
— भीष्म उप्रेती
दक्षिण कोरियाबाट प्राध्यापक तथा अनुवादक ब्रोदर एन्थोनीले पठाउनुभएको उहाँले अनुवाद गर्नुभएको कवि सोङ क्योङ–दोङको आई एम नट कोरियन नामको कवितासङ्ग्रह पल्टाएको मात्र छु, परिचय खण्डमा कवि सोङ शुरुमै प्रश्न गर्छन्– ‘तपाईं कस्तो किसिमको संसारमा बस्नुहुन्छ ?’
उनको प्रश्न पढेर म एकछिन रोकिन्छु र सोचमग्न हुन्छु । म आफू बाँचेको मेरो संसार र परिवेशलाई सम्झन्छु र त्यसलाई बिस्तारै नियाल्दै जान्छु ।
तपाईं बाँच्ने र मुस्कुराउने अप्रतीम आकांक्षा बोकेर साँझपख सडककिनारमा ठेला अड्याएर मकै, पानीपुरी, अलिकति तरकारी र भुटेको बदाम बेच्ने अकिञ्चन सपनाहरूमाथि सत्ता भएर आक्रमण गर्नुहुन्छ, उनीहरूलाई अपराधीझैँ लखेट्नु र लुट्नुहुन्छ अनि आपूmलाई विजेताभैmँ ठान्नुहुन्छ । तपाईं त्यसपछि साँघुरो सडकपेटीमा रुखका विरुवा रोप्नुहुन्छ र आपूm प्रकृतिप्रेमी, विकासप्रेमी भएको देखाउने प्रयत्न गर्नुहुन्छ । तपाईं भुइँमान्छेलाई मानवोचित व्यवहार, न्यूनतम सुविधा र ज्ञान उपलब्ध गराउन छुट्याएको बजेटमा धावा बोल्नुहुन्छ अनि कागजमा विकासको प्रतिशत बढाउनुहुन्छ । देशको स्रोत, साधन र सुविधामाथि उपल्ला मुठ्ठीभर मानिसको नियन्त्रण रहन्छ र अधिकांश साधारण मानिसहरू अत्यन्त न्यून स्रोत, साधन र सुविधाका लागि लडिरहनुपर्ने, पसिना बगाइरहनुपर्ने र कृपाका लागि सम्पन्न मानिसहरूतिर दयायुक्त नजरले हेरिरहनुपर्ने अवस्था छ । तपाईं यस्तो समाजमा बस्नुहुन्छ तर यी सबै कुरा देख्नुहुन्न अथवा यिनले तपाईंलाई कहिल्यै स्पर्श गर्दैनन् ।
त्यसकारण तपाईंलाई यसरी विजेतालेभैmँ मुस्कुराएको सुहाउँदैन किनभने तपाईं वास्तवमा ती पसिनाले भिजेका भुइँमान्छेभन्दा धेरै गन्हाउनुहुन्छ ।
म आपूm बाँचेको परिवेशको संक्षिप्त चित्र यही नै हो । यही सामाजिक संरचनाभित्र रहेर म आपूm सृजनात्मक रचनाहरू लेख्छु, लेख्न मन पराउँछु, लेख्ने प्रयास गर्छु ।
एउटा नेपाली कवि÷लेखक भएर म अनेक खालका कविता र गद्य रचनाहरू लेख्छु – नितान्त व्यक्तिगत अनुभूतिले भरिएका रचनाहरूदेखि नाङ्गा सामाजिक यथार्थहरूसम्म । म आफ्ना रचनाहरूमा कहिले मुस्कुराउँछु भने कहिले रिसाउँछु, गुनासो गर्छु, र्आैँला ठड्याएर यथास्थिति र जडताविरुद्ध चिच्याउँछु । कहिलेकाहीँ दिक्क मानेर नियास्रिन्छु र फेरि उठेर जागरणका गीतहरू गाउँछु । कहिलेकाहीँ केही पनि नगरी मस्तसँग सुत्छु मेरा वरिपरिका सबै प्रदुषणहरूलाई पन्छाएर÷भुल्ने प्रयत्न गरेर । तर म प्रश्न पनि गर्छु, कोरियाली कवि सोङ क्योङ–दोडले जस्तै म आफ्ना रचनाहरूबाट प्रश्न गर्छु । उनैको वाक्यलाई सापटी लिएर प्रश्न गरिरहन्छु – ‘तपाईं कस्तो संसारमा बस्नुहुन्छ ?’
मलाई लाग्छ, यो एउटा प्रश्नले मात्र पुग्दैन । यो अपूर्ण छ । त्यसपछि म यसमा अर्को पूरक प्रश्न समेत जोड्छु – ‘तपाईं कस्तो संसारमा बस्न चाहनुहुन्छ ?’
