
— प्रा.डा.ऋषिराम शर्मा
असल राजनेताको खोजीमा म यो देशमा विगत ५० वर्षदेखि तड्पिरहेछु र छट्पटाइरहेछु ! म पटकपटकका आन्दोलनमा सहभागी भएको पनि छु र बेलाबेला असल राजनेता भेट्टाएँ भनेर म फुरुङ्ग परिरहेको पनि हुन्छु । तर म हरेकपल्ट आफूलाई खुच्चिङ् भइरहेको महसुस गर्छु । म कल्पन्छु, म जन्मँदा नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला रहेछन् । जननिर्वाचित र प्रजातान्त्रिक सरकारको उज्यालो मिर्मिरेमा म जन्मेको रहेछु । २०१६ साल मङ्सिर १२ गते म जन्मँदा नेपालमा संवैधानिक राजतन्त्र सहितको प्रजातान्त्रिक सरकार करिब छ महिनाको शिशु रहेछ । म एक वर्ष पुग्न १७ दिन बाँकी रहेकै दिनमा नेपालमा त्यस्तो संवैधानिक राजतन्त्र सहितको शिशु सरकारको अवसान भएको रहेछ । थाङ्नामा खेल्दाखैल्दै त्यतिबेला म निर्दलीय पञ्चायती व्यवस्था र सक्रिय राजतन्त्रको प्रजा भइसकेको रहेछु ।
मेरो प्यारो देश उहिलेदेखि अहिलेसम्म असल राजनेताको तिर्खाले तड्पिरहेछ । मेरो देशको त्यो तड्पन र पीडा शान्त पार्न मैले हरेक दस बाह्र वर्षमा सडकमा बौलाएर आन्दोलनका नाममा आफ्नो पीडा र आक्रोशको हुरी लिएर आएको छु । अथवा यसो भनूँ म एउटा असल र कुशल शासकको भोक मेट्न म असामान्य रूपमा निरन्तर छट्पटाइरहेको छु । हरेक बौलाहटपूर्ण आन्दोलनमा चम्किएका सुन जस्ता राजनेतामा कुशल शासकको सुगन्ध खोजिरहेको छु । म हरेक आन्दोलन क्रान्ति र युद्धका आदर्श नायकहरूमा कुशल शासकको कञ्चन–विम्ब देखिरहेको हुन्छु तर मैले देखेको त्यो कञ्चन विम्ब निरन्तर कर्कलाको पातमा अडिएको मोती त बुँद पो रहेछ । मैले देखेका कुशल राजनेताको त्यो मोती, त्यो शीतविन्दु केबल एक भ्रम रहेछ । मेरो विश्वासको बुँदलाई सानो स्वार्थको बतासले एक्कासि चकनाचुर पारिरहेछ । हरेकपटकका आन्दोलनमा उदीयमान जुन नेताका अनुहारमा देशको व्यथा र वेदना पुछिदिने भाव पटकपटक पढ्थेँ , तर आफैले सत्ताको धुरीमा पुर्याएका ती नेताहरू किन असमयमै स्खलित भएर गए ? म अनुत्तरित छु र अवाक् छु !
