
— ज्ञानेन्द्र विवश
प्रकृतिको आँगनमा जीवनको मुस्कान भेट्नु यौटा सुखद बिहानीको प्रारम्भ भए जस्तै हो । जहाँ म जीवनको उपलब्धि पाउँछु । यात्राको सुन्दर प्राप्ति भेट्छु । अनुभूतिको विशाल भण्डारमा पुग्छु । यो पल मेरा निम्ति जीवन–दर्शनको एक अनुपम क्षण हो । यही अनुपम क्षणमा म आफूलाई बिर्सिएर प्रकृतिको आँगनमा जीवनको मुस्कान भेटिरहेको हुन्छु । यसरी आफैँलाई बिर्सिएर प्रकृतिमा विलीन हुनु भनेको परमानन्दको यौटा दिव्यानुभूति पनि हो ।
वास्तवमा प्रकृति र मानवीय संवेदना एकअर्काका पूरक हुन् । जब मानिस कोलाहलबाट थाकेर एकान्तको खोजीमा निस्किन्छ, तब उसले आफूलाई प्रकृतिको विशाल काखमा लुटुपुटु गरिरहेको अवस्थामा पाउँछ । आकाशमा ‘जून’ देखिनु सामान्य कुरा हो, तर जब त्यो शीतलता पानीको गहिराइमा डुबेर चन्द्रमाको छायाँ बन्छ, तब मात्र एउटा भावुक मनले सौन्दर्यको वास्तविक अर्थ बुझ्छ ।
अन्ततः प्रकृतिको यो जादुमयी रूप देख्दा लाग्छ – यो संसारमा माया गर्न लायक चिज अरू केही छैन । टाढा कतै जानै पर्दैन । कतै खोल्सा, झाडी, गल्ली, दोबाटा, चोरबाटातिर खोजेर हैरान हुनै पर्दैन । माकुराका जालो, घु¥यानका फोहोर र मैलोधैलो ज्यानप्राणमा पनि सौन्दर्यका आभा फक्रिरहेका हुन्छन् । कुरुपताभित्रको सौन्दर्य भनेको यही हो । यसमै साँचो जीवनको स्वरूप
समेटिएको हुन्छ ।
एकान्तको आनन्द भन्नु नै वास्तवमा सुन्दरताको आकर्षण पनि हो । मेरा लागि त्यही एकान्तले भलिभाँती अनुभूतिको सौगात प्रदान गरिदिन्छ । म ती सौगातलाई मनको मझेरीभरि फैलाएर त्यहाँ सिर्जनात्मक अनुभूतिको अवतरण गराउन प्रेरित हुन्छु । ती अवतरित अनुभूतिहरू मेरो जीवनका दर्पण हुन्छन् । तिनै दर्पणका आवरणभरि म जीवन्त जीवन बाँच्छु ।
कतिपय दृश्यहरू यस्ता हुन्छन्, जो जति टाढा भाग्छन्, मन त्यति नै त्यसको नजिक जान लालायित हुन्छ । क्षितिजमा देखिने हिमाल होस् या ओझेल पर्न लागेको घाम, तिनले मलाई सधैँ आफूतिर आकर्षित गरिरहन्छन् । जब म एक्लै एकान्तमा बसेर यी दृश्यहरूलाई नियाल्न थाल्छु, तब मात्र जीवनको वास्तविक गहिराइ मलाई महसुस हुन्छ । त्यो एकान्त रिक्तता होइन, बरु आफैँलाई चिन्ने र जीवनदेखि साँचो आनन्द लिने एउटा पवित्र अवसर हो ।
वस्तुतः त्यसमै स्वदेशको माटो र स्वर्गीय आभास महसुस हुन्छ । यही सुगन्धमय फैलाइले जीवनका घाउचोटहरू बिसेक हुन्छन् । मन उल्लासले प्रफुल्लित हुन थाल्छ । त्यतिबेला म हातमा कलम र कापी लिएर अनुभूतिका आयामहरूमा आफूलाई अक्षरको खेती गर्ने एक परिश्रमी कृषक बनेको पाउँछु । त्यतिबेला म कहिले इतिहासको कालखण्डमा पुग्छु, कहिले वर्तमानका अध्यायहरूमा हुन्छु ।
मेरो देश नेपाल, जहाँको कण–कणमा एउटा अलौकिक शक्ति छ । जब म जीवनका सबै सुखहरूलाई समेटेर प्रेमिल क्षणहरूको स्मरण गर्छु, तब आफ्नै देशको भूगोल आँखामा नाच्न थाल्छ ।
हिमाल, जसले शिर उच्च राख्न सिकाउँछ । पहाड, जसले धैर्यता र संघर्षको कथा सुनाउँछ । झरना र फाँट, जसले जीवनमा निरन्तर बगिरहन प्रेरणा दिन्छ । यी दृश्यहरू माटो र ढुङ्गाका आकृति मात्र होइनन्, यिनीहरूमा त स्वर्गीयपनको आभास लुकेको छ । आफ्नै भूमिमा पाइने यो शान्ति संसारको कुनै पनि कुनामा खोजेर पाइँदैन ।
