close

सुरुङ्को यात्रा

— माधव काफ्ले

 

लिखत साक्ष । लिखितम साक्षी अनि अनुवाक ताइको फुरौलो !
कति मीठो संचेतना संयोजन ।
कति कुटिल बनेर पिरल्ने पिराहा सामन्जस्य ।
र कति निर्मम भएर चिथर्ने, निचर्ने खालका तामसी मनोद्वेग ।

दारिद्र्यका दारुण दिन चाटेर विषादले लर्बरिँदै जान थालेको अपाहिज मानसिकता ।प्रत्येकमा एक एकवटा विकार, एक एकवटा विशृङ्खल जीवन सोपान र एक त्राहिमाम् आँधीमा बेरिँदै गएको अन्तश्चेतना ।भोक्ता र भोग्य दुवै बनेर व्यवहारमा नारिन थालेपछि त्यस्ता अस्वाभाविक कीर्ते प्रलापले पाछेर पिल्सँदै गएको दारुण अनुभूतिका पाप्रा सुँघेर जीवन धान्नु कति कारुणिक, मर्मान्तक र कष्टकर हुनेरहेछ यो त भोग्नेले नै बेसी थाहा पाउलान् ।

धेरै असल, गुण र ज्ञानका पर्याय ठानिदै आइएको छ विज्ञलाई । तिनै वौद्धिक समुदायका गतिशील विवेकी मान्छे आफ्नोे अहङ्कारी ज्ञानको विभीषिकाले निर्दोष निरपराधीहरूलाई पेलेर भनौँ थिचेर, थिल्थिल्याएर उग्राउँदै हिँड्नुलाई आफ्नो पुरुषार्थको महान उपलब्धी ठानिरहेका देखेपछि अनि तारेमाम शरणम् जप्तै किनारा लाग्न थाल्छु ।

बेसहारा बनेर झोली थाप्ने र ढाडिन पुग्ने भएपछि अरमठ्ठ पर्दै जाने अघोरी अनुरागले दर्फ¥याउँदै आएका विरहका त्रासद सुम्लाहरू अनगन्ती झुण्डिँदै आएका छन् छातीमा । तिनीहरूले पाछ्तै जान थालेपछि, पोल्दै जान थालेपछि, पाक्तै जान थालेपछि निर्बाध नेपथ्यमा बसेर कोर्कोराउन थाल्छु ।

पिल्लिने, डढ्ने भए पनि देखाउन नसकिने सबैलाई समेट्ता एउटा सिङ्गो महाकाव्य लेख्नपुग्ने सामल, संचेतनालाई वासलातमा मौज्दात राखेर यत्ति भन्छु पेटबोलीमा दारिद्र्यको जुन मजबुन बेरिँदै आएको हुने गर्दछ त्यसले सापेक्षताको वकालत गर्दै फितलो नै भए पनि अन्त्यमा फिराद कर्ताका फिरफिरे प्रलापलाई अधार मानी एउटा अपाहिज नजिर स्थापित गर्ने चेष्टामा झुण्डिन पुग्दो रहेछ ।

म सिद्धान्त, सूत्र र सारदेखि बिच्केर निकै टाढा पुगिसकेको छु । भागेर पनि हैन, जागेर पनि हैन । वैराग्यले पनि हैन, अनुराग केही राखेर पनि हैन । अनुभूतिको क्यानभासमा अस्थिर शासन पद्धतिका धेरै अमूर्त कुरूप रेखाखण्डहरूले कोपर्दै लगेपछि र तिनको नरभक्षी बिखेतले अन्तर्मन भवाउँदै गएको हुनाले सिद्धान्त, दर्शन, लाभ, हानीको मृगमरीचिकाबाट अमलेख हुँदै आफ्नै अनुरागमा बग्दै, बग्दै जान खोजिरहँदा पनि एकाकी अनुरागमा सङ्लो आत्मसन्तुष्टि भेटिने लख काटी त्यता लाग्दै छु ।

