close

Asides

साहित्यिक युगनिर्माता शारदा र ऋद्धिबहादुर मल्ल

 

विजय चालिसे

सुरुमा नेपाल बाहिरबाट प्रारम्भ भएको नेपाली साहित्यिक पत्रकारिताको इतिहास पनि गोरखापत्रको सहयोग बिना पूर्ण बन्न सक्दैन । नमुनाका लागिसमेत कतै उपलब्ध हुन नसकेको सुधासागर (१९५५) पछि अखबारी पत्रकारिताका साथै साहित्यिक पत्रकारिताको दुवै भूमिका गोरखापत्रले नै वहन गर्दै आयो । त्यसपछि वि.स. १९९१ माघ महिनादेखि नियमित रूपमा प्रकाशित शारदा र जोरगणेश प्रेससँगै साहित्यिक पत्रकारिताका साथै मुद्रणको इतिहासले पनि फड्को मा¥यो । यो नेपाली साहित्यले आधुनिक युगमा प्रवेश गर्दाको महत्वपूर्ण परिघटना पनि थियो । त्यसैले नेपाली सहित्यमा शारदा, जोरगणेश प्रेस र यी दुवैका सम्पादक, प्रकाशक तथा सञ्चालक ऋद्धिबहादुर मल्लको अत्यन्त महत्वपूर्ण योगदान रहेको छ । समालोचक कृष्ण गौतमको भनाइ सापट लिँदा यसो भन्न सकिन्छ, यसको गहकिलो भूमिका नेपाली साहित्यलाई आधुनिकता तर्फ डोहोर्याउनुमा रहेको छ ।

जङ्गबहादुरले बेलायतबाट फर्कंदा नेपाल भित्र्याएका पहिलो छापाखाना गिद्धे प्रेस (१९०८)को आगमन पछि छापाखानाको सङ्ख्या बढ्दै जानुका साथै नेपालमै पनि यस्ता छापाखानाहरू निर्माण हुन थाले । यसबाट मुद्रण कार्यमा सरलता आयो । नेपालभित्रैबाट प्रकाशन कार्य सम्भव हुन पुग्यो । यही क्रममा युवाकवि मोतीराम भट्टले नेपालमा व्यावसायिक छापाखाना खोले र त्यही छापाखानाबाट सुधासागर निस्केको थियो,भनिन्छ । त्यसको लगत्तै गोरखापत्र (१९५८) को प्रकाशन प्रारम्भ भयो ।

इतिहासमा मात्र सुनिने सुधासागरलाई बिर्सने हो भने शारदाको प्रकाशन हुनुपूर्व साहित्यिक पकारिताको प्रारम्भ नेपाल बाहिरबाट भयो । त्यसक्रममा उपन्यास तरङ्गिणी( १९६३, वनारस), सुन्दरी(१९६५, वनारस), माधवी(१९७१,वनारस), चन्द्र (१९७१,वनारस), चन्द्रिका(१९७२,खर्साङ), तरुण गोर्खा(१९८५, देहरादुन) आदिको उल्लेख भेटिन्छन् ।

सुरुदेखि नै मुरारी गुरुको सङ्गत र गोरखा भाषा प्रकाशिनी समितिको आउजाउका क्रममा नेपालीमै पुस्तक प्रकाशन गर्ने सपना हुर्काएका ऋद्धिबहादुर मल्लले भारतबाट आउने टेलिग्राफमा छापिएको प्रिन्टिङ प्रेसको विज्ञापन देखे । त्यसपछि उनमा त्यो किन्ने हुटहुटी बढ्यो । आमासँग रोईकराई गरेर मागेको सय रुपियाँले उक्त प्रेस मगाए । यसरी १९७१÷७२ सालतिर नेपालमा एउटा महत्वपूर्ण छापाखानाको स्थापना भयो । यसरी जोरगणेश प्रेसको प्रारम्भ भएपछि शारदा प्रकाशनको निमित्त समेत दरिलो आधारशिला खडा हुनगयो (ऋद्धिबहादुर मल्ल, आत्मकथा, उन्नयन–२५, साउन–पुस २०५८) ।

