close

त्यागको अभिलेख

— ध्रुव मधिकर्मी

कुनै बेला एउटा कथा पढेको थिएँ । कथा या कविता ! अलि अन्योल भयो अहिले । जेहोस् पढेको थिएँ विद्यार्थीकालमा । पाठ्यक्रममा भएको । धेरै समय अगाडिको कुरा भएकोले अहिले कथा या कविता भनेर कन्फ्युज्ड भएको हुँ । तर त्यो कति प्रभावकारी थियो भने जुन विषय आज पनि दिमागमा सुरक्षित छ । विषय हो एउटा देवदूत एकजना सज्जन मान्छेको अर्धसपनामा आउँछ र उसले त्यो सज्जनलाई असल मान्छेहरूको सूचीमा तिम्रो नाउँ त सबभन्दा तल छ भन्छ । तर उसको शिष्टता, आतिथ्य र व्यवहार आदि देखेर देवदूतले जाने बेलामा भन्छ, हेर असल व्यक्तिहरूको सूचीमा तिम्रो नाउँ सबभन्दा माथि छ भनेर देखाउँछ ।

जेहोस् यस्तै छ विषय । त्यो सज्जनले आफ्नो व्यवहार विनयशीलता आदिले देवदूतलाई यति प्रभाव पार्छ कि देवदूतले जाने बेलामा आफ्नो सूची हेरफेर गर्न बाध्य भएको बताउँछ । सज्जनले चाहेको भए उसलाई भन्न सक्थ्यो मेरो नाउँ सबभन्दा माथि राख । यसले मेरो प्रतिष्ठा अझ बढ्छ आदि तर उसको सज्जनताले उसलाई त्यस्तो कुरा भन्न दिँदैन । र उसको लागि त्यो कुरा त्यति महत्वपूर्ण पनि होइन । उसले त आफ्नो स्वभाव अनुसार व्यवहार र आचरण गरिरहने हो । उसको काम त सेवा गर्ने हो, गरिरहने हो । मैले यसो गरेँ, उसो गरेँ, म यो हुँ, त्यो हुँ भनेर आफ्नो बखान गर्ने होइन र गरेन पनि । उसले आत्मप्रशंसा पनि गरेन । सज्जनको परिचय भनेकै यही हो ।

तर होइन, अहिले युग बदलिसक्यो । जसरी प्रविधि निरन्तर बदलिरहको छ । मान्छेको व्यवहार, सोच, इच्छा, आकांक्षा, चाहना पनि प्रविधिलाई माथ गरेर अगाडि बढिरहेको छ ।

त्यस्तै महत्ताकांक्षाको एउटा नमूना अहिले नेपाली राजनीतिमा देखिएको छ । त्यसो त राजनीतिमा महत्ताकांक्षा जहिले पनि निकै अगाडि छ । एजेण्डा भने कहाँ कहाँ पछाडि छ तर महत्ताकांक्षा भने सबभन्दा अगाडि छ । महत्ताकांक्षा हो कि फास्ट फुड हो छुट्याउन गाह्रो छ । सबैको महत्ताकांक्षा माथिलो पदमा पुग्ने, त्यो पनि छिट्टै पुग्ने, तत्काल पुग्ने । त्यसका लागि जेजस्ता चलखेल षड्यन्त्र गर्न सकिने हो गर्ने कुनै पनि मूल्यमा ।

फास्ट फुडलाई जङ्क फुड पनि भन्ने गरिन्छ । अचेलका प्रायः युवाहरूको रुचि त्यसैमा छ । त्यसैगरी राजनीति पनि कतिको लागि फास्ट फुडजस्तै भएको छ । अर्थात् जङ्क फुड वा जङ्क राजनीति । त्यस्तो राजनीति गर्नेलाई जङ्की नेता भन्नु उपयुक्त होला । जङ्क शब्द बाहिरको भयो । हाम्रो ठेट नेपालीमा भन्ने हो भने पत्रु शब्द उपयुक्त हुन्छ । एकजना पोषण सम्बन्धि लेखकले जङ्क शब्दलाई पत्रु भनेर अथ्र्याएका छन् । जङ्क राजनीति अर्थात् पत्रु राजनीति । यस्तो राजनीति गर्नेलाई जङ्की नेता वा पत्रु नेता । तर किन हो मलाई पत्रु शब्द अलि मन परेन । शब्द प्रयोगमा असभ्यता भयो कि भन्ने लाग्छ । यो सरासर कसैलाई अपशब्द प्रयोग गरेजस्तो लाग्छ ।

