
— निर्मोही व्यास
आज २०८२ साल भदौ ४ गते । २००९ साल भदौ ४ गते जन्मेको हुँ म । आजदेखि त्रिहत्तर पुगेर चौहत्तर लागेँ ।
भन्छन्, साठीको उमेर भनेको औपचारिक रूपमा वृद्धावस्थाको द्योतकविन्दु भनौँ वा जीवनको सान्ध्यवेलाको आरम्भविन्दु हो । त्यसपछि मान्छे ह्वात्तै ‘बूढो मान्छे’ मा गनिन थाल्छ । उसको मन–मस्तिष्क जतिसुकै तन्नेरी नै भए पनि अब उसले मन–मस्तिष्कको त्यस तन्नेरीपनमाथि पूरै लगाम लगाउनुपर्छ । समाज नाउँको सर्वोपरि निकायद्वारा यस्तै असंवैधानिक संिवधान जारी छ अलिखित नै भए पनि सर्वथा अपरिवर्तनीय र असंशोधनीय रूपमा । तर ओहो ! म त त्यो ‘साठी’ भन्दा पनि अझै तेह्रवर्ष बढी पो भइसकेको छु !
एउटा वयःसीमादेखि वर्षवृद्धिले अलि अनौठो र अलि नमीठो अनुभूति दिएर ढुक्क मुटुलाई ढक्क पारिदिन थाल्दो रहेछ क्यारे अधिकतर मान्छेको मनमा ‘ओहो…! म त अब यति वर्षको पो भएँ वा यति वर्ष पो लागेँ हगि !’ भन्ने लागेर । र, त्यस्ता मान्छेको सूचीमा अचेत जनसामान्य मात्र नभएर जीवन र जगत्लाई राम्ररी बुझेका प्रबल मानसिक धरातल र उच्च बौद्धिक स्तरका स्वनामधन्य व्यक्तित्वहरू समेत पर्दा रहेछन् । अतिसंवेदनशील र स्वप्नदर्शी कवि–कलाकारहरूको त झन् कुरै भएन । तर, त्यस्तोखाले अनुभूतिको उदय गराइदिने उमेरको आरम्भविन्दु भने यही नै वा यति नै भनेर किट्न गाह पर्दो रहेछ । किनभने, त्यो सबैको हकमा समान रूपले लागु हुँदो रहेनछ । जीवनमा केही गर्न नसक्नेहरूमा मात्र नभएर केही मात्र त के धेरै धेरै गर्न सक्ने र गर्न सकेकाहरूमा समेत ।
नेपाली साहित्यका विराट् प्रतिभा महाकवि देवकोटाले वि.सं. १९९१ मा आफ्नो पच्चीसौँ जन्मोत्सवमा रचेको ‘जन्मोत्सव मुटुका थोपा’ शीर्षक कवितामा—
“पानीघडीका पच्चिस दाना
मोति मोतिझैँ टप्कि गुडे
पच्चिस चिडिया भए रवाना
दुःख सुख गाई गगन फिरे
जल्दो एक चितातिर लाने
पच्चिस मेरा कदम बढे
…………………………”
भनेर आफ्नो तत्कालीन यस्तै असहज अनुभूतिलाई अभिव्यक्त गरेका छन् । सिद्धिचरण श्रेष्ठले आफ्नो छत्तीसौँ जन्मदिनमा लेखेको एउटा कवितामा— “कसरी आज म छत्तीस लागँे…!” भनेर त्यस्तै अत्यासको आशय बोकेको अनुभूति प्रकट गरेका छन् ।
बालकृष्ण समले पैँतीसको हाराहारीको उमेरमा लेखेको ‘मुकुन्द इन्दिरा’ नाटकमा त्यस नाटकका आफ्ना मुखपात्र भवदेवको मुखबाट एउटा सन्दर्भमा व्यक्त गरेको सम्वाद— “दियो उमेरमा धक्का अब चालीसले पनि” का माध्यमबाट आफ्नो तत्कालीन उस्तै हतासपूर्ण मनोदशाको प्रतिविम्बन गरेका छन् भने उनले आफ्नो चाँैंसट्ठीऔँ जन्मदिनमा सिर्जेको ‘नमस्कार नमस्कार संसार’ शीर्षक कवितामा— “नमस्कार नमस्कार संसार कति रापिलो…” जस्ता अभिव्यक्ति प्रकट गरी चौँसट्ठी वर्ष लाग्दासम्मको आफ्नो जीवनानुभूतिको प्रायः वैराग्यभावपूर्ण समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका छन् । अर्थात्— कठै, मेरा ती दिन त गएछन् ! ‘ते हि नो दिवसाः गताः’ ।
