close

रङको अलमल

— युवराज नयाँघरे

 

रङको अन्तिम बिन्दु रहेछ जीवन !

जीवनमा जत्तिको रङ अरु क्यैमा भेट्तिनँ म । जीवनले जत्तिको अँगालेको रङ अरु कसैले छैन । जीवनमा जत्तिको थिग्रिने रङ अन्यत्र कत्ति नि छैन । छँदै छैन । हो, छैन नै ।
रङ भनेको भावना रहेछ । भावनासँग तर्क र व्यवहारको उठाबसी भइरहँदो रहेछ । यसैले रङको रूप र रूपको रङसँग दोहोरो नाता पनि रहेछ । यसबाट निरपेक्ष छैन कोही पनि । रहने जसको चेष्टा छ– ती बित्थाका भुँवरीमा पर्छन् । गुजुल्टाले झन् कस्छ, फुत्किनेहरु हार्छन् ।

रङ हेराइ पनि रहेछ । हेर्दा, टाढा वा नजिक । देख्दा, वर वा छेउमै । भेट्दा, आफ्नै वा परचक्री । यी सबै तरङ्गले हृदयमा छिपछिपे उरालधुराल पार्छन् । रङसँगै भेटघाट जत्ति गरे पनि जितेको खुशीले परेलीमा अर्को गाजल सजाउन छोड्दैन ।

मैले रङसँग चिनाजानी गरेको जन्मको साँझ बिहानदेखि नै हो । आमाले छातीमा कसेर म्वाइँ थोपर्नु भो— मेरो निधारमा । मैले उकुसमुकुस भएरै नि त्यो मायाको रङलाई कम्पनमा कुदाएँ हुँला ।

मेरा पीडा र चोटका रङसँग आमाको आँसुको रङले सोध्न छोडेन होला । रङहरु देखिनेभन्दा नदेखिने चरित्रले चिनिएका हुन्छन् । हामीसँग देखिने रङको तर्क उभिन्छ । नदेखिने रङले संसार डोर्रिएको छ, कुदेको छ र लम्केको छ ।

रङसँग अनेक विम्ब गाँसिएका रहेछन् । रङले नै अर्थ र शब्दको संसार निर्माण गर्दोरहेछ । रङले समाजका सबै गहिराइसँग भेटघाट गराउँदोरहेछ ।

रङले बोलेको तथ्यसँग मनको गल्फती त होला— अकाट्य सत्यले पौठेजोरी खेल्न सक्दैन रहेछ ।

मेरो परिवारसँग रङको रेखी जोडियो । त्यही रेखीले दाजुभाइ, बुबाआमा, दिदीबैनी र त्यसपछिका सन्ततिसँग नातो गाँस्यो । यो एउटा लहरको गति जस्तो । लहरले जति पाइला चाले पनि— बिसाउँदा थोपामा आएर रोकिन्छ ।

मसँग रङका त्यस्ता अनेक कुइनेटा र थोप्लाथोप्ली छन्– तिनको भुइँ र आकाश फरक छ । भुइँको रङ बेग्लै । आकाशको झन् भिन्नै । तर संसारले एकातिर उभिएर एकै छ भनिरहेको देख्छु । अर्कोतिर केही मिल्दो छ भनेको नि भेट्छु । तर मेरा आँखाले ठम्याएको प्रमाण भने अझ अर्कै हुँदा म अल्मलिन्छु, रन्न भुलिन्छु र भुनभुनिन्छु ।

जीवन रङहरुको भुनभुनाइ रहेछ । त्यो भुनभुनाइलाई जे जस्तो अर्थ लगाए पनि हुन्छ । सुन्नेहरुले मुरली मान्छन्, अझ मादल मान्ने पनि हुन्छन् । पर रहेकाले कर्कशा स्वर मानेर आफैँमा अत्तालिन नि सक्छन् ।

रङसँग सबै साइनो हुँदोरहेछ ।

मैले मलामी गएर आउनेहरुलाई फुङ्ङ उडेको देख्दा कहाँ हो कहाँको विरक्त देखेँ । त्यो विरक्तले सातै महादेश बोल्यो । पाँचै महासागर देखायो ।

सानीमाको सेतो फरियामा भाइको मसीको एक थोप्लो मसी खस्यो । त्यो मसीले उसको भविष्य र आउँदो संसारले सिँढी चढिरहेको थियो । सानीमासँग त्यति धेरै बुझिरहने समय नि रहेनछ, धैर्य नि भएन । अझ विवेकले सुबास नछरेको कालबेला परेछ ।

एक थप्पड गालामा बजारेर बम्किनुभो— ‘विधुवी आमालाई अवगाल पार्छस्, मसी छर्केर लुगामा !’