निरीह बन्दै कसैसामु बिन्ती बिसाएर केही झार्ने खालको कालो तिर्सना पनि बोकेको थिइनँ । तुजुक देखाएर सिँगौरी खेल्दै निम्ठने, चुल्ठने खासै अनुराग पनि लिएको होइन । न त कसैलाई केही सुनाएर कसैको मेख मार्नु नै थियो । न त कसैको उछितो काढेर जुँघा मुसार्नु नै थियो ।

सन्तोष, विषादबाट अलि निछटिएर झिँगोको पँखेटा तान्दा निस्कने परिणाम जस्तै फितलो र फ्याङ्लो खालको पेसाको काँचोधागोमा झुण्डिएर जिजीविषा तुन्दै थिएँ । सङ्ख्यात्मक रूपले पाँच थान प्राणीहरू परिवारभित्र कैद भएर चिथर्न खोजिरहन्थे र त्यसको अभिघातबाट बच्न बेतनको धुप धुवाँर हाल्दै चोख्याएपछि एक चौमासिकसम्म त्यसैको खार सुँघेर साम्य हुँदै जान्थे ।

घाँडो नै लागे पनि घरमुलीको पगरी भिरेपछि जिम्मेवारीको अभिशापबाट सास छउञ्जेल मोक्ष हुन नपाइने बुहार्तनको कालकुट निलेर बस्नु पनि एउटा रमाइलो ऐँठन लाग्नेरहेछ ।

परिवार एउटै भए पनि अनन्त रहर फिँजाएर कोर्कोराउने जनवादी शैलीको सिको गर्दै केही थान छिचिमिराहरू मच्चिन्छन्, फत्किन्छन्, सुसाउँछन् । चाहेर पनि म सुसाउन सक्तिनँ । जिम्मेवारी झुण्डिएको छ नि त काँधमा ! त्यसले अनवरत थिच्तै थिल्थिलिन पुगेको हुँड्याइलो मानसिकता अलिकति फुकाउन खोज्दा पनि सबै टेढिन पुग्ने हुनाले “बोलबोल मछली मुखभरी पानी” लिएर एकै ठाउँ जमट हुन पुग्छु ।
मानौँ मेरा सबै उध्र्वगामी उत्कण्ठाहरू बेत बसिसकेका छन् र गोजेरोभित्रै मसाङग्रिदै, चाम्रिँदै, चिसिँदै बस्छन् । ती थारा मोहलाई चाटेर धेरै परसम्म पुग्न नसकिने लखले बेत बस्न पुग्छु । कुँजिनुको अभिशाप तारन्तार चुसेर पाछिइ सकेको हुनाले त्यसलाई पुनरावृत्ति गर्ने चासो चेतनाबाट पखाल्दै जाने अभ्यास गर्दै छु ।

एक तमासको उराठ लाग्छ ।
जिन्दगी पनि कहिले काहीँ ऐँठनको वासलात लाग्दै जानथाल्छ ।
हर्रो जस्तो टर्रो पनि र निम जस्तो कलबिख तीतो ।
हुँड्याइलो लागेर पेट बटारिन थाले पनि लाग्छ स्वादिलो ।

स्वादको मोह भन्दा पनि उधारा सोपानहरूमा घनीभूत भएर बेरिँदै आउने जिन्दगीका तिलश्मी झङ्कार र मोक्षान्तमा मुछिँदै आएका केही पाइटे रहर ।

छाडौँ भन्दा लिसोझैँ लेपिँदै आइरहने र समाउन खोज्दा सधै चिलित्त चिप्लिरहने जादुइ चक्र विन्यास ।

