रोचक घिमिरे
‘प्रगति’ साहित्यिक पत्रिका नारायणप्रसाद बाँसकोटाको सम्पादन–प्रकाशनमा २००९ सालमा प्रकाशित भएको हो । त्यसो त यो पत्रिकालाई डा.ईश्वर बरालले २००८ सालमा र ग्रीष्म बहादुर देवकोटाले २०१० सालमा प्रकाशित भएको मानेका छन् । तर अन्वेषक शिव रेग्मीले २००९ मा नै सम्पादक नारायण बाँसकोटाले पुस–माघ लेखी भवानी भिक्षुलाई उपहार दिएको ‘प्रगति’को पहिलो अङ्क फेला पारेकाले यसको प्रकाशन २००९ मा नै भएको प्रमाणित हुन्छ । (शिव रेग्मी–‘अतीतका पाना’, २०६३)
‘प्रगति’को पहिलो अङ्कमा मिति नहुँदा यस्तो अन्योल भएको हो । पहिलो अङ्कदेखि चौथो अङ्कसम्म यसलाई ‘नेपाली प्रगतिशील साहित्य संकलन’ भनिएको छ । पहिलो र दोस्रो अङ्कको मुखपृष्ठमा ‘मासिक’ भनिए तापनि दोस्रो अङ्कको भित्री पानामा ‘द्वैमासिक’ भनिएको छ । यसै अङ्कदेखि यसको वार्षिक मूल्य १२ र एक अङ्कको २ रुपियाँ मूल्य राखिएको छ । यस अङ्कलाई ‘फाल्गुण–चैत्र’ भनिएपनि साल भने लेखिएको छैन । यस अङ्कमा सम्पादकीय पनि छैन ।
तेस्रो अङ्कमा २०१० भाद्र–आश्विन भनिएको छ । यसै अङ्कमा महाकवि देवकोटाको प्रसिद्ध कविता ‘पागल’ छापिएको छ । रचनाको क्रमलाई यस अङ्कदेखि ‘उपक्रमणिका’ भनिएको छ । अघिल्ला अङ्कहरूमा ‘सूची’ भनिएको थियो । चौथो अङ्क २०१० कार्तिक–मंसीरमा प्रकाशित छ । यस अङ्कमा ‘सर्वाधिकार सुरक्षित’ लेखिएको छ । साहित्यिक पत्रिकामा यस्तो लेखिएको संभवतः यही मात्र हो कि !
२०१० पूस माघमा प्रकाशित पाँचौं अङ्कदेखि भने चौथो अङ्कसम्म लेखिंदै आएको ‘नेपाली प्रगतिशील साहित्य संकलन’ हटाइएको छ । यसै अङ्कमा ‘प्रगति’ कार्यालयको ठेगाना यसरी दिइएको छ; प्रगति प्रकाशन १÷१०४ बागमती पुल टोल ललितपुर–काठमाडौं नेपाल ।
छैटौं २०१० फागुन–चैत अङ्कमा प्रकाशकीय छैन । पटनामा छापिएको यो अङ्क प्रकाशकले प्रेसबाट फिर्ता नलगेपछि कवाडीमा बेचिएकाले यो अङ्कका प्रति नेपाल आएनन् । जनकलाल शर्माले कलकत्ताको फुटपाथमा फेला पारेर काठमाडौं ल्याएको एउटा प्रतिले नै यसको अस्तित्व देखायो । यसै अङ्कमा शङ्कर लामिछानेले मातृकाप्रसाद कोइरालासँग लिएको एउटा अन्तर्वार्ता छापिएको छ । मातृका प्रधानमन्त्री हुँदा लिएको तर प्रधानमन्त्रीबाट हटेपछि छापिएको भनिन्छ यो अन्तर्वार्ता । आश्वासन पाए पनि सत्ताच्युत भएका मातृकाले आर्थिक सहयोग नगरेको कारण यो अङ्क प्रेसबाट निकाल्न नसकिएको त्यसबेलाका जानकारहरूबाट सुनिएको हो ।
२०११ वैशाख–जेठमा निस्केको सातौं अङ्कमा ‘नेपाली साहित्य माध्यमिक कालीन विशेषाङ्क, २ भाग’ प्रकाशन गर्ने घोषणा गरिएको भएपनि अङ्क भने प्रकाशन भएको देखिंदैन । आठौं अङ्कमा प्रकाशन मिति छैन र प्रकाशकको नाम पनि छैन । यसै अङ्कमा विश्वेश्वरप्रसाद कोइरालाको ‘साहित्यमा प्रगतिशीलता’ शीर्षक लेख प्रकाशित छ । पूर्णाङ्क ९ मा २०११ साल मात्र छ; महीना कुन हो उल्लेख छैन । श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रबाट पत्रिकाले सहयोग पाएको कुरा सम्पादकीयमा भनिएको छ । यसै सम्पादकीयमा प्रगतिको यात्रा आठौं अङ्कमा नै टुङ्गिन लागेको तर लक्ष्मीप्रसाद देवकोटा र अन्य साथीको प्रयत्नद्वारा यसले फेरि जीवन पाएको उल्लेख छ ।