किन छुच्चो हुनु ।

हामीलाई अंगे्रजी शब्द वा विदेशी शब्दप्रति विशेष मोह छ । हामी कतिपय सन्दर्भमा नजानीकन पनि अरुको भाषा बोल्छौं । विदेशी भाषा विशेष गरी अंग्रेजी बोल्न पायौं भने स्वर्गैमा पुग्यौं कि भन्ने गर्व गर्छन् । सुन्नेले पनि कानै पवित्र भएको ठान्छन् । अनि त बोल्नेलाई के चाहियो ! मलाई पनि यस्तै बोध भयो ।

जङ्क वा जङ्की भन्दा कति मजाको युगसुहाउँदो जस्तो लाग्छ । पत्रु भन्दा कसैलाई मिठो लाग्दैन । जस्तो पत्रु खाना भन्यो भने खानेलाई त के नखानेलाई समेत वाक्वाकी लाग्छ । जङ्क फुड भनियो भने त्यस्तो पटक्कै लाग्दैन । जसलाई पनि खाउँखाउँ लाग्छ । केटाकेटी युवायुवतीका लागि त कुरै भएन । वास्तवमा अंग्रेजी शब्द कति मीठो, सोबर, सभ्य र संम्प्रेषणीय लाग्छ, त्यति नेपाली शब्द लाग्दैन । जस्तो एउटा शब्द सेक्सलाई लिऊँ । त्यसको नेपालीमा भन्नुप¥यो भने यौनसम्म ठीक छ तर ठेट नेपालीमा भन्नुप¥यो भने लाजले मुखमा शब्दै आउँदैन । त्यस्तै अन्य कतिपय शब्द छन् जसलाई हामीले अलि घुमाउरो भन्नुपर्ने हुन्छ । तर केही शब्द भने नेपालीमा बडा राम्रा छन् सटिक लाग्ने । त्यस्तै एउटा शब्द हो झिल्के । फास्ट फुडवाला राजनीति गर्ने दल र नाइकेलाई झिल्के दल र झिल्के नेता भन्दा अत्यन्त उपयुक्त जस्तो लाग्छ ।

कुरा अन्त मोडियो ।

कुरा के हो भने देवदूतको सूचीपत्रमा भएका नामावली जस्तै अहिले त्याग गर्नेहरूको नामावली पनि निक्लेको रहेछ नेपाली राजनीतिमा । वा भनौं, त्याग गर्नेहरूको नामावली तयार हुँदै रहेछ । कसले कहाँ यस्तो नामावली तयार गरेको रहेछ भन्ने कुरो बडो महत्वपूर्ण छ । यस्तो नामावली राज्यले वा सरकारी निकायले वा अधिकारप्राप्त कुनै आयोगले वा अख्तियारी संस्थाले निकालेको वा बनाउन लागेको होइन । एकजना स्वघोषित वा तथाकथित त्यागीले बनाउन लागेको हो । अझ बनाएको घोषणा समेत भएको अवस्था हो भन्दा पनि हुन्छ । अब यस्तो नामावली निक्लने वा निक्लेपछि त्यसमा नाम थपाथप गर्नेहरूको वा एकसे एकले नयाँ नयाँ नामावली निकाल्ने छन् ।

नेपालको राजनीति र राजनीतिक दल अपरम्पार छ । दलका नाइकेहरू कथामा आउने कुनै देवदूत भन्दा कम छैनन् । ती कतिसम्म ढाँट र छलकपट गर्छन् भनी साध्य छैन । सरासर झूठ बोल्नु त तिनीहरूको दायाँबायाँ दुबै हातको खेल हो ।

