेछ । एकछिन पछि नै आमाले एकथाल मकै भटमास ल्याईदिनु भो । खाजा खाँदै गर्दा स्थानीय अगुवा, जान्ने बुझ्ने प्रौढ र चेपाङ समुदायका अगुवाहरूबाट अनेक जानकारी सहजै उपलब्ध हुन सके । त्यसले मलाई प्रफुल्ल मात्र तुल्याएन उत्साहित बनायो र हौस्यायो पनि ।
कुराकानीकै सिलसिलामा ८३ वर्षका गुमासिंले सुनाए –“हाम्रो समुदायका मान्छे खेतीपाती पनि राम्रो गर्न जान्दैनन् । गाईवस्तु कमैले पाल्छन् । तर आजकल खेतीबारीमा ध्यान दिने, आफ्नो काम गर्ने, कुखुरा, बाख्रा पाल्ने पनि गर्न थालेका छन् ।” उनका कुरा रोचक ज्ञानवद्र्धक लागे । रिठ्ठो नबिराई सुने उनलाई । मेरो जिज्ञासामा उनी पनि कम रौसएनन् । उनको कुराले मेरो मनलाई पनि सु¥यायो ।
मैले उत्सुकता साथ सोधेँ “यहाँ एनजिओ र आइएनजिओहरूले गरिबी निवारणका लागि आय आर्जन बढाउने वा आयमूलक कार्यक्रम ल्याएका छन् कि ?” पुलुक्क मेरो आँखामा आँखा जुधाउँदै भने “ ल्याउन त ल्याएका छन् बाबु किन ल्याउँदैनथे । ल्याउँछन्, ल्याइरहेका छन् । दुईचारजना हाकिमहरू आउँछन् । यस्तो गर्छाै, उस्तो गर्छाै । तपाइहरूको राम्रो हुन्छ भन्न छाड्दैनन् । उन्नति र प्रगति हुन्छ पनि भन्छन् तर त्यसले केही भलाई हुँदैन ।”
“हुन त केही केही ठाउँमा धेरथोर काम पनि गरेका छन् । तर, जति गर्ने उद्देश्य सुनिन्छ, त्यति गरेका छैनन् । दुई चार महिला समूह बनाउँछन् । मिटिङ, बैठक, भेला र छलफल पनि भन्छन् । बजारबाटै ल्याएका खाजाका पोका हात हातमा राखी दिन्छन् । कार्यक्रम पछि सबैका हातमा केही पैसा पर्छ । त्यसपछि ती कयौँ समयसम्म आउँदैनन् । जाँदा टोलका सबै मान्छे र भुरा केटाकेटी बोलाएर फोटो खिचाउँन कहिल्यै बिर्सदैनन् । तर हाम्रा कहिल्यै आउँदैनन् । यसो भएता पनि हामी पर्खी बसेका छौँ” रत्नमाया चेपाङ सुनाउँछिन् ।
कोराकमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले लगेको कार्यक्रमले आयमूलक कार्यक्रम त्यति प्रभावकारी नभए पनि स्थानीय युवायुवती र वृद्धवृद्धाहरूको चेतनास्तर भने पक्कै बढाएको छ । आफ्ना कुरा राख्नुपर्छ, बोल्नुपर्छ र मान्छेका कुरा सुन्नुपर्छ भन्ने भावनाको विकास मात्र हैन गाउँलेहरूलाई जागरुक पनि बनाएको छ । चेपाङ वा तामाङ दुवै सम्प्रदायका मानिसहरूलाई सचेत पारेको छ । समय र परिस्थितिले मान्छेको चेतना अभिवृद्धि अवश्य गरेको छ । अधिकार प्राप्तिको लागि संगठित र आन्दोलित हुनुपर्छ भन्ने चेत बढेको छ मेरो मन मलाई कानमा खुसुक्क भन्छ । मेरो टाउको उसको सहमतिमा बिस्तारै हल्लन थाल्छ ।
चेपाङ समुदायको आफ्नै परम्परा र संस्कृति छ । उनीहरूका व्यवहारिक चालचलन पनि अन्य समुदायका भन्दा भिन्न छन् । यी विशेष गरी पहाडी पाखा, पखेरा र जंगलको छेउछाउमा बस्न रुचाउँछन् । उनीहरूसँग प्रशस्त खेती योग्य जमीन छैनन् । अधिकांश घर पनि त्यस्तै प्रकारका छन् । समय क्रमसँगै आजभोली यिनीहरूका बसोबास, रहनसहन र जीवनशैलीमा परिवर्तन हुँदै गएको मैले पनि मानेको मात्र हैन जानेको पनि छु । कतिपय नयाँ पुस्ताकाहरू पढेलेखेर सरकारी सेवामा सेवारत् रहेका पनि छन् । यिनीहरूको छोराछोरीहरूको विवाह परम्परा पनि रोचक रहेछ । पढेर भन्दा परेर मान्छेले समाज र जीवन बुझ्न सक्छ भन्ने हाम्रा बाऊ बाजेले भनेका कुरा यथार्थ लागे । साँच्चै मान्छेले जीवन व्यवहारबाट मात्र नभई आफू रहेबसेको समाजमा घट्ने घटनाबाट सिक्न सक्छ भन्ने अनुभूत गर्न कोराकले मजैले सघायो ।