शारदाको प्रकाशनको कथा पनि कम सङ्घर्षपूर्ण छैन । पछिल्लो पञ्चायतकालीन नेपालमा त पत्रिका प्रकाशनका गर्ने स्वीकृति पाउनु समेत सजिलो थिएन भने राणाकालीन त्यो समय कति कठिन थियो होला ? सहजै अनुमान लगाउन सकिन्छ । सत्तारूढ राणा शासक र अन्य शक्तिशाली भारदारहरू गोरखापत्र एउटा छँदैछ, अर्को किन चाहियो र भन्ने मानसिकतामा थिए ।

नेपाली भाषामा एउटा पत्रिका निकाल्ने ऋद्धिबहादुर मल्लको प्रस्ताव सुनेपछि सरदार रुद्रराज पाण्डेले त्यसलाई गोरखा भाषा प्रकाशिनी समितिको बैठकमा लैजानु भयो । विडम्बना, समितिका सदस्यहरू उक्त प्रस्तावमाथि छलफल गर्नसमेत तयार भएनन् । त्यसको लागि फेरि उनै प्रिन्सिपल बाजे रुद्रराज पाण्डले शिक्षा निर्देशक मृगेन्द्र शमशेरलाई गुहार्नुप¥यो । आफूले अघि बढाएको प्रस्तावको बेवास्ता गरिएपछि पाण्डेले नै शिक्षा विभागका डाइरेक्टर मृगेन्द्र शमशेरसँग सरकारकै लागि पनि एउटा पत्रिका निकाल्ने अनुमति दिनु राम्रो हुने कुरा राख्नुुभएछ । अनि बल्ल समितिमा निेवेदन दिने आदेश भएर जुद्धशमशेरद्वारा मासिक पत्रका निकाल्ने अनुमति प्राप्त भएछ ।

शारदाका पूर्व सम्पादक प्रसिद्ध साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको अनुभव पनि यस्तै छ । उहाँको भनाइमा पनि शारदाले प्रकाशनको अनुमति पाउनु भाग्यको कुरा थियो । “केही दिन अघि मात्रै जाबो लाइबे्ररी स्थापनाको इजाजत प्राप्त गर्न निम्ति बिन्तीपत्र चढाउने जतिले सजायको भागी हुनु परेको थियो । यस्तो वातावरणमा “शारदा” पत्रिका जन्मने इजाजत पाउनु भाग्यको कुरा थियो (गोविन्दबहादुर मल्ल, प्रकाशन सहमति मन्तव्य, शारदाका सम्पादकीय विचारहरू, नेराप्रप २०५८) ।

यसरी गोरखापत्रका पूर्व सम्पादक प्रेमराज शर्माको सहयोग लिएर वि.सं. १९९१ सालको माघ महिनामा शारदाको पहिलो अङ्क प्रकाशन भएर नेपाली साहित्यिक पत्रकारिताको नयाँ इतिहास प्रारम्भ भयो । “छापाखाना रमासिक पत्रिका अहिलेको संसारमादाल, भात , तरकारीभन्दा पनि आवश्यक भइसके । यसै संसारभित्रका हामीहरूमा पनि यो भावना प्रबल हुँदैगयो । …यसको कारण मनुष्यलाई साँचो मानिस बन्नका निमित्त सकेसम्म सजिला साधनहरूको आवश्यकता छ । यो आवश्यकतालाई राम्ररी बुझेका पक्षमा बीसौं शताब्दीको मनुष्य–समाजलाई साहित्यिक पत्रपत्रिकाको जरुरी पनि सहजै बुझ्न सकिन्छ” भन्ने उद्घोष सहित निस्केको शारदा आफ्नो उद्देश्यमा पनि स्थिर रही प्रा यदुनाथ खनालको शब्दमा “शारदा युग” को निर्माण गर्न सफल भयो ।

