
— डा. तुलसी भट्टराई
“म आफू, स्वयं । नेपाली जगत्मा बाल बालिकाको पहिलो बोली फुट्दा उच्चारण गरिने लाम्लो म – राम्रो म” । नाकको टुप्पोमा औंला राखेर देखाइने म । उत्तम पुरुषको एक वचन । सर्वनाम म । व्यक्तिको मान, प्रतिष्ठा, ज्ञान–बोध, सुख–दुख, लाभ–हानि, स्तुति–निन्दा, जय–पराजय, हाँसो–रोदन यावत् कुराको प्रयोक्ता–उपभोक्ता–‘म’ । जीवन भनेकै म हो । म अहं पनि हो । अहं–ब्रह्म मानिन्छ । म–ब्रह्म स्वयं हो । ‘म’ जीवन्तताको प्रतीक । ‘म’ अहंकार । ‘म’ परिचय बोध ।
म सर्वस्व हो । त्यसैकारण जन्मेदेखि मृत्युसम्म ‘म’ को खोजीमा, ‘म’ को रक्षामा मानिस लागिरहन्छ । ‘म’ भन्नु नै परमात्मा हो । ‘म’ जीवन हो । ‘म’ दानव हो । ‘म’ ईश्वर हो । ‘म’ स्वयं – परिवार हो, समाज र राष्ट्र पनि हो । जुन दिन ‘म’ रहँदैन संसारको सृष्टि नै समाप्त हुन्छ ।
परिवार–रगत, वीर्य, नाता, घर, वैवाहिक सम्बन्ध आदिबाट संयुक्त व्यक्तिहरुको समूह । एउटै भान्सामा खाने घरका मानिसहरुको समूह । सजातीय, एक गोत्रिय जन समूह । वंश, गोत्र, कुल, जाति, कुटुम्ब । एउटै उद्देश्य, कार्य योजनाका लागि संगठित समुदाय– अर्थात् ‘परिवार’को अत्यन्तै व्यापक अर्थ हुन्छ । दार्शनिकहरु त विश्वलाई नै एक परिवार ठान्छन् । ‘ब्रह्माण्ड’ एउटा घर हो, एउटा परिवार हो– भन्ने धारणा व्यक्त गर्ने गर्छन् ।
सामान्यतः परिवार भन्नाले एउटै भान्सामा खाने, एउटै छानामुनि बस्ने व्यक्तिहरुको समूह बुझिन्छ । एउटा समूहमा पाँच पुस्तासम्म पनि हुने गर्छन् । बाबु–आमा, छोरा–छोरी, नाति–पनाति, जनाति सम्म । संयुक्त परिवारमा प्रायः तीन–चार पुस्ता हुने गर्छ । आजको सहरी परिवेश र परिवार नियोजनको उपकरणद्वारा परिवार–सदस्य संख्या कम हुँदैछ । जे भए पनि पति–पत्नी दुईजनादेखि पाँच, दश …. माथि जति पनि संख्या हुन सक्छ एक परिवारमा ।
‘म’हरुको भेला – परिवार । ‘परिवार’ भित्र मेरो तेरो रहँदैन । हामी हाम्रो–समूहभाव हुन्छ । ‘म’ ‘तँ’ को विकाश तीव्र भएपछि परिवार विभाजित हुन्छ ।
‘परिवार’ मानव विकासको प्रथम खुड्किलो हो । ‘म’ जन्मिएपछि हामी भन्ने भावको बोध परिवारबाट गर्छ । यसैकारण परिवार शिक्षालय हो प्रत्येक व्यक्तिको । यस विद्यालयबाट ‘म’ले आफ्नो भाषा, संस्कृति, परंपरा, रीति–रिवाज, धर्म, नैतिकता, सदाचार, आदर, सम्मान, प्रेम, माया ममता, स्नेह एवं मानवता जस्ता महत्वपूर्ण विषयहरु बरे ज्ञान पाउँछ ।
आदर्श ‘म’ बन्न विवेक, स्वाध्याय, सत्य, धैर्य, शौच, त्याग, परोपकार, सन्तोष आदि गुण आवश्यक छ । मधुर बोली, नम्रता, सद्विचार र विवेकको खाँचो पर्छ ‘म’लाई । यी कुराहरु परिवारबाट पाइन्छ । जस्तो परिवेश हुन्छ परिवारको ‘म’ त्यस्तै बन्छ । परिवार चरित्र निर्माणको विद्यालय पनि हो ।
परंपरा, रहन सहन, पहिरन र सामाजिकताको मूल आधार हो परिवार, व्यक्तिको रक्षा कवच हो परिवार । जीवनको मिठास र आनन्द परिवार भित्र पाइन्छ । ‘म’ एक्लो कहिल्यै आनन्दित हुन सक्तैन । साधक, योगी महात्माहरु एक्लैै पनि खुशी रहन सक्लान् तर सामान्य व्यक्ति परिवारसँग मात्र रम्न सक्छ ।
‘म’ आज ठूलो बन्ने दौडमा लागेको छ । प्रत्येक ‘म’ मपाईको प्रचारमा छ । ‘म’ अरुको मात्र कमजोरी – दोष देख्ने गर्छ । ‘म’ चिन्ता, पीडा, द्वष, इष्र्या, निन्दा र अविवेकको खानी भएको छ । घमण्ड र परपीडामा मात्र सन्तुष्टि लिन थालेको छ ‘म’ले । राम्रो ‘म’ हराइसकेको छ । असल ‘म’ बत्ती बालेर खोज्नुपर्ने भएको छ । राम्रो ‘म’ बाट राम्रो परिवार बन्छ । परिवारले भोली आउने ‘म’हरुलाई सच्चरित्र, नैतिकता, बन्धुत्व र एकताको बोध गराउँछ । प्रेम, सद्भाव र मानवीयता परिवारले दिन्छ ‘म’ लाई । परिवार ‘म’ को आश्रय स्थल हो भने ‘म’हरुको समष्टि रुप नै परिवार ।
