
— हरिप्रसाद सिलवाल
मैले आजसम्म जीवनका बाहिरी सौन्दर्य निम्ति कुनै नक्कली बाजाहरू रेटिनँ । तैपनि मैले उद्यानमा इमानदारीले रमेका सौन्दर्य भेटिनँ । यसअघि मैले धर्तीका कुना कुनाका बगैँचामा रङ रङका फूलहरू फुलाएँ । त्यही उद्यानमा आनन्दित र विचलित दुवै प्रकारका मनहरू पनि डुलाएँ । फूल फुलाउन र मन भुलाउन मात्रै म मेरो जीवन समर्पण गर्न सक्तिनँ । मेरा मनका छालहरू चाहे त्यो धमिलो आहाल होस् वा आहाल सफा पार्न उठेका बेला बेलाका क्रान्तिका छालहरू होस् तिनलाई म कहिल्यै रोक्तिनँ । रोक्ने बहाना र बोक्ने चाहना पालेर म कहिल्यै फोस्रा र धोद्रा हावादारी गफ पनि खोक्दिनँ । भोकभोकै बाँचुन्जेल बरु बाँचिदिन्छु तर कसैका पाउमा स्वाभिमानको इज्जत चोप्दिनँ । मनलाई पश्चात्तापको रापले भतभती पोल्ने गरी सत्य र तथ्यलाई मनभित्र छोप्दिनँ ।
यही भएर त म उज्यालो आकाशको खोजीमा पृथ्वीका गरा, कान्ला र डिलहरूमा सृजना फुलाउन चाहन्छु । ज्योतिको जगमग र चाहनाको चकमकमा बुद्धिको बकबक होइन, विवेकको विनयशील पुष्पहारको उपहार जस्तै मानवका मुहारमा खुसीको फूल फुलाउन चाहन्छु । सर्वप्रथम अरूका मनलाई डुलाउन, खुलाउन र भुलाउन नसके पनि आफ्नै मनका मैलाहरू धुलाउन चाहन्छु । अरूका बहुरङ्गी तृष्णाजन्य मनका मतान्तरसित मट्याङ्ग्रा खेल्नुभन्दा आफ्नै मनको मैलो फटाउन र हटाउन सके यो मानव जगत् कति सफिलो र रसिलो हुन्छ होला । यस पृष्ठभावले प्रेरित भई आदर्श कल्पनालोकको मानवतारूपी पाकताउली वास्तविकतामा परिणत गर्न मनको सफाइमा बेइमान मनप्रति सत्याभिमानको आग्रह सुझाउँदैछु । अतः म मेरो मनको मझेरी खुलाउँदैछु । आज अरूलाई होइन, भित्र बाँचिरहेको मेरो म वा मनको मलाई मैसित भुलाउँदैछु । भुलाउन र खुलाउन नसकेका बेला म आगोको फूल फुलाउँदैछु ।
जिन्दगी अरूको आशाले नचल्दो रहेछ । यति कठोर र अघोर भइसकेपछि कसैलाई केही कुरा सम्झाउन पनि विनम्रताको भाषाले विकृतिको बिँड नढल्दो रहेछ । क्रूरताका जराहरूलाई मूर्खताका मनहरूले पुलपुल्याउँदै गर्दा ती झन् झन् बज्र भएर आएपछि मानवताको आग्रहले पनि तिनको तुजुक नगल्दो रहेछ । अतिवादले आकाश छोपेपछि कानूनको कुन्दाले हान्दा पनि कुरूपताका कुरीतिहरू नकुच्चिँदो रहेछ । मनको मैदानमा वनका बेसरम मानवहीन वाणहरू पलाएपछि अमृतका थोपाहरू सिञ्चन गरे पनि तिनको चुच्चो नबुच्चिँदो रहेछ । छक्कापञ्जाबाट दूर रहेका सोझा सिदा भोलाभाला निम्न स्तरका सज्जनवृन्दका रक्त पसिनामा किर्ना बनेर तिनका श्रमका सशरीरमा रूपौला धुपौला भाका र भङ्गी मिलाउँदै रक्त शोषण गर्ने अनुमतिपत्र समेत छाप्न भ्याएपछि त्यो किर्नेको किर्ते कागजात पनि नैतिकताको नेत्रमा लज्जाका ल्याप्चेहरू ननिहुरिँदो रहेछ ।
यिनै अमिल्दा अति अमिला नकारात्मक नजिर र शक्तिहीन शक्तिशालीका स्वघोषित शासकीय जन्जीरहरूले जेलिएकाले कति दूर छ प्रियजनका सङ्कल्पका सपना ! कति क्रूर छ कर्तुतका बिपनाहरू ! कति निरीह छ कर्मठका काँधहरू ! कति कमजोर छ आशा र निराशाका साँधहरू ! कति अप्रिय छ प्रिय हुन नसकेका मानवीय मुस्कानका चाँदहरू ! कहिले भत्कन्छन् यस्ता सज्जनका सपना छेक्ने नक्कली बाँधहरू !