प्रकृति एउटा खुल्ला पुस्तक हो र मेरो हृदय त्यसलाई पढ्ने एउटा माध्यम ! जबसम्म म प्रकृतिको यो निःस्वार्थ प्रेमलाई बुझिरहन्छु, तबसम्म मेरो जीवनमा उज्यालो रहिरहन्छ । आफ्नो देशको प्राकृतिक सुन्दरतामा रमाउन पाउनु नै मानव जीवनको सबैभन्दा ठूलो उपलब्धि र सुखद अनुभूति हो । मलाई जस्तै अरूहरूलाई पनि यस्तै अनुभव हुन्छ होला भन्ने मलाई लाग्छ ।
मानिस कहिलेकाहीँ आफ्नै मान्छेलाई देखेर पनि नबोलेको हुन्छ । शब्दको अभावले होइन, भावनाको गहिराइले उसलाई मौन बनाइदिएको हुन्छ । चिनिएको अनुहार, परिचित आँखाहरू, तर ती आँखामा बसेका पीडा, दूरी वा समयको फरकले जिब्रो बाँधिदिन्छ । यस्तो मौनता बोलाइभन्दा पनि धेरै ठूलो हुन्छ; यसमा सम्झना, पश्चात्ताप, प्रेम र असमर्थताको आवाज मिसिएको हुन्छ । नबोल्नु पनि कहिलेकाहीँ संवाद नै हो– आफ्नै तरिकाको ।
त्यस्तै, प्रकृतिको विराट छटा आँखै अगाडि हुँदा पनि नहेर्ने को होला र ? तर हेर्नु र देख्नु एउटै कुरा होइन । मानिसले प्रकृति हेर्छ, तर कहिलेकाहीँ देख्दैन । जीवनको हतारो, मनको अशान्ति र भोलिको चिन्ताले आँखालाई खुला राखे पनि चेतनालाई बन्द गरिदिन्छ । हिमाल उभिइरहेको हुन्छ, आकाश फैलिएको हुन्छ, नदी बगिरहेको हुन्छ– तर हामी भित्र कतै हराइरहेका हुन्छौँ । जब मन शान्त हुन्छ, तब मात्रै प्रकृति वास्तवमै देखिन थाल्छ, अनि त्यो दृश्य आँखाबाट होइन, आत्माबाट महसुस हुन्छ ।
जीवनको अर्को कठोर यथार्थ भनेको हारेर पनि जितेको अभिनय गर्नुपर्ने अवस्था हो । साँचो खुसी सधैँ सिधा बाटोबाट आउँदैन । कहिलेकाहीँ हामी भित्रभित्रै थाकेका हुन्छौँ, भाँचिएका हुन्छौँ, तर बाहिर मुस्कान ओढ्न बाध्य हुन्छौँ । समाज, सम्बन्ध र परिस्थितिले हामीलाई बलियो देखिन सिकाउँछ, चाहे हामी कति नै कमजोर किन नहौँ । यो अभिनय कायरता होइन; कहिलेकाहीँ यो बाँच्ने कला हो । किनकि त्यो मुस्कानकै सहाराले अर्को बिहान उठ्ने हिम्मत मिल्छ ।
यात्रा भनेको प्रकृतिको काखमा बस्न पाउने अवसर पनि हो । गन्तव्यसम्म पुग्ने प्रक्रिया पनि हो । यात्रा भनेको त्यो जीवन स्वयं हो । हिँडेर कहिल्यै नथाक्नु भन्नु शरीरको कुरा होइन, मनको कुरा हो । बाटो लामो हुन्छ, उकालो आउँछ, कहिले काँडा पनि भेटिन्छ । तर थाक्नु स्वाभाविक भए पनि रोकिनु विकल्प हो । जीवनलाई शिखरमा पु¥याउन निरन्तर हिँडिरहनु पर्छ– कहिले बिस्तारै, कहिले लड्दै–उठ्दै, तर अघि बढिरहनु पर्छ ।
यसरी हेर्दा, जीवन मौनता र शब्द, दृष्टि र अन्धोपन, हार र अभिनय, थकान र यात्राको अद्भुत मिश्रण हो । यही विरोधाभासभित्र हाम्रो अस्तित्व पलाउँछ । जब हामी यी सबैलाई स्वीकार गर्छौँ, नबोल्ने क्षणलाई, नदेख्ने आँखालाई, नजितेको जितलाई र नथाक्ने यात्रालाई– तब मात्र जीवनले आफ्नो साँचो अर्थ खोल्न थाल्छ । जीवन सधैँ सहज हुँदैन, तर यही असहजताले नै यसलाई गहिरो, सुन्दर र अर्थपूर्ण बनाउँछ ।
जीवन एउटा यस्तो खुल्ला किताब हो, जहाँ हरेक पानामा नयाँ अनुभूति र चुनौतीहरू कोरिएका हुन्छन् । कहिले आफ्नै मान्छे बिरानो बनिदिन्छन् त कहिले प्रकृतिको विशालताले हामीलाई मौन रहन बाध्य बनाउँछ । मानिसको अस्तित्व सास फेर्नुमा मात्र सीमित छैन; यो त हारेर पनि जितको मुस्कान छर्न सक्ने कला र थाकेर पनि गन्तव्यतर्फ लम्किरहने साहसको एउटा समष्टिगत रूप हो ।