रङहरुको लेखाजोखा गरिरहेको छु म ।

मृत्यु— एउटा शाश्वत रङ । अभिभावकविहीन— अर्को अकाट्य रङ । यी दुवैको बीचमा समाजले छ्यापिरहेको आशङ्काको अर्को झन् तेजिलो रङ ।

मैले यी तिख्खर रङले पारेको घुर्मैलो छापसँग आँखा जुधाएर कुरा गर्न सकिनँ ।

कुइरो र मेरो दुःख एकै हो !’
आँगनमा बसेर पारितिर दगुरेको कुहिरो हेरिरहेको छु म ।

सानीमाको आँखाको आँसुले भुलभुलाएको रङ एकातिर पोखिइरहेको छ । पर खोँचबाट मास्तिर उडिरहेको कुहिरोले दिने रङ अनन्तपूर्ण छ । तर रङहरुले देखाउँदा रहेछन् समान र असमान रूप ।

म निर्विकार भएर सानीमाको सुकसुकाइ र कुइराको भुलभुलाइमा एकै भाका देखिरहेको छु ।

के भएको यस्तो ?

खुल्दुली पछि पो लाग्यो । लाग्नै पर्ने छ नि त । यो खसखस मेट्न सधैँ तर्क र वितर्कका अँगालोमा नपरी भएन ।

फागु पुर्नेको रङ दलादल मन पराइनँ मैले । हृदय उमालेर नगरेको काम जोरजुलुम हो । त्यो जोरजुलुममा निकै चोटि परेको छु म ।

रङ दल्ने, रङ छ्याप्ने र रङ घस्नेदेखि म परै रहन रुचाएँ । मलाई रङको कोलाहलले अलग्गै हिँड्न भन्यो । म सकेसम्म डिलैडिल हिँडे । अझ पाए त रङहीन राजमार्गलाई साथी बनाउँथेँ म ।
आमा बितेको साल सेतो लुगामा थिएँ म । एक स्वाँठले मलाई ‘टीकोसम्म लाइदिन्छु’ भनेर जोरजुलुम गरे होलीका दिनमा । मनैदेखि सेत्तिएको थिएँ म । त्यसलाई साक्षी तुल्याउन सेतै लुगा थियो— शोकको ।

तर उनको उद्दण्डको रङलाई मेरो प्रतिकारको रङले परास्त ग¥यो । आज पनि माथिल्लै तहको मानिस हुँ भन्दै उनी हिँड्दा मैले तिनलाई स्नेही आँखाले हेर्नै सकिनँ ।

जीवन त त्यही हो— जसले सधैँ सुकोमल, सुवासिलो र सुकीर्तिको रङ खोजिरहँदो रहेछ । त्यसकै अभावमा जीवनको सारा क्षितिजमा आगो र आँधीको लप्काले विरसिला रङ सजाउँदा रहेछन् ।

रङले धेरैलाई अल्मलाउँछ । त्यो अल्मलिएपछि अगाडिका धेरै साँझ रात बनेर लम्पसारिन्छन्, सामुन्नेमा अनेक
खोल्साहरु भीर बन्दै तेर्सिन्छन्, छेवैका अँगालाहरु गहिरा नदीका भँगाला बनेर टुप्लुकिन्छन् ।

घरमा एउटी सानी केटी घुर्की लाउँदै आउने र जाने गरिरहन्छे । उसलाई खुशीको रङ उमार्न धेरै घण्टा कुर्नु नि पर्दैन, दुःखी हुन थुप्रै घडी–पला पर्खिनु नि पर्दै पर्दैन ।

केटाकेटीसँग त्यसै त रङको चाङ हुन्छ । खुशी, उत्साह, हर्ष, रमाइलो र उमङ्गको लिस्नो चढेरै ती सुतेका हुन्छन्, ब्यूँझेका हुन्छन् । तैपनि उज्यालो रङमा ती तानिएकै हुन्छन् सधैँ ।
‘यो ल्याइदिनु न बा !’

सानी केटीले नङ पालिसको बोतल लिएर आइपुगी ।

मैले उसका नङ समेत राम्ररी नउम्रेका कलिला हात र गोडाका औंलामा लाइदिएँ पालिस । जुन–जुन औंलामा पालिस लाउँछु उति पटक उसको अनुहार हेर्छु । ऊ खुशी, हर्ष, उमङ्ग र उल्लासले उचालिएकी देख्छु । कत्ति पटक ऊ उमङ्गिएर आकाशमा पुग्छे ।

त्यो रङ नै होला स्वर्ग !