मेरै समाजका, देशका धेरै मानिसहरू साहित्यको उपादेयतालाई लिएर हाँस्छन्, उपहास गर्छन् । कतिसम्म भने कहिलेकाहीँ त परैबाट उपेक्षाभावले भनिदिन्छन्– ‘ऊ, कवि आयो ।’ तर साहित्य नै त हो जसले मानिसलाई अर्को मानिसको हृदयनजिकै लैजान्छ र उसको हृदयको स्पन्दन सुनाउँछ । साहित्य नै त हो जसले मानिसभित्रको सुक्दै गएको कुवालाई भावना र अनुभूतिले भरिदिन्छ अनि सोचलाई, प्रेमलाई, हार्दिकतालाई पुनः अङ्कुराउन र झाँगिन वातावरण बनाउँछ ।
साहित्यलाई धेरैजसो मानिसले अनुत्पादक कार्य भन्ने गरेको सुनिन्छ । कुनै युवाले साहित्यिक कर्म गर्न थाल्योभने उसका मातापिता चिन्तित हुन थाल्दछन् । उसले व्यापार, व्यवसाय वा राजनीति वा यस्तै ठूलो रकम आम्दानी हुने क्षेत्रमा काम गर्नुपथ्र्यो । हुन पनि धेरैजसो समाज वा मुलुकमा साहित्यले आम रूपमा त्यति धेरै आर्थिक उपार्जन गरेको देखिँदैन ।
बाहिरी आँखाले झट्ट हेर्दा उपर्युक्त भाष्य हो भन्ने लाग्दछ । तर गम्भीरतापूर्वक हेर्नुस् र मनन्् गर्नुस् – तपाईं चित्र अर्कै देख्नुहुन्छ । कुनै नेता, योद्धा, अर्थशास्त्री, व्यवसायी, विद्यार्थी, प्रेमी जब अग्घोरै थाक्छ, असफलताले एकदमै लखेटिन्छ, नितान्त एक्लो अनुभव गर्छ,उसलाई रुने ठाउँसमेत हुँदैन, तब यही साहित्य हो जोसँग ऊ दिल खोलेर कुरा गर्न सक्छ, रुन सक्छ, मज्जाले हाँस्न सक्छ, रिसाएर, चिच्याएर आपूmभित्रको गुम्फनलाई निकालेर फ्याँक्न सकिन्छ । यो कुरुपताले भरिँदै गएको संसारमा, प्रविधिले मानिसलाई मेशिनमा रुपान्तरण गर्दै गएको समयमा, मान्छेको अस्तित्वलाई नै समेत एआईजस्ता कृत्रिम वस्तुले कडा चुनौती दिइरहेको बेलामा साहित्य तपाईंको सच्चा मित्र हुनसक्छ ।
यहीँनेर म अर्को कुरा सम्झन्छु । मेरो पुस्तासँग समाज थियो जहाँ म मिसिन जान्थेँ र सामूहिक रूपमा हाँसखेल गर्थें रमाउँथेँ, खेल्थेँ, झगडा गर्दै ठूलो स्वरले कराउँथेँ, खोसाखोस गर्थें र फेरि मिलेर बाँडीचुँडी खान्थेँ अनि ढुक्कले निदाउँथेँ । आज मभन्दा पछिल्लो पुस्ता (अचेल जेनजी पुस्ता भन्ने गरिन्छ) एक्लो बस्छ, मोबाइल र इन्टरनेटमा समेटिएको छ । उसको समाज यही हो किनभने उसले छिमेकी चिन्दैन, मान्छे चिन्दैन । तर धेरैभन्दा धेरै रेडिमेड सूचना र जानकारी उसले यहीँ भेट्टाउँछ । मेरो एकजना साथी भन्नुहुन्छ– ‘आठ कक्षामा पढ्ने मेरी छोरीलाई मैले समाज भनेको के हो बुझाउन सकिनँ । कत्ति किसिमले बुझाउन खोज्दा पनि सकिनँ । म समस्यामा छु ।’
उहाँको कुराले मेरो जीउमा काँडा उम्रियो । जीउ फुलेर आयो । हाम्रा छेउछाउबाट, घरआँगनबाट समाज हराउँदैछ । समाज ज्ञानको, सूचनाको उत्पादक र वितरक पनि हो । समाज हराउनु ठूलो सङ्कटको अवस्था हो । समाज हराउनु भनेको सामूहिकता हराउनु हो, विविधता नासिनु हो, साझा उद्देश्य र फराकिलो छाती हराउनु हो । यो दुनियाँलाई सुन्दर र बस्नयोग्य बनाउन समाज चाहिन्छ ।
