close

गतिविधि

नवप्रज्ञापन नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत


२०८१ सालको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कार नवप्रज्ञापन साहित्यिक पत्रिकालाई प्रदान गरिएको छ । चैत्र २२ गते शुक्रबार काठमाडौँको पुतलीसडकस्थित ग्रिनलिफ रेष्टुरेन्टमा आयोजित एक समारोहका बीच नवप्रज्ञापन साहित्यिक पत्रिकाका प्रकाशक/सम्पादक नवराज रिजाललाई सम्मानसहित पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।



बाराबाट विगत ३० वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको नवप्रज्ञापनले भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गरिएको पुरस्कार सञ्चालन तथा छनोट समितिले जनाएको छ । नवप्रज्ञापन साहित्यिक पत्रिकाले हरेक वर्षको वैशाख–असार अंक विभिन्न विधामा विशेष अंकका रुपमा प्रकाशन गर्दै आएको छ ।

पुरस्कार ग्रहणपछि सम्पादक रिजालले साहित्यिक पत्रकारिता क्षेत्रमा अनेक समस्या र चुनौती रहे पनि साहित्यप्रतिको आफ्नो प्रेम र लगावका कारण पत्रिकाले निरन्तरता पाएको बताए ।

२०७८ सालमा स्थापना भएको यो पुरस्कार साहित्यिक पत्रिका, पत्रकार वा प्रकाशन संस्थालाई मात्र प्रदान गरिनेछ । यस पुरस्कारबाट २०७८ सालमा रचना द्वैमासिकका सम्पादक रोचक घिमिरे, २०७९ सालमा दायित्व द्वैमासिकका सम्पादक रामप्रसाद पन्त, २०८० सालमा जूहीका सम्पादक चूडामणि रेग्मी पुरस्कृत भएका थिए ।

यस पुरस्कार कोषमा हालसम्म ६० जनाले योगदान गरेका छन् । कार्यक्रममा कोषमा ५० हजार रुपैयाँ योगदान गरेका साहित्यकार वसन्त रिजाललाई करदपत्रसहित सम्मान गरिएको थियो ।

२०२७ सालदेखि प्रकाशन भएको अभिव्यक्ति साहित्यिक द्वैमासिक पत्रिकाका संस्थापक सम्पादक तथा प्रकाशक नगेन्द्र राज शर्माले आधा शताब्दीभन्दा बढी समयदेखि साहित्यिक पत्रकारिता तथा नेपाली आख्यानलाई समृद्ध बनाउन योगदान दिँदै आएका छन् ।

read more

नवप्रज्ञापनको शताङ्क सार्वजनिक

काठमाडौँ । साहित्यिक त्रैमासिक पत्रिका नवप्रज्ञापनको ५८० पृष्ठको शताङ्क सार्वजनिक भएको छ । साउन २९ गते सोमबार काठमाडौँको पद्मकन्या क्याम्पसको सगरमाथा हलमा ‘नवप्रज्ञापन शताङ्क विमर्श कार्यक्रम’को आयोजना गरी शताङ्क सार्वजनिक गरिएको हो ।

शताङ्कको वरिष्ठ साहित्यिक पत्रकार तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्त, नेपाल साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार रोचक घिमिरे, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, वरिष्ठ साहित्यकार एवं नारी स्वर त्रैमासिकका सम्पादक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र पत्रिकाका सम्पादक नवराज रिजालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पन्तले साहित्यिक पत्रकारिताका बारेमा चर्चा गर्दै साहित्यिक पत्रिकाहरु संकटमा रहेको बताए । उनले साहित्यिक पत्रिकाहरु सरकारी लोककल्याणकारी विज्ञापनको भरमा मात्र बाँचिरहेको उल्लेख गर्दै यसलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए । उनले पत्रिका निकालेर बचाइ राख्ने मात्रै काम भएको भन्दै स्तरीय बनाएर बजार विस्तार गर्न र युवा पुस्तालाई आकर्षित गर्न समेत सुझाव दिए । सांसद पन्तले नेपाली भाषा जोगाइ राख्नका लागि पनि साहित्यिक पत्रिकालाई जोगाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार रोचक घिमिरे सरकारले साहित्यिक पत्रपत्रिकालाई अपहेलना गरेको गुनासो गरे । साहित्यिक पत्रकारिताका समस्याबारे राज्यका हरेक निकायमा कुरा राखेको तर यसको कतैबाट पनि सुनुवाइ नभएको उनको गुनासो थियो । उनले साहित्यिक पत्रिकालाई मासेर नेपाली भाषालाई समेत सिध्याउन खोजेको भन्दै सरोकारवाला निकायप्रति असन्तुष्टि समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले अफिस–अफिसमा साहित्यिक पत्रिका विक्री गर्न जाँदा अपहेलना र सिखी हुने गरेको भन्दै यो मुलुककै विडम्बना भएको बताए । उनले यो बिडम्बना पचाउन सक्ने क्षमता साहित्यिक पत्रकारहरुमा हुनुपर्ने भन्दै साहित्यिक पत्रिका निरन्तर निकाल्नु नै ठूलो साहस भएको बताए ।

कार्यक्रमको समापन गर्दै नवप्रज्ञापन पत्रिकाका सम्पादक नवराज रिजालले व्यवसायिक नभई रहरले पत्रिका निकाले भन्दै साहित्यिक पत्रपत्रिकाहरु पढ्ने क्रम भने घटेको बताए । उनले शताङ्क प्रकाशितपछि पाएको साथ र मायाले झनै उत्साह थपेको बताए । कार्यक्रमका सञ्चालन बाल कथाकार यशु श्रेष्ठले गरेका थिए ।

बाराबाट प्रकाशित नवप्रज्ञानको शताङ्मा एक सयभन्दा बढी स्रष्टाहरुको रचना रहेका छन् । पाँच खण्डमा प्रकाशित शताङ्कको पहिलो खण्डमा स्मृतिमा साहित्यिक पत्रिपत्रिका, दोस्रो खण्डमा आफ्ना बाटा आफ्नै हिँडाई, तेस्रो खण्डमा सम्पादकीय यात्रा, चौथो खण्डमा यात्राका सहयात्रीहरु र पाँचौं खण्डमा शुभेच्छामा जोडिएका मन समेटिएको छ ।

 

read more