मसँग उसले बर्षाएको पानीको थोरै बाच्छिटा आइपुगेको छ । तिनै थोप्ला–थोप्लीलाई विचारेर आफ्ना आँखीभौँ उचाल्छु माथि–माथिसम्म ।

‘जीवनको ठूलो खित्का यही हो !’
मेरो अनुमान हुन्छ ।

रङसँग अरु धेरै सपना र विपनाको कुदाकुद हुन्छ । ती थाहा पाएका दिन अरु रङले छेउमा आउने दुस्साहस नगर्लान् ।

अँगेनामा चिसा दाउरा ठोसिइरहँदा आमाको रङ हेरिरहन्छु । त्यो रङसँग हामी सात जना छोराछोरीको वर्तमान र भविष्यको सबै रङ आइजाइ भइरहँदा हुन् ।

मैले पनि एउटा कुनाबाट आमाको अनुहारको रङसँग मिलाएँ आफ्नो हृदयको रङ । ती दुवै घुर्मैला भए । घुर्मैलो हुनु भनेको– मौलिकतामा बाधा पार्नु रहेछ । मौलिकता नभएको वस्तु, सामान, चीज वा प्रसङ्गसँग कुनै इतिहासको एक शब्द हुँदैन भन्ने सुन्छु ।

मैले सुनेकै रङ पनि साँचो र झुटोको घेरामा परिरहेकै छ । घेरा बन्छन्, भत्किन्छन् । भत्किएकाहरु बन्न खोज्छन्, बनेकाहरु भत्काइन खोज्छन् । रङले भनेको अर्थ र तथ्य एउटा यो पनि हो ।

रङले सबैसँग एउटा विशिष्ट मान्यता खोज्दोरहेछ । त्यो मान्यताले फराकिलो संसार हुर्काएको म देख्थेँ । मैले भोग्दै आएको समयका जम्मै घडी–पला कहिले रङमय भए । कहिले रङको कुनै आभाषै भएन । यही बुझ्ने इच्छाले डसिएर म लखेटिएको–लखेटिएकै भइरहेँ सधैँ ।

जीवनमा रङ चिन्न जानिनँ मैले । रङ कति थरीका छन्– ज्ञान हुन सकेनछ मलाई । दृष्टि र मन्थन मेरो सतही भो ।

जसलाई उज्यालो ठानेँ— त्यो कालाम्मे अन्धकार थियो । जुन भष्मीभुत अँध्यारो मानेँ– त्यो आलोकमय उज्यालो भयो ।यसरी अलमल, अन्यौल र अल्झोबिल्झोले म थलै परेको रहेछु । यसरी विरोधाभाष, बिब्ल्याँटा, विकषर्णको भीडभाडले ठेलेको–ठेलेकै गरेछ मलाई ।

मैले निकैपछि मात्र थाहा पाएँ ।

त्यतिञ्जेल रङहहरू खुइलेर सबै मोहोर खोटा भएका थिए । सबै टक कुरुप भइसकेथे । सबै मोहोर भइसकेका थिए विरुप ।

जीवन त गल्तीहरुको भकारी रहेछ । गल्ती गर्दै भकारीमा राखिँदो रहेछ । पछि फुर्सदमा डोकामा, डालामा, थुन्सेमा, नाङलोमा राखेर भरिँदो रहेछ । अझ बढी फुर्सद भए थाल, कचौरा, गिलास र चम्चामा भर्ने इच्छा नि बढ्दो रहेछ ।रङ चिन्ने गल्ती धेरै पटक गरेछु मैले ।

हिजोआज आपूmले गनेका ताराको सङ्ख्या नमिलेकोमा मलाई निकै पछुतो हुन्छ । हिजोआज खोलाका पानीमा थोपाको आकार नमिलेकोमा मलाई औधी पश्चात्ताप हुन्छ । हिजोआज इन्दे्रणीको लम्बाइ नमिलेकोमा मलाई खिन्नता भइरहन्छ ।

यसरी तारा, थोपा र लम्बाइसँग समयको रङले औंला ठड्याएर मलाई सोधिरहन्छन् निरन्तर । म अबोध भएर उभिएको छु । उत्तर छन् तर कहालिएर भन्नै सक्तिनँ । उतर्सिएर बोल्नै सक्तिनँ । छटपटिएर वाक्य फुटाउनै सक्दिनँ । किनभने सोध्नेका हातमा एउटा घातक लट्ठी छ । त्यो लट्ठीको रङले तिर्मिराइरहन्छन् मेरा आँखाहरु ।

अनि म कसरी उत्तर दिन सक्छु र ?