एकादेशको नामले चिनिएको तर भारत र पाकिस्तानको कुकुरको किस्सा जस्तो सधैँ हिस्स पर्ने नक्कली विकासका विनासे फूल फुलाएर जीवन चल्ने छाँट छैन । यस्तो विनाश रोक्ने हृदयकै हुङ्कार, हाँक र आँट पनि धेरैसित छैन । त्यो ‘कुत्ता किस्सा’मा एउटाले भुक्नकै लागि अर्को देशको सिमानामा आइपुगेको सपना सुनाउँछ । अर्को भने भुकेर मात्रै के गर्ने, पेटभरि खान नपाएपछि जीवनको अर्थ त पेट पाल्नु होला नि भन्दै भोकका विरुद्ध गरिएको यात्राको बिपना सुनाउँछ । तर्कले मात्रै होइन, अवस्थाले पनि ती दुवै कुकुरहरू आआफ्ना स्थानमा आआफ्नै सपना र अवस्था अुनसार उत्पीडित रहेको सूचना पाइन्छ । ती कुकुरको कथाको कथनीलाई संयोजन गर्ने हो भने भोक मार्नु र भुक्नु दुवै जीवनका आवश्यकता हुन् । आवश्यकताको तौल लिँदा कुन चाहिँ अनिवार्य वा जरुरी र कुन चाहिँ ऐच्छिक भन्ने सन्दर्भ र सापेक्षताले निर्धारण गर्ने कुरा हो ।
हाम्रो सन्दर्भमा भने अघाएकाहरू भुक्ने कुरालाई महत्त्व दिन्छन् र गाँस, बास अनि कपासलाई सामान्य मान्छन् । भोकाएकाहरू भने भोकलाई पहिलो महत्त्व दिन्छन् र भुक्ने कुरालाई विलासको काम ठान्छन् । यही सन्दर्भ मिलाउन होला माक्र्सले आधार र अधिरचनाको पाठ बनाएका । मलाई पनि भोक पहिलो र भुक्नु दोस्रो लाग्छ । तर यहाँ त जीवन सौन्दर्यका लागि होइन, जीवनको भोक भत्काउनकै निम्ति भुक्नु पर्ने आवश्यकता छ । भोको पेटहरू पनि नक्कली र सक्कली छन् जसरी सुकुम्वासी र हुकुम्वासीका जिउँदा कथा जस्तै नक्कली सर्वहारा र सक्कली सर्वहारा जस्ता ।
घर नहुनेलाई हुन्छ घरको महत्त्व । जताततै घर घडेरी र अथाह श्रीसम्पत्तिका मालिक मालिक्नीलाई तिनमा लोभ त होला महत्त्व त हुँदैन होला नि । थर नहुनेलाई हुन्छ थरको महत्त्व । परिचय नहुनेलाई हुन्छ परिचयको महत्त्व । पहिचान गुमाएकालाई हुन्छ पहिचानको महत्त्व र अधिकारहीनलाई हुन्छ त्यसको महत्त्व । रोगग्रस्त भएकालाई हुन्छ निरोगी जीवनको महत्त्व । विभेदमा परेकालाई हुन्छ विभेदरहित जिन्दगीको महत्त्व । यस्तै यस्तै होलान् महत्त्वका महत्त्वहरू । भर नहुनेलाई हुन्छ भरको महत्त्व । धन नहुनेलाई धन, ज्ञान नहुनेलाई ज्ञान, कला नहुनेलाई कला र विवेक नहुनेलाई विवेकको महत्त्व हुन्छ होला । तर ती सबै हुनेलाई पनि तिनको महत्त्व हुन्छ । भोकाहरूका आवाज नसुन्नेलाई केही दिन भोकभोकै राखेपछि उसले भोकको ध्वनि बुझ्छ होला । श्रमको मूल्य नबुझ्नेलाई श्रमिक जीवनमा परिणत गराउन सके श्रमको सौन्दर्य बोध गर्छ होला । आफूलाई सर्वेसर्वा र अरूलाई नजरअन्दाज गर्ने वृत्ति र प्रवृत्तिलाई गाल्न, ढाल्न र पखाल्न महत्त्वको फूल फुलाउने विचार छ । जसलाई जेको महत्त्व थाहा छैन, त्यसलाई त्यसैको महत्त्व वासना आउने सौन्दर्यको फूल फुलाउनुपर्छ । त्यो फूलको खोजी गर्दागर्दै आगोको फूल फुलाउने धुनमा विचारको बिस्कुन छर्दैछु ।