मुलुकमा चुनावको माहोल निर्माण हुन लागेको छ । चुनाव हुने भएपछि नयाँ नयाँ दलको निर्माण मात्र होइन दलबदल र दल समायोजनको नयाँ लहर पनि चलेको छ । हुने पनि यही हो । नयाँ शक्ति, वैकल्पिक दल, प्रकाशवान् पार्टी आदि आदि विभिन्न नाउँले दल बनेका छन् । अनि नवोदित नेतामा यता गुलियो कि उता गुलियो भनेर चहार्ने त भइहाल्यो । नेपालमा चुनाव भनेको दाउ हान्नुजस्तो हो । त्यसैले के के हो नाउँमा जङ्क राजनीति चलिरहेको छ भने जङ्की नेताहरूको पदार्पण पनि भइरहेको छ । अझ नयाँनयाँ अनुहारका झिल्के नेताहरूको ओहोरदोहोर र लेनदेन बडो जोडतोडले चलिरहेको छ । यस्तैमा एउटा नवोदित चालु पार्टीको फुच्चे नाइकेले एकदुई जना झिल्के नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याए । भित्र्याउन उनले केही सहमति गरे, लेनदेन मिलाए । दलहरूलमा लेनदेन विना के काम हुन्छ र । भित्र्याउन अनुरोध गरेपछि भित्रिनेहरूको माग पूरा नगरी पनि भएन, गरे । अनि तिनका माग पूरा गर्न केही न केही त छोड्नैप¥यो । भनेको माग पूरा गर्नैप¥यो । नत्र भित्रिंदैन । नभित्रिए भने आफूलाई घाटा हुने । अनि छोड्न परेन त ! सहमति गर्नै प¥यो, गरे । त्यसैलाई त्याग भनियो । लेनदेनमा
लिने र दिने त भइहाल्छ । केही लिएपछि केही त छोड्नैप¥यो, कथित त्याग त गर्नैप¥यो ।

त्यस्तै झिल्के पार्टीका झिल्के नाइकेले महान् त्यागको कुरा गरे । उनले त्याग गर्नेको सूचीमा आफ्नो नाम पहिलो सूचीमा दर्ता गरेको सगर्व अर्थात् विना शरम घोषणा गरे । उनले के पाउँछु भनेर होइन अनि के लिन्छु भनेर पनि होइन भन्दै पार्टीको लागि त्याग गरेको सुनाए । यति मात्र होइन उनले ठोकुवा नै गरे त्याग गर्नेको सूची बनाउँदा मेरो नाम पहिलो नम्बरमा दर्ज गराएको छु भनेर ।

राम्रो हो त्याग गर्नु र त्याग गरेँ भनेर दर्ता गराउनु । तर जाबो एउटा निजी कुरालाई विश्वमा कहीँ नभएको त्याग भनेर हौवा मच्चाइन्छ भने त्यस्तालाई के उपनाम दिने होला । त्यस्ता नेताले देशको लागि केही गर्ला भनेर कसरी आश गर्ने ! एउटा जाबो झिल्के पार्टीमा कसैलाई भित्र्याएर सहमति गर्दा महान् त्याग गरेको भनिन्छ भने साँच्चिकै पाएको पद नै त्याग गरे भने वा आफ्नो धनसम्पत्ति वा घर नै छोडेको भए त्यस्तो त्यागलाई कुन शब्दले महामण्डित गर्थे होलान् ।

त्याग गर्नेको सूचीमा आफ्नो नाम पहिलो नम्बरमा दर्ता हुनेगरी त्यस्तो के त्याग गरे त ?

त्यत्रो महान् कार्य गरेपछि त्यसको जानकारी त सबलाई गराउन प¥यो नि । नत्र त्याग गर्नुको के अर्थ ! त्यत्रो महान् त्याग पनि गर्नु, अनि त्यागबारे कसैलाई सुइँको पनि नदिनु, यो त सरासर आफँैमाथि अन्याय भएन र । अझ दर्ता गराउँदा पहिलो नम्बरमै दर्ता गराएँ भनेर भन्नुले संसारमा अहिलेसम्म कसैले त्याग नै गरेको छैन भन्ने देखियो । भर्खर आएको झिल्के पार्टीका झिल्के नेताले यस्तो उद्घोष गर्दा पनि त्यस पार्टीका कसैले पनि त्यस्तो कुन त्याग र कहाँ दर्ता गरेको भनेर प्रश्न सोधेको पाइएन । अचम्म होइन त ! त्यस्तो दलका कार्यकर्ताहरूको यो हदको नालायकीभन्दा अरु के होला ।