यी त केही नमूना मात्र हुन् । यस्ता अभिव्यक्ति अरू पनि अनेक जनाले व्यक्त गरेको पाइन्छ ।
तर, मैले केही यस्ता व्यक्तिको पनि निकट परिचयका साथै चिर स्नेह–सान्निध्य प्राप्त गर्ने सौभाग्यपूर्ण अवसर पाएँ, जसलाई प्रकृतिगत उमेरको चुल्याइँ र ‘शरीरं व्याधिमन्दिरम्’ को स्वाभाविक स्वरूप र गतिका बाबजूद पनि आत्मबल र सृजनशीलताका दृष्टिले शैथिल्यानुभूतिले आक्रान्त तुल्याउन त के, कहिल्यै छुनसमेत पाएन । तिनका कलमबाट त्यस्तो वयोवृद्धि सम्बन्धी अत्यासपूर्ण अनुभूति अभिव्यक्त भएको मैले कहिल्यै पढ्न पाएको छैन । त्यस्ता व्यक्तिको पङ्क्तिमा पर्ने स्वनामधन्य साधकहरू हुनुहुन्थ्यो ९७ वर्षमा दिवङ्गत हुनुहुने मदनमणि दीक्षित, १०१ वर्षमा परलोकयात्रा गर्नुहुने माधवप्रसाद घिमिरे, १०२ वर्षमा चोला फेर्नुहुने सत्यमोहन जोशी, ८९ वर्षमा अस्ताउनुहुने केशवप्रसाद उपाध्याय, ८८ वर्षमा बिलाउनुहुने तारानाथ शर्मा र अन्य पनि थुप्रै जना । पचहत्तर वर्षको उमेरमा दिवङ्गत हुने सदाबहार हँसिला–रसिला, मिजासिला–फरासिला र फुर्तिला स्वनामधन्य सर्जक ध.च.गोतामे दाइ र मल्टिपल माइलोमा भन्ने प्राणघातक रोगबाट ६८ वर्षको उमेरमा दिवङ्गत हुनुहुने जगदीश घिमिरे दाइ पनि मैले देखे–चिने र निकट सान्निध्य प्राप्त गर्न थालेको कालदेखि लिएर देहावसानकालसम्म पनि उस्तै हुनुहुन्थ्यो सृजनमा पनि र व्यवहारमा पनि एकदमै सक्रिय र एकदमै जीवन्त । उहाँहरू जहिले पनि उत्साही, हौसिला, रौसिला हुनुहुन्थ्यो । अगाध स्नेह–सम्बन्धका कारणले उहाँहरूसित मेरो लामो बसउठ रह्यो, उहाँहरूको जीवनकालभरि त्यो सम्बन्ध यथावत् चलिनैरह्यो । उहाँहरू सबैलाई सधैँभरि उस्तै एकनासकै पाइरहेँ मैले । र अभैm पनि त्यस्ता अनेकौँ अग्रजलाई पाइरहेकै छु ।
जन्मेपछि उमेर बढ्दै जानु जीवनको सामान्य प्रक्रिया नै हो । त्यसो नहुने हो भने कुनै नवजात शिशु कहिले कसरी ठूलो हुने र उसले आफ्नो सृजनसामथ्र्यको पूरापूर सदुपयोग गरेर यस सृष्टिलाई सुरम्य तुल्याउने ? र, त्यसैगरी पुराना पात पहेँलिएर नझर्ने हो भने रूख–लहरामा नयाँ पालुवा कहाँ पलाउने र बाग–बगैँचामा वासन्ती हरियाली कसरी छाउने ? जीवनको क्रम अगाडि कसरी बढ्ने ?