निस्कन त निस्क्यो, खड्गो भने सुरुदेखि नै अनेकौं भोग्नु पर्यो शारदाले । कहिले समितिको व्याकरणसँग मेल नखाने लेख “लेखकको इच्छामुताविक लेख जस्ताको तस्तै छापिएको छ ।” भन्ने पादटिप्पणी राखेर छाप्दा खप्की खानु परेर पत्रिका बन्द हुने डरले सातो लग्यो, कहिले ग्राहकले शुल्क नतिर्दा आर्थिक सङ्कट परेर बन्द हुने तहसम्मको समस्या भोग्नुपर्यो । यसैबिच भारतीय डाँक व्यवस्था बन्द भएर नेपाल आफैंले हुलाक व्यवस्था सञ्चालन गर्न थालेपछि अर्को समस्या थपियो । भारतीय डाँक व्यवस्थामा चार पैसामा हुलाकले ग्राहकसम्म पु¥याइदिने पत्रिकालाई आफ्नै हुलाक व्यवस्था सुरु भएपछि भने बाह्रदेखि पच्चीस पैसासम्म लाग्ने भयो । फलतः शारदाको प्रकाशनले निरन्तरता पाउन सकेन । कुन कारणले पत्रिका रोकिएको भन्ने कुरा राणा प्रधानमन्त्री जुद्ध शमशेरसम्म पुगेपछि बल्ल शारदा पत्रिका हुलाकमा ००१ नम्बरमा दर्ता गरी ग्राहकसम्म चार पैसामा नै शारदा पु¥याउने आदेश भयो । हुलाक दर्ता नम्बरमा शारदाभन्दा धेरै वर्ष अगाडिदेखि निस्किएको गोरखापत्रलाई यसले उछिन्यो । शारदाले दर्ता नम्बर ०१ पायो, शारदाभन्दा पछाडि दर्ता भएको गोरखापत्रले ००२ ।
शारदाले फेरि पुनर्र्जीवन प्राप्त गर्यो । ग्राहक शुल्क नउठ्ने समस्यासँगै फेरि अर्को समस्या भोग्नुप¥यो यो ऐतिहासिक प्रकाशनले । त्यही बेला ९७ सालको काण्ड सुरुहुनु अगाडिदेखि नै मानिस त्रस्त हुँदै गए । केही बोलियो भने त जिभ्रो थुतिएला भन्ने त्राशको त्यस अवस्थामा लेख्दा तलमाथि पर्ला भन्ने डरका कारण बरु लेख्दै नलेख्ने कुरा स्वाभाविक थियो । फलतः शारदका निमित्त प्रकाशनार्थ रचनाहरू नै आउन बन्द भए । लेख नै नभएपछि छाप्ने पो के ? त्यतिबेलाका सम्पादन सहयोगी हुनुहुन्थ्यो युगकवि सिद्धिचरण श्रेष्ठ । सम्पादक सुब्बा ऋद्धिबहादुर मल्लको यो भनाइले त्यतिबेलाको अवस्था प्रष्ट पारेकोछ । उहाँ भन्नुहुन्छ,“९३÷९४ सालको पत्रिका पल्टाएर हेरेमा पत्रिका लँगडाउँदै थिचिँदै थिचिँदै प्रकाशित भएको प्रष्टै थाहा हुनेछ । संपादकीय लेख्दा पनि चारैतिरको हावापर्यन्तलाई बचाउँदै लेख्नुपर्ने अवस्था भएकोले प्राय सबै जस्तो लेखमा श्री ३ को गुणगान नै गर्नु पर्दथ्यो नत्र, पत्रिकाको धुकधुकी पर्यन्त अवरुद्ध हुने डर थियो ।” फलतः १९९७ मा आएर पत्रिकाको प्रकाशन नै बन्द भयो ।