पत्नी र मेरो रङमा छ अन्तर्घुलन । त्यही घुलनबाट जन्मिएकी ठूली छोरी ।

तिनले एसएलसी पढेपछि विज्ञान पढिन् । उनको लक्ष्य थियो स्वास्थ्यसेवी, उपचारको संसार पुग्ने । उठेदेखि नसुतेसम्म तिनको लक्ष्य थियो– सेतो कोट लगाउने ।

कपालमा सेतो टोपी, सेतै चोली, सेतै साडी, सेतै कोट । यो श्याम–श्वेतमा सेवा, माया, हेरविचार, शल्यक्रिया वा स्वास्थ्य— हरेक पद्धति सेताम्मे । छोरीको सुकिलो सपनाले उनलाई निकै नै दगुरायो ।

जीवनमा नजानेर अनेक गल्ती गरिन्छ । जानेर त्योभन्दा बढ्ता गल्ती गरिन्छ । तर जानेर भएका गल्तीको क्षमा कम पाइन्छ । किनभने थाहा पाएर, ज्ञात भएर वा जानेरै त्यो भुल भएको हुन्छ । यो भुलको रङ सबैभन्दा कडा, कठोर र जब्बर हुँदोरहेछ । मेटाउनै नसकिने । हटाउनै नमिल्ने । पुछ्नै कष्ट हुने ।
त्यस्तै भयो मेरो भुल !

त्यो भुल मैले जानेर, मूर्खतापूर्वक र स्वाँठ भएरै गरेँ भन्ने एउटा पछुतो उमेरसँगै छिप्पिएर गइरहेछ मसँगै ।कपाल काला थिए– जोसले मैले गल्ती गरेँ । अहिले फुलेका कपालसँगै त्यो पछुतो भइरहेको छ ।

खुट्टा दह्रा थिए– झ्वाँक्किएर मैले बेठीक गरेँ । अहिले गोडा कमजोर भएसँगै त्यसको पश्चात्ताप भइरहेको छ ।आँखा, कान, दाँत सबै बलिया थिए । सबै तेजिला थिए । सबै क्रियाशील थिए । अहिले बिस्तारै सबै लुला, निर्बल, अशक्त र कमजोर हुँदै गए । अनि घोर गल्ती भएको–भएकै छ ।

गल्तीको रङ देखिन्छ निकै ढिलो । त्यसलाई अरुले ढाकेका हुँदा रहेछन् । पुछेर हेर्दासम्म सच्याउनै नमिल्ने गरी पुल बनिसकेको हुँदो रहेछ पछुतोको ।
‘नानी, तिमी कानून पढ !’

मेरो कठोरताको अघिल्तिर उनको नाइँनास्ती चलेन । उनले हुन्न वा नाइँ भनिरहने समय मैले दिइनँ । कत्ति पनि दिँदै दिइनँ ।

छोरी धमाधम कानून पढ्न थालिन् । उनको जिउमा कालो कोट सजियो ।

रङ अर्कै भयो । फरक रङमा उनको भविष्य डोर्रिएको छ ।

आज लामो समयपछि मैले समयको रङ केलाएँ । रङले पारेको उज्यालो र अँध्यारो प्रभाव निहालेँ । रङसँग जीवनको पहाड र मैदान विचार गरेँ ।

रङ पनि पन्यालो हुन सक्छ । सेतो दूध निकै पातलिएपछि रङहीन हुन्छ । धेरै फटाउँदै लाँदा कालो कपडा नि रङहीन हुन सक्छ ।

मैले रङबारे यति धेरै विज्ञानका पाइलामा पछि मात्र हिँडाएँछु । एउटा पछुतो छँदैछ ।
थाहा छ छोरी !

मैले लेखेका कुनै पङ्क्ति पनि तिम्रा परेलीले पढेका छैनन् । कुनै दिन यी हरफ पढ्यौ भने थाहा हुनेछ तिमीलाई– पछुतो र भुलको अग्लो पहाडमा म स्वाँ–स्वाँ हुँदै निकै हिँडेको कथा ।
सेतो रङको कोट तिम्रो चाहना ! अहिले कालो रङको कोट तिम्रो बाध्यता !!

रङको अलमलमा सबै भुलेँछु मैले । रङ चिन्न नसकेर आफ्नो मनको घुर्मैलो रङमा मेरा दृष्टि अल्मलिएछन् ।

क्षमाको रङ तिमीसँग छ । मेरो हृदयको अल्मलिएको रङमा तिम्रो क्षमाको रङ मिसाएर उज्यालो पारिदेऊ ।

नत्र, मसँग रहिरहनेछ पछुतोको कालो रङ !

Leave a Response