‘म र परिवार’ एक अर्कामा आश्रित छन् । अभेद, एक स्वरुप एवं परस्पर निर्भर छन् । ‘म’ बिना परिवार बन्दैन । परिवार बाहिर ‘म’ अस्तित्वहीन हुन्छ । तर आज ‘परिवार’लाई संकटले छोएको छ । उपभोक्तावादी संस्कृतिको विकासले गर्दा ‘म’ आफैं आधारहीन हुन थालेको छ ‘म’ ले ।‘म’ चिन्ताको घर भएको छ । असन्तुष्टि, घृणा, घमण्ड, झूटो, निर्धामाथि प्रहार, परपीडामा सन्तुष्टि लिन थालेको छ ‘म’ले ।‘म’ लाई कुनै पनि शास्त्र – अर्तीले काम गर्न छोडेको छ । –“भूतको पश्चात्ताप नगर, भविष्यको चिन्ता छोड, वर्तमान चलिरहेको छ । खाली हात आयो, खाली हात जान्छौ । तिमी यस धर्तीका एक क्षणका पाहुना हौ । राम्रो, रामै्र सोच । जति बाँच्नु छ सुख–सन्तोष र मुक्त बाँच ।” –‘म’लाई यसरी घच्घच्याउँदा पनि टेर्दैन ।‘म’ भन्न चार दिनलाई पाइएको थियो । दुई दिन आकांक्षा, कल्पना र दूर इच्छामा बिते । दुई दिन यिनकै पूर्ति – प्राप्तिको प्रतिक्षामा बिते । न कहिल्यै कुनै चीज पूरा हुन्छ, न कतै पुग्न सकिन्छ । संसारको दौड, खाली …. छ, अर्थहीन । दौंडदा दौंडदा ‘म’ केवल मृत्युद्वारमा पुग्दछ । जुन द्वारमा पुगेपछि के हुन्छ …. सोच्न पनि गाह्रो छ ।यसो भनेर ‘म’ केवल उन्मुक्त, त्याग र सन्तोषमा मात्र रहने चीज भनेको होइन । सीमाभित्र – आदर्श–मर्यादा र सत्यको पालना गरेर अगाडि बढ भनेर ‘म’ लाई बाटो देखाइदिएका छन् शास्त्र, महापुरुष र आदर्शहरुले ।‘म’ लाई आज धेरै अप्ठ्यारो छ । ‘म’ सधैं भयभीत छ ‘म’ तर्सिएको छ आज । ‘म’ को आदर्श शिक्षालय, सुख शान्ति, मर्यादा एकता, भातृत्व र बन्धुत्वको प्रमुख केन्द्रबिन्दु एवं आश्रयस्थल – ‘परिवार’ विश्रृंखलित, विच्छिन्न र अस्तव्यस्त हुँदैछ । ‘म’ वादले गर्दा परिवारको स्वरुप पूरै खलबलिएको छ । ‘म’को समूह – परिवार आपसी सद्भाव माया, ममता र स्नेहले बनेको हो । शारीरिक भेला होइन – परिवार । ‘परिवार’ भनेको ‘म’ को आत्मा, हृदय, मन, बुद्धि–विवेक एवं सम्पूर्ण कुराको निःस्वार्थ समर्पण र त्यागको आधारशीला हो । ‘म’ को एकाकार स्वरुप हो – परिवार ।उपभोक्तावाद र एकल सोचका कारण ‘म’को महत्व सकिंदैछ । नारी मुक्ति आन्दोलन । नारी स्वतन्त्रता÷पुरुष–पुरुष वा स्त्री–स्त्री बीचका एकलिङ्घी प्रेम र विवाह÷सन्तान नजन्माउने प्रवृत्तिको विकास । यौनलाई केवल क्षणिक सन्तुष्टिको कारक मानेर बिहे नगरी – यौनमा मात्र आधारित जीवन बिताउने प्रवृत्तिको विकास÷बिहे नगरी आमा वा बाबु बन्न पाउने अधिकारको खोजी आदि कारणले गर्दा ‘म’ हराउन थालेको छ । ‘म’ स्वार्थी भएको छ । त्यसकारण आज ‘परिवार’ समाप्त हुने स्थितिमा छ ।
जीवन अखण्ड प्रवाहित नदी हो । जीवनको कुनै निष्कर्ष हुँदैन, विरामक्षण हुँदैन । –यसलाई ‘म’ले भोग गर्छ । ‘म’ जीवनको स्वरुप हो । स्वरुपहरुको संगम परिवार हो । ‘म’ र परिवार एकाकार हुन सकेमात्र संसार चल्न सक्छ । संसार भनेकै मानिस हो । मानिस विवेक, बुद्धि र हृदयको विशिष्टताले बनेको प्राणी हो । यही विशिष्टताले विश्वमा अधिकार लिएको छ । विश्व हाँकेको छ । विश्व नै एउटा ‘परिवार’ भन्ने दार्शनिकताको आधारमा पनि यही हो । –‘म र मेरो परिवार’ को एकाकार स्वरुपको निर्माण । आदर्श, निःस्वार्थी– ‘म’ र यस्तै ‘म’हरुको संगम –‘परिवार’ निर्माण तर्फको सोच आजको प्रमुख आवश्यकता भएको छ ।