२००२ सालमा शारदाको सम्पादकमा गोपालप्रसाद रिमाल आउनुभयो । रिमाल राणा विरोधी आन्दोलनमा संलग्न रहनुभएको थाहा पाएर राणा सरकाले सम्पादक फेर्ने दबाब दिएकोले केही समय ऋद्धिबहादुरकै सुपुत्र साहित्यकार गोविन्दबहादुर मल्लले शारदाको सम्पादन भार लिनुभएकोरहेछ । यसरी लड्दै उठ्दै २८ वर्षसम्म चलिरहेको शारदा २००७ पछि केही समय चलेर बन्द भएर एउटा इतिहासको पटाक्षेप हुनपुग्यो । अन्वेषक शिव रेग्मीका अनुसार शारदाका जम्मा १८० अङ्क निस्किए पनि तिनमा २६ वटा अङ्क संयुक्त भएर निस्केका थिए (शिव रेग्मी सं, शारदाका सम्पादकीयविचारहरू २०५८, नेराप्रप्र)।

कुनै बेला यसको सम्पादकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले पसिना बगाउनु भएको शारदाको दाँजोमा पुग्ने अर्को त्यतिबेलाको कुनै पत्रिका छैन । यस्तो मान्यता राख्नुहुने प्रसिद्ध समालोचक रामकृष्ण शर्मा (उन्नयन–२५, साउन–पुस २०५८ ) का अनुुसार “विक्रम सम्वत् १९९० देखि यसो छापिएका साहित्यिक पपत्रपत्रिकाको मूल्याङ्कन गर्दा सर्वोच्च स्थानमा “शारदा” ले र “शारदा” मात्र पाइन्छ । यसरी आधुनिक नेपाली साहित्यको प्रेरणाको मुहान बनेको “शारदा”माजस्तो रचनाको वैशिष्ट्य अरु पत्रिकामा पाउन सकिन्न ।”

यति हुँदा हुँदै पनि कतै कुनै कोणबाट शारदाले मात्र हुकुमी शासनको तावेदारी गर्यो अर्थात राणा शासनको जयजयकार गरेर अलिकति पनि प्रगतिशीलता देखाउन सकेन भन्ने आरोप पनि नखेपेको पनि होइन । यो आलोचना भनेको युगीन परिस्थितिबाट अनभिज्ञ केहीले भानुभक्तलाई गरेका आलोचनाजस्तै मात्र हो भन्ने मेरो धारणा छ । त्यो समय कस्तो थियो र मात्रप्रकाशनको लागि के कति तारतम्य मिलाउनु पर्दोरहेछ भन्ने कुरा माथिका कथाबाट प्रस्टै देखिन्छ । त्यस अवस्थामा कठिनतापूर्वक निस्किएको साहित्यिक पत्रिकामा क्रान्तिकारिताको अपेक्षा गर्नु स्वयम्मा न्यायसङ्गत नहोला । त्यो अवस्थामा शारदा राजनीतिक गन्धहीन भयो, परिवर्तनको सहयोगी बनेन भन्ने आरोपले शारदाको समग्रयोगदानमाथि पटक्क सम्मान गर्दैन । त्यस्तो अवस्थामा एउट पत्रिका निस्कनु नै ठूलो कुरा थियो त्यसैलाई आत्मसात् गरेर अगाडि बढ्नु नै बुद्धिमानीपूर्ण कार्य हो ।

“श्री ३ महाराजको असीम उदारता (सम्पादकीय वर्ष ४, अङ्क ५–६, भदौ–असोज १९९५)” जस्ता सम्पादकीय विचारलाई लिएर यस्ता आलोचना गरिँदा शारदाले नै त्यतिबेला उठाएको, “…. विदेशी बैंकमा द्रव्य साँच्नु भन्दा आफ्नो देशमा यता उता परिरहेको नाङ्गा डाँडाहरू सिँगार्नु धरै बेस ।”, “…आर्थिक स्थिति बलियो नभएको राष्ट्रको कुनै स्थिति पनि बलियो हुँदैन ।” , “…आसपासको संसारमा निरीक्षण गरेनौं भने आफ्नो आदर्शको दृष्टिबाट हामी कहाँ पुग्यौं सो पूर्णतया थाहा पाउने छैनौं । अतएव क्षणभर आसपास हेर्ने प्रयत्न पनि गरौं (सम्पादकीय वर्ष ४, अङ्क १२, चैत्र १९९५) ।” भन्ने सम्पादकीयका श्याम व्यङ्ग्य र यथास्थितिप्रतिको नजानिंदो विरोधलाई पनि ध्यान दिनु आवश्यक छ । यी दुईवटासम्पादकीय मात्रैको अध्ययन गर्ने हो भने पनि त्यतिबेला यति मात्रै पनि आलोचनात्मक दृष्टिकोण राख्नु सानो कुरा थिएन भन्ने प्रस्ट हुन्छ ।