यो त वल्र्डरेकर्ड नै भयो कि । यसरी विश्वमा त्याग गर्नेहरूमा यसअघि पहिलो नम्बरमा कसको नाउँ होला ? राणाकालमा श्री ३ को पदवी छोडेर जाने राणा प्रधानमन्त्रीको त्याग हो कि पहिलो नम्बरमा ? अथवा त्यसभन्दा अघि महाभारतका भीष्म पो पहिलो हो कि जसले आजीवन बिहे नगर्ने मात्र होइन त्यत्रो विशाल राज्यको अधिकारसमेत त्यागे । दानवीर कर्ण हो कि जसले आफ्नो ज्यानै जानेगरी सुरक्षाकवच समेत दान गरे । अर्थात् त्याग गरे ।

खैर, त्यो इतिहास र पुराणको कुरा भयो । त्यो हामीले नदेखेको केवल पढेको मात्र । त्यसमा कति सत्यता छ त्यो जाँच्न बाँकी नै छ । त्यसैले पुराण र पुराना कुरालाई पत्याउने कुरै छैन । यो त आधुनिक र भौतिक सम्पन्नताको युग हो । हामीले प्रत्यक्ष देखेभोगेको । हामीले सत्यतथ्य जाँच्न सक्ने । पत्याउन सक्ने । कसैले साँच्चिकै त्याग गरेको भए त्यो देखिन्छ । त्यसैले भीष्म, कर्ण र राणाशमशेरको भन्दा यी झिल्के नाइकेले गरेको त्याग के हो ? अर्काे कुरा ती झिल्के नाइकेले त्यागको लागि निवेदन कहाँ दर्ता गरे ? सरकारी वा गैरसरकारी कुनै निकायले अहिलेसम्म त्यागको निवेदन दर्ता गर्न ल्याउनु वा आउनु भनेर कहीँ कतै विज्ञापन वा सूचना सम्प्रेषण गरेको देखिएको छैन वा सुनिएको छैन ।
अथवा आफू पहिलो हुन उनले कतै सुटुक्क दर्ता गराए कि वा दर्ता नै नगराई बाहिर खुला रूपमा पो ढाँटे कि । भेडा जस्ता नागरिक भएका ठाउँमा जसले जे भने पनि के भो । केही फरक पर्नेवाला छैन जे भने पनि पत्याइहाल्छन् । जति नै काण्ड मच्चाए पनि गुलिया मीठा आश्वासनमा जनताको भोट पाइहालिन्छ क्यारे ।

खुलेआम महान त्याग गरेको, त्याग गर्नेको पहिलो सूचीमा आफ्नो दर्ता गरेको कुरा गर्दा पनि कहीँ कतैबाट प्रश्न आएन । चुपचाप सुनिरहे । राजनीतिमा यति सारो झूठ बोल्दा पनि जसले जे बोल्दा पनि कुनै प्रतिक्रिया नहुनु कुनै संवेदना नजाग्नु अचम्मै हो । के यसले हाम्रो संवेदना मरेकै हो ? राजनीतिमा जसले जे गर्दा वा जे भन्दा पनि निर्लिप्त भएर सुन्नु हाम्रो नियति नै भएको हो त ?

राजनीतिमा यसरी पहिलो हुनेगरी त्याग गरिन्छ भने अब पहिलो हुनेगरी अन्य त्यागको सिलसिला पनि त सुरु गरिन्छ होला । एउटा एउटा विषयमा वल्र्डरेकर्ड राख्नेहरू आउलान् । जस्तो ढाँट कुरा गर्नमा पहिलो, स्वास्नी त्याग्ने पहिलो, नागरिकता त्याग्ने पहिलो, कुइरेनी स्वास्नी ल्याउने पहिलो र त्याग्ने पहिलोे, नेपाल त्यागेर अमेरिका भासिने पहिलो, सहकारीको रकम ठगी गर्ने पहिलो, बहुविवाह गर्ने पहिलो, भीड जम्मा गरेर जेलबाट कुलेलम ठोक्ने पहिलो आदि आदिमा पनि पहिलो भनेर स्वघोषणाको दिन आउने हो कि ! यसरी त्यागको अभिलेख राख्न अब कुनै देवदूत वा जनताको आवश्यकता भएन ।

 

Leave a Response