संसारलाई सुन्दर बनाउने ठूलो जिम्मेवारी, यसर्थ, लेखक÷कविहरूको छ ।
लेखक÷कविहरूलाई विषयवस्तु समाजका विभिन्न पक्षहरूबाट प्राप्त हुन्छ – महिलाहरूबाट, बालबालिकाबाट, भुइँमान्छेहरूबाट, ज्येष्ठ नागरिकहरूबाट, बिरामीहरूबाट, कर्मचारीहरू र श्रमिकहरूबाट, सांस्कृतिक मूल्यबाट, परम्पराबाट, विज्ञानको खोजको सफलता र असफलताबाट, प्रकृतिबाट इत्यादि । लेखक÷कविले रचनाहरूमा लेख्ने कल्पना पनि यिनै तत्वहरूबाट सृजित ज्ञानबाट प्राप्त हुन्छ । यिनै विषयवस्तुलाई सुरुचिपूर्ण, समाजोपयोगी हुने गरी सकारात्मक भावले सृजना गरी समाजलाई नै फिर्ता गर्ने जिम्मेवारी कवि÷लेखकको हो ।
कथा र उपन्यासले तपार्इंभित्र सहानुभूतिको भाव उत्पन्न गराउँछ । कविता र निबन्ध (आत्मपरक) ले समानुभूतिको भाव उत्पन्न गराउँछ । यी दुवै कुराहरू मानिसलाई बाँच्न र समाजलाई बस्नयोग्य बनाउन अनिवार्य तत्व हुन् । त्यसैले साहित्यले मानिसहरूभित्र रस भर्दछ र हृदयलाई हराभरा बनाउँछ । हराभरा हृदय लिएर बाहिर हेर्दा संसार उज्यालो र उर्बर देखिन्छ । उर्बरताले सृजना दिन्छ, सृजनाले विश्वास र प्रतिफल दिन्छ ।
अर्को कुरा, आख्यान लेख्दा तपाईंले पात्र र चरित्रहरूको आँखाबाट हेर्नुपर्ने हुन्छ । आख्यान पढ्दा पनि यसरी नै हेरिन्छ । लेखकले होस् वा पाठकले पात्र र चरित्रको आँखाबाट हेर्न थालेपछि समाजलाई उसले देखेको वा भोगेको अवस्थाभन्दा बेग्लै पाउँदछ । यसले लेखक र पाठक दुवैलाई समाजभित्र पस्न, समाजलाई बुभ्mन र अनुभूत गर्न मद्दत गर्दछ । यसले हृदयलाई हृदयसँग जोड्दछ, मानिसलाई मानिससम्म पु¥याउँछ र अन्ततः मानिसभित्र ईश्वरीय भावना उत्पन्न गराउँछ । साहित्य शान्ति, सुख र खुशीलाई दीगो एवम् स्थायी बनाउने प्रेस्क्रिप्सन बन्दछ ।
साहित्यले मानिसभित्र समाजको सिर्जना गर्दछ । साहित्यको उपादेयता यसरी प्रष्ट हुन्छ । कवि सोङ ठिक भन्छन्– ‘म कविता लेख्छु किनभने म तपाईलाई प्रश्न गर्न चाहन्छु ।’ प्रश्न गर्न नसक्ने र मानिसहरूको चेतनाको स्तरलाई उठाउन नसक्ने साहित्य लाटो साहित्य हो । लाटो साहित्यले बोल्न मात्र होइन, सुन्न पनि सिकाउँदैन । बोल्न र सुन्न नसक्ने र नसिकाउने लेखनको उपादेयता समाजमा र मानिसको जीवनमा बाँकी रहँदैन ।
जीवन्त साहित्यले प्रश्न गर्छ, प्रश्न गर्न लगाउँछ, प्रश्न सुन्न पनि लगाउँछ । त्यसपछि प्रश्नहरूको उत्तर सोच्न पनि लगाउँछ । त्यसैले, तपाईं हामी सबैले उपर्युक्त प्रश्नहरूमाथि गम्भीरतापूर्वक विचार र बहस गर्न आवश्यक छ । हामी, हाम्रो सभ्यता, हाम्रा आकांक्षा र यो हरियो प्रकृतिलाई जीवन्त राख्न, दीगो राख्न र सुन्दर बनाइराख्न हामीले यी प्रश्नहरूको जवाफ पनि भेट्टाउन आवश्यक छ । त्यस जवाफको उज्यालोमा अगाडि जाने बाटो बनाउन, त्यसमा हिँड्न र अगाडि बढ्न आवश्यक छ ।