शारदाले विभिन्न स्वनामधन्य साहित्यकारका मौलिक रचनाका साथै बङ्गाली र फ्रान्सेली भाषाका कथा–उपन्यासलाई अनुवाद गरेर प्रकाशित गरेको देखिन्छ । त्यसका अतिरिक्त उपन्यासहरूमा स्वयम् ऋद्धिबहादुर मल्लका शर्मिष्ठा र अन्यमा वीरचरित्र विशेष उल्लेख्य रहेका छन् । शारदामा प्रकाशित मौलिक सामग्रीहरूमा कविता, कथा, निबन्ध, र समालोचक रघु घिमिरेका अनुसार केही नाटक पनि रहेका देखिन्छन् । यसका स्वनामधन्य नेपाली साहित्यकारहरूमध्ये लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे लगायत त्यस युगका सबै छापिएका भेटिन्छन् भने अन्य धेरै लेखक साहित्यकार शारदाबाट नै स्थापित भएका छन् भन्नु बेठिक नहोला !
टिप्पणी : (यो आलेख उन्नयन रजत अङ्क र शारदाका सम्पादकीयहरूशीर्षक कृतिका सूचनाहरूमा आधारित रहेको छ । )
(विजय निवास, आरुबारी, काठमाडौँ)

read more

नेपाली साहित्यमा महत्तम प्राप्ति भित्र्याउने पत्रिका–‘प्रगति’

रोचक घिमिरे ‘प्रगति’ साहित्यिक पत्रिका नारायणप्रसाद बाँसकोटाको सम्पादन–प्रकाशनमा २००९ सालमा प्रकाशित भएको हो । त्यसो त यो पत्रिकालाई डा.ईश्वर बरालले २००८ सालमा र ग्रीष्म बहादुर
read more

गीत

गोविन्द विनोदी तिम्रो माया छातीभरि सजाएर राख्छु आमा तिम्रो नाउँको ज्योति सधैँ जगाएर राख्छु आमा विदेशीको छाया कैल्यै यो माटोमा पर्न दिन्नँ कसैलाई काँडा मैले
read more

फल हो के को ?

ओमप्रकाश अधिकारी ‘बेफुर्सदी’ नारायणगढ बजारलाई बायाँ पार्दै पश्चिमतिर सलल्ल बगेकी नारायणी नदीको किनारमा वसन्त पञ्चमी (श्रीपञ्चमी) को दिनदेखि सञ्चालन हुने विश्व कल्याण कोटिहोम महायज्ञमा भक्तजनको
read more

किन आयो त्यो रात

– डा. अमर कार्की

अब उसको लोग्ने छिटै यो संसार छोडेर जाँदै थियो तर रमालाई लोग्नेसित मायाभन्दा घृणा लागेर आयो । रिस पनि उठेर आयो । आफैले घाटी थिचेर मारी दिऊँ जस्तो पनि लाग्यो । फरक्क अर्कोतिर फर्केर भित्तामा टाङ्गिएको भित्तेपात्रोलाई हेरेर टोलाइरही । सात महिना अघिको त्यो दृश्य सिनेमाको रिलजस्तै घुम्न थाल्यो उसको दिमागमा ।’ ए रमा, बाबुले यो आइतबार आइपुग्छु भनेको हैन ?’ पिढीँमा थचक्क बसेर नाङ्लामा चामल केलाइरहेकी रमालाई सासूले सोधिन् ।

‘हो आमा तर एक दिन मात्र बस्न मिल्ने रे हेर्नु न कस्तो भन्या !’

