– वासुदेव अधिकारी
नवप्रज्ञापनको वर्ष ६ (फागुन ०५४–जेठ ०५५) मा नेपाली प्रगतिवादी साहित्यका धरोहर श्यामप्रसाद शर्माले सं १९९४ मा रचना गरेका २१ वटा लेखहरूको सँगालो ‘सही र गलत प्रवृत्तिहरू’शीर्षकको पुस्तक सङ्गृहीत रहेको छ । कुल ६० पृष्ठ भएको यस सङ्ग्रहभित्र मेरो पहिलो कवितासङ्ग्रह ‘समयका स्वरहरू’को समर्पण खण्डको उल्लेख तथा ‘लहर’ पत्रिकामा आफैँले प्रकाशित गरेको ‘साहित्यिक फाँटका मेरा केहीधारणा’ फेला परेको सुखद् संयोग पनि जुरेको छ ।
विशेषाङ्कको रुपमा प्रकाशित सो लेख सङ्ग्रहमा निबन्ध, वैचारिक लेख, संस्मरण र भूमिका÷समीक्षा आदि आएका छन् । श्यामप्रसाद शर्मालाई समग्र रुपमा पढ्न नभ्याउनु भएका पाठकहरूका लागि सं. १९९४ मा लेखिएको यो विशेषाङ्क नमुना सामग्रीको रुपमा रहेको प्रतीत हुन्छ । यसमा उनको साहित्यिक चिन्तन, साङ्गठनिक व्यक्तित्व, मिलनसार व्यक्तिगत स्वभाव, वैज्ञानिक दर्शनयुक्त राजनीतिक धारणा, समाजको सर्वतोमुखी विकास र उन्नयनको लागि अवलम्बन गर्दै आएको फराकिलो एवम् सकारात्मक सोच, ००४ सालतिरको जेल बसाइको इतिहास, प्रगतिशील लेखक सङ्घ स्थापनाको प्रसङ्ग, बीरगञ्ज क्षेत्रमा हुर्किएको बाल्यकाल, भूमिगत जीवन बिताउँदाको क्षण, ०४६ साल पछिको रचनात्मक क्रियाशीलताआदि समाविष्ट भएको देखिन्छ ।
सामान्यतया श्यामप्रसाद शर्मा खिरिलो तर गुनिलो रचना लेख्छन् । उनी विचारमा स्पष्ट छन् । उनको विचारमा सिद्धान्तको सीमा भए पनि ती विचारहरू हाम्रै व्यवहारको माटोमा उम्रिने गर्छन् । श्यामप्रसाद ६५ वर्ष हुँदा लेखेको यो सङ्ग्रह पढ्दा आफू ६५ वर्ष हुँदा यति होस, सन्तुलन तथा विचारशील भई अभिव्यक्त हुन सकिएला त ? दभन्ने प्रश्न मनमा बारम्बार उठ्ने गर्छन् । आयामतर्फ वर्ष दिनमा श्यामप्रसादले जम्मा ६० पृष्ठ मात्र रचना गर्नु कम लागे पनि पोषण तथा गुणवत्ताको दृष्टिले उनका रचनापठनीय, सङ्ग्रहणीय रहेको देखिन्छ ।
सङ्ग्रह वा विशेषाङ्कमा सङ्गृहीत रचनामध्ये दईवटा निबन्ध, ‘उनीकति राम्री ? ’तथा‘ मायाप्रीति’ उम्दा स्तरका छन् । महिला केन्द्रित ती दुई निबन्धमा लेखकले माया, प्रेम, बिबाह लगायतका सन्दर्भमा स्पष्ट र सन्तुलित विचार राखेका छन् । दुबै निबन्ध उत्कृष्ट छन् । ‘उनीकति राम्री ?’ निबन्धमा निबन्धकारले महिला रुप तथा सौन्दर्यको खानी भएर पनि तिनको व्यवहार तथा चालचलन असल भएन भने तिनलाई राम्रो भन्न सकिँदैन । अर्थात् तिनको व्यवहारलाई अपनाउन सकिदैन भन्ने सन्दर्भ कोट्याएका छन् । त्यसै गरी ‘मायाप्रीति’ निबन्धमा आत्मिक सम्बन्ध भौतिक सम्बन्ध भन्दा दिगो हुन्छ, चिरस्थायी हुन्छ भन्ने विषयलाई पनि अनेक प्रसङ्गल्याई पुष्टि गरेका छन् । निबन्धकारले मन मिल्यो र बिहे गर्ने प्रतिबद्धता छ भने बिबाह अघि पनि शारीरिक सम्बन्ध हुन सक्छ, परिस्थिति हेरी पारपाचुके तथा पुनर्विवाह गर्न सकिन्छ भन्ने विचार अभिव्यक्त गरेका छन् ।