उनीहरू विभिन्न संगठनहरूमा आवद्ध छन् । सामाजिक संघ, संस्थाका समूहमा छन् । अनेक ढंगले जीवनको बाटोमा हिँडिरहेका छन् । आय आर्जनमा सहभागी छन् । जीवनस्तर सुधार गर्दे गईरहेको अवस्था छ । यद्यपि त्यहाँका चेपाङ, तामाङ र अन्य क्षेत्री बाहुन र दलितहरूको अवस्था उस्तै छ । बिलकुल फरक छैन । त्यहाँ पुग्दा र नपुग्दाका दुवै कल्पना मेरो मनमा छ र त्यो कल्पना संशोधन गर्न यतिखेर म वाध्य छु ।
कोराक डाँडाको काखमा अवस्थित कोराक गाउँको जमीन समथर छ । समथल जमीन प्रायः तामाङहरूका रहेछन् । धान पनि रोप्ने प्रचलन रहेछ । हाईव्रिड मकै पनि राम्रो हुँदो रहेछ त्यहाँ । गाउँका केही तामाङ परिवारको भण्डारामा घर घडेरी पनि रहेछन् । त्यहाँका रैथाने ठकुरी र मल्लहरूवारें स्थानीय जमानसिं तामाङ भन्नु हुन्छ –“राणाकालमा उपत्यकाबाट निस्काशनमा परेका राणाहरूका आफन्तहरू त्यही समयदेखि यहाँ आएर बसेका हुन् । ”
“उनीहरूले सरकारबाट मौजा प्राप्त गरेका हुन् । तिनीहरूलाई हामी बाबु साहेब भन्ने गर्छौँ । हाम्रो कोराकमा मात्र होइन, पारीका राक्सीराङमा पनि मल्ल र ठकुरीहरूको बसोबास छ । उनीहरू आएपछि यस वरपरका गाउँका अन्य पुराना बसोबास गर्दै आएकाहरूलाई अलिक सहज पनि भयो । मिलेर बसेका छा,ैँ हामी बिच कुनै पनि किसिमको वैरभाव र मनमुटाव छैन” उनी अगाडि थप्छन् ।
“ठिकै छ मौजामा काम गर्न पाईएको छ । ज्याला गर्न बोलाउने, काम लगाउने गरेपछि यहाँका बासिन्दा भोकै पर्नु परेन” शीरबहादुर चेपाङ अगाडि थप्छन् । काममा कजाए पनि खाना पाईने हुँदा गरिबीको चपेटामा परेकाहरू खुसी नै रहेको अनुभूत गरेँ मैले पनि । जीवनमा आधारभुत आवश्यक्ताको रुपमा रहेका खाना, नाना र छानाको प्रश्न अहंम् महत्वको छ । यी चीजहरूको प्राप्तिका लागि भौतिक रुपमा दशनङ्ग्रा खियाउनै पर्ने हुन्छ ।
हामी रहे बसेको समाज वर्ग विभाजन भएको समाज हो । यसो भन्नुको मतलब हो – कुनै वर्गका मान्छे श्रम नगरे पनि ठाँट बाँठका साथ बाँच्न सक्छन् । तर कुनै वर्गका मान्छे श्रम गरेर पनि पुरा पेट खान नपाउने अवस्था छ । विभेदको खाडल युक्त यो समाज विविधतामा आधारित छ । हामी र हाम्रो देश साधन श्रोतको उपर्युक्त व्यवस्थापन गर्ने हो भने सम्पन्न छौँ र बन्न सक्छौँ । पिछडिएका र पछि परेका समुदायलाई माथि उठाउनु राज्यको दायित्व हो तर यो कुरामा हाम्रो हिजो मात्र हैन आज पनि पछिको पछि नै छ ।
“देशमा शासन व्यवस्था बदलिएको छ । व्यवस्था सञ्चालनको प्रणाली र स्वरुप बदलिएको छ । तर, कोराकका गरिबहरूको जीवनस्तरमा खासै कुनै परिवर्तन आएको छैन । जनताको जीवनस्तर उकास्न राज्यको प्रतिनिधि संस्था स्थानीय सरकारले उपर्युक्त, योजना र कार्यक्रम बनाउन नसक्दा एनजिओ आइएनजिओको झै सरकारी कार्यक्रम पनि बन्न पुगेका छन्” श्याम मोक्तान बताउनु हुन्छ । जनप्रतिनिधिका भिजन सही नहुँदा राज्यका विभिन्न निकायबाट आएका योजनाहरू प्रभावशुन्य र परिणामविहिन कै अवस्था छन् । अनुगमन छैन । अगुवाहरू सुशासन, शान्ति र सुव्यवस्थाका कुरा गर्छन् । तर काम र कुरामा आकाश पातालको फरक छ । मेरो मन मसँग गुनासो गर्छ ।