संसारमा मान्छेलाई सबैभन्दा मन नपर्ने कुरा मृत्यु हो र फेरि अनिवार्य रूपमा स्वीकार नगरी धरै नपाइने एकमात्र कुरा पनि मृत्यु नै हो । त्यसैले त मानिस जहिलेसुकै पनि र जहाँसुकै पनि मृत्युबाट सन्त्रस्त रहन्छ र त्यसलाई सकेसम्म छल्ने प्रयास गर्दछ ।
अहिले मेरो आँगनको डिलभरि मगमगाउँदा पारिजात र रङ्गीबिरङ्गी तिउरे फूलहरू भरेली भएर मुस्काइरहेका छन् । म तिनको सुवास र सुषमा–सौन्दर्यमा मक्ख र अझ लट्ठसमेत छु । संसारमा त्यस्तो कुनै फूल छैन जुन असुन्दर होस्, चाहे त्यो काँडाकै बोटमा फुलेको फूल किन नहोस् । त्यस्तै संसारमा त्यस्तो कुनै काँडा छैन जुन सुन्दर होस्, चाहे त्यो पूmलकै बोटमा उम्रेको काँडा किन नहोस् । काँडाको आयु फूलका तुलनामा कता हो कता लामो हुन्छ, तर बिहान फक्रेर बेलुका ओइलिई झर्ने सुकुमार फूलको मूल्य र महत्त्वको लक्ष्यांश पनि कहाँ नसीब हुनु दुच्छर काँडालाई ! तब त महाकवि देवकोटाले पनि भनेका छन्— “फुल्नू सुन्दर भै दुवै दिन पनि हो सार संसारमा”
जीवन त्यही फूल हो र मृत्यु जीवनविरोधी काँडा । यदि फूलको सरलता, मोहकता र सुगन्ध अनि काँडाको आयु लिएर बाँच्न पाइने हो भने मान्छेका लागि त्यसभन्दा बढी खुशीको कुरा अरू के नै पो हुनसक्छ र ? त्यसो त मानिस त्यसै पनि कालजयी छ । आश्चर्यजनक प्रतिभा र सीप, अन्वेषण र आविष्कार, चिन्तन र सृजन, सङ्कल्प र समर्पण अनि जिज्ञासा, जिजीविषा र जिगीप्षा त्यसका कारण र प्रमाण हुन् ।
मान्छे भएको हँुदा मलाई पनि जीवन मन पर्छ, फूल मन पर्छ र सृजना मन पर्छ । त्यसो हँुदा नै म मर्न चाहन्न, कहिल्यै मर्नै चाहन्न तर जीवनमा मरीमरी बाँच्नु चाहिं मलाई पटक्कै स्वीकार्य छैन । ज्यूँदै मर्नुको त झन् कुरै भएन । म त बाँची–बाँची बाँच्न चाहन्छु, हाँसी–हाँसी बाँच्न चाहन्छु र बँचाई–बँचाई बाँच्न चाहन्छु, हँसाई–हँसाई बाँच्न चाहन्छु । त्यो पनि एकसय वर्ष होइन, करोडौँकरोड वर्ष । ‘शतम् भूयश्च शरदः शतात्’ । अझ त्यो पनि सामान्य वर्ष नभएर प्रकाशवर्ष अथवा दिव्यवर्ष पो त ।
परमसत्यको उपासक हँु म । ऊसित जानी नजानी सधैँ एउटै जपना, रटना र प्रार्थना छ मेरो अनादिदेखि—‘असतो मा सद्गमय’ मलाई असत्बाट सत्तर्फ लैजाऊ, ‘तमसो मा ज्योतिर्गमय’ मलाई अँध्यारोबाट उज्यालोतर्पm लैजाऊ, ‘मृत्योर्मा अमृतं गमय’ मलाई मृत्युबाट अमरतातर्फ लैजाऊ । मेरा श्रद्धेय पूर्वजहरूले आफ्ना यिनै चेतना, चिन्तन र चरित्र–वैभव उत्तराधिकारमा दिएका छन् मलाई, अनि मेरा आदरणीय अग्रजहरूले यही सिद्धान्त र संस्कारमा दीक्षित तुल्याएका छन् मलाई, भने उमेरवृद्धिले किन आत्तिने म ? किन निराश हुने म ? मृत्युसितको महायुद्धमा निस्सन्देह म नै विजयी हुनेछु । निश्चय नै मृत्युलाई जितेर अमरत्वमा पुग्नेछु म ।
अष्टचिरञ्जीवीको व्यष्टि र समष्टि रूप हँु म, त्यसैले म मर्दिन । म त चिरकालसम्म बाँचिरहनेछु । हो, आज आफ्नो चौहत्तरौँ जन्मदिनमा प्रबल आत्मविश्वासका साथ यही कामना गर्नुपर्छ मैले र त्यस्तै गर्छुु पनि । अझ त्यति मात्र पनि किन र ! कथंकदाचित् मृत्यु हुने नै हो भने पनि म योगेश्वर कृष्ण भएर निर्धक्कसित आफ्ना पुनर्पुनर्जन्मको सगर्व घोषणा गर्छु अहिल्यै— ‘सम्भवामि युगे युगे’ । सत्प्रवृत्तिको संरक्षण, दुष्प्रवृत्तिको विनाश र धर्मको संस्थापना अर्थात् मानवीय संवेदनाको प्रतिष्ठाका लागि रं मूल्य र महत्ताको स्थापनाका लागि म प्रत्येक युगमा जन्मनेछु ।
अब मलाई वयोवृद्धिको अत्यासले र मृत्युको सन्त्रासले कहिल्यै कहिल्यै पिरोल्नेछैन । आजको मेरो जन्मदिनले मलाई यही मृत्युञ्जयबोधी अनमोल उपहार सप्रेम अर्पेको छ । त्यसलाई आत्मसात् गरेर परम प्रफुल्लताको अनुभूतिमा रमाइरहेको छु म र अब यसैगरी सदा रमाइनैरहनेछु म ।





