close

दियालो भूटान— यसैले सल्काउँछ राँको होस् या डढेलो

— प्रा.डा. गोविन्दराज भट्टराई

युद्ध अन्त्य भएको धेरै भयो । त्यहाँका क्रुर शासकहरुको विजय भयो । एकलाख भूटानी नेपालीलाई मातृभूमिबाट निष्काशित गरे र तिनीहरुलाई अन्धकारमा लडाएर छोडे । त्यो एक दशक लामो युद्ध थियो । यद्यपि त्यसको तयारीमा कति दशकको तयारी थियो आफ्नो जन्मभूमि भूटानका वन पाखा र भीरमा पनि लडाइँ पस्तैछ भन्ने पूर्वाभाषले गर्दा नेपाली मूलका संपूर्ण भूटानी त्यहीँ लडे । हसियाँ, खुर्पा, खुकुरी, लठ्ठी, भाला, बञ्चरा जेछ त्यहीसित लडे, तर उनीहरुसित बन्दुक थिएन, गोली थिएन, जेलनेल थिएनन्, आफ्ना बैरीलाई देशको सीमाना कटाएर खेद्ने आँट र उपाय थिएन । त्यो शक्तिशाली शासकसित भने निर्लज्ज भएर त्रूmर दमन गर्न सक्ने शक्ति थियो । त्यो अपराधलाई नदेखेको गरिदिने छिमेकी राष्ट्र थिएन ।

ती निहत्थाहरु आफ्नै पूर्खाल्याण्ड नेपालमा पसे र कन्काई बगरतिर भयंकर दुखले बसे≤ रुँदै कराउँदै बेसहारा बनेर । धन्य पितृभूमिले जंगलहरु फाँडेर ससाना बाँसे छाप्रा बनाउने ठाउँ भाग लगायो र त्यहीँ बसे भूटानी शरणार्थी ‘लेबल’ बोकेर । ती शिविर भित्रको अभावको जीवन, चरम दुखमा डुबेको थियो । तर धैर्य नछोड्ने, धर्म नछोडने, आफ्नो जातीय चेतना नभूल्ने, पुर्खाका पदचाप नबिर्सने नेपाली जातिहरु पर्खिरहे, पर्खिरहे र एकदिन एक समाधान निस्किएला भनेर ।

नभन्दै विश्वले ती क्रन्दन सुनेछ र एकदिन समाधान निस्कियो । त्यसले ती मर्न नसकेका बोटलाई मर्न नचाहने विरुवालाई उखेलेर अरु आठ देशमा सा¥यो । एक ठाउँ ता नेपालको वियाडमै छोडिदियो । ती छुटेका कि रहेका पाँच हजारसित बेलाबेला मेरो भेट हुन्छ । आज पनि ती पाँच हजारहरु त्यहीँ छन्, त्यस्तै छन्— तीस वर्ष देखिका विरासत । म दमक आईबस्छु । आफ्नो निकै पुरानो बासभूमि छ यहाँ । पिताजीले २०२३ सालमा जोडिदिनु भएको; आज ६० वर्ष बितेछन् । त्यसबेला हामी भूटान छोडेर पहाड बसैँ फिरेका सात वर्ष बितेका थिए । म मात्र यहाँ नागरिक भएँ; ती भूटानमा सँगै बसेकाहरु यहीँ अनागरिक छन् भन्ने देख्ता यो मन ग्लानी र दुखले भरिन्छ । मेरा पाँच हजार छिमेकी असहाय देख्तछु । तर शब्द चलाउने म पो के गर्न सक्छु र ?

ताप्लेजुङको पहाड छोडेर भूटानको बसाइँ–सराई, फेरि भूटान छोडेर पहाड फिर्ति, फेरि औलो विमार उन्मूलन हुन थालेको मधेसमा बसाइँ, यो नेपालीहरुको जातीय चरित्र पनि रहेछ । अघि माइकल हट, डेविड गेल्नर, मार्क टुरिन, म्यान हियर आदि अनेकले ग्रन्थ लेखे, लेख्तैछन् । सिद्धान्त पनि बनाए नेपाली जातिबारे कसले कहाँ के भन्छ त्यो कुरा अध्ययन गरी नयाँ भूटानको छायाँ–चित्र (२०८१) भन्ने कृतिमा समावेश गरेको छु ।

