close

त्यो बस अझै आइपुगेन ज्ञान दाइ !

– प्रमोद प्रधान

हिमालको फेदीमा बसेर म
एउटा सङ्कल्प गीत गाइदिन्छु
सूर्यजत्रो प्रतिज्ञा बोकेर तिमी,
त्यस गीतको तालमा माथि माथि उक्ल
घामको फैलावट एउटा नदीमा
मेरो हत्केलाको नाउ बनाइदिन्छु,
तिमी त्यही नाउबाट नदी पार गर
र, पल्लो किनारबाट यात्रा प्रारम्भ गर ।

भर्खरै एस.एल.सी. उत्तीर्ण गरेर क्याम्पसमा भर्ना भएको समय । साहित्यमा रुचि भएका कारण नेपाली र हिन्दीमा आउने पत्रपत्रिकाहरू किन्ने र पढ्ने फुर्ती ! त्यही फुर्तीका कारण किनेको २०३० सालको मधुपर्कको कुनै अङ्कमा पढेको कविता : यात्राको शुभारम्भ ! कवि ज्ञान उदास (२०००) । मैले पढेको ज्ञान उदासको पहिलो कविताले नै मलाई मोहित मात्र बनाएन, त्यससँगै उनको कवित्वशक्ति र शैलीले पनि प्रभावित पारेको थियो । त्यसबेलासम्म कवि ज्ञान उदाससँग मेरो भौतिक परिचय थिएन । तर परिचयका लागि धेरै लामो समय कुर्न परेन । सङ्खुवासभाको चैनपुरबाट विभिन्न कामको सिलसिलामा उनी धरान र विराटनगर झरिरहने गर्थे ।
परिचय कहिले भयो ? भन्न सक्दिनँ । दैनिकी लेख्ने बानी नभएकाले केही कुरा पनि टिपिएन । तर मलाई लाग्छ २०३३÷३४ सालतिर पहिलोपटक कवि ज्ञान उदाससँग मेरो भेट भएको हुनुपर्छ । विराटनगरमा बस्ने भएकाले यो संयोग जुरेको हो । विराटनगरका त्यसबेलाका अत्यन्त सक्रिय सामाजिक एवम् राजनीतिक व्यक्तित्व, वरिष्ठ पत्रकार कुमारबहादुर श्रेष्ठका माध्यमबाट चिन्ने अवसर पाएँ मैले कवि ज्ञान उदासलाई । त्यो पहिलो भेट, चिनाजानी र कुराकानीको हिसाब गर्ने हो भने ४२ वर्ष नाघिसकेछ । ओहो, सम्झँदा आफैलाई कहाली लाग्छ । त्यो भेटमा मैले कवि ज्ञान उदासबाट उनको कवितासङ्ग्रह हामी बस पर्खिरहेका छौँ – बस (२०२८) उपहारस्वरूप पाएँ । साहित्यिक पुस्तक कम छापिने त्यस समयमा प्रतिष्ठित कविको कवितासङ्ग्रह उपहारका रूपमा पाउनु नै मेरो लागि ठुलो कुरा थियो । उक्त कवितासङ्ग्रह पढेर मैले समालोचनात्मक लेख पनि लेखेँ : हामी बस पर्खिरहेका छौँ – बस: एक दृष्टि, जुन त्यसबेलाको चर्चित साहित्यिक पत्रिका रूपरेखाको २०३५ वैशाखको अङ्कमा छापिएको थियो । त्यो लेखमा मैले यस्तो लेखेको रहेछु : कविताहरूमा वैयक्तिक छटपटीहरूभन्दा सामूहिक छटपटीहरू प्रबल रूपमा देखा पर्दछ । यसरी ज्ञान उदाससँग नजिकिएँ म । यसले गर्दा विराटनगरमा आउँदा नियमित रूपमा भेट र कुराकानी हुने क्रम क्रमशः बढ्नु स्वाभाविक थियो । कवि ज्ञान उदाससँगको परिचय विस्तार हुँदै भाउजू पे्रमा उदाससम्म पनि पुग्यो । कवि उदासका भाइहरू श्यामसुन्दर उदास र महेश पे्रमी उदास साथीसमेत हुन पुगे ।