लेख रचना/सङ्ग्रह वा विशेषाङ्कको अर्को महत्वपूर्ण सामग्री संस्मरणात्मक लेखहरू हुन् । गुप्तवासका श्रृङ्लाबद्ध चार संस्मरण, ‘विद्यालय बेलाका केही सम्झना’ र ‘स्वास्थ्य सम्बन्धी मेरा रचना’ आदिमा नेपाली समाज, राजनीति, शिक्षा तथा स्वास्थ्य क्षेत्र आदिको ऐतिहासिक झलक, तत्कालीन परिवेशको चित्रणका साथै ऐतिहासिक व्यक्तिको योगदानका बारेमा एक पसर उज्यालो पाउन सकिन्छ । ‘विद्यालय बेलाका केही सम्झना’ सानो भइकन पनि चहकिलो संस्मरण हो । गुप्तवासको संस्मरणले श्यामप्रसाद राजनीतिक दलको मुख्य सङ्गठक रहेका, त्यस क्रममा भेला, बैठक तथा प्रशिक्षणहरू हुने गरेको, उनी जनताको घरमा सुरक्षित रहेका, त्यस क्रममा सेल्टरदाता परिवारसँग, खासगरी साना बालबालिकासित उनी साथी बनेर बसेका, त्यही सन्दर्भमा साहित्यिक रचना हुने गरेको एवम् उनका पार्टी गतिविधिको प्रतिवेदन उनले नै तयार गर्ने गरेका र त्यो साहित्यिक खुराकको रुपमाउपयोग हुने गरेको स्पष्ट देखिन्छ । उनलाई पार्टीले नेताभन्दा पनि साथीको रुपमा परिचित गर्ने गरेको व्यहोरा गुप्तवासको सम्झना– ४ मा उल्लेख छ । यी चार संस्मरणले श्यामप्रसादको गुप्तवासको अवधि कहिले सामान्य त कहिले विशिष्ट काम गरी बितेको स्पष्ट पार्दछन् । साना बालबालिकाबाट सिक्ने उनको वानी घतलाग्दो देखिन्छ । जनआन्दोलन देखिका मेरा रचना, गतिविधि र मूल्याङ्कनः १ ले उनको लेखाइ पढाइको आयाम बुझ्न मद्दत पु¥याएको छ ।
विचार प्रवाह श्यामप्रसादको लेखनको विशेषताहो । उनले यस सङ्कलनमा घर परिवार, साहित्यिक क्षेत्र, माया प्रेम, दसँै तिहारजस्ता चाडबाड मनाउने तौरतरीकाका बारेमा आफ्नो स्पष्ट र सन्तुलित धारणा राखेका छन् । सङ्कलनमा साना तथा मझौला आकारका करिबसातवटा लेख छन् । तीमध्ये हाम्रो ‘परिवार राम्रो परिवार’, ‘सही र गलत प्रवृत्तिहरू’, ‘साहित्यिक फाँटका मेरा केही धारणा’ तथा ‘प्रगतिवादी साहित्यको प्रगति’मननीय रचना हुन् । श्यामप्रसादका बुझाइ तथा विश्लेषण कति मिहिन र व्यावहारिक हुन्छ भन्ने चाल पाउन यी चार रचना पर्याप्त देखिन्छन् । सामान्यतया अरु प्रगतिवादी लेखकले नजर अन्दाज गर्ने परिवार, स्वास्थ्य, बालबालिका तथा महिला सम्बन्धी विषयमाउनको चासोयुक्त चर्चा, पढ्दा सामान्य लागे पनि दिगो मूल्यको प्रतीत हुन्छ । उनले परिवार वर्षको सन्दर्भमा बनाएको योजना अन्तर्गतको अर्थनीति, कामको बाँडफाँड, नाता कुटुम्ब नीति, परिवारमा आपसको सम्बन्ध, परिवार समिति, योजना, रक्षानीति, शिक्षानीति, शिष्टाचार नीति, श्रमनीति, स्वास्थ्यनीति र सल्लाहकार गरी तर्जुमा गर्न सुझाएका १२ वटा नीति उन्नत चेतना र समझदारीका उपज हुन् । त्यसै गरी प्रगतिवादी साहित्यको प्रगतिको सन्दर्भमा उनले सुझाएका १. कक्षा सञ्चालन, २. लेख्नुअघि र लेखिसकेपछि, ३. बजारको व्यवस्था, ४. साहित्यकार र कलाकारको सम्बन्ध, ५. परिवार नाता र छिमेकी, ६. क्षेत्र, संस्था र विषयको आधारमा काम, ७. विषयको आधारमा प्रचार, ८. विशेषज्ञहरूलाई मान्यता, ९. संयुक्त प्रयत्नमा बल, र १०. परिस्थितिका दु्ई पक्ष वषयक परिचर्चा मननीय रहेका छन् । उनका वैचारिक रचनामा वर्गीयता प्रखर रुपमै आएको देखिन्छ । नारी पुरुषको सहसम्बन्ध र हार्दिकता उनको चासो र विश्लेषणको पक्ष रहने गरेको छ, जुन यस सङ्ग्रहको पनि विषय बनेको छ ।