मेरो देशले केही राजनेताहरू त जन्माएको त हो तर कुशल शासक जन्माउन भने सकेन । मेरो देशको राजनीतिले प्रत्येक आन्दोलन, क्रान्ति र युद्धमा अनेक नायकहरू जन्मायो, यस देशको माटोले, यस उर्बर धर्तीले किन कुनै एउटा गतिलो शासक उमार्न सकेन ? कि शताब्दीयौं अघि भीम मल्लकी सतीले सरापेकै कारणले यी धर्ती बन्ध्या भएकी हुन् त ? हिजो मैले जुन मेरा स्वप्निल नेताको जादुमयी बोलीमा देशको मुहार फेर्ने गोली देखेँ, जुन आदर्श नेताको जाज्वल्यमान् अनुहारमा देशको काँचुली फेर्ने भाव पढेँ, जुन सर्वोच्च नेताको बुलन्द आवाजमा क्रान्तिको भर्भराउँदो फुलझडी देखेँ, किन ती सबै नेताहरू आज फगत पानीको फोका झैँ अनायास र एकाएक यथास्थितिको दुर्गन्धित पोखरीमा बिलाउँदै गए । जनताको जीवनस्तर उकास्ने नारा दिएर आफन्तको जीवनस्तर उकास्नुमा नै आफ्नो लक्ष्य किन बनाए । तिनीहरूले जपेको “वसुधैव कुटुम्बकम्“ भन्ने मन्त्र कसरी “कुटुम्बैव वसुन्धराम्“ मा अनुदित भयो ? सहिदको रगतको रोयल्टीरकम किन मेरा आदर्श नेताको कन्तुरमा मात्र खनियो । मलाई समृद्धिको हरियो घाँस देखाएर मेरै गर्धनमा खुकुरी राखी कसरी समृद्धिको कुलो आफ्ना खेतमा मात्र फर्काइयो ? जनताको स्वार्थ निजी स्वार्थमा फगत किन अनुवाद भयो ? यहाँ आन्दोलनले जन्माएका शक्तिशाली सुकिला नेताहरू एकाएक कसरी र किन निर्वस्त्र हुँदै गए ? हरेक आन्दोलनको लगाम समातेर शिखरमा पुगेका अग्राखजस्ता राजनेता कुशल शासकत्वको अग्निपरीक्षामा किन राख भए ?
मेरो देशमा जनआन्दोलन र सशस्त्र युद्धको ध्वंसात्मक परीक्षामा होस् वा वैचारिक तथा अहिंसात्मक जाँचमा किन नहोस्; हरेक परीक्षामा उच्चतम अङ्क प्राप्त गरेका राजनेताहरू कुशल शासकको सिर्जनात्मक परीक्षामा भने न्यूनतम अङ्क प्राप्त गर्न नसकेर किन असफल भइरहेछन् । हरेक आन्दोलनका हिरोहरू शासनको सिंहासनमा बस्दा किन जिरो बनिरहेछन् ? उनीहरूले लगाएको विचारको सुन्दर वस्त्रमा उनीहरू आफैले व्यवहारको कुरूप हिलो किन पोतिरहेछन् । सत्र हजारको सहादत किन सत्र जनाजतिको समृद्धिका लागि मात्र मटियामेट भयो ? लोकतन्त्रका लागि चौध वर्ष जेल परेको नेता केबल चौधपन्ध्र जनाको घेराभित्र खुम्चिएर पनि सारा ब्रह्माण्ड देखिरहेको भ्रम पाल्दापाल्दै किन लोककै आक्रोशबाट बच्न एक्कासि आकाशतर्फ पलायन हुनुपर्यो ?
