close

आस्था र विश्वासकी देवी गढीमाई

नेपालको तराई क्षेत्रमा गढीमाई नामका देवस्थल बारा, रौतहट र सर्लाही जिल्लामा छन् । बारा जिल्लामा त कुनै समय दुई स्थानीय तहका नाम नै गढीमाई थिए । पछि संशोधन गरेर एक ठाउँलाई जितपुर–सिमरा र अर्को ठाउँलाई महागढीमाई बनाइएको छ । बारामा यी दुई ठाउँका अलावा कलैया उपमहानपाको सिंहासनी र पचानपुर, कोल्भी नपाको बेल्वा, बारागढीको दौर्वा र विसनपुर्वामा कतै मन्दिर बनाएर त कतै यत्तिकै खुल्ला स्थानमा पूजा गर्ने प्रचलन छ । रौतहटमा गढीमाईको नाममा अर्को स्थानीय निकाय छ । यो बाहेक गढीमाई नगरपालिकाकै सुन्दरपुर हर्दिया, कटहरिया नगरपालिकाको दुधियाभार, गुजरा नगरपालिकाको कनकपुर र गरूडा नगरपालिकाको गेहडीगुठीमा पनि पुजापाठ हुँदै आएको छ । सर्लाहीको बलरा नपाको मिर्जापुर तथा रामनगरको छोटौल र खैर्वामा पनि मेला लाग्ने गर्दछन् ।

बाराको बरियारपुरको गढीमाई मन्दिरमा पाँच पाँचवर्षमा ठुलो मेला लाग्छ । यो मेलामा देशविदेशबाट लाखौँ सङ्ख्यामा दर्शनार्थी गढीमाईको पूजा अर्चनाका लागि उपस्थित हुन्छन् । हर्षोल्लासका साथ मेलामा उपस्थित हुन्छन । सारा जनमनमा गहिरो छाप बनाएर बसेकी गढीमाई श्रद्धा, आस्था र विश्वासकी देवी हुन् । उनको नाममा भाकल गरे पूरा हुने जनविश्वास छ । यसर्थ लाखौँ भक्तजन मनमा आस्था र विश्वास बोकेर पूजामा उपस्थित हुन्छन् । ती कोही कसैका आमन्त्रण वा आग्रहमा नभएर आस्था र विश्वास बोकी गढीमाईको पूजा र दर्शनका लागि भेला भएका हुन् । मानिसको मनमा विश्वास उत्पन्न भएपछि आस्थाको घेरा पार गरेर बाहिर निस्कन्छन् । गढीमाईमा भक्तजनहरूको आस्था पनि त्यही हो ।

गढीमाईको पूजाआजा र दर्शनका लागि आउने भक्तजन नेपाल भन्दा छिमेकी देश भारतका बढी हुन्छन् । यो नवीन परम्परा नभएर हिजो वा अस्ति देखिकै हो । हिजो आज चाहिँ नेपालको पहाडी भेगका भक्तजनको पनि सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । आफूले गरेका भाकल पूरा भएपछि भक्तजन देवीको पूजाआजामा सरिक हुन्छन् । आउँदा उनीहरूको हात र साथ खाली हुँदैन । सबैसँग केही न केही हुन्छ । देवस्थलमा खाली हात जान नहुने नेपाली मान्यता पनि छ । गढीमाइको धेरै जसो भौतिक संरचना भक्तजनहरूले स्वेच्छाले निर्माण गरिदिएका हुन् । २०३६ सालतिर हुनुपर्छ आफू पढ्ने स्कुलबाट स्वयंसेवकका रूपमा म पनि भाग लिन गएको थिएँ । त्यो सम्झँदा आफैँलाई होला र ? जस्तो पनि लाग्छ । त्यो समयको गढीमाईको मन्दिर र आजको गढीमाईको मन्दिरमा आनको तान भिन्नता रहेको छ ।

धर्मको अर्थ धारण गर्नु हो । यो सधैँभरि विश्वाससँग जोडिएर आउँछ । कसैको पनि आस्था र विश्वासलाई अवमूल्यन गर्न सकिँदैन । आआफ्नो आस्था विश्वास बोकेर बाँच्नु संसारका सबै मानिसको नैसर्गिक अधिकार हो । यसो भनिरहँदा जो कसैले पनि मनमा म नभनेर हामीको भाव जागृत गराउनु आवश्यक छ । यसो गर्दा धेरै समस्याको समाधान स्वत हुन्छ । हुन त गढीमाई हिन्दूहरूकी देवी हुन् तर यस क्षेत्रमा बसोबास गर्ने सबै धर्म र सम्प्रदायका मानिस गढीमाईप्रति अत्यन्तै श्रद्धाभाव राख्छन् । यो कुरामा कसैको विमति छैन । यसको उदाहरण अन्य धर्ममा आस्था राख्नेहरू पनि गढीमाई मेला व्यवस्थापनका विभिन्न समितिमा बसेर सक्रियताका साथ काम गर्नु हो ।

स्थानीय रूपमा त्यस्तो केही नभए पनि प्रायोजित बोली बोकेका कतिपय व्यक्तिहरू धमिलो पानीमा माछा मार्न प्रयत्नशील रहेको देख्न सकिन्छ । यस्ताप्रति बेलैमा सचेत रहेर अगाडि बढ्नु हरेक नेपाली नागरिकहरूको परम कर्तव्य नै हो । गढीमाईका विषयमा कुनै पनि कुरा बोल्नुभन्दा अघि गढीमाई के हो, यो संस्कृति कस्तो छ, स्थानीय जनतामा यसको के प्रभाव छ, आउने भक्तजन कुन प्रकृति र भेगका बढी हुन्छन्, बलि के हो, ठुलो बलि किन चढाइन्छ, यस्ता प्रचलन अन्यत्र छन् कि छैनन्, आदि कुराहरू जान्नु र बुझ्नु अति आवश्यक छ । यी कुरामा ध्यान नदिई बोल्नुको अर्थ प्रायोजित आवाज प्रकट गर्नु सरह हो । माथिका कुरामा ध्यान दिए गढीमाईका नाममा राँगा, बोका, हाँस, परेवा किन बलिका लागि आउँछ्रन् भन्ने प्रष्ट हुन्छ । मानिसलाई ती कुरा ल्याउन कसैले अह्राएको वा बाध्य बनाएको हुँदैन । तर राजी खुसी हुनेहरू केही न केही नलिई आउँदै आउँदैनन् ।

आआफ्ना मनोकाङ्क्षा पूरा भए पछि गढीमाईप्रति नतमस्तक भएका भक्तजनहरूले चढाएका कुरालाई नकारात्मक आँखाले हेरिनु आवश्यक छैन । समय र परिस्थितिअनुसार संशोधन र परिमार्जन गर्न नसकिने होइन तर यसका लागि जनताहरूको अभिमर्त शिरमा राख्नु चाहिँ अति आवश्यक छ । यसरी हेर्दा गढीमाई तराई र पहाड दुवैको साझा संस्कृति हो । विशेष गरी यो संस्कृतिले सबै जातजाति र भाषाभाषीलाई मिलेर बस्न सिकाएको छ । आपसमा मित्रताको वातावरण बनाएर मानवीय प्रेममा विश्वास गर्न सिकाएको छ । मिलेर बस्नुमा नै हाम्रो कल्याण निहित रहेको छ ।

— नवराज रिजाल

Leave a Response