हामी हामी आबद्ध राजनीतिक दलको कार्यक्रमका निम्ति यहाँ पुगेका हौँ । कार्यक्रम एकदिनपछि भएकाले बाँकी एक दिन पुरै त्यस गाउँ र वरपरका छिमेकी गाउँमा पुग्ने अवसर मिल्छ । अघिल्लो डेढ दिन त्यहाँको जनजीवन, रहनसहन, बसोबास वारें अध्ययन, अनुगमन गर्ने समयको रुपमा फूर्सदलाई भरपुर उपयोग गर्छु । धेरै कुरा सिक्ने र जान्ने मौका जुर्छ । भ्रमणले धेरै कुरा दिन्छ तर हामी त्यता कहिल्यै जाँदैनौँ । यसैले हाम्रो परिवेश साँघुरो हुन्छ । मनमा यी कुरा बिस्तारै ओछ्यान लगाएर बस्दै जान्छन् । भोलिपल्ट अर्थात् २०६४ जेठ २७ गतेका दिन हाम्रो मुख्य काम सम्पन्न भयो । कार्यक्रममा स्थानीयवासीको मनग्य सहभागिता रहेको थियो ।
“कोराक डाँडा, जहाँ चेपाङहरू जातीय एवंम् मौलिक पर्वका बेला नाचगान गर्दै रमाउने गर्छन् । उनीहरूका बुढापाका वा अग्रजहरूले परम्परा अनुसार डाँडाको पुजा गर्ने, बनको देवताको पुजा गर्ने गर्छन् । प्रकृति पुजक ती त्यही डाँडामा कूलको पुजा पनि गर्छन्” गुमासिं अगाडि थप्छन् । साँच्चै त्यो ढुँगे डाँडा रमाइलो छ । त्यति मात्र हैन सानो थली जस्तै छ । त्यहाँ वरपिपलको रुख रोपिएको छ मेरा आँखा अवलोकन गर्न बिर्सदैनन् । “हाम्रा बाऊ बाजेले उहिल्यै रोपेका हुन्” मुस्कुराउँदै गुमासिं भन्छन् ।
अत्यन्तै रमाइलो लाग्छ गाउँ । ठाउँ पनि सुन्दर रहेको अनुभूति गर्छु । लोथर खोलाको खोंचमा रहेको पाखा पखेरामा छरिएको छ गाउँ । कोराकमा भने तामाङहरू अलिक बाक्लै सङ्ख्यामा छन् । कोराक अलिक धेरै डाँडाको काखमा लोथर खोला छेउमा झण्डै पन्ध्र, सोह्र घर एकै ठाउँमा गुच्च परेर बसेको छ । यहाँ युवाहरूको सक्रियतामा लघु पेल्ट्री सेटको माध्यमबाट विद्युत उत्पादन गरिएको छ । उक्त पेल्ट्री सेटले उत्पादन गरेको विजुली बत्ती झण्डै सत्तरी बहत्तर घरलाई पु¥याईएको छ । तिनै घर परिवारबाट संकलन गरिएको १,४०,००० ÷ रकम र गाविसको ७५,०००÷आर्थिक सहयोगमा बनेको लघु पेल्ट्री सेट कोराक कृषक समूहको नाममा चलाईएको छ । “स्थानीय बासीहरूका अनुसार समय समयमा हुने राजनीतिक परिवर्तन र संघसंस्थाको सक्रियतामा गरिने कार्यक्रमहरूले यहाँका मानिसहरूलाई सचेत मात्र होइन, श्रमप्रतिको सम्मानभाव, आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने चेतनाको विकास भईरहेको महशुस मैले पनि गरेँ” सहयात्री गोपीलाल देवकोटा गम्भीर भावमा भन्नु हुन्छ ।
कोराकका घर–घरमा विजुली बलेको छ । बिद्युतीकरणका लागि बनेको कृषि समूहलाई सहकारी जस्तै गरी समूदायको आर्थिक बचत गर्ने अभियान पनि चलाएको छ । त्यहाँका चेपाङहरूमा कमाईको थोरै भएपनि बचत गर्नुपर्छ भन्ने भाव बढिरहेको महशुस हुन्छ । मनमनै चेतनालाई सलाम गर्छु । अभिवादन गर्छु र यो भाव निरन्तर बढिरहोस् भन्ने कामना गर्न बिर्सन्न ।
कोराक मनमा छ । तनमा छ । आँखामा छ । विश्वासमा छ । विचारमा छ । आस्थामा छ । अठोटमा छ । यसैले त चौधवर्ष पछि पनि विर्सन सकिरहेको छैन । त्यति विकट स्थानमा पनि सहजतापूर्वक बसिरहेका सबै समुदायहरूप्रति सलाम छ । नमन छ । र अभिवादन छ ।
रौतहट