
— कुमारी लामा
भर्खरै एक झोक्का शिशिरीय बतास मलाई छोई दौडेको छ । कस्तो धारिलो स्पर्श ! उसको बैँस अग्लिदै छ । घरफूलहरू टाक्सिदै छन् । हलक्क हल्किने बिरुवाहरूको चाल सुस्त भएको छ । लाग्छ, उनीहरू बल गरेर टाउको ठड्याउने प्रयासमा छन् । ठण्डीले कठ्याङ्ग्रिएका फूलहरू न्यानो पर्खदै गमलामा मुन्टो लुकाइरहे झैँ देखिन्छन् । पारिलो घामको आशामा धुकधुकी बाँचिरहेका छन्, हरित सहयात्रीहरू ।
मेरो बार्दलीमा कुथुर्किएर बसेका प्रत्येक बोट नियाल्छु । तत् क्षण एउटा सौम्य तर कमजोर अनुहारको झल्को आउँछ । अस्ति भर्खर त हो म राकसिराङ गाउँको थाप्लोमा पुगेको । प्रदेश राजधानी हुनुको सान सौकतमा मस्त हेटौडा बजारबाट केही घण्टामै पुग्न सकिने गाउँ, राकसिराङ । त्यही भेटेकी थिए तामाङ आखे माम (बाजे बजु) ।
पहाडका दुर्गम थाप्लाहरूमा बस्ने प्राय आदिवासी नै हुन्छन् । सुगमता उनीहरूको भागमा कहिले पो परेको छ र ! यो देशको कुन सहज ठाउँ उनीहरूले पाएका छन्, खै ? डाँडा, पाखा, पखेरा, गाह्रो, अप्ठेरो सबै सबै उनीहरूको भागमा । सम्झदा पनि मन चसक्क घोच्छ । खैर, यतिखेर मेरो स्मृतिलोकमा ठेलमठेल गर्दै पसिरहेछ त्यस साँझ । हिउँदे छोटो दिन बित्नै बेर नलाग्ने । म अँध्यारो पसिसकेपछि पुगेकी थिए राकसिराङ ।
देख्छु– पिलपिले बत्तीमुनि उमेरका तमाम धर्साहरू अनुहारभरि सजाएर बोनस जीवन घिसारिरहेका माम आखे (बजू बाजे) । उमेरले पल्लो छेऊ धकेलिसकेका बृद्ध कायाहरूसँगको साक्षात्कार भएकै पल मलाई उमेर र बैँसले गिज्याए झैँ भान हुन्छ । ओहो, जीवनका अनेक चेहरा रहेछन् । ठिट्टा समय बाँचिरहेकाले कहिले पो कल्पना गर्छ र भविष्यमा भोग्नु पर्ने बुढ्यौँली । ऊ त बस् तातो रगत बाँच्छ, ‘बैँसालु वर्तमान’ सोच्छ अनि सपनाको पङ्ख जोडी उडिहिड्छ कल्पनाकाशमा । तथापि उमेर…
जीवनभर राकसिराङ गाउँको माटो खनीखोस्री बिताएकी थिङ बजूको खोकीको ख्याइँ ख्याइँ मेरो कानमा अझै बजिरहेछ । खोकी चलेपछि छाती पट्ट फुट्लाजस्तो हुने रोग छातिभरि उनले बोकेकी छन् । त्यसको निदानको लागि कडा औषधीय उपचार थाम्ने शरीर नै बाँकी छैन । बाँकी छ त केवल केही समय, जो खोक्नु, अनुहार मरक्क खुम्च्याउनु, छाती समाउनु अनि अलिकति रगत थुक्नुमा सीमित भइसकेको छ । खोकीबाट जोगाउने उपक्रममा लाग्नु बाहेक अरु केही छैन उनका छोरा छोरीहरूको हातमा ।
जीवन यतिसम्म पनि निरीह बाँच्नु पर्ने रहेछ ! म बजूको अवस्थाबाट झस्किन्छु । साथमा कल्पिन्छु पनि उनको उमेरदारी समय जतिखेर पहाडै बोक्ने बल थियो होला उनको ज्यानमा । पक्कै थियो । नत्र आधा दर्जन सन्तान जन्माई हुकाई गर्नु, घरको सारा व्यवहार धान्नु, मकैँ कोदोको टन्टा साफ पार्नु कहाँ सजिलो थियो त । केही नानीहरू त काम गर्दा गर्दै जन्मेका रे । पटुकामा पोको पारी ल्याउने आँट बोकेकी जब्बरे स्वास्नीमान्छे थिई ऊ । ज्या ! कता तुरियो नि त्यो बल र उमेरको राप ताप । सम्झी ल्याउदा त जीवन के पो रैछ भन्ने लाग्छ । थिङ बजुको सिद्रा भएको शरीर हेर्छु । अनि जीवनबारे एक लहर सोचिपठाउँछु ।