कवि ज्ञान उदासको काव्ययात्राले लामो समय तय गरिसकेको छ । २०१८ सालमा धरानस्थित पिण्डेश्वर संस्कृत पाठशालाको नेपाल पत्रिकामा उनको पहिलो रचना प्रकाशित भएको थियो ।आमासित शीर्षकको उक्त कविताले उनको स्रष्टा व्यक्तित्वलाई सबैभन्दा पहिले पाठकसमक्ष प्रस्तुत गरेको थियो । त्यसपछि भने उनी निरन्तर रूपमा सिर्जना र साधनामा लागिरहे । सिर्जना यात्रा थालेको अर्को वर्ष त उनको पहिलो कवितासङ्ग्रह कुन बेस ? नै प्रकाशित भयो । त्यसपछि पनि उनका कृतिहरू प्रकाशित भइरहे : हामी बस पर्खिरहेका छौँ – बस (कवितासङ्ग्रह, २०२८), मनका कुराहरू (गीत, गजल र मुक्तक, २०५८), ज्ञान उदासका कविता (२०७१), मेरो हराएको कविता (२०७३), यस्तो लाग्छ (मुक्तकसङ्ग्रह, २०७४) र खाली सारङ्गी (हाइकुसङ्ग्रह, २०७४) । बालसाहित्यतर्पm पनि उनको एउटा बालकथा कृति प्रकाशित भएको छ : नानीका कथाको किताब (२०६४) । यस्ता सिर्जनाहरूसँगै उनले गरेको अर्को महत्त्वपूर्ण काम भने विभिन्न स्रष्टाहरूकै हस्ताक्षरमा विचार सङ्कलन गरेर त्यसलाई पुस्तकको रूपमा प्रकाशित गर्नु पनि हो । यसक्रममा हस्ताक्षर (२०४९) र स्रष्टा–हस्ताक्षर (२०७४) दुई महत्त्वपूर्ण कृति प्रकाशित भएका छन् । विशिष्टदेखि नयाँ पुस्ताका स्रष्टासम्मलाई समेटेर यस्तो ग्रन्थ निकाल्नु कष्टसाध्य काम हो । हस्ताक्षरमा आफू पनि समावेश हुन पाउँदा मलाई खुशी लाग्नु स्वाभाविक हो ।
ज्ञान उदासले कविताभन्दा अरू विधामा फुटकर रूपमा केही लेखे पनि कृति भने लेखेनन् । यसले पनि उनको व्यक्तित्व भनेको ‘कवि–व्यक्तित्व’ नै हो भन्ने स्पष्ट हुन्छ । सक्रिय लेखक–जीवनको उत्तराद्र्धमा उनले मुक्तक, हाइकुतिर अलि बढी कलम चलाएको देखिन्छ, तर मलाई भने उनका कविता नै मिठा लाग्छन् । नेपाली साहित्यकोे २०२० देखि २०४० को दशकसम्मका सर्वाधिक सक्रिय र विशिष्ट कविको रूपमा उनको स्पष्ट पहिचान छ, भलै उनका बारेमा समालोचना कमै लेखिएका होऊन् । उक्त दुई दशकको अवधिमा नेपाली काव्यजगत्ले पाएका केही स्वनामधन्य कविहरूको पङ्तिमा उनको नाम पनि आउँछ । त्यो पुस्तामा कवि ज्ञान उदाससँगै शैलेन्द्र साकार, मञ्जुल, रमेश श्रेष्ठ (भोजपुर), हेम हमालजस्ता कविहरूको आ–आप्mनै विशिष्ट योगदान रहेको छ भन्ने मलाई लाग्छ । ज्ञान उदासका कविताकृतिहरूमा हामी बस पर्खिरहेका छौँ – बस र ज्ञान उदासका कवितामा उनका प्रतिनिधिमूलक महत्त्वपूर्ण कविताहरू रहेका छन् । मेरो हराएको कवितामा भने २०१९ देखि २०२१ सालको बिचमा लेखिएका उनका प्रारम्भकालीन कविताहरू सङ्गृहीत छन्, जसमा उनका रूमानी भावहरू अभिव्यक्त भएका छन् ।