हो ; जिन्दगीको अँगेनामा आगोको फूल फुलाउने विचार आएको छ । हुन त आगोको फूल करोडौँ वर्षदेखि फुल्दै आएको छ । त्यही फूलको गाथा मानिसका मनहरुमा फुलाउनु छ । माथि उल्लिखित विसङ्गतिका घारी र अन्धकार बनेका बारीलाई फाँड्न नम्र निवेदनका फूलले नसकेका कारण आगोको आवश्यकता परेको हो । हाम्रो इतिहास आगोको फूल फुलाउँदै अघि बढेको छ । प्रमिथस र पुरुरवा जसले फुलाए पनि तिनले विश्वमा यो फूल फुलाएको श्रेयको माला मिथक, अति प्राचीन र पौराणिकता आदि इत्यादिमा पहिरिएका छन् । तिनीहरू आदिम इतिहासका प्रतीकका फूल होलान् तर आगोका फूल हुन् । तिनले आगोलाई ध्वंसको धुनमा होइन, वंशको विरासतमा फुलाएका हुन् । म तिनको मुरी मुरी तारिफ गर्छु ।
यस धरामा पहिलो आगो कसले बाल्यो ? उही हो आगोको फूलको प्रयोग गर्ने श्रेय व्यक्ति । त्यो ‘ऊ’ एक नभएर सामूहिक थियो होला । त्यो युगीन आगोको फूल फुलाउने क्रममा व्यावहारिक प्रयोगशालामा परेर असावधानीले केहीको ज्यान गयो होला । ती आगोका फूल फुलाउने सहिदहरू हुन् । तिनको डढेको ज्यान हेरेर बाँचेकाहरूले ज्ञान प्राप्त गरे होलान् । ओहो ! आगोले त पोल्दो रहेछ । त्यसपछि मानव हत्केलाका प्रत्यक्ष तन्तुले नछोइकन फुुलाउन थालियो आगोको फूल । त्यसरी फुलाइएको आगोको फूलले क्रान्ति गर्न थाल्यो युगपछि युगहरूमा ।
सिकारी युगमा आगोको फूलले आहार र विहारमा क्रान्ति रच्यो । मानव र मानवेतरमा विभाजन ग¥यो । मान्छेहरू अचम्ममा परे । पोलेको र काँचो खानेकुराको पाकशालामा परिणत भए मनुवा गुफाका परिकारहरू । पाक परिकार र अपाक वा काँचा परिकारहरूले स्वादको भिन्नतामा क्रान्ति ल्यायो । हिजोसम्मका आगोहीन जगत्लाई ढालेर त्यो युगको भ्रान्ति मतिलाई सम्झने मस्तिष्कमा मानिसको जिन्दगीको कथा बदलियो । चोला बदलियो । चलन बदलियो । आगोको फूलको क्रान्तिले आगो युगको सुनौले यात्रा तय ग¥यो । यस जुनी र पूर्व जुनी भन्नु पनि आगोको फूलअघिको संसार र पछिको संसार हुन सक्छ कि ।
आगोको फूलले प्रगतिको प्राप्तिमा परिणाम थप्दै गयो । जब विश्वकर्माहरूको संसार बन्यो त्यो अवश्य आगोको फूलको अपार देन थियो । ती विश्वकर्माहरू नै मानव समाजका पहिला वैज्ञानिक थिए । प्राविधिक थिए । कलाकार थिए । कालिगढ तथा कारिगर थिए । सौन्दर्य शिल्पी थिए । कर्मीहरू अर्थात् कर्मप्रेमी, कर्म सिकाउने र गर्ने कर्ताहरू थिए । तिनका पुस्ता पुस्ताले आगोका फूल फुलाए र संसारलाई मानवोचित बनाई फुलाए । विश्वलाई कर्मको व्यावहारिक र वैज्ञानिक सभ्यतामा डो¥याउन तिनलाई आगोको फूलले औधी सहयोग ग¥यो । तिनका हातका डामिएका चक्लाहरू आगोको फूलसित खेल्दाका सभ्यताका डामहरू हुन् । तिनै डामहरूले विज्ञान, विज्ञता र विशाल विकासको बागडोर डो¥याएको हो ।