हातमा दुधको बाल्टी बोकेर घरभित्र छिर्नै लागेकी सासू रमाको जबाफ सुनेर टक्कै अडिइन् । र उनले रमातिर मुन्टो फर्काएर भनिन्, ‘खै के के तिमीहरूको म त कुरै बुझ्दिन ! बिहे गरेको तीन वर्ष पूरा भएर चार लागि सक्यो । दुई पुस्तालाई पुग्ने सम्पत्ति जोडिसक्यौ । अब केलाई पर्खिरहेको हो ? एउटै लगनमा भित्र्याएको सुन्तलीको छोरो हजुर बाउको औँलो समाएर टुकुटुकु हिँड्ने भइसक्यो । के मचाहिँ नाति नातिनाको मुखै नहेरी मरौँ ?’ सासूको कुरा सुनेर रमाको मन बेचैन भो । केही नबोली उठेर करेसातिर लागी ।

निलो र सफा आकास । डुब्नै लागेको घाम । क्षितिजमा रङ्गीन घेरो अनि मन्द मन्द पवनको मुलायम स्पर्श । के यति पर्याप्त थिएन र फूलको लागि भमरालाई मोहनी लगाउन तैपनि मन स्थिर थिएन आज । एक वर्षपछि आज श्रीमान् घर आउँदै छ । त्यो पनि एक दिनको लागि ।

बिहे भएको महिना दिनमै श्रीमान् विदेश गएकाले ऊ एक्ली सासूको साथ घर सम्हालेर बसेकी थिई । श्रीमान्ले विदेशबाट कमाएर ल्याएको पैसाले घर, जग्गा र गहना जोडेर केही रकम जगेर्नासमेत गरिसकेका थिए तर सासूको नाति हेर्ने इच्छा पूरा हुन सकेको थिएन । अब त बिस्तारै सासूले बुहारीको कोखतिर शङ्का गर्न थालेकी थिइन् ।

त्यसैले आज ऊ अठोट गरेर बसेकी थिई । श्रीमान्लाई मन पर्ने चम्सुरको साग र काउलीको तरकारी, धनियाँ र पुदिना हालेर पिँधेको गोलभेडाको अचार, खसीको खुट्टाको झोल र यही दिनलाई भनेर जोगाएर राखेको एक मानो जति मसिनो वासमतीको चामलको भात पाकिसकेको थियो । लक्ष्मी दिदीले बताए बमोजिमको तागतिलो खानेकुरोको जोरजाम गरिसकेकी थिई । आफू पनि नुवाइधुवाइ गरेर पोहर साल बुढाले उतैबाट ल्याइदिएको नाइटी तयार पारेर राखेकी थिई ।

बेलुकी ७ बजे श्रीमान् घर आइपुग्यो । खाना खाने बेलामा सासूले फेरि सुनाइन्– ‘हे बाबु बुहारीलाई एकपटक डाक्टरकोमा देखाउन लैजा ।’ सासूको कुराले रमाको मन दुख्यो । उसले लोग्नेको मुखतिर पुलुक्क हेरी । लोग्नेले के हो भनेर आँखैको इशाराले सोध्यो । ऊ भरे भनौँला भन्दै चुलो लिप्न थाली । त्यो रात उसले चाहेबमोजिम नै बित्यो ।

छिट्टै फर्कन्छु भनेर मदन उतै फर्कियो । रमा फुरुङ्ग थिई । महिनावारी रोकियो । सासूको भुइँमा खुट्टा थिएन । धारो, पँधेरो, चौतारो भेटेका जति सबैसँग खुसी बाँड्दै हिँड्थिन् । सासूबुहारी घन्टौँसम्म थाङ्नादेखि कोक्रोसम्मको कुरा गरेर दिन बिताउँथे । आजकाल बुहारी पिँढीमा र सासू बारीमा हुन्थे । लाग्थ्यो घरमा खुसीको वर्षा हुँदै छ । यसरी दिन महिना बित्दै गयो । पेटमा हुर्कंदै गएको खुसीलाई बेलाबेलामा मुसारेर सुनौला दिनको कल्पनामा डुबिरहन्थी ।