कोमल शब्दहरूको प्रयोग गरेर आफ्ना विचार र धारणालाई बिम्बहरूका माध्यमबाट प्रस्तुत गर्ने उनको काव्यशैली वास्वतमै मनमोहक छ । विकृति र विसङ्गतिहरू विरुद्ध प्रहार गरे पनि उनका कवितामा उत्ताउलोपन भेटिँदैन । उनका कविता उनीजस्तै सरल छन्, स्पष्ट छन् । हामी बस पर्खिरहेका छौँ बस, ज्ञान उदास ऊ जन्मेको मङ्गलबार, एउटा बालकको कथा, एउटा पुल,एउटा बूढो रूख, शहरबाट निर्वासित एउटा जूनको कथा, यात्राको शुभारम्भ शीर्षकका उनका कविताहरू मलाई असाध्यै मनपर्ने कविता हुन् । आफ्ना कविताबारे उनले भनेका छन् : मैले जीवनमा भोगेका र जगत्मा देखेका यथार्थ जनजीवन र सुखदुःख नै मैले मेरो कवितामा व्यक्त गर्ने कोसिस गरेको छु । (भन्न मन लागेको कुरा, लेखकीय, ज्ञान उदासका कविता) उनका यस्ता कतिपय कवितामा भविष्यप्रतिको आशा प्रबल रूपमा प्रकट भएको देखिन्छ ।
मलाई अल्मलिन नदेऊ
एउटा घामको झुल्को मैले खल्तीभित्र बोकेको छु
कतै अक्करतिर रात परे
म झुलो र चकमक कोर्नेछु
तिमीहरू सबैले मलाई मद्दत गर्छौँ भने पनि
म उपेक्षा गर्ने छैन
त्यो पुल, जो म निर्माण गर्न खोजिरहेछु
असङ्ख्य ठुलो र
साहै्र सुन्दर होला भन्ने सोचेको छु
सर्वप्रथम त्यो पुल तयार हुनेछ
र तिनीहरू दुवै पहिले त्यहाँबाट पार हुनुपर्छ । (एउटा पुल)

हेर, तिम्रो छोरो लेक उक्लन सक्छ
र, तिमीलाई गुराँस टिपेर ल्याइदिन सक्छ
तिम्रो छोरो ब्याँसी ओर्लन सक्छ
र, तिमीलाई मुर्चुंगाको भाकामा गीत सुनाउन सक्छ
तिम्रो छोरो सबथोक गर्न सक्छ
मकै, भटमास र गुन्द्रुकको स्वाद चखाउन सक्छ
तिम्रो छोरो
गाईवस्तुसँग रमाउन सक्छ
पाखा–पाखा दगुर्न सक्छ । (एउटा बुढो रूख)
यसबाट उनका मुक्तक, हाइकु भने केही होइनन् भन्ने अर्थ लगाउनुहुँदैन । उनका मुक्तक पनि बेजोड छन् । यस्तो लाग्छभित्रका उनका यी मुक्तकहरूले हामीलाई भित्रभित्रै छोइरहन्छन् :
मेरो एउटा मार्मिक कथा, सुनाइदिन्छु म तिमीलाई
मेरो एउटा मुटु छुने व्यथा, देखाइदिन्छु म तिमीलाई
ताराजस्तै मौन र जूनजस्तै शीतल भएर त हेर–
मेरो जिन्दगीको एउटा घाउ चिनाइदिन्छु म तिमीलाई । (पृ.२५)

गाउँमा बस्न पनि सकिएन, सहर पस्न पनि सकिएन
त्रासैत्रासमा बाँचेको जिन्दगी, खुलेर हाँस्न पनि सकिएन
धराप माथि मुटुलाई राखेर कति दिन निदाउने ?