पूर्णाङ्क १० मा प्रकाशन मिति छैन । साहित्यिक पत्रिकालाई सरकारले गरेको अवहेलनाप्रति विशेष सम्पादकीय प्रकाशित छ यस अङ्कमा । ११ औं अङ्क र १२ औं अङ्कमा पनि प्रकाशन मिति र प्रकाशकको नाम दिइएको छैन । पूर्णाङ्क १३ मा सम्पादकीय राखिएको छैन । पूर्णङ्क १४ मा र पूर्णाङ्क १५ मा प्रकाशन मिति छैन ।
पूर्णाङ्क १६ प्रगतिको अन्तिम अङ्क हो । यो कविताङ्कको रूपमा प्रकाशित छ । ३९ कविका कविता राखिएका छन् यस अङ्कमा । यसमा सम्पादकीयको अन्त्यमा–नारायण बाँसकोटा नाम राखिएको छ । यस अघिका कुनैपनि अङ्कको सम्पादकीयमा यसरी नाम राखिएको देखिदैन ।
‘प्रगति’का विभिन्न अङ्क भारत र नेपालका प्रेसमा छापिएका देखिन्छन् । नरेन्द्र यन्त्रालय बनारसमा पूर्णाङ्क १, २, ४, जोरगणेश छापाखाना, काठमाडौंमा पूर्णाङ्क ३, ७, ८, ९, १३, चन्द्रगुप्त मुद्रणालय, पटनामा अङ्क ५, मोहन प्रेस पटनामा अङ्क ६, हिमहारती प्रेस लगनमा पूर्णाङ्क १०, आर्यभूषण प्रेस बनारसमा पूर्णाङ्क ११, १२, १४, हितचिन्तक प्रेस, बनारसमा पूर्णाङ्क १५, श्रीराम प्रेस बुलानाला, बनारसमा पूर्णाङ्क १६ छापिएका छन् ।
पहिलो अङ्कको सम्पादकीय शीर्षक ‘प्रगति किन ?’ भन्ने छ । यसमा भनिएको छ; “प्रगति एउटा पुरानो स्वप्नको मूर्तरूप हो । हामीले यसको प्रथम अङ्कलाई डेढ वर्ष अगावै पाठकहरू समक्ष उपस्थित गर्ने प्रयत्न गरेका थियौं, तर परिस्थितिको वाध्यताले गर्दा यस साहित्य संकलनलाई योजना गरेको डेड वर्षपछि मात्र प्रकाशित गर्न सक्यौं । प्रारम्भमा हामीले “प्रगतिशील लेखक संघ”को निर्माण गरेर संघका केही सदस्यको सम्पादनमा एउटा मासिक साहित्यिक संकलन ‘प्रगति’ र अरू मौलिक तथा अनुवादित साहित्यका रचनाहरू प्रकाशन गर्ने आयोजना गरेका थियौं । तर मूल योजनाअनुसार हामी अगाडि बढ्न असमर्थ जस्तै भएर ‘प्रगति’को प्रथम अङ्कलाई पाठकहरूको समक्ष उपस्थित गरिरहेका छौं ।” सम्पादकीयको अन्त्यमा लेखिएको छ; “हामी हाम्रा राष्ट्रनायक श्री ५ महाराजाधिराजको साहित्यप्रतिको अनुराज्ञालाई प्रशंसा गर्दछौं । मौसूफकै महान् सहयोग र सद्भावनामा आश्रित भएर ‘प्रगति’ निक्लिरहेको छ । अस्तु ।” सम्पादक प्रकाशकमा नारायणप्रसाद बाँसकोटा रहेपनि ‘प्रगति’ प्रकाशित हुनुमा महाकवि देवकोटाको सक्रिय सहयोग रहेको कुरा यसको सम्पादकीयमा उल्लेख छ । ईश्वर बराल, बाबुराम आचार्य, भवानी भिक्षु पनि ‘प्रगति’का सक्रिय सहयोगी रहेका कमल दीक्षितले भनेका छन् । (‘बिर्सनु नहुने बीस २०७२)