यस सङ्कलनमा शीतल गिरी तथा कुमार अंशु (नन्दकुमार सुब्बा) को खण्डकाव्य, तीर्थादेवी सिल्वालको कविता सङ्ग्रहको भूमिका÷मन्तव्य तथा साहित्य सन्ध्या, पर्सालाई दिएको शुभकामना लगायतका सामग्रीले श्यामप्रसाद आम लेखक समुदायसँग सन्निकटमा रही अरुलाई लेखन तथा अभियानमा प्रेरित गर्ने अभिभावक हुन् भन्ने पनि खुलस्त हुन्छ । उनले व्यक्ति चर्चाको क्रममा साहित्यकार लीला उदासीको बारेमा पनि कलम चलाएका छन् । उनका यी २१ वटा रचना काठमाडौँ, हेटौँडा र वीरगञ्जमा रहँदा–पुग्दा लेखिएका देखिन्छन् ।
लेखिएका रचना हराउनु वा जगेर्ना गर्न नसक्नु आज धेरै लेखकको विशेषता बन्दै गएको छ । यसबाट हामी पनि मुक्तहुन सकेका छैनौँ । श्यामप्रसाद आफ्नो रचना जतन गर्न सक्ने संयमी साहित्यकार हुन् । नवप्रज्ञापनको विशेषाङ्कको रुपमा आएको सं. १९९४को यस सङ्कलन त्यही जतन गराइको प्रमाण हो । कम्तीमा पनि त्यस वर्षको उनको रचना हराउन पाएन । यस प्रकारको वार्षिक प्रकाशन अरु केही वर्ष पनि प्रकाशित भएका छन् ।
लामो गुप्तबास, पाको उमेर र नयाँ परिवेशसँग भएको नवीन साक्षात्कारको कारण उनको रचनामा जति नयाँ परिस्थितिको विश्लेषण हुनु पर्ने हो त्यति हुन सकेको छैन । यो नै श्यामप्रसाद शर्माको लेखनको सीमा हो । ०४६ सालको परिवर्तन पछि मुलुकले भोगेको नयाँ चुनौतीको चर्चा तथा नयाँ परिवेशको स्पर्श अलि बढी भित्र्याउन सकेको भए पाठक मन अरु फुरुङ्ग हुने थियो । यसमा प्रकाशकको भन्दा लेखकको जिम्मबारी बढी हुन्छ ।
खासमा नवप्रज्ञापनले आफूले यात्रा थालेको प्रारम्भिक कालमै मूर्धन्य साहित्यकार श्यामप्रसादको एक वर्षे लेखनलाई समेटी विशेषाङ्क प्रकाशन गरेर नेपाली साहित्यलाई ठुलो गुन लगाएको छ । पत्रिकाको सम्पादकीयमा भनिएझैँ ‘सही र गलत प्रवृत्तिहरू’ नामक कृतिभित्र बिभिन्नप्रकारका परिकारहरू छन् र तिनीहरू अनेक आस्वादका, मिठासका र विचारका लाग्छन् । साहित्यिक पत्रिकाले कुनै विषय वा विधामा विशेषाङ्क निकाल्नु आफैँमा स्तुत्यकाम हो भन्ने विषयलाई यस विशेषाङ्कले चरितार्थ गरेको छ ।
श्यामप्रसाद रचनाहरू समेटिएको यो विशेषाङ्कका बारेमा लेख्दालेख्दै म निक्कै तल आइपुगेको छु । विगत ३० वर्षदेखि बारा जिल्लाबाट प्रकाशित भइरहेको नवप्रज्ञापनका ९९ अङ्कहरू प्रकाशित भइसकेका छन् । २०८० सालको वैशाखमा सयौँ अङ्क प्रकाशनका तयारीमा रहेको यो पत्रिका सोही अङ्कदेखि ३१ औँ वर्षमा प्रवेश गर्दे छ । साहित्यिक पत्रिकाको यस खालको गतिलाई हामी सबैले आदर गर्नु अति आवश्यक छ ।
वर्तमानमा साहित्यिक पत्रिका प्रकाशन त्यति सहज छैन तथापि हिजैदेखि प्रकाशन थालिएका पत्रिकाहरू जसोतसो प्रकाशित भइरहेछन् । यसमा कुन मनस्थितिले काम गरेको छ त्यो भने खोजीको अर्को पाटो हो । नयाँ दर्ता हुनेक्रम अत्यन्तै पातलो भए पनि पुरानाहरू हिँडिरहेका छन् । यही कारण झण्डै ६२ वर्षदेखि रचना, ५३ वर्षदेखि अभिव्यक्ति, ४० वर्षको हाराहरीदेखि तन्नेरी, जनमत, श्रृङ्खला, लहर र दायित्वलगायतका पत्रपत्रिकाहरू प्रकाशित भइरहेका छन् । भाषा साहित्यप्रेमीहरूका लागि यो सन्तोषको विषय हो ।
अन्त्यमा विभिन्न मातृभाषाहरूमा लेखिएका रचनाहरूलाईसमेतयथोचित स्थान दिँदै समय समयमा विशेषाङ्क समेत प्रकाशित गरिरहेको नवप्रज्ञापनको शतक अङ्क प्रकाशित हुन लागेकोमा यसलाई हार्दिक बधाई तथा शुभकामना भन्दै यो लेखको बिट यहीँ मार्न चाहन्छु ।
(सुनौलाबजार, धादिङ)