पुसको न्यानो घामजस्तो जिन्दगी बाँच्न पनि सकिएन । (पृ.४७)
सरल शब्दहरूको अनुपम संयोजनमार्फत् गहिरो भाव र उत्कृष्ट विचार दिनसक्ने क्षमता कवि ज्ञान उदासमा देखिन्छ । उनी कवितामा कसरत रुचाउँदैनन्, पानीको स्वाभाविक विचरणमा रमाउँछन् । उनी रचनामा जटिलता मन पराउँदैनन्, घामको सर्वव्यापी स्वरूपमा विश्वास गर्छन् । पहाडमा जन्मी हुर्केको हुनाले उनका कवितामा पनि पहाडी जीवनको सरलता भेटिएको हुनसक्छ । त्यसैले पनि ज्ञान उदास मलाई मन पर्छन् ।
ज्ञान उदासमा पाइने अर्को महत्त्वपूर्ण पक्ष भनेको साहित्य र साहित्यकारप्रतिको उनको आस्था, समर्पण र श्रद्धा पनि हो । खाली सारङ्गीभित्रका पाँचओटा हाइकुलाई यसको प्रमाणको रूपमा लिन सकिन्छ । उनले वासुदेव लुइँटेल (भूतको भिनाजु), भैरव अर्याल, क्षेत्रप्रताप अधिकारीहरूका साथै डा. अभि सुवेदी र रामकुमार पाँडेमाथि एक/एक हाइकु लेखेका छन् । सोही कृतिको अन्त्यमा ‘तीन हरफका मन कविता’ भनेर उनले पन्ध्रओटा रचना पस्केका छन्, जसमध्ये चारओटा स्रष्टा केन्द्रित छन् । ती रचनामा अत्यन्त मिठो बिम्बमार्फत् स्रष्टाको व्यक्तित्वलाई प्रस्तुत गर्न खोजिएको छ । त्यसमध्ये उदाहरणका लागि दुईओटा तल प्रस्तुत गरेको छु, पहिलोले कवयित्री कुन्ता शर्मा र दोस्रोले कवि विजय बजिमयलाई विषय बनाएको छ :
साँगुरीबाट मन
खाली सारङ्गी बजाउँदै धरान ओल्र्यो
कुन्ताको कवितामा नुन भुटुनको भाय बुझ्न । (पृ.८०)
हिँड्न नसक्ने विवश मन
विजय बजिमयलाई तीर्थको कविता सुनाउन
ह्विल चेयरमा कुद्दै छ । (पृ.८३)
मलाई लाग्छ, कवि ज्ञान उदासको कवि–व्यक्तित्वको निर्माणमा कवि पत्नी पे्रमा उदासको सेवा, समर्पण र साथको योगदान अतुलनीय छ । आपैm पनि कविता लेख्ने पे्रमा श्रेष्ठले ‘पे्रमा उदास’मा रूपान्तरण भइसकेपछि ज्ञान उदासको कवि–व्यक्तित्वलाई अघि बढाउने क्रममा आपूmलाई पर्दा पछाडि राखिन् । पे्रमा उदासले पनि कविता–साधनालाई निरन्तरता दिएको भए मलाई लाग्छ, उनी पनि अहिलेका चर्चित साहित्यकारभन्दा कम हुने थिइनन् । उनका कतिपय कविता उहिले पूर्वतिरका पत्रपत्रिकामा पढेकै पनि हुँु मैले । मेरो हराएको कविताको प्रकाशकीयका क्रममा पे्रमा उदासले लेखेकी पनि छन् ः ज्ञान उदास नाताले मेरो श्रीमान्भन्दा पनि मेरो धेरै पुरानो आत्मीय साथी हुन् । उनका र मेरा धेरै कुराहरू मिल्थे । हामी सधैँ गफिन्थ्यौँ । उनी विद्यार्थी अवस्थादेखि नै कविता लेख्ने र म पनि थोरै भए पनि साहित्यमा रुचि राख्ने हुँदा गफमा कविताका कुरा पनि हुन्थे, केही ठट्टा–मजाक पनि हुन्थे । केही सामाजिक, राजनीतिक र अन्य विषयका गफ पनि हुन्थे । गफमा समय निकै बिताउँथ्यौँ । यस्तैमा हामी घनिष्ठ पनि भयौँ । (पृ.