रहर त मेरा पनि छन् तर ती देखाउने, घुक्र्याउने, बिसाउने चौतारो भत्किइसकेका छन् । बोक्छु खल्खली पसिना काढेर । मात्र तिनको धमिलो छाप र धङधङी स्मृतिमा लट्पटिएर, लेपिएर बसेका छन् ।
एउटा लठ्ठी थियो विश्वासको । पितृप्रेमको जगमा टेकेर सहारा, भरोसा र मनग्गे आशा सञ्चारित गरी यो अपाहिज मानसिकतालाई मनग्गे लिपपोत गर्दै आइरहेको । त्यसैलाई टेकेर पर परसम्म पुग्ने आल्हादित किसिमले सँगाल्दै आएको उत्कण्ठालाई विना अपराध नियति निर्मम बनेर बर्षियो र टपक्क छोरो टिपेर कुलेलम ठोक्छ । ऐया पनि भन्न नपाइ म अवाक हुन पुग्छु । ल्याङफ्याङ हुँदै विषादको ऐँठन चुसी सडकमा पछारिन आइपुग्छु ।

संसार धमिलो र अमिलो लाग्दै जान थाल्छ ।

अनि यही मौकामा मनस्तापका सिमेभूमेहरू एक्कासि बौरिइ छिर्कनी मारेर घेर्न आइपुग्छन् ।

प्रलापहरू फेरिन्छन् । गुनासाहरू उध्रिन्छन् । धुनहरू निसासिन्छन् । कुण्ठा, क्लेष र सन्तापको छोपा गुतेर बर्बराउँदै हिँड्छु ।

एक्कासि चारथान थैलाहरू उम्किने पो हो कि भनेझैँ गरी घेर्न आइपुग्छन् ।

अनि ममत्वमा पौडँदै परिभाषा फुकालेर आङबाट टक्टक्याउँदै जान्छु अनुभूतिलाई ।

एकत्व र निजत्वको बुइ चढेपछि आङ सिरिङ्ग गरे आउँछ ।

आदिम आकाङ्क्षा बोकेर बर्बराउन त सकिने तर स्वाभाविक किसिमले बाँच्न नसकिने यक्ष प्रश्न मेरो अगाडि ठिङ्ग उभिन आइपुग्छ ।

आडम्बरीहरू भय र दुष्टताका प्रतीक हुन् भन्ने विचारको गायत्री यस बिन्दुमा आइपुगेपछि अझल्टिएर गाँठो पर्न थाल्छ ।

अनि अनायास मन भरङ्ग भएर आउँछ ।

भौतिक र प्राकृत सङ्कटले निम्त्याउने नैराश्य र वैराग्य कोपर्दै जान थाल्छन् अन्तश्चेतनालाई ।

लाग्छ पारिवारिक तिर्सना अर्थहीन कसी हो । किल्किलेमा अनायास कसिँदै जाने पासो जस्तै ।

जसले आशक्तिको विकार हुँडलेर मानसिकतालाई कुरूप कार्यतर्फ धकल्न खोज्नेरहेछ भन्ने ब्रह्मवाणी बुझेर पनि लर्बरिँदै जाने मानसिकतालाई थुम्थुम्याउँदै कयसमा ल्याउन खोज्छु । ऊ अगुल्टोले हानेको कुकुर जस्तै हुनपुग्छ र नेपथ्यमा पुगी मुन्टो बटार्दै ङिचिक्क हाँसेर प्रतिवाद गर्न थाल्छ ।

सन्निपाती तिर्सना फलिभूत पार्न अनुरागका सेसन्तरहरूले छेकारो काटेर घेर्न थालेपछि तिनीहरूको दचक र कयसबाट अमलेख हुनु नै बेस होला भनेझैँ लाग्न थाल्छ ।

