
— हेमराज अधिकारी
आयोजकमध्येकै एक जनाले सोधे, “तपाईँको परिचय ? म झस्किएँ । मेरो परिचय ? म केही भन्न खोज्दै थिएँ । उहाँ भूतपूर्व कवि ! कार्यक्रममा निम्त्याइएका एक जना विशिष्ट अतिथिले बीचमै प्याच्च बोलिहाले । मैले केही बोल्नुपरेन, उनले मेरो परिचय दिइहाले ।
प्रश्नकर्ताले के बुझे, फेरि मेरो मुखतिर फर्केर पनि हेरेनन् । कार्यक्रम पनि चानचुने थिएन । तीन तीन दिनसम्म चल्ने पूर्वाञ्चलकै ठुलो साहित्यिक महोत्सव !
म बबुरालाई पनि आयोजकमध्येकै अर्का एक जना डाक्टर सापले निम्ता गरेका थिए । पछि बुझ्दा मलाई निम्ता गर्ने व्यक्ति त त्यत्रो महोत्सवका संयोजक नै पो रहेछन् ।
पहिलो दिनदेखि नै आवासीय रुपमा रहने अतिथि भनेर निम्ता पाए पनि म चाहिँ अन्तिम दिन अर्थात् समापनमा मात्र पुगेको थिएँ । बुढा बा संस्थापक, जेठा छोरा अध्यक्ष, माहिला छोरा कार्यक्रम संयोजक, अर्का छोरा कार्यपत्र प्रस्तोता, संयोजकका पीएच.डी. का शोध निर्देशक चाहिँ महोत्सवका प्रमुख अतिथि भएर महोत्सव आयोजना भएको रहेछ । सह आयोजकमा प्रज्ञा प्रतिष्ठान र प्रदेश सरकारको नाम लेखिएको थियो ।
तिनको भूमिका के थियो, त्यसबारेमा चासो राखिएन । आसन ग्रहण, खादामाला, दोसल्ला, सम्मान र एक–अर्काको प्रशंसा, गुणगान आदि महोत्सवका प्रमुख आकर्षण थिए ।
मेरो परिचय दिने व्यक्ति स्वनामधन्य कवि थिए । उनको कविता लेख्नभन्दा पनि लेख्न सिकाउने व्यक्तिका रूपमा ख्याति रहेको छ । म उनको ठुलो ऋणी रहेको छु । उनले मलाई ज्यादै ठुलो सङ्कटबाट बचाइदिए । नत्र म मेरै परिचयमा अल्झिरहने थिएँ ।
एकछिनका लागि त म आफ्नो परिचयको सङ्कटबाट मुक्त भएँ । तर कार्यक्रमभरि दर्शकदीर्घामा बसेको मलाई त्यही प्रश्नले लखेटिरह्यो । तपाईंको परिचय ?
अँ, साँच्चै मेरो परिचय के हो त ? के मेरो नाम थर अनि ठेगाना नै मेरो परिचय हो कि मेरा मित्रले औँल्याइदिएको भूतपूर्व कवि नै मेरो परिचय हो त ?
होइन भने ती आयोजकले पुनः मसँग जिज्ञासा किन राखेनन् ? के उनले मेरो परिचय पाइसकेर चुप लागेका होलान् त ? वास्तवमा म को हूँ ? मेरो परिचय के हो त ?
यस बारेमा सोच्न पाएकै छैन । मेरा धेरै साथीहरु कोही कवि, साहित्यकार, प्राध्यापक, प्राज्ञ, डाक्टर, पण्डित, नेता आदिका रुपमा परिचित छन् । उनीहरु जसरी जे भनेर चिनिएका छन्, के वास्तविक रुपमा उनीहरुको परिचय त्यही हो ? उनीहरुको त्यही हो परिचय भने मेरो चाहिँ के हो ? के म जस्ता औसत मान्छेको परिचय हुँदैन ? परिचय बिनाको मान्छे संसारमा हुँदैन ?
एकपटक स्वामी रामकृष्ण परमहंशकहाँ एकजना भक्त पुगेछन् । माता कालीको दर्शन गर्ने उनको ठुलो इच्छा रहेछ । धेरै समय कुरेपछि स्वामी रामकृष्णले सोधेछन्– तपाईंको पनि केही जिज्ञासा थियो कि ?
ती भक्तले भनेछन् – स्वामीजी, हजुर त कालीको परमभक्त हुनुहुन्छ, मातासँग कुरा पनि गर्नुहुन्छ । कृपा गरेर मलाई पनि काली माताको दर्शन गराइदिनुहोस् । स्वामीजी मुसुक्क मुस्कुराउनुभयो र भन्नुभयो, – तपाईको ठेगाना दिनसक्नुहुन्छ ? म त्यही ठेगानामा मातालाई पठाइदिन्छु । स्वामीजीका कुरा सुनेर भक्त ज्यादै खुसी भए । उनले हतार हतार एउटा कागजमा आफ्नो घरको ठेगाना लेखेर दिए अनि यो ठेगानामा कालीमाता कहिले आउनुहुन्छ ? –भनेर सोधे । यो त तपाईंका घरको ठेगाना हो, यसमा माता आउनुहुन्न ।
मैले तपाईँका घरको, अफिसको ठेगाना मागेको होइन । तपाईंको चाहिँ ठेगाना दिनुहोस् अनि मात्र कालीमाताले आएर दर्शन दिनुहुन्छ भनेपछि मात्र भक्त जिल्लिएर सोधे – त्यसो भए मेरो ठेगाना चाहिँ के हो त ? स्वामीजीले भन्नुभएछ, त्यो त तपाईँलाई नै थाहा होला, त्यो ठेगाना भएपछि माता आफैँ त्यहाँ आउनुहुन्छ । भक्तले बल्ल बुझे । परिचय मेरो होइन, म’ को चाहिएको छ । भौतिक शरीर, रूप, नाम, स्थान र उपाधि परिचय हुन सक्दैन । परिचय मेरो होइन’ म’को चाहिएको छ ।
म परिचयको खोजीमा छु । अहिलेसम्म आफ्नो परिचय पाएको छैन, तपाईंले आफ्नो परिचय पाउनुभयो कि छैन ? महोत्सव त सकियो तर आयोजकले सोधेको प्रश्न झन्झन् तिख्खर बनेर मस्तिष्कमा मडारिन्छ । र, सम्झन्छु आफ्नै कविताका यी हरफहरु–
चारै वेद पढेँ, पढेँ उपनिषद् सर्लक्क वेदान्त त्यो
सारा दर्शनको चुरो सब गमेँ, पूर्वीय पाश्चात्यको ।
यो ब्रह्माण्ड बुझेँ रहेन अब क्यै भन्नेहरु ती पनि
आफैँ को हूँ भनेर चिन्न नसकी आफैँ घुमे फन्फनी
अहिले पनि दिमागमा ताजै छ ”तपाईँको परिचय ?”