हाम्रै गाउँको शिरमा विशाल शरणार्थी शिबिर स्थापित भयो । त्यो जीवन अस्थायी होला भन्ने थियो र अनेक कष्ट खप्तै हजारौं भूटानी नेपालीले त्यहाँ दुई दशक व्यतीत गरे । ती दिनमा गाउँका खेती गरे, वस्तु हेरे, घर गोठ बनाए, बाटो खने, ससाना व्यापार गरे, स्कूल पढाए ता पनि जीवन आशावादमा थियो, प्रतीक्षामा थियो, आफ्नो जन्मभूमि छुटेको चिन्ता दुख, अतीत प्रेम र पुनर्मिलनको कल्पनामा थियो । यो पुर्खा भूमिले हाम्रो रक्षा गर्ला भन्ने थियो । ती दिनका यथार्थ चित्र देखाउने धेरै कृति लेखिएका छन । शिविरमा पनि सचेत र पठित स्रष्टाहरुको कमी थिएन ।

उनीहरुले अनेक कृति जन्माए । पछि पुनस्थापित भएपछि रमेश दियालीको छाप्रो नं. ५५ पथरीको शिविर जीन्दगी बोल्ने एक पठनीय र प्रशंसित आख्यान जन्माए । २०२२ को भूटानी यात्रामा मैले रमेशलाई कोलम्बसमा भेटेँ । त्यो भन्दा पहिले कृष्ण धराबासीको शरणार्थी उपन्यास एक माष्टरपीस थियो । सबैको शुरुको जरा ता मेरो मुगलान हो । आज ५१ वर्ष लागे । त्यसैमा यतिका वर्ष बिते तर त्यो आशा र कल्पना कहिल्यै छुटतैन होला । उखेलेर जता पु¥याए पनि ती जराले मूलभूमिकै हावापानी, वतास, माटो र संस्कृतिको सुवास खोजिरहने रहेछन् । अमेरिकी यात्रामा जादा देखेँ ओहायो कार्यक्रममा स्टेजको एउटा कुनामा अमेरिकी झन्डा, अर्को कुनामा भूटानको झन्डा लगाएको देखेँ बीचमा नेपालको झन्डा यो संकेतले दुख र समन्वयको एउटा महाकाव्य बोलिरहेछ ।

त्यो वर्ष अमेरिकामा भूटानी समुदायद्वारा आयोजित दुई भव्य कार्यक्रममा ३५ वटा नेपाली कृति विमोचित भए । यसैपालि यहाँ दमकमा चिया बगानमा काशीराम लामिटारेद्वारा आयोजित एकदिने कर्ममा पनि भूटानी नेपाली समाजका पाँच कृति लोकर्पित भए, विश्वलाई राम्रो आवाज सुनाउन दुईवटा अंग्रेजीमा पनि ।

अक्षरमा अन्तर्निहित शक्तिलाई नेपालीले भूलेको छैन । आजभन्दा १०० वर्ष अघि दार्जेलिङले दियालो प्रकाशन शुरु ग¥यो । त्यसको कभर पृष्ठमा बलिरहेको दियालो छ र त्यसको तल पारसमणि प्रधानद्वारा रचित दुई लाइनको एक श्लोक छ यस प्रकार—

“शहरभित्र एकान्त खोपी यो गरोस् उज्यालो
झोपडीभित्र यसैले बालोस् मनको दियालो !!”

त्यो दियालो सय वर्ष बलिरह्यो; अझै निरन्तर छ । त्यो अन्धकार युगमा सुधपाले एक भाषिक दियालो सल्काएर अन्धकारमा हराएका नेपाली जातिलाई अक्षरको उज्यालो बालेर देखाउनुपर्छ भन्ने सन्देश दिएका थिए । यसपालि (२०२५ को मे महीनामा) त्यसको १०० वर्षपछि प्रथम शताव्दी उत्सव मनाउन भनी नेपालबाट हामी ६ जना (रोचक घिमिरे, डा. तुलसी भट्टराई, म, शरच्चन्द्र वस्ती, प्रा. कुमार कोइराला र शरद प्रधान निमन्त्रणा पाएर दार्जेलिङ पुग्यौं । त्यहाँको दुई दिने शतबार्षिक उत्सवमा भाग लिएर फर्कियौँ ।