विश्वास सद्भावयुक्त विश्वासको लायक नभएपछि
आस्था उन्नति र रहरको नायक नभएपछि
हुरी आउँछ त्रास उरालेर अत्यासको कतैबाट
सम्हाल्न गाह्रो हुने रहेछ धुन आफू गायक नभए पछि ।
अनि लाग्छ
भरोसा अक्षत कुनै नासो जस्तै
बनेपछि व्यभिचारी पासो जस्तै
कोतरिदै जानेरैछन् रहरहरू
नउदाउने अल्पकालीन हाँसो जस्तै ।

जीवनको सापेक्षतामा ठडिँदै आएको जैविक आधारको लिङ्गो लुते हुँदै गएपछि त्यसलाई भरथेग गरेर अक्षुण्ण बनाउन खोज्ने मृगमरीचिका मूच्र्छा पर्न खोज्छ ।

हाम्रा उपलब्धी
एका पोको फिराद
एक अँगालो अनुराग
एक अँजुली तिर्सना
सिर्फ एक मुठी अन्तर्घुलन हुन् जिजीविषाका ।

दमित इच्छाहरू जब मानसिकतामा सल्बलाएर हुँडलिन थाल्छन् तब विचार विकारको लेदोमा लपेटिएर फगत् भकारो बन्नपुग्ने कु्रर तथ्यको अधरबाट उठेर संसार नियाल्न खोज्ने मेरा ऐलानी तिर्सनाहरू किपटमा मुछिएर मुल्तवीमा झुण्डिन पुग्छन् ।

भ्रान्तिको पर्दा च्यातेर धरतीमा टेक्ने रहर रहे छातीमा सपनाको सिद्धान्त आलोकबाट ब्युँझन पर्नेरहेछ ।

कसैको लिप्साले, कसैको मायाले, कसैको सद्भावले कसैको सास कतै अड्याउन सकेझैँ लाग्दैन । अपेक्षाको मृगतृष्णाबाट उठेर नब्युँझेसम्म आशातीत आशक्तिले घिसारिरहने तथ्यगत आँकडा दृश्यभरि पोती तिनको चिसो घुर तापेर म बौरिन खोज्छु ।

वेदना र विषाद नै जीवनको अन्तिम मुकाम नहुनु पर्छ । ठेस लागे पनि होस आएपछि चुक्चुकाउनु भन्दा सम्हालिन हितकर हुने नजिर द्रौपदी मुर्मुले पढाएकी हुनाले त्यही अथाह पीडाको अनिदा हरफहरू ताप्तै जान मन लाग्छ ।

द्रौपदी मुर्मु यस हिमवत् खण्डकी त्यस्ती नारी रत्न हुन् जसले आफ्नो सुनौलो वाल्यकालको कायाकल्पमा नै आमा गुमाइन्, पिता गुमाइन, दिदी र बहिनी गुमाइन, एकै साथ दाजु र भाइ गुमाइन र पनि बेसहारा हुँदै बाँचिन् । अर्काको जुठो भाँडामा दरालिएर जीवन घोटिरहँदा जिन्दगी नै बोझिलो र परावलम्बित हुने डरले अक्षर मस्काउन थालिन्, अक्षर माझ्न थालिन् र तिनै निर्बल अक्षरहरूको सौर्य समेटेर प्रेरणाको दियो बनी दिग्दिगान्तरसम्म फैलन पुगिन् । तिनै तेजश्वी नारी स्मृतिमा उदाउन आइ पुगेपछि मनमनै भन्नथाल्छु–

कहिले आकाश, कहिले बेफ्वाँक पाताल छुने गर्छ
पीडा त्यो चिज हो कहिले हाँस्छ, कहिले रुने गर्छ
जति गरे पनि विलाप; उज्यालाको पूजा अर्चना
बाटो देखाउँछ रात तर सधै अँध्यारो नै हुने गर्छ ।

अनि निर्दोषिताको बिन्तीपत्र टाँसेर धरामा विलीन हुनपुग्ने नियतिलाई घिसार्दै विषादित सुरुङको पञ्चनामाबाट यथार्थमा उत्रने कोशिस गर्छु ।

Leave a Response