आगोको फूल आज डिजिटल रङहरूमा तरङ्गित छ । अनेकन स्क्रिन बोर्डहरूमा रूपान्तरित छ । कम्प्युटरका स्पर्शमा फोटोसप र इनडिजाइन अनि वृत्तचित्रदेखि टेलिचित्र र ठुला पर्दाका चलचित्रहरूमा आगोको फूलले आधुनिक पहिरन र चमकधमक देखाइरहेको छ । मोबाइलका मझेरीहरूमा, मुहार पुस्तिकाका सूचना बेरीहरूमा निमेषभरमा संसारसित जोडिने सशक्त साधन बनेर फुलिरहेछन् आगोका फूलहरू । यही साधनबाट मानिसहरू साध्यको यात्रामा लम्किरहेछन् हरदमले । धमासमा बाँच्ने शक्ति राष्ट्र भनिनेहरूले रकेटका सकेटहरू बनाएर बमको बारुदमा आगोको फूलको घोर अपमान गरिरहेछन् । नोबेलले आविष्कार गरेको विस्फोटक आगोको फूल विशाल राजमार्ग निर्माणको सृजना थियो । त्यसलाई बङ्ग्याएर मानिसका सुन्दर शिरमा पड्काउँदै कल्पनावादीले कल्पेजस्तोे नरककुण्ड जस्तै बनाइएको छ । यस जगत्को सभ्यता सिँगार्न सृजना भएको आगोको फूललाई बदनाम र बद्नियतमा लाद्नेहरूको हिसाबकिताब अवश्य हुने नै छ ।
आगोको फूल फुलाउने क्रममा अनगिन्ती शृङ्खलाहरू पार भए । अनुभव र अनुभूतिहरू अपार भए । यसमा अथाह व्यापार भए । अर्थ र व्यर्थका मानव मगज हल्लाउने खाद्य र अखाद्य पदार्थका आविष्कार भए । मलाई लाग्छ आगोको फूल फुलाउने सच्चा माली कामी दाइ र कमिनी भाउजूको आरन हो । जहाँ, त्यहाँ मानिसले घरका अत्यावश्यकदेखि विलासीसम्मका सरसामान निर्माणको अनुरोध गरे । तिनले निर्माण गरे हामीलाई चाहिने अनगिन्ती औजारहरू । तिनै औजार प्रयोग गरेर तिनै आरनको भट्टामा आगोको फूलमा पोलेर बनाइएका गहना पहिरिएर तिनै आरनका दाइ र भाउजूलाई अछुत भन्ने धृष्टता समेत गरेको पाइयो । यो घोर अन्याय अन्त्य हुनुको साटो झनै विकराल हुँदै गएको छ । आगोका फूलले सजाएका सुनौलो हार गलामा टल्काएर सोही हार टल्काउने आगोका फूलका मालीलाई हेप्नेहरूलाई के भन्ने ? कानूनले भनेको नमान्ने, नैतिकता नमान्ने, मानवता पोलेर खाने, करुणा र दयालाई कुल्चनेहरूलाई आगोको फूलको कथा पढाउनु छ । सृष्टिको आरम्भ र सभ्यता निर्माणका वैज्ञानिक, परिश्रमीको श्रमको मूल्यबोध गर्न नसक्ने समाजलाई आगोको फूलको गीत बुझाउनु छ । क्रान्तिको ज्वालामुखीदेखि सगरमाथाको हिउँको थुप्रोसम्म आगोको फूलको सभ्यताको सुवास फैलाउनु छ । आगोको फूल फुलाउँदै आएका गौरविला पुर्खाका कर्मशील इतिहास र कर्मप्रेमीमाथि गरिएका विभेदका खातमाथि लात मार्दै नयाँ बिहानीको नयाँ कथाको सूत्रपात गर्नु छ ।





