close

गतिविधि

टायर्ड नभएकै कारण रिटायर नभएको हुँ

— दुर्गाप्रसाद श्रेष्ठ

 

वि.सं. १९९५ माघ ५ गते धनुषाको सबेला बजारमा जन्मनु भएका दुर्गाप्रसाद श्रेष्ठ उमेरले ८८ वर्षको हुनुभयो । उहाँ साताको २/३ पटक रत्नपुस्तक भण्डार बागबजार र बागबजारस्थित पासाको चियापसलमा भेटिनुहुन्छ । त्यही पसलमा चिया र कफीको चुस्की लिँदै भेटिएका वा भेट्न आउने साथीभाइहरूसँग भाषा, साहित्य, संस्कृति र कलाका विषयमा कुराकानी गर्नुहुन्छ । आफूले देखे–भोगेका जीवनका विविध आरोह अवरोहको विश्लेषण गर्नुहुन्छ । हिजो र आजको तुलना गर्दै भविष्यको अनुमान गर्न समेत चुक्नुहुन्न । पासाकै पसलमा बसेर मैले उहाँसँग भाषा, साहित्य र संस्कृतिका विषयमा कुराकानी गरेको छु । साहित्यिक पत्रकारिता मेरो पनि रुचिको विषय भएको तथा उहाँ साहित्यिक पत्रिका ‘उदय’को सम्पादक भएका कारण साहित्यिक पत्रकारिताको इतिहास देखि वर्तमानसम्मका प्रसङ्ग थाहा पाएको छु ।

प्रत्येक भेटघाटमा उस्तै देखिनुहुने उहाँभित्रको उमङ्ग, जोश, जाँगर र हौसला देख्दा लाग्छ यस्तै ६५/६६ वर्षको हुनुभयो होला । वास्तविक उमेर बारे जो कोही अनुमान गर्न सक्दैनन् । उहाँ लामो समय बनारसमा बसोबास गर्नु भयो । नेपाली र हिन्दी दुवै भाषामा कलम चलाउनुहुने उहाँका दर्जन बढी कृति प्रकाशित छन् । ती कृति नेपाल र भारतका विश्वविद्यालयहरूमा पाठ्य पुस्तकमा समेत परेका छन् । पिता काशीबहादुर श्रेष्ठले वि.स. १९९५ मा प्रकाशन थाल्नु भएको साहित्यिक पत्रिका ‘उदय’ को सम्पादन\प्रकाशनको जिम्मेवारी पिताको निधन पछि उहाँले नै बहन गर्नु भएको थियो ।
यद्यपि अहिले सो पत्रिकाको प्रकाशन स्थगन छ ।

दुर्गापसाद श्रेष्ठका हजुरबा व्यापारका सिलसिलामा सन् १९३९ तिर बनारस पुग्नु भएको थियो । आज पनि बनारसमा उहाँहरूको आफ्नै पुख्र्यौली घर छ । अझै पनि समय समयमा बनारस आवतजावत गरिरहनु हुन्छ । छोराको पहिलो र दोस्रो सन्तान जीवित नरहेपछि हजुरआमाले तेस्रो सन्तानका लागि दुर्गाको नाममा भाकल गरेर आफू जन्मिएका कारण नाम दुर्गा राखिएको उहाँ स्वयंको कथन छ । भाषा साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठ बहुमुखी प्रतिभा हुनुहुन्छ । २०२० सालमा निर्मित नेपालकै पहिलो चलचित्र ‘आमा’ को पटकथा र संवाद उहाँले नै लेख्नु भएको हो ।

‘जीवन अति रमाइलो छ । रमाइलो पनि बनाउन जान्नु पर्छ । म आजसम्म रमाएरै बाँचिरहेको छु । अहिले पनि साहित्यिक कर्ममा सक्रिय छु । मेरो यो सक्रियता बाँचुञ्जेल रहने छ । ‘टायर्ड हुनेहरू मात्र रिटायर हुन्छन । टायर्ड नभएकै कारण म रिटायर नभएको हुँ ।’ उहाँ सुनाउनु हुन्छ । ‘हिजो मात्र नभएर आज पनि निरन्तर लेखिरहेछु र जीवनभर लेखिरहने सोच छ’ श्रेष्ठ अगाडि थप्नु हुन्छ ।