जीवनसासको एक डोरो, एक डल्ला छ्याम्बा (ढिँडो)को बल अनि शरीरमा जतासुकै काट्दा पनि बग्ने रगतको भल । त्यत्ति त रैछ । आफ्नै ज्यानको रगत मासु शरीरमै उसै बिलाइजाने, जीवनकै अर्को अनुहार न हो । के फाइफुट्टी लाउनु मान्छेले ।
बजूको छेउमै बसेका छन् आठ दशकीय घाम पानी झेलेका थिङ बाजे । उनको खुट्टा जाम परेको छ । शरीर बाँस झैँ नुहिएको छ । अनुहारमा भने मखमली विगतको टहक अझैँ घरी घरी देखापर्छ ।
लट्ठीले पनि भर नदिने भइसकेको छ शरीर । उनले एक पाइला सार्नु एक जुनी सरह भइदिन्छ । राकसिराङको अप्ठ्यारा भिर कन्दरा मिलिक्कै छिचोल्ने उनका भरिला खुट्टा; साहुको भारी बोक्दा सधैँ पहिलो हुने उनको चाल; जीवनमा आइलागेका अनेक व्यावहारिक झमेला, कामको मारामार र चिसो न्यानो समय सामना गरेको तगडा मानिस ऊ । आज उसलाई आफ्नै घरको आँगन टेक्न हम्मे छ ।
जीवनको अर्को स्वरुप थिङ बाजेको कुप्रिएको शरीर भई मेरो सामु उभिन्छ । म निस्तब्ध हुन्छु । चिमोट्छ भित्र भित्रै । पुषे स्याँठले एक झमट झ्याम्म हानी दर्गुछ । भित्र कतै एक चिसो लहर दौडिदिन्छ ।
पहाडको थाप्लोमा बसेको सानो तामाङ बस्ती । तारान्तार बहने हिउँदे हावा र ढुस्स परेको पुषे चिसो ! त्यसमाथि बुढ्यौँली ज्यानहरू…
म निकै बेर चिमको दुधिलो उजेलोमा बृद्ध दम्पतिलाई हेरिहन्छु । जीवनका अनेक आयाम सिनेमाको रिल झैँ फनफनी घुमिदिन्छन् आँखा अघि । जीवन भन्नु त एक चक्र न हरेछ । जन्म, हुकाई, बैँस, बुढ्यौली र मृत्युको गोलचक्करमा खाँदाखाँद सपना र चाहनाहरू भरेर दौडिरहने एक चक्र ।
सत्यको आभाषसम्मले पनि जीवनलाई सहज बनाउँछ भन्छन् जानिफकारहरू । तथापि आम मानिस एक तुच्छता र नादानी बाँच्छ । कहाँ जुर्छ र सत्यको खोज या चिन्तनको समय उनीहरूलाई ! एउटा जीवन त भात पानी, औषधीमुलो, लत्ता कपडा, बिहे बर्तुन, भोज कार्जे आदिको टहल र जोरजाममा नै सकिजान्छ ।
हरएक आम जीवन भोक, तीर्खा, पसिना र सङ्घर्ष बाँच्छ । ऊ भागदौड र वितृष्णा बाँच्छ । अलिकति खुसी र उत्साह पनि बाँच्छ । अङ्गालोभरिका जिम्मेवारी र विभाजित पल क्षण र टुक«े समयहरू बाँच्ने उपक्रममा लाग्दालाग्दै ऊ एक दिन घाटको दैलो ठेल्न पुग्छ । अनि एउटा जीवन धुवाँमा विलीन हुन्छ ।
ज्या ! कति छोटो यो हिउँदे दिन ।
भर्खरै ढाड छोएको घाम पिलिक्कै ओझेलिन्छ । चिसाम्मे रातको अँगालोभित्र खुत्रुक्क पसिजान्छ एउटा उज्यालो दिन ।
याम्बुको तापक्रम घट्दो छ । उपत्यका नगिचको शिवपुरी वनमा बेपर्वाह मुस्कुराउने वनफूलहरू पनि वसन्ती समयको पर्खाइमा ध्यानस्थ भएका होलान् । ज्ञानको खोजमा यात्रारत नागी गुम्बाका आनीहरूको छाम (ध्यान)बसाइजस्तै पो भएको छ कि उनीहरूको हिउँदे समय ।