मदन सात महिनापछि नै घर आयो । श्रीमान्को काखमा पल्टिएर नयाँ पाहुनाबारे कुरा गर्न आतुर थिई ऊ तर श्रीमान्को आलिङ्गन चिसो थियो । सुकेको थियो । उसले बुझ्न सकेकी थिइन, किनकि यसपटक ऊ एक्लै आएको थिएन साथमा एउटा आँधी बोकेर फर्केको थियो ।
डाक्टरले त्यो भुमरीको पोको खोलेपछि रमाको मस्तिष्कमा गएको एक वर्षदेखि श्रीमान्ले सधै केही बाहना बनाउँदै उसको कुरा टार्दै आएको तर सात महिना अघिको त्यो रात कसरी आफ्नो बर्बादीको ढोका खोल्न प्रेरित गरेकी थिई सम्झी । त्यो रात लोग्नेले लगाउन खोज्दा उसले नै ‘भो लगाउन पर्दैन आज । आमाको कुरा सुनेनौ । अब हाम्रो बच्चालाई खेलाइ खेलाइ पाल्ने सम्पत्ति पनि जोडिसकियो नरोकौँ आउन देऊ । पु¥याइदिऊँ आमाको नाति नातिना हेर्ने इच्छा’ भनेर उसको हातबाट खोसेर फालिदिएकी थिई ।

‘मुख थिएन र पापीको आफूलाई एड्स लागेको छ भन्न । आफूले गरेको अपराधको भागी हामीलाई समेत बनायो अपराधीले’ आफ्नो पेट सुमसुम्याउदै बलिन्द्र धारा आँसु खसाल्दै एकपटक घृणा र क्षोभले भरिएको आँखाले लोग्नेतिर हेरी । त्यसपछि बाढीमा बगिरहेको मान्छेले पहिरोबाट खसी रहेको रुखको हाँगातिर हेरे झैँ निरीह भएर सासूको मुखमा हेरी तर त्यहाँ कुनै साहारा थिएन । थियो त केवल निरासा र लाचारी अनि अन्धकार ।
धापाखेल, ललितपुर, हाल : फ्लोरिडा, अमेरिका ।

read more

श्यामप्रसादका रचना

– वासुदेव अधिकारी नवप्रज्ञापनको वर्ष ६ (फागुन ०५४–जेठ ०५५) मा नेपाली प्रगतिवादी साहित्यका धरोहर श्यामप्रसाद शर्माले सं १९९४ मा रचना गरेका २१ वटा लेखहरूको सँगालो
read more

नवप्रज्ञापनसँग बिताएको २५ वर्ष

– प्रमोद पाण्डे म २०५२ सालमा गाउँकै विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौँ खाल्डोमा छिरेको हुँ । त्यतिबेलाको परिवेश अहिलेभन्दा निकै फरक
read more

नवप्रज्ञापनको शताङ्क सार्वजनिक

काठमाडौँ । साहित्यिक त्रैमासिक पत्रिका नवप्रज्ञापनको ५८० पृष्ठको शताङ्क सार्वजनिक भएको छ । साउन २९ गते सोमबार काठमाडौँको पद्मकन्या क्याम्पसको सगरमाथा हलमा ‘नवप्रज्ञापन शताङ्क विमर्श
read more

यात्रा प्रवेशका ३१ वर्ष

— नवराज रिजाल श्रद्धेय पाठक वृन्द, नवप्रज्ञापन शतक अङ्कका साथ यहाँहरू सामु उपस्थित भएको छ । सर्वप्रथम यसलाई यहाँसम्म आइपुग्न प्रेरणा, उत्साह, सद्भाव र सहयोग
read more