‘नबोल्ने को होला देखेर पनि । चिनेको आफ्नै मान्छेलाई ?’ यो प्रश्नले हाम्रो समाजको एउटा नमीठो सत्य ओकल्छ । कहिलेकाहीँ परिस्थिति र समयले यस्तो मोड ल्याइदिन्छ कि आफ्नै भनिएका मानिसहरू पनि अपरिचितझैँ तर्केर हिँड्छन् । चिनेर पनि नचिनेको स्वाङ पार्नु र देखेर पनि नदेखेझैँ आँखा तर्नु मानवीय सम्बन्धको एउटा जटिल मोड हो । यद्यपि, सम्बन्धको यो मरुभूमिमा पनि हामीले स्नेहको तिर्खा मेट्ने प्रयास गरिरहनुपर्छ ।
हाम्रो वरिपरि प्रकृतिको अनुपम उपहार छ । ‘नहेर्ने को होला प्रकृतिको विराट छटा आँखै अगाडि दृश्यमान हुँदा ?’ हिमालको सेतो मुस्कान, नदीको कञ्चन बहाव र हरियालीको शीतल काखले हामीलाई हरपल जीवन जिउने प्रेरणा दिइरहेका हुन्छन् । जसरी प्रकृतिले आफ्नो सुन्दरता कसैको लागि लुकाउँदैन, त्यसरी नै हामीले पनि आफ्नो हृदयको ढोका खोलेर संसारलाई हेर्न सक्नुपर्छ । प्रकृतिको यो विराटताले सिकाउँछ कि हामी ब्रह्माण्डका साना अंश हौँ र हाम्रो दुःख पनि उस्तै क्षणभंगुर छ ।
हारभित्रको जित र खुसीको खोजी आफैँमा यौटा सौन्दर्यको उद्घाटन हो । जहाँ प्रकृतिको आँगनमा जीवनको मुस्कान भेट्न पाइन्छ । परन्तु जीवन सधैँ सोचे जस्तो हुँदैन । कहिलेकाहीँ मैदानमा पछारिँदा पनि ओँठमा मुस्कान सजाउनुपर्ने बाध्यता हुन्छ । ‘हारेर पनि जितेको अभिनय गर्नुपर्छ खुसी पाउनलाई ।’
यो कुनै ढोँग होइन, बरु आत्मबलको पराकाष्ठा हो । संसारले सफल व्यक्तिलाई मात्र चिन्छ, तर वास्तविक नायक त ऊ हो जसले आफ्ना पीडाहरूलाई लुकाएर अरूको खुसीका लागि मुस्कुराउन सक्छ । हारलाई स्वीकार गरेर त्यसैमा जितको बीउ रोप्नु नै परिपक्वता हो ।
अन्ततः, जीवन एउटा यात्रा हो । यो यात्रामा सुस्ताउने छुट त छ, तर रोकिने अनुमति छैन । ‘हिँडेर कहिल्यै थाक्नु हुँदैन, यात्रामा जीवनलाई शिखरमा पु¥याउनलाई !’ शिखर चुम्ने सपना देख्नेले बाटोका ढुङ्गा र काँडाहरूसँग डराउनु हुँदैन । हिँड्दा ठेस लाग्नु सामान्य हो । उकालो चढ्दा थाक्नु र ओरालो झर्दा खुट्टा फतक्कै हुनु पनि सामान्य कुरा नै हो । यसरी पाइलाहरू थकित होलान्, तर इच्छाशक्ति कहिल्यै थाक्नु हुँदैन । जबसम्म सास छ, तबसम्म आस छ र जबसम्म आस छ, तबसम्म गन्तव्य पुग्ने तिर्खा जीवित रहन्छ ।
सम्बन्धका उतार–चढाव, प्रकृतिको सुन्दरता, सङ्घर्षको अभिनय र गन्तव्यको भोक– यिनै तत्वहरूले नै मानिसलाई ‘मानिस’ बनाउँछन् । जीवनको यो सुन्दर काव्यमा हामीले आफ्नै भूमिका इमानदारीपूर्वक निभाउनुपर्छ । थाकेर होइन, जागेर हिँड्नुपर्छ; किनकि शिखरमा पुग्ने आनन्द तिनले मात्र पाउँछन् जसले यात्रालाई गन्तव्यभन्दा बढी प्रेम गर्छन् ।
अन्ततः मेरा लागि यी सबै जीवनका नियमित प्रक्रिया हुन् । म यसमै खुसी छु । म यसमै आनन्दित छु । कोही नहिँडे पनि म हिँडिरहन्छु । कोही नपुगे पनि म पुगिदिन्छु । कोही नगए तापनि म गइदिन्छु । कसैले नदेखे पनि म देखिदिन्छु । किन कि मैले प्रकृतिको आँगनमा जीवनको मुस्कान भेट्नु छ ।