मेरो प्यारो देशले इतिहासमा केही कुशल शासकहरू नजन्माएको त होइन, तर ती सबै शासकहरू राजनेता वा जननेताको कसीमा सफल हुन सकेनन् । यस देशको इतिहासका केही सग्ला पक्षहरू सर्सर्ती हेर्दै जाँदा अंशुवर्मा एउटा महान् शासक थिए र कुशल शासनकर्ता थिए तर उनी जनताबाट निर्वाचित थिएनन्, जन परीक्षित थिएनन् । पृथ्वीनारायण शाह एउटा यस्ता शक्तिशाली, कूटनैतिक, महान् शासक र राजा थिए उनकै कुशल शासकत्वको परिणाम स्वरूप आज हामीले नेपाली हुँ भनेर गर्व गर्न सकिरहेका छौं, तर उनले स्थापित गरेको वंश परम्परा र त्यसपछि आउने कतिपय राजाहरूको दुर्बलता, कमजोरी र जनचाहना विपरीतका आचरणका कारण शाहवंशीय राजाले गरेका दोषका भारीको अंश उनीमाथि पनि प¥यो । शाहवंशीय वंश परम्परालाई जस्तोसुकै अवस्थामा पनि सहन गर्नुपर्ने बाध्यताका कारण र यस्तो परम्पराका सूत्रपातकर्ता भएकै कारण उनमा राजनेताको महानता भए पनि उनले स्थापित गरेको वंश परम्पराका कारण त्यो छवि पनि धूमिल पारियो ।
जंगबहादुर अर्का एक कुशल शासक मानिए पनि उनको उत्पत्ति नै भारदारहरूको रगतको आहालबाट भएको र अङ्ग्ग्रेज शक्तिको आशीर्वादरूपी मलजलमा उनको पालनपोषण भएकाले एउटा सैन्य निरंकुश शासकका नाताले उनी राजनेता हुने कुरै भएन । दरबारिया दाउपेच र भारदारिया षड्यन्त्रले थिल्थिलिएको नेपालमा राष्ट्रियता रोगाएका बेलामा सैन्य–शक्ति बलमा भए पनि भीमसेन थापाको उदय देशभक्ति र राष्ट्रियताका सन्दर्भमा महान् ऐतिहासिक कदम भए पनि उनको तीस वर्षे शासनमा विरोधीहरू निमिट्यान्न पारेर शासन जोगाइ राख्ने नियत र सुगौली सन्धिमा नेपालको तीतो पराजयको नैतिक जिम्मेवारी बोक्नु पर्ने बाध्यताले गर्दा पनि उनी कुशल राजनेता हुन सकेनन् ।
नेपालको इतिहासमा सर्वाधिक विवादास्पद तर कुशल शासकका रूपमा राजा महेन्द्र सम्झनलायक व्यक्तित्व भए पनि जननिर्वाचित सरकारका सर्वाधिक लोकप्रिय राजनेताको नेतृत्वको सरकारलाई ढालेर निर्दलीय पञ्चायती व्यवस्था मार्पmत प्रजातन्त्रको घाँटी निमोठेको आरोप (?) लागेकै कारण महेन्द्रका पालामा भएका विकास, निर्माण, देशभक्ति, राष्ट्रियता, प्रशासनिक कार्य जस्ता अभूतपूर्व एवं दूरदर्शी कार्यकलापहरू समेत पूर्णतया ओझेलमा परेकै छन् । अझ यसो भनौं महेन्द्र कुशल शासक त थिए तर जनप्रिय राजनेताका न्यूनतम योग्यताको लोकतान्त्रिक परीक्षामा उनी सामेलै हुन खोजेनन् । यसरी यस देशमा जोजो कुशल शासकको पङ्क्तिमा देखिए ती सबै राजनेताको कसीमा खरो उत्रेनन् !