‘प्रगति’को पहिलो अङ्कको आवरणमा राजा त्रिभुवनको तस्वीर छ भने दोस्रो’ अङ्कमा इतिहास शिरोमणि बाबुराम आचार्यको तस्वीर छ । बाबुरामको “काठमाडौंं” शीर्षक लेख पनि छ दोस्रो अङ्कमा । १ देखि १० अङ्कसम्मका मुखपृष्ठका कलाकार अज्ञात छन् । ११ देखि १५ अङ्कसम्मको मुखपृष्ठका कलाकार चाहिं लैनसिंह बाङ्देल भएको जानकारी सम्पादक नारायण बाँसकोटाका छोरा कमल बाँसकोटाले २०७८ मा प्रकाशित “प्रगति र नारायणप्रसाद बाँसकोटा स्मृति भेट” नामक पुस्तकमा गराएका छन् । ‘प्रगति’का कुनै अङ्कमा पनि विज्ञापन छापिएको छैन । पत्रिकाको रूपमा दर्ता नम्बर पनि लिइएको छैन । संकलनका रूपमा प्रकाशित छ यो पत्रिका ।
‘प्रगति’ले कविता, कथा, निबन्ध, आलोचना, आत्मचरित्र, भेट, हास्यव्यङ्ग्य, अनूदित साहित्य, एकाङ्की, परिचय, लोक साहित्य आदिसँग सम्बन्धित लेख–रचनाहरू छापेको देखिन्छ । नेपालमा आजसम्म निस्केका साहित्यिक पत्रिकामा ‘प्रगति’ रूपगुण सम्पन्न प्रतिनिधि पत्रिका हो भन्न धक मान्नु पर्दैन । १६ अङ्क मात्र निस्केपनि यसका प्रत्येक अङ्क विशेषाङ्क बराबरका सामग्रीयुक्त खँदिला अङ्क हुने गरेका थिए । भाषा–साहित्य–संस्कृति–साहित्यकार अनि विदेशी अंग्रेजी साहित्यको परिचय नेपालीमा सर्वप्रथम ‘प्रगति’ले नै गराएको स्पष्ट छ । नेपाली भाषा र साहित्यको उन्नतिका निमित्त यस पत्रिकाले जे जति काम ग¥यो यस अघिका र यसपछिका पत्रिकाहरूले त्यस अनुपातमा गर्न सकेको देखिँदैन । यसका प्रत्येक रचना नेपाली साहित्यका महत्तम प्राप्तिका रूपमा आएका कुरा मान्न सङ्कोच मान्नु पर्दैन । नेपाली साहित्यको उत्थानमा ‘प्रगति’को योगदान अतुलनीय रहेको छ ।
‘प्रगति’ मा नेपालीका अमर स्रष्टाहरूका गहन सृजना प्रकाशित छन् । तीमध्ये केही यी हुन्; लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, माधव घिमिरे, विश्वेश्वरप्रसाद कोइराला, ईश्वर बराल, बदरीनाथ भट्टराई, बाबुराम आचार्य, केदारमान व्यथित, सत्यमोहन जोशी, रामकृष्ण शर्मा, तारिणीप्रसाद कोइराला, भीमदर्शन रोका, शंकर लामिछाने, गोविन्दबहादुर गोठाले, जनकलाल शर्मा, रमेश विकल, धर्मराज थापा, दौलतविक्रम विष्ट, चक्रपाणि चालिसे, कमल दीक्षित, हृदयचन्द्र, लैनसिंह बाङ्देल, लीलाध्वज थापा आदि । ‘प्रगति’ मा छापिएका स्रष्टाहरूमा हाल चित्तरञ्जन नेपाली, नरबहादुर दाहाल, दुर्गाप्रसाद श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र द्वारिका श्रेष्ठ मात्र हाम्रा समक्ष छन् । अमर स्रष्टाहरूका योगदानले महिमामण्डित भएको ‘प्रगति’को सम्पादन प्रकाशन गर्ने तपस्वी साधक नारायणप्रसाद बाँसकोटाले पनि नेपाली वाङ्मयवृत्तमा अमरता पाएका छन् । बाँसकोटा २०५३ सालमा दिवङ्गत भए । उनको निधनको २५ वर्षपछि उनका छोरा डा.कमल बाँसकोटाले आफ्ना पिताको योगदानलाई स्मरणीय बनाउन २०७८ सालमा “प्रगति र नारायणप्रसाद बाँसकोटा स्मृति भेट” नामक गहकिलो ग्रन्थ निकालेका छन् । ‘प्रगति’ र नारायण बाँसकोटाको योगदानलाई यस ग्रन्थले जीवन्त बनाएको छ । ‘प्रगति’ गाथा यत्तिनै ! इत्यलम् ।
(प्रधान सम्पादक तथा प्रकाशक रचना द्वैमासिक )