close

यात्रा

— छन्दिका त्रिपाठी

मेरो यात्रा अविरल बहोस् देशका कन्दरामा
मेरो माया छरिदिन सकूँ चेतनाका गरामा
प्यूँदै जाऊँ रस प्रकृतिको यो सदा रित्तिदैन
यात्रा गर्दा अमरपुरको लेखनी सिद्धिदैन ।

अग्ला डाँडा छङ र छहरा छन्दको नाच जस्तो
स्वर्गै पुग्ने अनुभव हुने सर्वसौन्दर्य कस्तो ?
झर्दै झर्ना नद समरमा सुस्तरी होमिँदै छ
मेरो आस्था प्रणय सरिता देशमा पोखिँदैछ ।

शोभादायी कविहृदयका क्या मीठो सिर्जना छ
मेरो पाखा वन चउरमा प्रेमको तिर्सना छ
मैले हिँड्ने पथतिर नहोस् त्रासको जिन्दगानी
लेख्दै जाऊँ करकलमले वीरताको कहानी ।

हावा चल्दा सरर मनमा जाग्दछन् सौम्य भाव
मेरो प्यारो प्रकृतिसित छन् सिर्जनाको प्रभाव
यात्राले नै मधुरस भ¥यो जिन्दगी शृङ्खलामा
भर्दै जाऊँ मधुर सपना कल्पनाका कलामा ।

हाम्ले यात्रा नियमित गरे बढ्छ आत्माभिमान
यात्रासाथै सररर उडोस् कल्पनाको विमान
यात्रा नै हो समय गतिको उच्च सङ्घर्ष पाटो
यात्रा गर्दा हरमनुजमा खुल्छ आदर्श बाटो ।

(छन्द ः मन्दाक्रान्ता)
— पोखरा–२५, हेमजा कास्की

Leave a Response