उसबेला विद्यालयको पठनपाठनमा बंगाली अंग्रेजी भाषा मात्र भए, नेपाली भएन भनी संघर्ष गर्ने ती पारसमणि जस्ता अग्रणीहरु कहाँ पुगे तर उनीहरुले सल्काएको दियालो सर्बत्र उज्वल छ । विद्यालय स्तरका पाठ्यपुस्तक नेपालीमा लागू भए, कलेजमा नेपाली पुग्यो । गर्दागर्दै भारतीय संविधानमा नेपाली भाषाले संवैधानिक मान्यता पायो, अन्य संवैधानिक भाषा सरह नेपाली भाषी स्रष्टा र अनुवादकलाई साहित्य अकादमीले राष्ट्रिय मान्यता प्रदान ग¥यो, नेपाली भाषा सिक्किम लगायतका स्थानमा अनुसूचित भाषा अन्तर्गत सम्मानित भयो । सयौं वर्षदेखि यही नेपाली भाषालाई हुर्काउँदै लगेर भूटानी नेपाली जातिले पनि यसलाई कलेजसम्म पुर्याएका थिए । त्यहाँ पनि नेपाली संस्कृति भिजेको जीवन थियो । तीन दशक अघि भोटाङका भोटे राजाले त्यो नेपाली भाषा र संस्कृतिलाई निमोठ्तै लगेर आफ्ना निहत्था नागरिकमाथि हिटलरी अत्याचारको वर्वरता साधेका थिए । अझै त्यो घाउ शान्त भएको छैन । कैयौं भूटानी नेताहरुले आफ्नो देशमा प्रजातन्त्र स्थापनार्थ लडाईं गर्दा गर्दै प्राण त्याग गरे ।

गतवर्ष प्राण त्याग गर्नु भन्दा ६ महीना पहिले प्रकाशित कृति जनरव फिरादमा एन.बी. गिरीले लेखेका छन, “हे महाराज मेरो अपील छ, मलाई मेरो देशको केवल छ हात जग्गा देऊ । म अन्तिम घरी भएपछि यो देह आफ्नो मातृभूमिको काखमा लगेर विसर्जन गर्न पाउँ ।”
तर उनले भूटान प्रवेश गर्न पाएनन् । कसैले पाएका छैनन । आम माफी माग्दै उनले नेपालबाटै राजालाई सम्बोधन गरे तर हिटलरको भूत चढेका राजाले के सुन्थे ! वास्तवमा सबै खाले प्रत्यक्ष शासन पद्धतिहरु निरङ्कुश हुन्, जुनसुकै खोलमा भएपनि वर्बरताका अवतार हुन । तर एकदिन तिनको अन्त्य अवश्यंभावी छ, एकदिन अन्यायको हिसाब हुन्छ, एकदिन हिटलरहरु पनि माटामा पसारिन्छन । यो देख्तै आएका छौँ ।
भम्पा राई त्यस्तै जातीय अधिकारका एक योद्धा थिए । उनी गए । दियालोको अघिल्लो अङ्कले स्रष्टा\चिन्तक डा. गोविन्द रिजालको संझना गरेको छ । अरु थाकेर बसेका, चिन्तामा डुबेका बलराम पौडेल, टेकनाथ रिजाल रहेका छन् । सात वर्षअघि टेकनाथलाई भेट्न हामी विर्तामोडदेखि तल गयौं । त्यहाँ उनले एक उपहार दिए— सेतो सिरानीको खोल । त्यसले एउटा संझनाको चिनो ठानी बाकसमा राखेका छौं । त्यो निम्नानुसार छ :

यसपालि झापा जाँदा केही पुस्तक उपहार गर्न बेलडाँगी शिविर पुगेँ । त्यहाँ लिटरेरि सोसाइटी अव् भूटान (ीक्द्य) नामक एक कार्यक्रम छ । ससानो भाटा, चित्रा, काठको एक आवास । भित्रपट्टि छ एक सुन्दर पुस्तकालय । प्रवासभूमिमा साहित्य चिन्ता भन्ने आसयको सूचना बोर्ड छ यस प्रकार । त्यहाँ दिल भूटानी, तिलक साम्पाङ, थीरु घिमिरे लगायतका भाइहरु भेला हुनुहुन्थ्यो । त्यहाँ केहीबेर बसी भावनाको आदानप्रदान ग¥यो । दुखका सागर उर्लिरहेका थिए । हामी समुद्र वारि बसी ती कहिल्यै नरोकिने लहर हेर्दै थियौं । दिल भूटानीले एउटा कविता यसरी सुनाए  :

म हरिण हुँ
यति बेला म
चिडियाखानामा छु ।
दिनहुँ अवलोकनमा आउने
पर्यटहरुको मनोरञ्जनको
सुन्दर दृश्य भएको छु
म हरिण हुँ ।
सीमित तारघेरामा थुनिएको छु
कसैले दिए खान पाउछु
नदिए भोक लुकाएरै पनि मुस्कुराउँछु
म हरिण हुँ ।
म हरिण हुँ
मलाई आफ्नै जङगल प्यारो छ
र त म
मेरै जङ्गलमा फर्किने पर्खाइमा छु ।

– भाङबारी, दमक, झापा

Leave a Response