मेरो कल्पनाको राजनेताले कुनै अन्त्तर्राष्ट्रिय वाद वा प्रणालीका सूत्र नखोकी जनताका सुखदुःखसँग सम्बन्धित सूत्र रटिदिए पुग्छ । मेरो राजनेताले स्थानीय उत्पादनमा नयाँ सिस्टम बसालिदिए पुग्छ भने राज्यबाट प्रदान गरिने सेवा सुविधा पाउन जनताले नेतालाई चिन्नै पर्ने दुर्भाग्यबाट मुक्ति दिए पुग्छ । राज्यका सुविधा लिन भनसुनको भर र खेतीपातीमा मनसुनको भर पर्ने स्थितिबाट मुक्ति दिए पुग्छ । राज्यका कर तिर्न पनि झन्झट बेहोर्न नपरे पुग्छ । नागरिकताका लागि निवेदन मात्र होइन, राजस्व तिर्ने, राहदानी बनाउने जस्ता सुविधाहरू अनलाइनमार्फत उपलब्ध गराउने “स्मार्ट“ सेवा प्रणाली लागू गरिदिए पुग्छ । स्थानीय उत्पादनलाई नगदमा रूपान्तरण गर्नका लागि केही प्रभावकारी कदम चालिदिए पुग्छ । जसअन्तर्गत विद्यालयको दिउँसोको खाजा कार्यक्रमलाई स्थानीय किसानसँग जोडी कृषि उपजको सुनिश्चित बजार सिर्जना गरिदिए हुन्छ । स्थानीय उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने मात्र होइन त्यसको प्रभावकारी कार्यान्वयन गरिदिए पुग्छ । गनाएका सहकारीलाई कडा कानूनका कोर्राले प्रशोधन गरी किसान समूह र सहकारीलाई सबलीकरण गरी उनीहरूलाई ठूलो परिमाणमा उपज सङ्कलन र बिक्री गर्न सक्षम बनाउने वातावरण तयार पारिदिए पुग्छ । गाउँपालिका तहमै कृषि उपज सङ्कलन केन्द्र र शीत भण्डार निर्माण गरिदिए पुग्छ र बिचौलियाको अन्त्य गरी किसानको उपज भण्डारण र ढुवानीमा सहजता ल्याइदिए पुग्छ ।
मेरो कल्पनाको राजनेता अब महान् जननेता र राजनेताका साथै कुशल शासक हुनुपर्ने छ । जोजो असल शासक भए ती ती राजनेता रहेनन् र जो जो महान् राजनेता भए ती ती कुशल शासक बन्न सकेनन् । यही नै मेरो देशको दुर्दशा हो र मेरो दुर्भाग्य पनि हो । अब मेरो देशमा जो शासनको आसनमा विराजमान हुन्छ त्यसले जनतालाई सुख दिनु पर्दैन दुःख नदिए पुग्छ, शान्ति दिनु पर्दैन अशान्ति नदिए पुग्छ, माम दिनु पर्दैन काम दिए पुग्छ, इज्जत दिनु पर्दैन बेइज्जती नदिए पुग्छ, हाँसो दिनु पर्दैन आँसु नदिए पुग्छ, गरिबका छोराछोरीलाई तत्काल स्वदेशमै रोजगारी दिन सक्दैनौ भने केही छैन तिनीहरूले रगत पसिना बगाएर पठाएको रेमिटेन्सलाई विनाश नगरिदिए पुग्छ, विकासका काममा खर्च गरिदिँदा मोटो कमिसन नलिइदिए पुग्छ, “आफूमात्र धनी बन्छु“ भनेर हिँड्छौ भने ठीकै छ तर देशलाई गरिब बनाउने कागजमा सहिछाप नगरिदिए पुग्छ ।
मेरो कल्पनाको राजनेताले डनवाद र धनवादलाई टाउकामा टेकाएर जनवादको जप नजपिदिए पुग्छ । नयाँ रूख रोप्न नसके केही छैन भइरहेको प्रकृतिलाई नमासिदिए पुग्छ, सम्पन्न अर्गानिक बहुसंस्कृतिरूपी चामललाई आयातीत संस्कृतिको पिठोसँग नसाटिदिए पुग्छ । हाम्रा मान्छेलाई काखा र राम्रा मान्छेलाई पाखा नगरिदिए पुग्छ । उज्यालो दिन सक्दैनौ भने ठीकै छ अँध्यारो नथपिदिए पुग्छ । जनताले आफ्नो शासकलाई सम्झँदा गौरव गर्न नपाए पनि घृणा गर्ने स्थिति नआइदिए पुग्छ । राम्रो काम गर्न सक्तैनौ भने ठीकै छ तर नराम्रो काम चाहिँ कृपया नगरिदिए पुग्छ । मेरो देशमा मेरो कल्पनाको राजनेताले कुशल शासकको प्रारम्भिक परीक्षामा समुत्तीर्ण हुन प्रारम्भिक कक्षाको वर्णमालाका यी कखराहरू राम्ररी पढिदिए पुग्छ ।