१९, प्रकाशकको कलम) । हामी बस पर्खिरहेका छौँ–बसरत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो । मनका कुराहरूको प्रकाशकमा विराटनगरस्थित वाणी प्रकाशनको नाम भए पनि त्यो पनि लेखककै खर्चमा छापिएको हुनुपर्छ । राजनीतिक नियुक्ति र भ्रष्टाचारले समाप्त प्रायः अवस्थामा पुगेको र ‘ऐरे गैरे नत्थु खैरे’को किताब छाप्ने साझा प्रकाशनले उनको पाण्डुलिपि छाप्न अयोग्य भनी फिर्ता दिएको प्रसङ्ग मेरो हराएको कविताको प्रकाशकीयमा पढ्दा मुखभरि थुक भरिएर आएको थियो मेरो । यसरी एउटाबाहेकका सबै कृतिहरूको प्रकाशक पे्रमा उदास नै हुन् । यसरी आप्mनै खर्चमा यति धेरै पुस्तक प्रकाशित गर्नुको पछाडि पनि यही आत्मीयताले काम गरेको हुनुपर्छ । कविका सिर्जनाका अतिरिक्त हस्ताक्षर र स्रष्टा–हस्ताक्षरजस्ता कृति छापिदिएर उनले कवि ज्ञान उदासलाई मात्र नभई वास्तवमा नेपाली भाषा र साहित्यलाई नै गुन लगाएकी छन् । प्रविधिले अब लेखकका हस्ताक्षरसम्म देख्न मुस्किल पर्ने अवस्था सिर्जना भएको बेला पुराना लेखक, साहित्यकारहरूको हस्तलिपिमै उनीहरूका विचार र धारणा सङ्कलन गर्ने ज्ञान उदासको महत्त्वपूर्ण सत्कार्यलाई पाठकसम्म पु–याउने उनको समर्पण त्यत्तिकै उदाहरणीय छ, उल्लेखनीय छ ।
अब म, ज्ञान उदासको ओझेलमा परेको पत्रकार व्यक्तित्वका बारेमा केही उल्लेख गर्छु । कवि–व्यक्तित्वका कारण उनको पत्रकार व्यक्तित्व छायामा परेको छ । मैले उनलाई विराटनगरमा साप्ताहिक समाचारपत्र नयाँ खबर कागजका लागि समाचार जम्मा गरेर छाप्न छापाखानासम्म पुगेको धेरैपल्ट देखेको छु, भेटेको छु । उक्त पत्रिकाका कतिपय अङ्क विराटनगरका छापाखानामा छापिएका थिए । उनले २०५५ देखि २०५९ सम्म बालपत्रिका नानीको पनि सम्पादन गरे । हुन त उनले २०२८ सालमै पहाड साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका थिए । उनका बारेमा जति पनि लेख्न सकिन्छ । किनकि उनले आप्mनो जीवनका छ दशक लामो ऊर्जाशील जीवन सिर्जना र साधनामा लगाएका छन् । उनका कृतिहरूका माध्यमबाट उनको जीवनका पे्रम र प्रणय, दुःख र सुख, आरोह र अवरोह, विचार र धारणा, अनुभव र अनुभूति धेरै कुरालाई छाम्न सकिन्छ, नियाल्न सकिन्छ, बुझ्न सकिन्छ ।
कवि ज्ञान उदासले उहिल्यै अर्थात् आजभन्दा करिब ५० वर्षअघि नै हामी बस पर्खिरहेका छौँ बस शीर्षकको कवितामार्फत् हामीलाई आआफूले बस कुरिरहेको बताएका थिए । त्यो बस सम्भवतः समृद्धितर्फको हाम्रो यात्राका लागि थियो । कविको बुबाले देख्न नपाएको समृद्धि आफ्नो जीवनकालमा देख्ने उनको सपना थियो, चाहना थियो । तर दुर्भाग्य, अहिले कविका नाति पनि त्यही बस अझै कुरिरहेका छन् । सम्भवतः यति धेरै दुर्नियति भोग्नुपर्ने विविशता र बाध्यता हाम्रो मात्र हो कि अरूको पनि हो ? यतिखेर म धेरै भन्न सक्ने अवस्थामा छैन । यत्ति मात्र भन्छु :त्यो बस अभैm आइपुगेन ज्ञान दाइ !
(विराटनगर, हाल : साहित्य सृष्टि, कोटेश्वर, काठमाडौँ)

Leave a Response