– उपेन्द्रप्रसाद मैनाली
तिमी जन्मेको र सालनाल गाडेको देशको माटो यही हो
मुटुमा हात राखेर भनिदेऊ– हो यहीँको माटो
स्वाधीन माटोमा किन पराधीन मन ?
देशको सिमानासम्म पुगेर एक अँजुली माटो हातमा
लिएर बेस्सरी मुठ्ठी कस
पश्चिम फर्केर देश र माटोको सलामी लेऊ
केवल
नियालेर हेर– आमाको मुटुमा किल्ला गाड्ने दुश्मनहरू देख्नेछौ
यो उसका लागि स्पष्ट सन्देश र चेतावनी हुनेछ
अब उप्रान्त मेरो देशमा दुश्मन उत्तर फर्कने आँट
कहिल्यै गर्ने छैन
एकपटक मन दह्रो पारेर पूर्खाको बिरताको चिनो
हातमा लेऊ
चिरीदेऊ तिम्रा हत्केलाका रेखाहरू
पोतिदेऊ रातो रगत कहिल्यै पानी नआउने त्यो भाग
र, ती धाराहरूमा
र, भनिदेऊ
यो देश नेपाल हो
नागरिकता–नागरिकको सालनाल गाडेको मुचुल्का
सहितको सनाखत सदर सर्बोच्च शासकले गर्नेछ
न यहाँ कुनै बन्दुक, मिसाइल, बारूद र ट्याङ्कर नै
पड्कनेछ
न आसन हल्लाउने वा डगमगाउने नै छ
बरू यहीँको माटोमा अनन्त कालसम्म जरा गाडिने
र नेपाली पनको अपनत्व बाँची रहने छ
– बुढानीलकण्ठ–१०, काठमाडौँ