आनीहरूको छाम–समय आध्यात्मिक चिन्तन र ज्ञान आर्जनको समय बनिदिन्छ । फूलपातहरूको हिउँदे समय पनि मलाई ध्यान समयजस्तै लाग्छ । केही समयको मौसमी विश्राम पछि उनीहरू पुनः पल्लवित हुन्छन्, लहराउछन्, कोपिलाउछन्, फुल्छन् अनि वनकुञ्जलाई सुवासित पारिदिन्छन् । तथापि मध्य हिउँदमा भने उनीहरू शक्ति संचयनमा व्यस्त छन् । सरमले लुके झैँ भुँइभरि घोप्टिएका छन् । पक्कै सिगोत्री लता लतिकाहरू नियास्रिएका होलान् । होडबाजीमा हलहलाउने साथीहरू आजकल भुइँ छाड्न मानिरहेका छैनन् ।
माघे दिनगन्तीसँगै तापक्रमले अझ ओरालो पक्डेको छ । सङ्क्रान्तिको तरुल र चाकुले थोरबहुत तताएको ज्यान चालबिना नै चिसोले करप्प गाँजिसक्छ । उमेरको मेलो सारिसकेकाहरूलाई यो ठिही र हुस्सुले झन् कत्ति पो सताको होला ! एक पटक पुनः राकसिराङे थिङ बजेबजूको अनुहार सम्झन्छु । बजूको छातीको घाउ कस्तो भो होला ? बाजेको खुट्टाको अररोपन र घिस्राइ …
यता याम्बु सहरको घाम नचियाउने भाडाका कोठाहरूमा हिउँदको सेकाइ सहनेहरू अटेसमटेस छन् । घाम पर्ने कोठा या आँगनजस्तो छत धेरैको लागि केवल कल्पनामा सीमित भइदिन्छ, सहरमा । जाडोको घाम खोजाइ याम्बुवासीको निम्ति मारामार कामसरह बन्छ । सडक पेटीमा उभिनुदेखि घामको केस्रा छिर्ने हर सार्वजनिक ठाउँ खोजी हिड्नु कम्ता सास्तीको मामला बन्दैन । म स्वयम् हर जाडोमा घामको खोजीमा हुन्छु । प्रत्येक साल जाडो उक्लेसँगै म जाडोकै कुरा सोच्न थाल्छु ।
यतिबेला मेरो मस्तिष्कीय लोकमा लहराइरहेका छन् चिसो न्यानोका अनेक चेहरा । तराइको शीतलहर, काग अल्मलिने कुहिरो, तुसारोका पत्रहरू, चट्चटाइरहेको अगेना र धुवाँसरी भई घुर तापिरहेका जीर्ण ज्यानहरू । ओहो ! कति फसादमय हुन्छ हुदा खानेको जीवन, हिउँदमा । जाडोको लागि एउटा न्यानो खास्टो, स्वेटर या कम्बलको जुगाड पनि मुस्किल पर्छ । हरसाल कोही त मरेकै हुन्छन्, ठिहीदंशले ।
चिसोले मर्नु या तातोले (लु), कति विसङ्गतीपूर्ण लाग्छ ।
एउटा जीवन मानौँ, त्यसको कुनै मूल्य नै छैन ।
एउटा दिमाग जसको कुनै भाउ नै छैन ।
एउटा बैँस, जसको कुनै उपयोग नै छैन ।
त्यसरी, निरीह भई हिउँदको मुट्ठीमा कसिएर अर्थहीन मरिदिनु पर्ने !
हरसाल हुने अनिवार्य मौसमी परिवर्तनले पनि मारिनु पर्ने !
कस्तो असङ्गत अवस्था । क्या विडम्बनापूर्ण परिस्थिति !
मानौँ, गरिब मानिसको जीवन खोस्टो हो ।
यस देशको बागडोर सम्हालेका तर चखुवाहरूको मनमा बिज्छ बिज्दैन होला ? अनायासै अस्ताइरहेका जीवन उनीहरूले देख्छन् देख्दैनन्, कुन्नि ?
भर्खर देशको अनुहार फेर्ने नारा लिई घर गाउँ पसेका चुनावी खहरेहरू कति जानकार या संवेदनशील होलान् आम देशवासीहरूको खास जीवन र परिस्थितिबारे ?