‘नवराजजी ! तपाईँले विगत ३४ वर्ष देखि ‘नवप्रज्ञापन’ साहित्यिक पत्रिका प्रकाशित गरिरहनु भएको छ । यो खुशीको कुरा हो । पिताजीले सुरुगर्नु भएको ‘उदय’लाई मैले पनि लामो समयसम्म निरन्तरता दिएँ । अहिले सकिनँ यसर्थ पत्रिका बन्द छ । सम्भव भएसम्म ‘नवप्रज्ञापन’लाई भविष्यमा पनि निरन्तरता दिइरहनु होला । तपाइँ र ‘नवप्रज्ञापन’ दुवैलाई मेरो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना ।

read more

नवप्रज्ञापनको शताङ्क सार्वजनिक

काठमाडौँ । साहित्यिक त्रैमासिक पत्रिका नवप्रज्ञापनको ५८० पृष्ठको शताङ्क सार्वजनिक भएको छ । साउन २९ गते सोमबार काठमाडौँको पद्मकन्या क्याम्पसको सगरमाथा हलमा ‘नवप्रज्ञापन शताङ्क विमर्श कार्यक्रम’को आयोजना गरी शताङ्क सार्वजनिक गरिएको हो ।

शताङ्कको वरिष्ठ साहित्यिक पत्रकार तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्त, नेपाल साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार रोचक घिमिरे, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, वरिष्ठ साहित्यकार एवं नारी स्वर त्रैमासिकका सम्पादक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र पत्रिकाका सम्पादक नवराज रिजालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पन्तले साहित्यिक पत्रकारिताका बारेमा चर्चा गर्दै साहित्यिक पत्रिकाहरु संकटमा रहेको बताए । उनले साहित्यिक पत्रिकाहरु सरकारी लोककल्याणकारी विज्ञापनको भरमा मात्र बाँचिरहेको उल्लेख गर्दै यसलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए । उनले पत्रिका निकालेर बचाइ राख्ने मात्रै काम भएको भन्दै स्तरीय बनाएर बजार विस्तार गर्न र युवा पुस्तालाई आकर्षित गर्न समेत सुझाव दिए । सांसद पन्तले नेपाली भाषा जोगाइ राख्नका लागि पनि साहित्यिक पत्रिकालाई जोगाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार रोचक घिमिरे सरकारले साहित्यिक पत्रपत्रिकालाई अपहेलना गरेको गुनासो गरे । साहित्यिक पत्रकारिताका समस्याबारे राज्यका हरेक निकायमा कुरा राखेको तर यसको कतैबाट पनि सुनुवाइ नभएको उनको गुनासो थियो । उनले साहित्यिक पत्रिकालाई मासेर नेपाली भाषालाई समेत सिध्याउन खोजेको भन्दै सरोकारवाला निकायप्रति असन्तुष्टि समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले अफिस–अफिसमा साहित्यिक पत्रिका विक्री गर्न जाँदा अपहेलना र सिखी हुने गरेको भन्दै यो मुलुककै विडम्बना भएको बताए । उनले यो बिडम्बना पचाउन सक्ने क्षमता साहित्यिक पत्रकारहरुमा हुनुपर्ने भन्दै साहित्यिक पत्रिका निरन्तर निकाल्नु नै ठूलो साहस भएको बताए ।

कार्यक्रमको समापन गर्दै नवप्रज्ञापन पत्रिकाका सम्पादक नवराज रिजालले व्यवसायिक नभई रहरले पत्रिका निकाले भन्दै साहित्यिक पत्रपत्रिकाहरु पढ्ने क्रम भने घटेको बताए । उनले शताङ्क प्रकाशितपछि पाएको साथ र मायाले झनै उत्साह थपेको बताए । कार्यक्रमका सञ्चालन बाल कथाकार यशु श्रेष्ठले गरेका थिए ।

बाराबाट प्रकाशित नवप्रज्ञानको शताङ्मा एक सयभन्दा बढी स्रष्टाहरुको रचना रहेका छन् । पाँच खण्डमा प्रकाशित शताङ्कको पहिलो खण्डमा स्मृतिमा साहित्यिक पत्रिपत्रिका, दोस्रो खण्डमा आफ्ना बाटा आफ्नै हिँडाई, तेस्रो खण्डमा सम्पादकीय यात्रा, चौथो खण्डमा यात्राका सहयात्रीहरु र पाँचौं खण्डमा शुभेच्छामा जोडिएका मन समेटिएको छ ।

 

read more