म उसै उसै थकथकिन्छु ।
चिसोको साम्राज्य फैलदो छ । बाहिर मात्र नभई मेरो दिमागी भूगोलमा पनि उत्तिकै हानेको छ यस वर्षको ठण्डीले । गाजाङगुजुङ छ मन, मौसम र यो समय । तर भो, अब चिसोमा मात्र के रुमलिरहनु । न्यानोको स्वाद लिनेहरू पनि त छन् यस देशमा, खाँदाखाँद ।
दिमागभरी लहरिदै आइपुग्छन् आलिसान महलभित्रका वातानुकुलित समय, हिटरले रनक्क पारेका न्याना कोठा चोटाहरू, एसीको मधुरमतामा लट्ठिदै महानगरहरूदेखि राजमार्गभरि दौडिरहने महङ्गा निजी मोटरहरू । आहा ! क्या काइदाको छ जीवन, हुनेखानेहरूको । जाडो, गर्मी, झरी, जे लागोस्, के मतलब । जीवन हरबखत सहज छ । मीठो र रसिलो छ ।
तथापि जीवनका अनेक आयाम भोगिरहेका छन् मानिस । भेद यत्ति छ कि– हुदा खाने र हुने खाने बिच खासाको दुरी छ । भूगोल, हावा, पानी, परिवेश, कानून र व्यवस्था एउटै, तर जीवन भने आकाश पातालको फरक । यही बिन्दुबाट छुट्टिने रहेछ उस्तै देखिने मानिसहरूका भिन्न जीवनहरू । तथापि मिलन बिन्दु एउटै छ । सबैले अन्तमा पुग्ने त उही घाट न हो ।
जीवन र सत्यको अनेक रङ्ग देख्दा लाग्छ यी साह्रै तरल छन् । केन्द्र भन्नु कही छैन, केही छैन । बहुलकेन्द्र या बहुलपना आफैँ पो सत्य हो कि ! अनि जीवन– हर दृष्टिमा फरक देखिने, फरक बुझिने, फरक महसुस गरिने क्षेत्र । सम्भवत मानव चोलाले पाएको एक विशेष उपहार ।
यसबखत म जीवन र सत्यको बहुरङ्ग महसुस गर्दैछु । जतासुकै उघ्रिदिन सक्ने रहेछ यसका अन्तरआयामहरू । मात्र देख्न÷हेर्न सक्नुपर्ने रहेछ ।
आजकल मेरो बार्दलीमा ढकमक्क मुस्कुराइदिने मौसमी समय लापता छ । छिमेकघरमा भने भ्याइनभ्याइ फुलिरहेको छ लालुपाते समय । रात्ताम्मे गुच्छादार लालुपाते फूल । ऊ बैँसालु देखिएकी छ । प्रत्येक कडा माघे झोक्कालाई चुनौति दिदै ऊ नाँचिदिन्छे । म उसको भर्भराउँदो उमेरलाई एकटक हेरिरहन्छु । अलिकति उसको लालिमा पैँचो मागूँ झैँ लाग्छ । हठात् उठेको यस भावले मलाई एकपटक फेरि यथार्थको धरातलमा पछारिहाल्छ ।
बोटबिरुवाले हरसाल पाउने जवान समयको विपर्याय, मानव जीवन । सकिएको समय र बगेको उमेर उसले फर्काउन सके पो ! चिसो र न्यानोको एक अनौठो मिश्रण मेरो हृदयकुनाभरि छरिन्छ । तथापि म तत्काल सम्हालिन्छु ।
जीवन कसको अडिएको छ र ?
ऊ त बग्नु नै पर्छ ।
समयले कहाँ पछि फर्कन्छ त ?
ऊ त अघि लम्कनै पर्छ ।
बग्नु, अघि बढ्नु अनि निरन्तर यात्रारत रहनु नै ब्रह्माण्डीय सत्य हो । मानिस यही ब्रह्ममाण्डको एक कण ।
सोचाइक्रमसँगै मेरो मनभरि न्यानोपना छाइदिन्छ ।
म पुनः बार्दलीमा फर्कन्छु ।
लालुपातेको यौवना समय विपरीत छ मेरो गमलाका फूलबोटहरूको अवस्था । उनीहरू चिसोलाई जेनतेन झेल्दै धिपधिप बाँचिरहेका छन् । लालुपाते इत¥याइको जवाफमा घरी घरी सुस्त लहरिन्छन्, बस् । तत् क्षण मेरो हृदयको क्यानभासभरी एक अर्थपूर्ण जीवनचित्र कोरिन्छ । जीवनको एक सुन्दर पाटो मेरो अघि फेरि उघ्रिदिन्छ ।
माघ पछि लालीगुराँसमय समय पनि त आउँछ ।
कल्पनासम्मले पनि मेरो मनभरी न्यानोपना पोतिइसक्छ । यस पल मेरो मस्तिष्कीय गुफामा एक लहर लालुपाते समय र एक हरफ गुनकेसरी लय गुन्जिरहेको छ ।


